arrow

जापानमा नेपाली भएर बाँच्नेकी कुनै ठाउँ बिशेषको भएर ?

logo
शुरेस गिरी,
प्रकाशित २०७३ वैशाख १९ आइतबार
suresh-giri.jpg.jpeg
नेपाल बसाइमा पनि त्यस्तो गाह्रो सारो त थिएन। तर जापान बसाईका क्रममा मलाई धेरैले भाग्यमानी नै भनिरहेका छन्। उनीहरु भन्छन, ' कार्यालय आयो गयो। जता जान पनि निस्फिक्री। कसैको सोधखोज छैन। रेमिटेन्सको साउ तपाइलाई त के छ र? जहाँ गए पनि हुने। न कामको चिन्ता न पैसाको चिन्ता।'  
 
खासै धेरै लामो पनि छैन मेरो जापान बसाई। एक दुई महिना बस्छु फेरी नेपाल जान्छु। देख्ने जतिलाई त मेरो जीवन रमाइलो नै लाग्दो हो। जापान घुमेको घुमेकै छ। केटोलाई मोज छ। रेमिटेन्स  कम्पनी छ। पैसा सोरेकै छ। तपाइ यसरी सोच्दै हुनुहुन्छ भने त्यो भ्रम हटाइदिनुस। वास्तवमा यो जापान भन्ने देश त्यति सजिलो छैन। हेर्दा पो रमाइलो छ। ५५ हजार नेपाली छन्। नौ दशवटा रेमिटन्स कम्पनी छन्। प्रतिष्पर्धा बाक्लो छ। जापानिज मुद्रा एन पिङ् जसरि कहिले तल र कहिले माथि हुँदै मचिन्छ। मैले पनि अचेल भन्ने गरेको छु ' तपाइहरु पनि यौटालाई फोन गरेर रेट सोध्नुहुन्छ अर्कोसँग बार्गेनिंग गर्नुहुन्छ। नेपालका सबै टोलै पिच्छेका संस्था खोल्नु भएको छ।ǀ महिनामा ४ ,५ वटा त फिल्म नै देखाउनु हुन्छ। नेपालमा भन्दा धेरै कलाकार जापान बोलाउनुहुन्छ। तपाइहरुको पो जीवन आनन्दको छ।' हुनपनि आजकल त नेपाली कलाकार नेपाल भन्दा बाहिर नै बढी छन् जस्तो लाग्छ। 
 
१ मानको टिकेट त केही हैन जस्तो लाग्छ। आठ दश मानको प्रायोजन माग्दा पैसा मागेको जस्तो लाग्दैन जापानका आयोजकहरुलाई। अनि सजिलोसँग भन्नुहुन्छ 'तपाईको त रेमिटेन्स कम्पनी छ।' मैले कसरी भनौं 'यो रेमिटेन्सले पैसा छाप्ने काम गर्दैन भनेर। अझ जाने बुझेको मान्छेहरु राष्ट्र बैंकको रेट लिएर बार्गेनिग गर्न आउनु हुन्छ। कहाँबाट पैसा हुन्छ हामीसँग भनेर। पैसाको कारोबार गर्ने भएर रेमिटेन्स कम्पनीको कारोबार ठुलो देखिएपनि वास्तविकता सबै त्यस्तो छैन भनेर।' 
 
हुनत सबै कार्यक्रम रेमिटेन्सले मात्र प्रायोजन गरेको छ भन्ने पनि हैन। यहा धेरै दाताहरुले मन खोलेर सहयोग गर्नु हुन्छ। उहाँहरुलाई पनि मेरो आग्रह छ कार्यक्रमको औचित्य र उद्धेश्य हेरेर सहयोग गर्नु होला न कि अतिथी बन्ने लोभ र फेसबुकमा लोकप्रिय हुने लालसामा। यदाकदा सुन्नमा पनि आउँछ सहयोगको रकम बोल्ने मात्र त हो नि पैसा किन दिनु पर्यो। त्यस्तो पनि नगर्नु होला। 
 
जापानमा खुलेका यति धेरै संस्था देखेर म हैरान भएको छु। मेरो मनमा एउटा प्रश्न सँधै आइरहन्छ यति धेरै संघ संस्थाको आबश्यकता के र किन? हामी नेपाली मात्रै भएर जापानमा बस्न किन सक्दैनौ? यो कुरामा बहस जरुरी छ कि छैन भन्ने कुरा आज धरैले गर्न थालेका छन्। हो आफ्नो टोल छिमेक बनाउनु पर्छ। टोलमा मिलेर बस्नु पर्छ। टोल भन्दैमा आफ्नो टोल गाउ मात्रै पनि सोच्नु पनि भएन नि। पहिला त हामी जापान बस्ने नेपाली हो। त्यो भन्दा ठुलो पहिचान अरु के नै चाहियो र। मलाई पोखरेली भनेर जापानीजले चिन्दैन 'नेपरु जिन' भन्नै पर्छ। जापानमा सबै कार्यक्रम हुँदा कसै न कसैलाई सहयोग गर्छु भनुहुन्छ तर त्यो कार्यक्रम पछि हामीले यो काम गर्यौ भनेर कमैको मात्र कुरा सुनिन्छ। 
 
एक पटक सोच्नु भएको छ। तपाईको कार्यक्रमको टिकट किन्ने विद्यार्थीले रातभरि नसुती काम गरे र कमाएको पैसाले तपाईहरुको परोपकारी नारा सुनेर टिकट किनेर कार्यक्रम हेर्न आउछ। अब यस्ता विसंगतीका बिषयमा बहस हुनु जरुरी छैन? जापानमा परोपकारी कामको लागि भनेर कति पैसा उठछ त्यस्को हिसाब किताब पनि हुनु जरुरी छ कि छैन? यो बिषयमा कसले सोच्ने हो? ठूलो ठूलो स्वरमा त्यो संस्थाले कार्यक्रम गरेर यति उठायो भनिन्छ। अनि त्यस्ता संस्थाको हिसाब किताब कहिले सोधिएको छ? 
 
कामको सिलसिलामा जापानको धरै शहरहरुमा म गएको छु जसलाई भेटे पनि कुनै कुनै सस्थाको सदस्यनै पाउँछु। अर्को अचम्मको कुरा सबै ठाउँको कार्यक्रममा भेट  हुने अनुहार भने एउटै हुन्छ। कार्यक्रममा खासै उत्साहजनक उपस्थिति पनि देखिन्न तर पनि जापानमा किन यस्तो भइरहेछ। अलि दिन अगाडी राम्रो संस्थामा काम गर्ने साथीले गुनासो गर्दै थिए, ' सुरेशजी एउटा दुईटा कार्यक्रममा निरन्तर गएको त भेटने बितिकै टिकट भिडाउन थाले। घरमा श्रीमतीले पनि कति कार्यक्रममा हिडेको भन्न थालिन। हप्तामा शनिबार र आइतबार छुट्टीको दिननै बढी कार्यक्रम हुन्छ। नजाऊ पनि गाह्रो जाउ खर्च गर्न पनि गाह्रो अब त अति भयो। 
 
जापानमा कार्यक्रमको कुरा त सहि नै हो। सबै कार्यक्रमको उदेश्य नेपालमा सहयोग गर्ने हुन्छ। के हामी सबै मिलेर बर्षमा दुई चारवटा राम्रो कार्यक्रम गरेर त्यसलाई व्यवस्थित गरि जापानीजहरुलाई पनि सहभागि गरि नेपाललाई सहयोग गर्न सकिदैन र? हामी कतिसम्म पछाडी छौ भने कुमामोतोमा भुकम्प जादा सहयोग गर्न पनि तछाड मछाड गर्दै गयौ। छुट्टाछुट्टै गएर हामीले के संदेश दियौ त? के नेपालमा त्यत्रो भुकम्प गएर त्यती ठूलो जनधनको क्षती हुँदा जापान सरकार बाहेक अरु कुनै जापानी गाउँ टोलको संस्था आएको थाहा त पाउनु भयो? कुनै जापानीजले आफ्नो गाउ र ठाउँको कुरा गरेको सुन्नु भएको छ त्यस्तो बेलामा? जहिले पनि जहाँ पनि जापानीज भन्छ र त्यसैमा गर्ब गर्छ। हामी बस्न त जापानमा नै बस्छौ। संगत पनि जापानीज छ। अलिकति सोच्ने हो कि? के हामी सबै मिलेर एकै ठाउँमा बसेर हामी नेपाली हो हामीले नेपाल चिनाउनु पर्छ नेपाल बनाउनु पर्छ भनेर भन्न सक्दैनौ? 
 
अब त अति नै हुन थालेको छ। कार्यक्रममा जादा पनि कार्यक्रम हेर्ने भन्दा पनि आसन ग्रहण गर्ने धेरै हुन् थालिसके। यसबिषयमा कसले सोच्ने हो। एनआरएन कि दुतावास? हो केही संस्थाहरुको इतिहास पनि छ र तिनिहरु एनआरएन भन्दा पनि पुराना छन्। तिनीहरुलाई पनि सँगै लिएर यहाँका बुदिजीबीहरु, दुतावास, एनआरएन मिलेर एउटा आचारसंहिता बनाउने पो हो की? सबैले यो बिषय एकपटक सोच्ने पो हो कि? हुन त धेरै साथीहरुले तपाई आएको त धेरै भएको छैन तपाईले जापान बुझ्नु भएको छैन त्यही भएर तपाई नबोल्दा नै राम्रो होला भनेका छन्। उनीहरुले भनेका छन्, 'तपाईको व्यवसाय पनि रेमिटेन्सको छ भन्नुहुन्छ केहीलाई डर पनि होला।' राम्रो बोल्दो रहेछ, राम्रो कुरा गरेको छ विचार पनि राम्रै छ कतै नेता पो भइहाल्छ भनेर। फेरी कतिलाई नेता होलाकी भन्ने चीसो पसेको छ भने तपाइहरु ढुक्क हुनुस त्यस्तो कुनै योजना छैन। मैले यो कुरा बोल्न ढिला गरे भने म पनि तपाई जस्तै कुनै संस्थाको पछि लागेर दर्शक भन्दा अतिथी धेरै भएको कार्यक्रममा भेट हुन्छु र मलाई त्यसो गर्नु पनि छैन। मैले त देखेको कुरा बोलेको मात्र हो। मलाई जापानमा नेपाल र नेपाली हुनुमा गर्ब छ न कि पोखरेली स्याङजाली वा झापाली हुनुमा। 



नयाँ