- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
“मैले राजनीति गरेको मेरो व्यक्तिगत स्वार्थका लागि होइन, भोका, नांगा गरिब जनताका लागि हो” नेपालका महान जननायक विशेश्वर प्रसाद कोइरालाले जीबनभरि आफ्नो यो भनाईलाई रतिभर आँच आउन दिएनन्। नेपाली कांग्रेसका सर्बोच्च नेता गणेशमान सिंहले प्रधानमन्त्री जस्तो उच्च पदको लालच गरेनन भने एउटा सानो बाकस र छाता लिएर बालुवाटार छिरेका तत्कालिन नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद भट्टराई त्यहि सानो बाकस र छाता लिएर बालुवाटारबाट निस्किए।
त्यस्तै तत्कालिन नेपाल कमनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, एमालेका तत्कालिन अध्यक्ष मनमोहन भट्टराई, एमालेका तत्कालिन महासचिव मदन भण्डारीले जनहितलाई केन्द्रमा राखी आफ्नो सम्पूर्ण जीवन जनताका नाममा समर्पित गरिदिए। यी जनताका नायकहरुको नाम लिदा पनि प्रत्येक जनताका शिर उनीहरुका लागि श्रद्धाले झुक्छ।
तत्कालिन अबस्थामा राणा शासनको विरुद्धमा लाग्नु भनेको ठुलो आँट र त्याग चाहिन्थ्यो। यसै पनि उक्त समयमा सत्ताका लागि राणाहरु आफ्नै साख्य भाई भारदारहरुलाई मार्न र बन्धक बनाउन पछि हट्दैन थिए। उनीहरुको विरुद्धमा लाग्नु भनेको फलामको चिउरा चपाए झैँ हुन्थ्यो। यसैको उपज शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई झुन्डाएर र गोली हानेर मारियो।
राणा शासनको बहिर्गमन पश्चात् देशमा प्रजातन्त्रको उदय भयो तर २०१७ सालमा राजा महेन्द्रले शिशु प्रजातन्त्र माथि प्रहार गरेर देशमा पंचायत व्यबस्था लागु गरि जनताको अधिकारलाई कुण्ठित गर्दै एकतन्त्रीय शासन गरे। महेन्द्रको यो जनघाती पंचायती शासन २०४६ सालमा राजा बिरेन्द्रको पालामा धरासायी हुन् पुग्यो र देशमा बहुदलीय व्यवस्थाको स्थापना भयो।
नेपालमा २०४६ सालमा आन्तरिम संबिधान बन्यो। बहुदलीय व्यवस्था पश्चात नेपाली कांग्रेसको बहुमतको सरकार बन्यो भने प्रमुख प्रतिपक्षीको रुपमा तत्कालिन नेकपा एमाले रहयो। बिडम्बना, यहीबाट नेपाल अस्थिरतातर्फ धकेलिदै गयो। देश र जनताका लागि जेल र नेल भोगेर आएका नेताहरु सत्ता प्राप्ति पछी देश र जनताका हितमा भन्दा आफ्ना स्वार्थका लागि आफ्नै पार्टीभित्र कलह, असमझदारी र सत्ता खिचातानीमा लागे। जनताले दिएको मतको दुरुपयोग गर्दै देशलाई अस्थिरतातर्फ धकेल्दै लगे।
देशमा बिदेशीहरुको चलखेल बढ्न थाल्यो। नेताहरुले आफुलाई खेलाउने मौका राजालाई दिए। देश झन् अस्थिरतातर्फ धकेलिदै गयो। यसको उपज, तत्कालिन माओबादीले २०५२ सालमा सशस्त्र द्वन्दको थालनी गर्यो। यहि द्वन्दमा १७ हजार नेपालीको रगतको खोलो बग्यो। हजारौं दिदीबहिनीहरु बिधुवा भए, बाबु आमाले आफ्ना छोराछोरीहरु गुमाए, छोराछोरीहरुले आमा, बाबु गुमाए।
सोहि क्रममा प्रत्यक्ष शासन गर्ने राजाको महत्वाकाँक्षा र जनताको राजसंस्थाप्रतिको बदलिएको सोचका कारण भएको गणतान्त्रिक आन्दोलन र सशस्त्र बिद्रोहको जगमा सयौंको बलिदानपछि नेपालमा गणतन्त्र आयो। आज नेपालमा गणतन्त्र आएको पनि १२ बर्ष पुगी सकेको छ। त्यसभन्दा अगाडी देशमा राजतन्त्र थियो र राजा नै राष्ट्रप्रमुख थिए।
बिसं २०६२-६३ मा भएको शान्तिपूर्ण जनआन्दोलनपछि जारी गरिएको अन्तरिम संविधान अनुरुप सम्पन्न संविधान सभाको निर्वाचन पश्चात् गठन भएको संविधान सभाको पहिलो बैठकले २०६५ साल ज्येष्ठ १५ गते राजतन्त्र उन्मूलन गरी नेपालमा गणतन्त्र स्थापना गर्यो। त्यसपछिको संविधान सभाले डा रामबरण यादबलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति घोषणा गर्यो। नेपालको संविधान २०७२ ले राष्ट्रपतिलाई राष्ट्राध्यक्ष र संविधानको संरक्षक एवं अभिभावकको रुपमा स्थापित गरेको छ। राष्ट्रिय एकताको प्रबर्धन, संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको कर्तब्य हुनेछ भन्ने कुरा संबिधानले निर्दिष्ट गरेको छ।
नेपालमा गणतन्त्रको स्थापना भयो, संबिधान पनि बन्यो तर नेताहरुको आचरणमा परिबर्तन आउन सकेन। नेपालका सबै राजनीतिक पार्टीहरु सत्ताका लागि सधै कचिंगल गर्नेतर्फ उन्मुख हुदै गए। राजनीतिलाई सत्ता प्राप्तिको सिंढीको रुपमा प्रयोग गर्न थाले। शक्ति प्राप्ति पछि राजनीतिककर्मीको जीबनशैलीमा देखिने परिवर्तनका कारण राजनीतिलाई सेवा भन्दा पेशाको रुपमा लिन थालियो। जसरि पनि सत्ता प्राप्त गर्ने लालचले मान, सम्मान, इज्जतलाई थाती राखेर भएपनि राजनीतिलाई सत्ता प्राप्तिको सिंढीको रुपमा प्रयोग गर्न थालियो। सत्ता प्राप्तिको लागि आफ्नै पार्टीभित्र गुट उपगुट खडा गरि पार्टी फुटाउने, मुक्का हानाहान गर्ने, सांसदको भागबन्डा गर्ने जस्ता अनौठ कार्यहरु पार्टीभित्र देखिन थाल्यो।
पार्टीभित्र सत्ता मोहले यसरि जरो गाड्दै गयो कि पार्टीहरु फुट्दै जान थाले। सरकार बनाउनेदेखि सरकार ढाल्नेसम्मको खेलले निरन्तरता पाउदै गयो। व्यक्तिगत सत्ता स्वार्थका कारण नेपालका कुनैपनि पार्टीहरु चोखो रहन सकेन। नेपालका पार्टी भनिएका कांग्रेस, कम्निस्ट पार्टीहरू, सद्भावना पार्टी, समाजबादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी भनौ नेपालका सबै पार्टीहरु सत्ता मोहबाट अछुतो रहन सकेन। जनताले निर्बाचनमा दिएको मतको परिणामको कुनै मूल्य रहेन। जनमतलाई पार्टीपंक्तिले पचाउन सकेनन्।
जसलेगर्दा जनताले चुनाबमा हराएका नेताहरु पनि व्यक्ति र पार्टीको स्वार्थका कारण देशको महत्वपूर्ण पद हासिल गर्न सफल भए भने जनताको नाममा सत्ता, शक्ति र पैसाको मोहले उनीहरुलाई पछ्याई रहयो। यसको उपज, देशलाई घाटा हुँदै गयो भने फाइदा नेताहरुलाई हुँदै गयो। यसको परिणाम देशमा भ्रष्टाचार, महंगी, कालाबजारीले जरो गाड्दै गयो।
नेताहरुको अस्वस्थ्य प्रतिष्पर्धाले नेपाली राजनीतिलाई अन्यौलतिर धकेलिदिएकोछ। सारा बिश्व अहिले कोरोना भाइरसको महामारीका बिरुद्ध लडिरहेको छ। नेपालमा कोरोना भाइरसले ५७ जनाको ज्यान लिइसकेको छ। २१ हजारको हाराहारीमा संक्रमित छन् जन हरेक दिन बढिरहेको छ। दिनप्रतिदिन यसको जोखिम बढ्दै छ।
कोरोना भाइरसको बाक्लो उपस्थितिका कारण पर्सामा कर्फ्यू लगाइएको छ। बाढी र पहिरोले जनताहरुको ज्यान लिईरहेकोछ। हजारौ जनता बाढी र पहिरोका कारण सडकमा भोको पेट बस्न बाध्य छन्। जनता झुन्डिएर मरिरहेका छन्। महिला, किशोरीहरु बलात्कार भैरहेकाछन्। सरकारले बनाएको क्वारिन्टिनमा पनि महिलाहरु बलात्कार भएका घटनाहरु संचारमाध्यममा आइरहेका छन्।
बालबालिकाहरु असुरक्षित छन्। प्रधानमन्त्री केपी शर्मा ओली प्रचण्ड र माधव नेपालसंग भने प्रतिपक्ष नेपाली कांग्रेसका सभापति रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग जुधिरहेका छन्। देशमा आर्थिक संकट शुरु भईसकेको छ। खाद्य संकट पर्ने सम्भावना छ। देशमा सुशासनको अवस्था शुन्य छ। देशमा भएको भ्रष्टाचारको जालो रोक्न अख्तियारलाई हम्मे परेको छ। राज्यको ढुकुटी दोहन भईरहेकोछ। न्यायलयमाथि प्रश्न तेर्सिएको छ।
“मैले राजनीति गरेको मेरो व्यक्तिगत स्वार्थका लागि होइन, भोका, नांगा गरिब जनताका लागि हो” भन्ने कोइराला, प्रधानमन्त्री जस्तो उच्च पदको वास्ता नगर्ने गणेशमान सिंह, एउटा सानो बाकस र छाता लिएर बालुवाटार छिरेका त्यहि सानो बाकस र छाता लिएर बालुवाटारबाट निस्किएका कृष्ण प्रसाद भट्टराई, तत्कालिन नेपाल कमनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, आदरणीय नेता मनमोहन भट्टराई, मदन भण्डारी जस्ता नेताहरु धेरै मानिसहरुको प्रेरणाको श्रोत भएपनि अहिले उनीहरुले नै शुरु गरेको पार्टीभित्र सधै सत्ताका लागि लडाई हुनु लज्जास्पद हो। यसतर्फ बर्तमान नेताहरुले अवश्य सोच्नु पर्ने हुन्छ।
जनताहरु नेताहरुको रातदिनको झगडा सुन्दा उदेक मान्न थालिसके। कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने झैँ, नेपाली जनताले संचार माध्यमहरुमा पार्टीभित्रका झगडा भन्दा केहि नयाँ समाचारहरु सुन्न पाइरहेका छैनन्। अहिलेको अबस्थामा सरकारले जनताका लागि के के योजनाहरु ल्याएको छ, के के योजनाहरु ल्याउदैछ ? यसका लागि प्रतिपक्ष्यले के भूमिका निर्बाह गर्दै छ ? भन्ने समाचारहरु पढन र सुन्न जनताहरु आतुर छन् न कि सत्ता स्वार्थका लागि उनका पार्टीभित्रका लडाईहरु ?
यसतर्फ नेपालका सबै संचार माध्यमहरु चनाखो हुन् आबश्यक छ अहिले जनताको पिर, मर्का र उनीहरुको जिउधनको सुरक्षा कसरी गर्न सकिन्छ भन्नेतर्फ सरकार र प्रतिपक्षलाई झक्झकाउने खालका समाचारहरु संचार माध्यमबाट सम्प्रेषण र प्रसार गर्नेतर्फ उन्मुख हुन आबश्यक छ। संचार माध्यमहरुले पार्टीभित्रको कचिङ्गल र बिबादको समाचार प्रसारण र सम्प्रेषण गर्न बन्द गर्नुपर्छ। यसको थालनी आजैबाट शुरु गर्नुपर्छ। जसले गर्दा नेताहरु पनि सचेत होउन्।