arrow

भ्रष्टाचारको भ्याक्सिन खोजौ 

logo
बलदेव तामाङ,
प्रकाशित २०७७ असार ६ शनिबार
baldev-tamang.jpg

मुलुकको विकास र प्रगतिलाई अवरुद्ध गर्ने प्रमुख तत्व हो भ्रष्टाचार । कौटिल्यले उबेला नै भनेका थिए बरु आकाशमा उड्ने चराको बाटो सजिलै अनुमान लगाउन सकिएला तर भ्रष्टहरुको अवैध कर्म र तिनले अनुचित ढंगले कमाएको सम्पती पत्ता लगाउन निकै कठिन हुन्छ । भ्रष्टाचार संसारभर क्यान्सर जस्तै फैलिएको छ । नेपालको सन्दर्भमा भ्रष्टाचारले नै मुलुक निर्माणमा सयौं वर्ष पछाडि धकेलिएको जगजाहेर छ । तर यसको न्यूनीकरण गर्नेतिर आजसम्म पनि कसैले आट गरेको देखिदैन। बरु  कसरी छिटोभन्दा छिटो एक दुई वर्षमै वर्ग नै परिवर्तन हुने गरि कमाउन सकिन्छ, त्यसतर्फ ध्यान केन्द्रित गरेको देखिन्छ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले केहि समय अगाडि प्रकाशित रिपोर्टमा समेत नेपाल धेरै भ्रष्टाचार हुने मुलुकको सुचीमा परेको थियो । सत्ता बाहिर हुँदा विरोध गर्ने तर सत्तामा पुगेपछी भ्रष्टाचारको दलदलमा हेर्नै नमिल्ने गरि दलका नेताहरु कैयन फसेका देखिन्छ । १०४ वर्षे राणा शासन, ३० वर्षे पंचायती शासन बीचको बहुदलीय शासन, राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकाल, माओवादी युद्ध भित्र र अहिलेको गणतन्त्रकालसम्म आईपुग्दा सबै नेतृत्व र त्यसका वरिपरिकाहरु भ्रष्टाचार गरि कमाउनमै उद्द्त रहेको देखिन्छ । जसको फलस्वरूपस् नेपाल विकास र मानव विकास सूचकांकमा पुच्छारमा परेको छ । अझ मार्मिक कुरा, चरम बेरोजगारीका कारण भारत गएका बाहेक करिब ४० लाख युवाहरु विदेशी भुमिमा ज्यादै संकटपुर्ण काममा रगत पसिना बगाई जिडीपीमा २८ प्रतिशत भन्दा बढी योगदान पुर्‍याईरहेका छन् रेमिट्यान्स पठाएर । भेन्टिलेटरमा पुगिसकेको नेपालको अर्थतन्त्रको कृत्रिम प्राण भर्ने काम यहि रेमिट्यान्सले गरिरहेको छ । नीतिगत भ्रष्टाचार त कति छन् कति, जसलाई सजिलोसँग देखिदैन तर देखिने गरि हुने भ्रष्टाचारको जालो पनि उत्तिकै डरलाग्दो छ । समाजको हरेक तह र तप्कामा यसले नराम्ररी जरा गाडेको छ । चक्की मात्र होइन एन्टिबायोटिकले समेत निको नहुनेगरी गाडेको छ। 

भ्रष्टाचारले सार्स, इबोला, स्वाइनफ्यु अनि कोभिड १९ ले भन्दा पनि बढी महामारीको रुप लिईसकेको छ । बरु कुनै महामारी निश्चित भूगोलमा मात्र देखिने र केही समयपछि हराएर गए पनि भ्रष्टाचारको महामारीले कुनै पनि स्थानलाई संक्रमण हुनबाट छोडेको छैन । यत्रतत्र सर्वत्र चलिरहेको भ्रष्टाचारको प्रदुषित वायुले आमनागरिकलाई श्वास फेर्न कठिन पारेको छ । देशको भविष्य अन्धकारमा धकेलिएको छ । भ्रष्टाचार कहाँ भएको छ होइन, कहाँ चाही भ्रष्टाचार छैन भन्ने परिस्थिति विद्यमान छ । ठुला परियोजनाका कुरा त छाडौं, कार्यालय सहयोगी नियुक्तिमा घुस, कर्मचारी नियुक्ति, सरुवा बढुवामा घुस, वडा अध्यक्षको टिकट लिन नेतालाई घुस, जितेपछी घुस, लाईसेन्समा घुस, कर, मालपोत, शिक्षा, स्वास्थ्यमा घुस, न्यायलयमा घुस, सेना, प्रहरीमा घुस, हुँदाहुँदै अपहरण, बलात्कारि हत्यारा छुटाउन समेत घुस, युवा विदेशिदा घुस, कारणवस उत्तै मृत्यु भए लासमा धरी घुस, उफ! कहाँ छैन घुस ? विकास निर्माण, जलविद्युत निर्माण, जहाज खरिद, सरकारी ठेक्का,  भाडा लिज, कर, कृषि अनुदान, सुरक्षाकर्मिको राशन, पोशाक, हुँदाहुँदा युद्धमा लडेका माओवादी लडाकुको रगत र लासमा समेत भ्रष्टाचार ! कुन ठाँउ छ जहाँ, भ्रष्टाचार नभएको होस् ? भ्रष्टाचारको अनुसन्धान र नियन्त्रण गर्ने निकायहरु नभएका होइनन् तर ति सबै नेता र सत्ताको चाकडीमा लगेको पाईन्छ । मानौ कि सत्तासिन पार्टीको भातृ संस्थाहरु हुन । सत्तापक्षले विपक्षलाई फसाउन मात्र प्रयोग भएको भान हुन्छ कहिले कहिँ । अझ यो कार्य वर्तमान नेकपा नेतृत्वको सरकारले बढी गरेको देखिन्छ । भ्रष्टाचारीले जहिले पनि उन्मुक्ति पाएको देखिन्छ । 

राणाहरुले १०४ वर्ष र ३० वर्ष पञ्चायतको नाममा मुलुकलाई लुटेर कमाएको अवैध सम्पती बहुदलकालमा पुर्ख्यौली सम्पतिको नाममा वैध बनाए । बहुदलकालका कयौं भ्रष्टाचारीहरुले उन्मुक्ति पाए भने केहिलाई मात्र नियोजितरुपमा फसाए । यति मात्र होइन विभिन्न कालखण्डमा अवैधरुपमा अख्तियारको दुरुपयोग गरि कमाएका र शक्तिको दुरुपयोग गरेका व्यक्तिहरु जसलाई विभिन्न समयमा गठन गरेका आयोगहरुले दोषी ठहर्‍याई कारबाहीको सिफारिस गरेका थिए, लोकतन्त्र आएपछि तिनलाई नै विभिन्न राजनीतिक नियुक्ति, न्यायाधीश, अख्तियार प्रमुख, सेना, प्रहरी प्रमुख, सचिव, मन्त्री बनाई उच्च सम्मान गरे। त्यसैले नेपाल भ्रष्टहरुकालागी उर्भरभुमिको रुपमा चिनिन थालेको छ। प्राकृतिक प्रकोप र महामारीमा धरी भ्रष्टाचार गर्नु भनेको कुनै पनि हिसाबले क्षमा दिन सक्ने विषय हुदै होईन यसको मतलव अरुबेला गर्नु ठिक भन्न खोजेको होइन भ्रष्टाचारलाई कहिले पनि क्षमा दिनु हुदैन । तर वर्तमान नेकपा नेतृत्वको सरकार महामारीलाई अकुत सम्पती कमाउने अवसरको रुपमा लिएको छ पाईन्छ । ओम्नी ग्रुपलाई कोरोना परिक्षण र उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री खरिदकालागी अपारदर्शीरुपमा ठेक्का दिई बजारमुल्य भन्दा चारगुणा बढीमा दिएको र धेरै सामाग्री काम नलाग्ने ल्याए पनि पैसा भुक्तानी गर्नु करोडौंको आर्थिक चलखेल प्रष्ट छ। धेरै विरोध आएपछि जनताको आँखामा छारो हाल्न स्वास्थ्य सामाग्री खरिदको जिम्मा सेनालाई दिएकोमा पनि सामान्य १३ रुपैयाँ पर्ने सर्जिकल माक्समा समेत सेनाले पनि चारगुणा बढी ५२ रुपैयामा ठेक्कामा पारेको देखिन्छ यसबाट करोडौं भ्रष्टाचार भएको छर्लङ्ग छ । सेना समेत भ्रष्टाचारीहरुको चक्रव्यूहमा र भ्रष्टाचारको दलदलबाट बच्न सकेनन् बरु चुर्लुम्म डुब्यो । 

इमान्दारीपुर्वक कोरोना महामारीबाट आमनागरिकलाई सुरक्षीत गर्नु पर्ने बेलामा आफ्ना भावी पुस्तालाई कसरी अकुत सम्पति सुरक्षित गर्नेतिर केन्द्रित गर्नु राष्ट्रकोलागी नै दुर्भाग्यको विषय हो। यसैगरी चीनको वुहानबाट ल्याएका नेपालीहरुलाई खरिपार्टी क्वारेन्टाइनमा औषधि नै नदिई ७४ लाखको खाना र औषधि दिएको भनि बिल पेश गरेको तथ्य बाहिर आएको छ । भर्खरै स्वास्थ्य सामाग्री खरिदकालागी कम मुल्यमा कोटेसन हालेको कम्पनीलाई नदिई करोडौं रुपैयाँ बढिमा ओम सर्जिकल कन्सर्न प्रालिलाई ठेक्का पारेको प्रमाण बाहिरिएको छ। यहाँ पनि कमिसन कै खेल देखिन्छ। क्वारेन्टाइन निर्माणदेखी हरेक ठाउँमा भ्रष्टाचार, विदेशीभुमिमा संकटमा रहेका नेपालीहरुलाई उद्दारको नाममा साबिकको जहाज भाडामा चार गुणा बढी र विरोधपछि दुई पटक घटाउदा पनि दुई गुणा बढी लिने निर्णयको पछाडी कमिसन कै खेल हो । यो विषय लाज मर्दो मात्र होइन संवेदनाहिनताको पराकाष्ठा हो । क्रुरताको सिमा पार हो । 

देश विकासको गतिलाई अवरुद्ध पार्ने भ्रष्टाचारको महामारीलाई अब सामान्य चक्की र एन्टिबायोटिकले मात्र नियन्त्रण हुँदैन । यसकालागी भ्याक्सिनकै निर्माण गर्नु पर्छ । आफ्नै पार्टीका नेता कार्यकर्ता , अरु पार्टीको नेता कार्यकर्ता, मन्त्री, कर्मचारी, सरकारी अधिकारी, छिमेकी या परिवारका सदस्य नै किन नहोस् यदि भ्रष्ट छन् । अवैध कार्यमा सहयोग गर्छन्, अख्तियारको दुरुपयोग गर्छन् भने सबैले आआफ्नो ठाउँबाट सामाजिक बहिष्कार र जनकारबाही गर्न शुरूवात गर्नुपर्छ । सामाजिक बहिष्कार र जनकारबाही नै अन्तिम उपाय हो देशमारा र जनतामारा खतरनाक महामारी भ्रष्टाचार निर्मुल पार्ने भ्याक्सिन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ