arrow

जेठ २ मा नेशनल अस्पताल भर्ना भएका विरामीको ४ मा निधन, स्वाब संकलन भएको ८ दिनसम्म पनि छैन रिपोर्ट 

विरामीको रिपोर्ट आउनु अघी नै अन्त्येष्ठी, आइसीयू बन्द, को को छन् खतरामा? प्रशासन के भन्छ?

logo
दिपेन्द्र चौहान,
प्रकाशित २०७७ जेठ १० शनिबार
national-medical-college-su.gif

पर्सा। करैया गाउँपालिका ७ बाराका ७० बर्षका एक बृद्धको जेठ ४ गते नेशनल अस्पतालमा उपचारका क्रममा निधन भयो। जेठ २ गते दिउँसो १ वजे अस्पताल भर्ना भएका चौधरी थरका ति बृद्धको जेठ ४ गते राती निधन भएसँगै अस्पतालले परिवारलाई शव बुझाएको थियो। परिवारले पनि शव पाएसँगै आफ्नो परम्परा अनुसार अन्त्येष्टी गरेको छ। 

जेठ २ गते १ वजे उपचारमा ल्याउने वित्तीकै भेन्टिलेटरमा राखेर ति बृद्धको उपचार शुरु गरिएको थियो। डाक्टर समेत रहेकी अस्पतालका संचालक मोहम्मद बसरुद्धिन अन्सारीको छोरीले ति बृद्धलाई भेन्टिलेटरमा राखेर उपचार शुरु गरेकी थिइन। क्षयरोग र दम समेत रहेका उनलाई पछिल्लो पटक निमोनिया पनि थियो। आइसीयूमा भेन्टीलेटरमा राखेर उपचार शुरु गर्नुअघी उनको स्वाब समेत संकलन गरेर टेस्टका लागि नारायणी अस्पतालमा पठाइएको थियो। तर स्वाबको रिपोर्ट आउनुअघी नै ४ गते साँढे १२ वजेतिर ति बृद्धको मृत्यु भयो। 

अब अस्पतालले स्वाबको रिपोर्ट आउने बेलासम्म शब अस्पतालमा राख्न आवश्यक ठानेन। न त यसको जानकारी प्रशासनलाई नै दियो। स्वाबको रिपोर्ट आउनु अघी नै अस्पताल प्रसासनले परिवारलाई शब जिम्मा लगाइयो। परिवारले पनि शब पाएपछि धार्मिक परम्परा अनुसार सद्गती गरे। स्वाब संकलन गरेर दुई गते नै पठाए पनि नारायणी अस्पतालबाट रिपोर्ट नेशनल अस्पताललाई पठाउन ढीला भयो। तर रिपोर्ट शंकास्पद देखिएको मौखिक जानकारी ६ गतेपछि गराइएको थियो। त्यहि मौखिक जानकारी दिनुअघी नै मृतकको दाहसंस्कार भइसकेको थियो।  

दुई गते नै पठाइएको स्वाबको ढीलो गरि ६ गतेपछि मात्र टेस्ट भयो। टेस्टका क्रममा शंकास्पद देखिएपछि नारायणी अस्पतालले टेकुस्थित प्रयोगशालामा पठायो। टेकुको प्रयोगशालाको रिपोर्ट अहिलेसम्म नआएको मेडिकल नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए। सायद धेरै टेस्ट गर्नुपर्ने भएका कारण होला हामीलाई रिपोर्ट प्राप्त नभएको उपाध्यायले हाम्राकुरासँग भने।     

अस्थायी कोरोना अस्पताल बिरगञ्जका संयोजक डा उदय नारायण सिंहले आफूहरुले कोरोना अस्पतालमा स्वाब परिक्षण ६ गतेपछि मात्र शुरु गरेको बताउँछन्। नेशनल अस्पतालबाट आएको विरामीको रिपोर्ट पोजेटीभ आएपनि दोस्रो रायका लागि काठमाडौं पठाइएको बताए। नारायणी अस्पतालकै टीमले अहिले कोरोनाको उपचार छुट्टै अस्थायी कोरोना अस्पतालमा शुरु गरेको हो। 

५ गतेसम्म पर्याप्त मात्रामा स्वाब टेस्ट गर्ने कीट नभएको कारण टेस्ट नभएको नारायणी अस्पताल स्रोतले जनाएको छ। तर ति बृद्धको रिपोर्ट जब शंकास्पद देखियो तब नारायणी अस्पताल प्रशासन र पर्सा जिल्ला प्रशासन परेसान भएका छन्। दोस्रो रायका लागि पठाइए पनि त्यसको पनि रिपोर्ट आउन ढीलाई हुँदा अहिले अनेक आशंका जन्मिएको छ। 

बिरगञ्जमा गरिएको परिक्षणको रिपोर्ट थाहा पाएपछि नेशनल मेडिकल कलेज पनि समस्यामा परेको छ। कलेज प्रसासनले कोरोना संक्रमित विरामीकै कारणले आइसीयू बन्द गरेको भन्न पनि नसक्ने र संचालनमा ल्याउन पनि नसक्ने अवस्था भएपछि अस्पतालका निर्देशक प्राध्यापक डाक्टर प्रमोद कुमार शर्राफले एक सूचना निकालेर ३ दिनका लागि नयाँ विरामी नलिने जानकारी दिएका छन्। 

सर्राफले प्रत्येक तीन महिनामा फ्युमीगेशन गर्नुपर्ने भएको कारण देखाउँदै शुक्रवारदेखि ३ दिनसम्म नयाँ विरामी नलिने जानकारी गराएका हुन्। अस्पताल प्रशासनले आइसीयू बन्द गर्ने निर्णय तिनै बृद्धको उपचारसँग सम्वन्धित भएकै कारण रहेको अस्पताल स्रोतले बताएको छ। 

उपचारमा संलग्न रहेकी अन्सारीको डाक्टर छोरी अस्पतालमै सेल्फ आइसोलेशनमा छिन्। अन्सारीले अहिलेसम्म मृतक व्यक्तिको स्वाब परिक्षणको रिपोर्ट अस्पतालमा प्राप्त नभएको बताए। उनले रिपोर्ट पोजेटीभ नेगेटीभ केहि थाहा नभएपनि सतर्कता अपनाइएको बताए। उनले भने, "छोरी समेत सेल्फ आइसोलेशनमा छिन।"

पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर कार्कीले मृतकको रिपोट शंकास्पद आएको आफूले जानकारी पाएको बताए पनि औपचारिक रिपोर्ट भने नपाएको बताए। २ गते नै पठाएको स्वाबको परिक्षण ६ गतेसम्म नहुनु, विरामीको मृत्यु भइ सदगती गरेपछि ढीलो गरि रिपोर्ट आउनु अनि त्यो रिपोर्टलाई शंकास्पद भनि फाइनल रिपोर्ट दिन ढीलाई किन भइरहेको छ भन्ने सवालमा कार्कीले यसबारेमा प्रहरीलाई अनुसन्धान गर्न भनेको बताए। उनले भने, "अचम्म लागेको छ ढीलाई भएको देखेर।" 

यदि मृतकको रिपोर्ट पोजेटीभ आएमा उनको परिवार अन्तिम संस्कारमा आउनेहरु खतरामा पर्न सक्नेतर्फ प्रशासन कत्तिको सजग छ भन्ने प्रश्नमा कार्कीले भने, "अन्तिम  रिपोर्ट नआइ अब मृतकको परिवार र आफन्तको कन्ट्याक्ट ट्रेसीङ गर्ने र उनीहरुको पनि परिक्षण गर्ने कुरा भएन। हामी रिपोर्ट कुरेर बसेका छौं।" 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ