arrow

प्रधानमन्त्रीज्यू फलाम तातेको बेला घन उठाउनेकी घुँडा टेकेर बाहिरिने रोजाई तपाईकै

logo
एक नारायण पौडेल,
प्रकाशित २०७७ वैशाख २९ सोमबार
yek-narayan-poudel1.jpg

टनकपुरलाई दाइजोमा र महाकालीलाई दुराने कोशेलीमा सुम्पिनेहरुको सत्तामा हालीमुहाली रहुँन्जेल चाहे सिमा मिचोस वा नेपालीको घाँटी थिचोस यी कहिल्यै देशको हितमा सोच्ने छैनन् । आखिर चुनावी राष्ट्रवादले सत्तामा पुर्याएरपछि अब त्यो राष्ट्रवादी चुनावी नाराको के काम ? झण्डै दुई तिहाईको बलियो सरकार, हलो अड्काउने कमजोर प्रतिपक्षी र जनताको अथाह साथ समर्थन हुँदा पनि सचिबस्तरीय कुटनैतिक प्रयासले भ्यागुतो निलेको सर्पले बार्दलीबाट ताली पिट्दा भ्यागुतोलाई बाहिर निकालीदिन्छ भनेर सोच्नु आफैले आफुलाई मुर्ख बनाउनु हो। 

हो हामी कमजोर छौ, गरिब छौ, सानो छौं । छिमेकीसँग बम र बारुद बोकेर लड्न सक्दैनौं । तर अलिकति हिम्मत त गर्नु नि सत्ता हिमायतीहरुले। के कतार बम बारुद बोकेर आएको विशाल साउदी अरबको नेतृत्वमा अन्य ६ मुलुकको नाकाबन्दी र थिचोमिचोलाई डटेर सामना गरेको थियो ? यो पनि सत्य हो कतारी जनता झै हामी धनी छैनौं । हाम्रो प्रतिब्यक्ती आय पनि हजार भन्दा माथी छैन । तर कमसेकम आफ्नो माटो, आफ्नो भूमी, आफ्नो सार्बभौमसत्तालाई छिमेकीले पटक पटक चिथोरी रहँदा, कोपरी रहँदा, लुछिरहँदा जनतालाई दुखिरहेको छ । जनता एकताबद्ध भएर आवाज गुन्जाउन खोजिरहेको छ । बिद्रोहको ज्वाला दन्काई आक्रोसले धावा बोल्न तयार भएका छन् । तर सत्ताको सिंहासनमा अट्टहास गरिरहेको सरकार, रक्षामन्त्री, परराष्ट  मन्त्रालय अझै प्राबिधिक कुराहरु जोहो गर्न भ्याएको छैन ।

महाकाली पारीको बारी छिमेकीले कप्लक्कै निलेर भुडी सहितको नक्सा निकाल्दा पनि मेरो देशको सरकार आफ्नो भुभागको नक्सा बनाउन १ बर्षमा पनि भ्याउदैन । अझ उसैसँग लुगलुग काम्दै उसैसँग लोलोपोतो गर्दै न्यायप्रेमी जनताको माटोको मायालाई, राष्ट्रको आवाजलाई माईतीघरमा घेरा हाल्छ। हातमा हतकडी थमाउछ । आफ्नो माटो मिच्नेको हात रोक्न राष्ट्रिय आह्वान गर्दै सिमानामा पहरेदार हुनुपर्ने नेपाल प्रहरी आफ्नै दाजुभाइलाई माथिको आदेशमा बुट बजार्न हतारिन्छ । राष्ट्रमाथि आईपर्ने सकटमा बोल्नुपर्ने, बैरीको अगाडी छाती थाप्न तयार हुनुपर्ने ९६ हजार सेनाको इतिहास के सत्ताका मतियारहरुको चस्मा, जुत्ता र झोला बोक्न मात्रै हो त ? के नेपाल आमामाथी संकट आईलाग्दा बलभद्र कुँवर, भक्ती थापा र भिमसेन थापाका सन्तान भन्दै गर्बले छाती मात्रै फुलाउने कि आफ्नो आमामाथी बैरीले बुट बजार्दा आमाको रक्षार्थ सिमानासम्म जाने हिम्मत गर्ने ?

१९५० को सुगौली सन्धीले नै ठगिएका इतिहासका वीर नेपाली हामी सवा सय बर्ष ठूल्दाईको कृपा र अनुग्रहले त्यस्तो बिरतामय इतिहासलाई कुल्चदै यति लाचार र निकम्मा हुँदै जाने हो भने एक दिन जसरी वीर गोर्खालीको इतिहास बनेको थियो त्यसैगरी इतिहासको पानामा नसमेटिएला भन्न सकिन्न । 

प्रधानमन्त्रीज्यू, आफ्नै नातेदार बैनी वा भान्जीको माया र कृपामा पाएको जवान मृगौलाको हिम्मत जुटाएर आफ्नो माटोको लागि, नेपाल आमाको लागि, नेपालको राष्ट्रियताको लागि पुन एक पटक साँचो अर्थमा इमान्दार भएर जवान हुनुहोस। उठ्नुहोस प्रधानमन्त्रीज्यू तपाईं उठ्दा के प्रतिपक्षी, के बिरोधी, के यूवा, के बृद्ध, के बिद्यार्थी, के नागरिक समाज सबै जनता देशको खातिर तपाईंसँगै जुरुक्क उठ्नेछन्। तपाई उठ्दा देश उठ्छ । अब ढिलाई नगर्नुहोस् फलाम तातेकै बेला तपाईं घन उठाउनुहोस हामी होस्टेमा हैसे गर्नेछौ। पुन एकपटक हामीलाई हेप्नेलाई घुडा टेकाउन प्रधानमन्त्रीज्यू अघी लाग्नुस जनता पछाडी लाग्नेछन। भिजेको विरालो जस्तो भएर बस्ने हो भने आफै घुँडा टेकेर बाहिरिनुस। देश चलाउने अर्को कोहि आउने नै छ। हामी सबैले बुझ्नुपर्ने कुरा हो नेपाली हामी रहौला कहाँ नेपालै नरहे।

( भरतपुर महानगरपालिका वाड न १३ चितवनका पौडेल हाल साउदी अरबमा कार्यरत छन्।) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ