arrow

प्रधानमन्त्री ओलीले अब आराम गर्नुपर्छ

नेताहरु अहिलेको विषम परिस्थितिमा सत्ता र शक्तिको पछी

logo
मनोज लामिछाने,
प्रकाशित २०७७ वैशाख १५ सोमबार
cabinet-corona-oli.jpg

"बिरामी प्रधानमन्त्रीले देश चलायो भन्छन् । म बाट यो भन्दा बढी के अपेक्षा गर्ने ? मेरो काम गर्ने बानी छ, गरिरहन्छु । म अहिले पनि दैनिक १८ घण्टा काम गर्छु ।" प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी सञ्चार माध्यममा दिएको अभिव्यक्ति हो यो l

यसबाट के बुझिन्छ भने बिरामी अवस्थामा दैनिक १८ घण्टा देशका लागि खट्न सक्ने प्रधानमन्त्री ओली बेला बेलामा किन बिवादमा परि रहन्छन् ? उनीमाथि बेला बेलामा प्रतिपक्षबाट भन्दा पनि आफ्नै पार्टीपंक्तिबाट किन औला ठडाउने काम भैरहन्छ ? देश र जनताका लागि दैनिक १८ घण्टा व्यतित गरेका प्रधानमन्त्री ओलीले गरेका कामहरुको लेखाजोखा गरिएन भने एकातिर उनिप्रति जनताले न्याय गर्दैनन् भन्ने पर्न सक्छ भने अर्कोतिर ईतिहासले जनतालाई माफ गर्दैन l

उनकै वाक्यलाई सापटी लिएर भन्ने हो भने "मबाट यो भन्दा बढी के अपेक्षा गर्ने ?" यसकारण उनको कार्यको लेखाजोखा गर्न अति आबश्यक छ l दैनिक १८ घण्टा काम गरिरहेका ओलीको कार्यको मुल्यांकन गर्न त्यति सजिलो छैन l यधपी, जनताले महसुस गरेका केहि कार्यहरुको बारेमा सामान्य लेखाजोखा गर्दा भने उनीप्रति न्याय गरेको नै हुन्छ भन्दा अतियुक्ति नहोला ?

राष्ट्रपति सीको नेपाल भ्रमण, २०७२ सालमा गएको विनाशकारी महाभूकम्पको पुर्ननिर्माण, नेपाल–भारत पेट्रोलीयम पाइपलाइन, सामाजिक सुरक्षा कार्यक्रम, पृथकतावादी राजनीतिलाई निस्तेज, छिमेकीसँग सन्तुलनको प्रयास, भूमि रक्षाका लागि आवाज, १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग), मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग, ढिला भइरहेको भेरी–बबई सिँचाइ आयोजनाको सुरुङको ब्रेकथ्रु, भूमि ऐन संशोधन मार्फत भूमिहीनहरूलाई लालपूर्जा वितरणको प्रयास, धान र ऊखुको समर्थन मूल्य तोक्ने प्रयास, नागढुंगा सुरुङ मार्गको ठेक्का सम्झौता, कोरोना भाइरसको महामारीबाट जनतालाई जोगाउन गरेका प्रयासहरु जनताले पक्कै महशुस गरेका छन् l हुन् त, अहिले भएका उपलब्धिहरुमा बिगतका प्रधानमन्त्रीहरुको पनि भूमिका छ l जे होस् उल्लेखित कार्यहरुको सम्पन्नता र शुरुवात भने ओलीको पालामा भएको हो l

म भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार हुन दिन्नँ भनेर एकातिर उनले आफ्नो शेषपछि उनको र उनको श्रीमतीको नाममा रहेको सम्पत्ति ट्रष्टका नाममा दान गरिसकेको कुरा बेला बेलामा जनतालाई भनिरहेका छन् । मलाई पैसा कमाउनु छैन । म कमाउन यहाँ आएको होइन, देश बनाउन आएको हुँ । म बोली र व्यवहारमा प्रतिवद्ध छु ।

म देशमा सुशासन ल्याउछु भन्ने प्रधानमन्त्री ओलीको सरकार ३८ केजी सुन प्रकरण, ह्वाईट बडी काण्ड, बालुवाटारको जग्गा काण्ड, स्वास्थ्य सामग्री सम्बन्धी सम्झौता र रद्द जस्ता कुराहरुले उनको सरकारको आलोचना भईरहेका छन् l बेलाबेलामा गर्ने अदुरदर्शि र हतारो निर्णयका कारण उनको सरकारले गरेका निर्यणहरुबाट उनि पछी हट्नु परेको पनि छ l

सिन्डिकेट, बिषादी युक्त तरकारीको मापन, गुठि जग्गा, सम्पत्ति शुद्धीकरण, अहिलेको अध्यादेश ओलीका अदुरदर्शी र हतारका निर्यणहरु हुन् जसले गर्दा उनले सामाजिक संजाल, संचार माध्यबाट आलोचना खेप्नु पर्यो l संविधानको भाग ३ को धारा १७ मा मौलिक हक र कर्तव्यमा विचार र अभिव्यक्तिको स्वतन्त्रता, बिनाहातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता, राजनीतिक दल खोल्ने स्वतन्त्रता, निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समय पछी पनि दोषी पत्ता लाग्न नसक्नु, महिला हिंसाका र बलात्कारका घटनाहरु दिनानुदिन बढिरहनुले पनि उनको सरकारप्रति प्रश्न तेर्सियो l  

संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ जारी गर्न राष्ट्रपति समक्ष पठाउनु पछिल्लो समयको उनको कदमको उनले सर्बत्र आलोचना खेप्नु पर्यो l उनको यो कदमको ब्यापक बिरोध भयो l नेकपाका नेता हरिबोल गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने, मध्यावधी चुनाव गर्ने र राष्ट्रपतीय शासन सञ्चालन गर्ने डिजाइनमा भएको बताए ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय एक नेताले राजनीतिक दलसम्बन्धी नयाँ प्रावधान आफैंलाई लागू हुने गरी ल्याएको भने। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी (राजपा)लगायतका अन्य राजनीतिक दलका नेताहरूले यसको विरोध व्यापक बिरोध गरे । राजनीतिक विश्लेषक प्रा.डा. कृष्ण खनालले प्रधानमन्त्रीको चिन्तन नै अस्वस्थ रहेको टिप्पणी गरे।

प्रचण्डको समर्थनमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ उनको यो कदमको बिरोधमा खरो उत्रिएका थिए। तर बैठकमा सहभागी एक सदस्यका अनुसार ओलीले अध्यादेश अत्यावश्यक भएकाले जारी गर्नु परेको भन्दै यसको विरोध गर्नुको कुनै तुक नरहेको अडान लिएका थिए। संविधानविद्हरूले यसलाई गैरसंवैधानिक भने स्वयं सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूले यसलाई ‘प्रधानमन्त्री ओलीको पार्टी फुटाल्ने तयारी’का रूपमा विश्लेषण गरे । समाजवादी पार्टीको संसदीय दलकी उपनेता सरिता गिरीले त संसदमा निर्वाचित दल विभाजित भएमा जनताको मतबाट संगठित राजनीतिक दलहरू क्षतविक्षत हुने बताइन् ।

संवैधानिक परिषद् सम्बन्धी ऐन अध्यादेश मार्फत संशोधन गरी संवैधानिक संस्थाहरूलाई आफ्ना मानिसहरूको भर्ना केन्द्र बनाउने र विपक्षीहरूलाई समाप्त पार्ने सरकारको मनसाय प्रस्ट भएको उनले उल्लेख गरिन् l

देश लकडाउन गरिएको अवस्थामा आफ्नै मन्त्रिपरिषद्का पनि सबै सदस्यहरू सहमत नहुँदा नहुँदै प्रधानमन्त्रीले अध्यादेश जारी गराउन राष्ट्रपतिलाई पठाउनु, राष्ट्रपतिले पनि आफ्नो संवैधानिक मर्यादाको विषयमा नसोची प्राप्त अध्यादेश जारी गरिदिनु, जारी गरिएका अध्यादेशहरू सरकारले पाँचौं दिनमै खारेज गर्न सिफारिश गर्नु र राष्ट्रपतिले खारेज गर्नु l यसले देशलाई कतातिर धकेल्दै छ ?

बिश्व लकडाउनमा छ l विश्वका नेताहरु आफ्ना जनताहरुलाई कोरोनको महामारीबाट कसरि जोगाउने भन्ने चिन्तामा छन् l हाम्रा देशका नेताहरु अहिलेको विषम परिस्थितिमा सत्ता र शक्तिको पछी दौडी रहेकाछन् l अहिलेको अबस्थामा नेताहरुको सत्ता र शक्तिको रहरलाई नेपाली जनताले कसरि हेर्छन् ? भन्ने सम्म पनि हेक्का नहुनु कस्तो बिडम्बना l

अहिलेका नेताहरुको यस्तो चरित्र, ईमान, नैतिकता, ब्यबहारले भोलिका दिनमा कस्तो देशले कस्तो परिणाम भोग्नु पर्ला ? हामीले  नेपाली राजनीतिमा कस्तो संस्कारको बिकास गर्न खोज्दै छौ ? बहुमतको सरकार भत्काउन खोज्ने र भत्काउन पछी नपर्ने संस्कारले देश समृद्ध हुन सक्छ ? नेताहरु व्यक्तिगत स्वार्थको राजनीतिले नेपाली जनता सुखी हुन् सक्छन ? यसको लेखाजोखा हाम्रा नेताहरुले गर्नु पर्दैन् ? यो कुरा हाम्रा नेताज्यूहरुले नबुझेका पक्कै होइन ?

अहिलेको यो अवस्थमा प्रधानमन्त्रि ओली देश र जनताका लागि निरन्तर संघर्ष गरेका योद्धा हुन् l उनको देश र जनताका लागि ठुलो योगदान छ । उनको योगदानलाई इतिहासको पानामा स्थापित गरिसके र प्रत्येक नेपालीहरुले उनले देश र जनताका लागि गरेका योगदानको मुल्यांकन गर्ने नै छन् l उनकै भाषामा भन्ने हो भने बिरामी प्रधानमन्त्रीले चलाएको देश भन्ने यो भनाईको कदर गर्दै अब उनले आफ्नो स्वाथ्यको ख्याल गर्दै बिराम लिनु उनको लागि उत्तम हुन्छ l 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ