काठमाडौं । गृहमन्त्री शक्तिबहादुर बस्नेतले आन्दोलनको स्वरूप परिवर्तन गरी वार्ता र सहमतिका आधारमा संसद्बाट समाधान खोज्न मधेसकेन्द्रित दलसँग आग्रह गरेका छन् ।
पत्रकार महासंघले बेपत्ता पत्रकारसम्बन्धी सञ्चालन गरेको वेबसाइट सार्वजनिक गर्दै मन्त्री बस्नेतले बन्द, हडताल र नाकाबन्दीका कारण मुलुकले ठूलो क्षति व्यहोरिरहेको अवस्थामा आन्दोलन स्थगन वा स्वरूप परिवर्तन गरी संवादका माध्यमबाट सबै समस्याको समाधान खोज्नुपर्ने र त्यसका लागि सरकार लचिलो हुने बताए ।
राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकल आयोगले बेपत्ता पारिएका पत्रकारको खोजी कार्यलाई तीव्रता दिएको बताए । उनले अहिलेसम्म एक हजार ८३ मानिस बेपत्ता रहेका जनाए ।
पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले सबैभन्दा बढी युद्धकालमा ३५ जना पत्रकारको हत्या वा शङ्कास्पद हत्या गरिएको बताए । बेपत्ता पत्रकार मिलन नेपाली, चित्रनारायण श्रेष्ठ, प्रकाशसिंह ठकुरी र मदन पौडेलको अवस्थाबारे राज्यले सार्वजनिक गर्नुपर्ने माग गरे ।