arrow

बिरामी प्रधानमन्त्रीको बिमार अभिव्यक्ति, उपचार गराउन सुझाव

logo
हाम्राकुरा डेस्क,
प्रकाशित २०७७ असार ३० मंगलबार
pm-kp-oli-2019.jpg

काठमाडौं । मानिसको सबैभन्दा सत् भनेको उसको बोली हो । बोली र गोली निस्केपछि फिर्ता आउँदैन । सकियो । राम्रो बोली र गोलीको सही निशानाले फाइदा गर्छ । गलत बोली र गोलीले परिणाम गलत आउँछ ।उसको हैसियत पनि त्यहीं छर्लङ्ग हुन्छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बोलीकै कारण विश्वमा सबैभन्दा आलोचित हुने व्यक्तिमा गनिन्छन् । उनलाई कतिपयले ‘मूर्ख राष्ट्रपति’ को उपमा पनि भिराउने गर्छन् । 

अहिले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसै गरिरहेका छन् । उनको बोलीमा लगाम नलगाउने हो भने उनी आफू त डुबेकै छन् देशलाई पनि नराम्रोसंग दलदलमा फसाउँदैछन् । 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफै आन्तरिक दलदलमा नफसेको भए सम्भवतः ओलीको बोलीमा यतिधेरै छाडापन आउने थिएन । उनकै दल नेकपाका अन्य शीर्ष नेताहरु सशक्त भएर प्रतिकार गर्न सक्ने हैसियत राखेका भए उनको यो छाडापनमा पूर्णविराम लाग्ने थियो । 

पछिल्लो समय ओलीको बोलीले धर्म छाड्दै गएको छ । मदन भण्डारीको जन्म जयन्तीको दिन आफूमात्र राष्ट्रवादी र बाँकी सबै नेकपाका शीर्ष नेताहरु भारतीय दलाल भनेसंगै उनको प्रधानमन्त्री र पार्टी अध्यक्षको पद धरापमा पर्ने थिएन । 

यस्तो लाग्दैछ कि चीनले उनको बोली बुझिरहेको छैन । चीनले भारतलाई गाली गर्दा खुशी भइरहेको छ । छिट्टै यस्तो दिन पनि आउन सक्नेछ कि ओलीले चीनलाई समेत गाली गर्नेछन् । अनि चीनले पनि उनको काँध थापिरहने छैन । 

भारतलाई गाली गर्दा खुशी हुने चीन आफूले पनि गाली खाँदा के गर्ला ? त्यो दिन पनि टाढा नहुन सक्छ । किनकि ओलीले आफूलाई नियन्त्रणमा राख्न सकिरहेका छैनन् । उनलाई मनोपरामर्शको जरुरी देखिन्छ । 

अहिले आएर भानु जयन्तीको दिन बालुवाटारमा भएको कार्यक्रममा सोमबार ओलीले नपच्ने कुरा गरिदिए । उनले ‘नेपाल सांस्कृतिक रूपमा थिचिएको र तथ्यहरूमा अतिक्रमण भएको’ भन्ने टिप्पणी गरेका थिए ।

ओलीले एक प्रसिद्ध हिन्दू धर्मग्रन्थ रामायणमा वर्णित अयोध्या देश नेपालमा रहेको दाबी गर्दै राम भारतका नभई नेपालका राजकुमार भएको अभिव्यक्तिसमेत दिएका छन् । 

सदिऔंदेखि चलिआएको परम्परा र रीतिरिवाजलाई समेत उनले खेलबाड गरिदिए । 

ओलीको बोलीमा नियन्त्रण नगर्ने हो भने उनले नेपाल र भारतबीचको भइआएको र बचेखुसेको सम्बन्ध सबै पानीमा मिलाइदिनेछन् । रोटी–बेटीको सम्बन्ध टुटाइदिनेछन् । नेपालको नयाँ नक्साको उपलब्धि उनले डुबाइदिनेछन् । 

उनले पछिल्लो समय जे जे बोलेका छन् ती कुराहरुमा कहीं कतै सत्यता देखिँदैन । 

चर्को आलोचना
ओलीले रामायणबारे बोलेको विचारको अहिले चर्को आलोचना भएको छ । ओलीले भनेका थिए, ‘हामी अहिले पनि ठानिरहेका छौँ हामीले भारतका राजकुमार रामलाई सीता दियौँ । भारतका हैन अयोध्याका रामलाई सीता दिएका हौँ। अयोध्या भनेको वीरगञ्जभन्दा अलिकति पश्चिमपट्टिको गाउँ हो। अहिले खडा गरिएको अयोध्या होइन ।’

ओलीले दिएको हवालाप्रति राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले कुनै प्रतिक्रिया दिन चाहेनन् । उनले भने, ‘उहाँ सबै विषयको विज्ञ हुनुहुन्छ । सर्वज्ञानी हुनुहुन्छ । कोरोना भाइरसको डाक्टर भैसक्नुभयो । अब यस विषयको पनि विज्ञ हुनु के ठूलो कुरो भयो र ।’

राप्रपाका अर्का अध्यक्ष कमल थापाले ‘प्रमको स्तरबाट यस्ता उटपट्यांग,अपुष्ट र अप्रमाणित कुरा आउनु सर्वथा उपयुक्त छैन। भारतसंग सम्बन्ध सुधार्ने भन्दा बिगार्ने तर्फ प्रमको ध्यान गए जस्तो लाग्छ। नक्सा प्रकाशित गरेर अतिक्रमित भूमि फिर्ता ल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनाबश्यक विवाद सिर्जना गर्नु राम्रो होईन
’ भन्दै ट्वीटरमा ट्विट गरेका छन् ।

पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले पनि कडा प्रतिक्रिया दिँदै लेखेका छन्, ‘धर्म राजनीति र कूटनीतिभन्दा माथि छ। यो निकै भावनात्मक बिषय हो। बेतुकका अभिव्यक्तिले लज्जित मात्र बनाउँछ। अयोध्या वीरगञ्ज नजिकै भए सरायु नदी कहाँ छ ?’

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ओलीको भनाईबारे व्यङ्ग्य गर्दै ‘आधी–कवि ओलीकृत कलीयुगीन नयाँ रामायण श्रवण गरौं ! सिधै बैकुण्ठधामको यात्रा गरौं !’ भन्दै समाजिक संजाल ट्वीटरमा ट्वीट गरेका छन् ।

त्यसो त नेकपाका नेताहरु पनि ओलीको भनाइप्रति आक्रोशित भएका छन् ।

उनकै पूर्व प्रेस सल्लाहकार कुन्दन अर्यालले आक्रोश हुँदै ट्वीट गरेका छन्, ‘यो के बोलेको ? कि भारतको टेलिभिजन च्यानलहरुसँग प्रतिस्पर्धा गरेको ?’

नेकपाको विदेश विभागका उपप्रमुख  एवं केन्द्रीय सदस्य विष्णु रिजालले, ‘पदमा बसेर बेतुकका र असान्दर्भिक कुरा बोल्दा राष्ट्रकै शीर झुक्छ ।अप्रमाणित, पौराणिक र विवादास्पद कुरा बोलेर विद्वान भइन्छ भन्नु ठूलो भ्रम हो । फुकीफुकी पाइला चालेर भूमि फिर्ता ल्याउनुपर्ने बेलामा विरोध र उत्तेजनाका लागि एकपछि अर्को मसला दिइनु दुर्भाग्यपूर्ण मात्र होइन, रहस्यमय छ।’ लेखेका छन् । 

कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसी लेख्छन्, ‘सर्व शास्त्र पारंगत प्रकाण्ड संस्कृत,वैधिक र प्राग भु–इतिहासका ज्ञाता हाम्रा प्रम बाट भारतले नक्कली अयोध्या खडा गरेको शब्दब्रह्म प्रहार भयो। ‘अति रूपेण वै सीता चातिगर्वेण रावणःअतिदानाद् बलिर्बद्धो ह्यति सर्वत्र वर्जयेत्ू भनेझै यस्ता गम्भीर विषयलाई उखान, टुक्का, हसि र मजाक नबनाऔं।’

कांग्रेस नेता रामहरि खतिवडा लेख्छन्, ‘प्र।म।के पि ओलिले भारतले नक्कली अयोध्या बनाएको र सक्कली अयोध्या नेपालको बिरगन्जबाट पश्चिमपट्टि नेपालमै पर्छ, भन्नु भएछ । नेकपा पार्टीमा पनि त नक्कली कै बिगबिगी छ नी, अनि किनअरु कसैलाई सक्कली भन्ने रु भारत निर्मित सबै नक्कली । चीनका राजादुत लगायत सबै सक्कली रु कि कसो हो ?’ भनी प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका छन् । 

कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला लेख्छन्, ‘सन्दर्भः प्रधानमन्त्रीको अयोध्या वारेको टिप्पणी। देशमा कोरोनो स्थिति नियन्त्रण वाहिर छ, बाढी पहिरोको स्थिति विकराल छ, यस्तो जटिल स्थितिमा र अत्यन्त सम्वेदनशील विषयमा प्रमको हल्का र बेतुकको टिप्पणी हाँसो उठ्दो छ। यसले संस्कृति पनि जोगिन्न र दुई देशको सम्बन्ध पनि अझै विग्रन्छ।’

अर्थविद् स्वर्णिम वाग्ले लेख्छन्, ‘‘महाभारतको भारत’ शकुनीको घर गन्धार (पाकिस्तानको पेशावर), कृष्णको द्वारका (गुजरात), अर्जुनको विवाह केरलाकी चित्राङ्गदासंग, कुरू राज्य दिल्ली नजिक । रामायण ७००० वर्षअघि र महाभारत ५००० वर्षअघि घटेपनि प्रविधि उस्तै थिए भन्ने अनुमान गर्न सकिन्छ । अयोध्या र जनकपुर टाढा होइन ।’

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्दराज पोखरेल लेख्छन्, ‘लौ हाम्रा बाउ बाजेले अयोध्या तिर्थ यात्रा गरेर पुण्य कमाए भनेको त नक्कली ठाउँ पो परेछ नि के गर्ने होला। सोह्र श्राद्धमा पिण्ड दिँदा मिलाउनु पर्ला।’

राजनीतिक विश्लेषक खगेन्द्र संग्रौला लेख्छन्, ‘जनजीवन कोरोना, सलह, बाढी पहिरो, बेरोजगारीबाट आक्रान्त छ, प्रम ओली छलकारी राष्ट्रवादको नशामा लठ्ठ छन्। ओलीले हिजो भनेछन्, ‘भगवान् रामचन्द्र भारतीय हुँदै होइनन्, अयोध्या ठोरीमै छ ।’ यिनले चतुर्मुखी ब्रह्माजी पनि नेपाली माटोकै उपज हुन् भन्न बेर छैन। हैट् ओलीसंग नसकिने भो ।’

संचारकर्मी गोपाल झा सोध्छन्, ‘प्रधानमन्त्रीजी तपाईं सन्चै त हुनुहुन्छ ?’

भारतमा कसले के लेखे ? 
भारतीय भारतीय समाचार संस्था आइएएनएसले स्तब्ध पार्ने बयान भनेर लेखेको छ। अर्को समाचार संस्था पीटिआईले राजनीतिक विवाद उक्साउने भन्दै भारतलाई चोट पुर्याउने आश्चर्यजनक कदम भनिएको छ ।

भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले ‘भगवान राम हाम्रा लागि आस्थाको विषय हुन् र मानिसहरूले त्योसँग खेल्न कसैलाई दिने छैनन्, चाहे त्यो नेपालका प्रधानमन्त्री होउन् वा अन्य कोही ।’ भनेका छन् । 

एनडिटीभी डटकममा ‘रामका अनुयायीहरूलाई उत्तेजित पार्ने देखिएको’ लेखिएको छ । भास्कर दैनिकले ‘नेकपाका प्रधानमन्त्रीको विवादित बयान’ भनी लेखेको छ । 

बिरामीका कुरा
प्रधानमन्त्री ओली लामो समयदेखि बिरामी छन् । उनका दुबै मिर्गौलाले काम गर्न छाडेपछि दुबै मिर्गौला प्रत्यारोपण गरिएको छ । उनको आयु लामो होस् भनी नेपालीले कामना पनि गरेका छन् । 

तर उनी जति जति गल्दै गएका छन् त्यति त्यति नै आफ्नो बोलीलाई लगाम लगाउन नसक्दा देशलाई आपत् परेको छ । अब उनी बिरामी या मानसिक बिरामी हुन् भनी घोषित गरेमात्र पार पाइने हो वा के हो ? ओलीका धेरै विज्ञहरु छन् । उनीहरुले ओलीलाई केही सुझाव दिन्छन् कि अझै पनि उहाँले जे भन्नुभयो ठीक भन्नुभयो भन्दै नारा लगाउँछन् ? 

कि अझै पनि ओलीका कार्यकर्ताले सडकमा उत्रिएर भारत नेपालकै हो भन्न पनि पछि नपर्ने पो हुन् कि ? 

के ओलीको बिमारको उपचार छैन ? 

डा रामेश कोइराला लेख्छन्, ‘नदुखेको कपाल डोरी बाँधेर दुखाउनु हुन्न र कसैले यसो गर्दैछ भने उसलाई ताली वा गालीको हैन, मानसिक रोग विषेषज्ञको परामर्श र उपचारको खाँचो हुन्छ। यत्ति बुझौँ र यसै गरौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ