arrow

सुकुलगुण्डा सरकार

निकटहरुबाट भ्रष्टाचारको दुर्गन्ध आइरहँदा प्रधानमन्त्री किन अत्तरझै झन छेउमै राखिरहेछन?

logo
बलदेव  तामाङ,
प्रकाशित २०७७ जेठ २४ शनिबार
baldev-tamang.png

गाउँघरतिर बोलिचालीमा निकै चल्छ सुकुलगुन्डा। आफुसँग केहि नभए पनि ठुला ठुला कुरा गर्ने, नभएको कुरालाई पनि बढाई चढाई गरि भएकै जसरी गफ दिने, फुर्ती लगाउने व्यक्तिलाई सुकुलगुण्डा भनिने गर्छ।खाना नपाएर पेट भोकै भएपनि मासु भातकै गफ दिईरहने, घरमा मान्द्रोमाथी नै सुतेको किन नहोस् गलैंचा भन्दा तलको कुरै नगर्ने यस्तो सुकलगुण्डा प्रवृतीले आफु पनि काम नगर्ने र अरुलाई पनि बराल्दै हिड्ने भएपछि यस्तालाई गाउँघरतिर सुकुलगुण्डाको रुपमा नामाकरण भएको पाइन्छ। धेरैजसो पहाडका गाउँघरतिर यो शब्दको प्रयोग अहिले पनि त्यस्तो प्रवृतीमाथि प्रहार गर्नुपर्दा प्रयोग हुँदै आएको पाइन्छ।  

गोजीमा फुट्या कौडी नभए पनि हजारौंको गफ चुट्ने, अनावश्यक ठाँउमा ऋण नै लिएर भए पनि खर्च गर्दै हिड्ने, घरमा बुढा बा आमाले दुख गरेर कमाएको अन्न दुख गर्नेले भन्दा अगाडि नै भ्याईदिने, परिवार रोग भोक र शोकमा पिल्सिरहेको भए पनि टोल टोल र चोक चोकमा चाही मैले परिवारलाई यस्तो सुखसाथ पालेको छु भनेर लाजै नमानी भन्दै हिड्ने टपरटुइया प्रवृतीलाई पनि सुकुलगुण्डाको रुपमा लिने गरिदै आएको पाइन्छ।

सरकारको व्यवहार पनि यस्तै हामी अहिले यस्तै सरकार व्यहोर्न अभिसप्त छौ। इतिहासकै बलियो र काम गर्न सहज नेकपा नेतृत्वको वर्तमान सरकारको रवैया र प्रवृत्ति हेर्दा सुकुलगुन्डा पात्रको भन्दा कुनै हिसाबले फरक देखिदैन। अहिले कोरोना भाइरसको महामारीबाट विश्व नै आतंकित छ, यसबाट नेपाल पनि अछुतो छैन । यो लेख तयार गर्दै गर्दा ३२ सय भन्दा बढी संक्रमित, तीन सय ६५ जना डिस्चार्ज र १३ जनाले मृत्युवरण गरेका छन् । दिनहुुँ तिव्र गतिले संक्रमित थपिदै गईरहेको छ । सरकारको रवैया हेर्दा कोरोनाबाट बचाउन, परिक्षण, उपचार लगायत व्यवस्थापकिय काममा जति संवेदनशिल भएर लाग्नु पर्ने हो त्यसप्रति कुनै चासो नदिई सुकुलगुन्डा शैलीमा अनावश्यक विषयहरुमा समय मात्र होइन राज्य ढुकुटीको समेत बर्बाद गरिरहेको छ।

लकडाउन भएको पनि पचहत्तर दिन पुगिसकेको छ । लकडाउनको अवधी थप्ने बाहेक अरु गरेको देखिदैन । यो महामारी नियन्त्रण भएन भने मानवजाती नै संकटमा पुग्ने निश्चित हुँदा हुँदै खुलेआम स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरिएको छ। विश्व स्वास्थ्य संगठन र स्वास्थ्य विभागले समेत आरडिटी परिक्षण काम छैन भन्दा भन्दै पनि जनस्वास्थ्यमाथि खेलवाड गरिदै आरडिटी टेष्ट किट खरिद गरिएको छ। परिक्षणमा भर पर्न पिसीआर टेष्ट नै गर्नुपरेपछि जनताको पैसा केहि विचौलिया र सरकारका मान्छेहरु पाल्न मात्र किन आरडीटीमा खरिद गरिदैछ यसको चित्तबुझ्दो जवाव पाउन सकिएको छैन। दैनिक करिब तीन हजार पिसीआर गरि पाँच हजार आरडिटी गर्नुको साँटो सबै पिसीआर टेस्ट किन नगरिएको यसको पनि चित्त बुझ्दो जवाफ छैन। सामाग्री खरिद गर्दा मोटो रकम खल्तीमा हाल्ने बाहेक अरु स्वार्थ देखिदैन। 

परिक्षणको दायरा फराकिलो बनाउदै लाने हो भने संक्रमितको संख्या पनि बढेर आउने निश्चित छ । तर सरकार कहाँ अलमलिएको छ थाहा छैन । अहिलेको अवस्था सामान्य होइन । तर सरकार भने पुरै सुकुलगुन्डा प्रवृत्तिमा बरालिने र मोजमस्तीमा लागिपरेको छ। निन्द्रामै रहेको सरकार व्युझिन सकेको छैन।मोजमस्ती छोडेर वास्तविक जीवनमा फर्किन सकेको छैन। यहि रवैया रहे ऐया समेत भन्न नपाउने संकट सम्मुख छ । विश्वका शक्ती राष्ट्रहरुले नै नसकेको लडाँईमा हामीले जीत निकाल्न मुस्किल छ। 

बुढा बा आमा मृत्युको मुखमा पुग्दा पनि बेवास्ता गरि अन्यत्र नै रमाउदै हिड्ने सुकुलगुन्डा झै संवेदनहिन भईरहेको छ? कोरोनाका बिरामीले अस्पतालमा तातोपानी सम्म राम्ररी पाएका छैनन्। अधिकांश स्वास्थ्यकर्मी पिपीई बिना काम गर्न बाध्य छन् । टेस्ट किटको अभाव छ । प्रयोगशालाको अभाव छ । जनशक्ति अभाव छ । देशभरिमा करिब चार हजार आईसियु र करिब तिन सय मात्र भ्यान्टिलेटर भएको तथ्य सार्वजनिक भएको छ। यस्तो अवस्थामा हजारौं संक्रमित थपिए भने के हालत होला? सरकार किन कानमा तेल हालेर बसिरहेको छ? किन निर्जीव प्राणी जस्तो संवेदना देखाउदैन? क्वारेन्टिनको नाममा भैंसी गोठ र तरकारीको ग्रीनहाउसमा मात्र होइन ओढारमा बस्न वाध्य बनाइएको छ। 

यतिबेला त अस्थायी संरचना बनाएको भए पनि व्यवस्थापन गरिसक्ने समय थयो। सिमाबाट प्रतिदिन हजारौंको संख्यामा मानिसहरु भित्रिरहेका छन् । स्वास्थ्यको कुनै मापदण्ड लागु भएको देखिदैन । प्रभावकारी परिक्षण र व्यवस्थापन गरेको छैन । यस्तो लापरबाहीबाट समुदायमा कोरोना संक्रमण हुने खतरा उच्च छ। यस्तो कन्तबिजोग अवस्था हुँदा पनि सरकार सब ठिकठाक छ, हामीले अभुतपुर्व काम गरेका छौ भनेर पीठ थप्थपाइरहेको छ। परिक्षण, उपचार, व्यवस्थापन, स्वास्थ्य सामग्रीको उपलब्धता, अस्पताल र क्वारेन्टिनको विद्यमान अवस्थालाई हेर्दा सरकार फर्जी कुरा गरिरहेको छ भन्ने कोरोना उपचारको नाममा खर्च गरेको दश अरब रुपैयाँको हिसावले समेत देखाउँछ। 

लकडाउन गरि जनतालाई घरमै थुनेर जनताको स्वास्थ्य सुरक्षामा खर्च गर्नु पर्ने राज्यको ढुकुटी दोहन गरिरहेको सरकार भने जनताले दुई तिहाई बहुमत यसैका लागि दिएको झै निर्लज्ज प्रस्तुत भइरहेको छ।भयंकर राष्ट्रवादी हुँ भन्ने सरकार अचानक संविधान संशोधन कार्यसुची संसदमा पेश किन गर्न सकिरहेको छैन ? भ्रष्टाचारीको मुख हेर्दिन भन्ने प्रधानमन्त्रीकै अगाडी ठुलो देखी सानो सिंहदरवारसम्मै भ्रष्टाचारको दुर्गन्ध आइरहँदा त्यसलाई अत्तर सम्झिने काम स्वयं प्रधानमन्त्रीबाट किन भइरहेछ ? निकटहरुले भ्रष्टाचारको दुर्गन्ध फैलाउँदा प्रधानमन्त्री अझ किन तिनिहरुलाई शिर चढाउने काम भएको छ? यो आज जनजनमा सबैले सोधिरहेछन्। 

कानुनी राज्यको दुहाई दिने तर निर्मला, नवराज विक लगायत सयौं हत्या काण्डका दोषीहरुलाई उन्मुक्ति दिने, अपहरणकारीहरुलाई सफाई दिने, अदालत, प्रशासन, विभिन्न आयोग, सुरक्षा निकायलाई नेकपाको भातृ संस्था बनाउने काम के यो आजको सरकारको प्राथमिकता बनेको छ। खाना नपाएर कोहि मर्नु पर्दैन भन्ने तर लकडाउन भएको तीन महिना पुग्न लाग्दा समेत दिउँसो काम गरि बेलुकाको छाक टार्ने श्रमिकको चुल्होको खबर के छ ? सोधखोज नगर्ने र आफ्नो कार्यकर्ता छानेर राहत बाड्ने कार्य के यो समाजवाद उन्मुख व्यवस्था हो वा अरु केहि ?

महामारीमा जनता भोकै छन, समाजवाद उन्मुख दुई तिहाईको सरकार भने राष्ट्रपतिलाई एक करोडको कार्पेट फेर्न, मन्त्रीहरुलाई लाखौंको जिमखाना बनाउन, पानीजहाज आउने टुंगो नभएको कार्यालयलाई करोडौंको गाडी किन्न हतार गरिरहेको छ । कर्णालीमा जनताले सिटामोल खाना पाएका छैनन् प्रदेश सभामुख दुई करोडको गाडी किनिरहेका छन् । स्वदेशमै बनाउन सक्ने मास्क लगायत पिपीई दशौं गुणा बढी मुल्यमा सरकार विदेशबाट ल्याईरहेको छ। यतै भ्रष्टाचार उतै भ्रष्टाचार सर्वत्र भ्रष्टाचार भएको छ।

अनावश्यक खर्च कटौती गरि स्वास्थ्य क्षेत्रको भौतिक संरचना, आवश्यक सामाग्री, जनशक्ति व्यवस्थापन गर्नु पर्ने बेला अग्रपंक्तिमा खटिएका कर्मचारीहरुको मनोबल उच्च बनाउनु पर्नेमा सबै भत्ता कटौती गर्ने तर मन्त्री, सांसद र उच्च ओहदामा विराजमानहरुको नकाट्ने, रोग र भोकले पिल्सिएको जनता र लकडाउनले अस्तव्यस्त बनेका व्यवसायीहरुलाई राहत दिनुको सट्टा जसरी पनि कर तिर भनेर आदेश जारी गर्ने यस्ता प्रतिनिधि घटना अरु कति छन् कति। यि सबै रवैया गाउँघरतिर भनिने त्यहि सुकुलगुन्डा प्रवृत्तिलाई समेत माथ खुवाउने खालको छ।

त्यसैले यो बेला, सुकुलगुन्डा प्रवृत्तिलाई त्यागी, अत्यन्तै संवेदनशिल भएर श्रमिकलाई उचित राहत दिदै, कोरोना परिक्षण, ट्रेसिङ्ग, उपचार, उद्दार, क्वारेन्टिन र अस्पतालको व्यवस्थापन गरि लकडाउन अवधी थप्ने मात्र नभई सबै पक्षलाई साथमा लिई संक्रमितको संख्या अध्ययन गरि उच्च सतर्कता अपनाई लकडाउनको स्वरुप परिवर्तन गरि आर्थिक गतिविधि शुरु गर्न अब ढीलाई गर्नुहुन्न। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ