arrow

सोच्ने तरिका फेरौं, चुनौतिलाई अवसरमा बदलौं !

आफैलाई प्रश्न गरेर हेरौं

logo
पूर्णीमा घिमिरे,
प्रकाशित २०७७ साउन २१ बुधबार
human-mind.jpg

अहिले कोभिड१९ले विश्वभरी महामारी र त्रास फैलिएको अवस्था छ । यो अवस्थालाई केही हदसम्म नियन्त्रणका लागि हरप्रयास भईरहेको छ ।कोरोनाको महामारीले आर्थिक, शैक्षिक लगायतका सबै क्षेत्रमा उत्तिकै प्रभाव पारेको छ । यो लेख लेखुन्जेलसम्म विश्वभर सात लाख संक्रमितले ज्यान गुमाईसकेका छन् ।

यही भाइरसका कारण धेरैले मानसिक समस्या पनि बेहोरिरहेका छन् साथै आत्महत्याका समाचारहरु पनि धेरै सुनिएका छन् । यसले निम्त्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै यो अवस्थाबाट हामी माथि कसरी उठ्न सक्छौं भन्ने कुरालाई चिन्तन-मनन आवश्यक देखिएको छ । अहिलेको अवस्थालाई गहिरिएर हेर्दा यो भाइरस कतिसम्म लम्बिन्छ भन्ने कसैलाई थाहा छैन । त्यसैले हामी कोभिड१९ सँगै बाच्नु पर्ने स्थिति बनेको छ । सबै कुराका राम्रा र नराम्रा पक्ष हुन्छन् भनेझै यो अवस्थालाई अवसानका रुपमा मात्र नभई अवसरका रुपमा पनि हेरौं ।

मानव जीवनमा हामी प्रत्येक पलपलमा सफलताको खोजीमा हुन्छौं । आफ्ना इच्छा र चाहनाहरु पुरा गर्न चाहन्छौं । हाम्रा हरप्रयास र गतिविधिहरु कुनै न कुनै क्षेत्रमा सफलता प्राप्त गर्नका लागि नै हुन्छन् । हाम्रो इच्छा र उद्देश्य फरक फरक हुन्छ तर हामी सबैको प्रयास भनेको कसरी सफल भइन्छ भन्ने नै हुन्छ । हामीले गरेको प्रयास सधै सफल हुन्छ भन्ने पनि हुदैन । हामी असफल भएका हुन्छौं किन सर्वप्रथम त आफुले आफुलाई चिन्न नसकेर । म को हुँ ? मेरो खुवी के हो ? मेरो रुची के हो ? म लाग्नु पर्ने क्षेत्र कुन हो ? मेरो दक्षता केमा छ ? मेरा कमजोरीहरु के के छन् ? कमजोरी सुधार्न मैले के गर्नुपर्छ ? मलाई सुन्दर बनाउने मेरो भित्रि सोचलाई कस्तो बनाउन आवश्यक छ ? एकपटक आफैलाई यसरी प्रश्न गरेर हेरौं ।

आएका उत्तरहरुलाई मनन गरौं, विचार गरौं उत्तरहरुले हामीलाई पहिला भन्दा केहि फरक अवश्य बनाउँछ । सकारात्मक सोच तर्फ स्वभाविक रुपमा लम्काउँछ । आफ्नो खुवी र रुची पत्ता लगाएर त्यसमा निरन्तर लागि रहदा सफलता प्राप्त हुन्छ । सफल हुन ज्ञान र काम चाहिन्छ । यदि कसैमा ज्ञान अनुसारको काम भएन र कोहीमा काम अनुसारको ज्ञान भएन भने उसको सफलता क्षणिक हुनसक्छ । मानिसको परिचय उसको कामले दिन्छ । मानिसले समाजमा आफ्नो परिचय बनाउन सक्यो भने उ सफल भयो । सफल र सुखी हुनु सबैको जीवनको लक्ष्य हो । भनिन्छ ज्ञान शक्ति हो ! हामीले आर्जन गरेको ज्ञानलाई सही प्रयोगमा ल्याउन सकेमात्र त्यो शक्ति बन्छ । आर्जेको ज्ञानलाई जीवन उपयोगी बनाउन सक्नु सफल हुनु हो ।

सफलताबारे कुरा गर्दा लक्ष्य नै सर्वप्रथम आउछ । सानो हुँदा हामीलाई शिक्षक शिक्षिकाले भविष्यमा के बन्ने भन्दा हामी डाक्टर, पाइलट, ईन्जिनियर भन्छौं । हाम्रा आमा बाबाले पनि तिमि धेरै पढेर ठूलो र असल मान्छे बन्नु पर्छ भनेर सिकाउनु हुन्छ । तर यो कुरा भनेर मात्र संभव हुँदैन । उहाँहरुको निर्देशन अनुसार लक्ष्य निर्धारण गरेर आवश्यक मिहिनेत गर्ने हामी नै हो । भनिन्छ, लक्ष्य विनाको मानिस गन्तव्य बिनाको यात्री जस्तै हुन्छ । के गर्ने, कहाँ पुग्ने, भन्ने कुनै लक्ष्य नै छैन भने जीवनमा आफ्ना कामका लागि दगुर्नुको कुनै अर्थ हुदैन । लक्ष्य निर्धारण गर्दा सम्पत्ति र शक्तिलाई होइन ज्ञान, गुण, नैतिकता, इमान्दारीता र त्यागलाई प्राथमिकता दिनु पर्दछ ।

हाम्रो जीवनको लक्ष्य भनेको आफ्नो जीवनभर हिड्ने सहीबाटोको छनोट गर्न सक्नु हो । लक्ष्य व्यक्तिको रुची, इच्छा, चाहनाका आधारमा किटान गर्नु पर्दछ । व्यक्तिको अन्तरआत्माले जे चाहेको छ बुझेर त्यहि लक्ष्य बनाउन सक्यो भने लक्ष्य प्राप्ति सहज हुनसक्छ । उद्देश्य के लिनु, उडि छुनु चन्द्र एकभने झै उचाइमा पुग्ने चाहना राखेर सकेसम्म आफुलाई उचाइमा पुर्‍याउने कोशिस गर्नुपर्दछ ।

लक्ष्य निर्धारण गरिसकेपछि त्यसलाई आफ्नो सपना बनाउन आवश्यक छ । त्यसलाई यथार्थमा परिणत गर्नका लागि निश्चित समयावधि निर्धारण गरेर निर्धारित समय भित्र हरहालतमा पुरा गर्ने दृढ संकल्प राख्नु पर्दछ । सफल  हुने मानिसको दृढ संकल्पले एक प्रकारको यस्तो बानीको विकास गराउँछ कि जो सानो धागोको त्यान्द्रो जस्तो देखिन्थ्यो, लगातारको अभ्यासले सोही धागो फलामे साङ्लो भएर निस्कन्छ ।

सफलता प्राप्तिको लागि सकारात्मक सोच हुनुपर्दछ । फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसारभन्ने आनी छोइङ् डोल्माको गीतले सफलतामा मानिसको दृष्टिकोणको के अर्थ र महत्व हुन्छ भन्ने कुरालाई प्रस्ट पार्छ । हामीसँग म कहिल्यै हार्दिन, कि जित्छु, कि सिक्छु भन्ने मण्डेलाको जस्तो इरादा हुनुपर्छ । औड्रे हेपरबुनले भन्नु भएको जस्तै केही असम्भव छैन (Nothing Is Impossible) यहाँ प्रयोग भएको शब्द आफै भन्छ यो सम्भव छ (I’M Possible) । या अब्दुल कलामले भन्नु भएको स्वीकार गरौं— ‘यदि तिमी असफल भए भनेर नछोड किन की फेल (Fail) भनेको सिकाइको पहिलो पहल (First Attempt In Learning) हो । अन्त्य भनेको अन्त्य होइन, वास्तवमा अन्त्य (End) भनेको प्रयास कहिल्यै खेर जादैन (Effort Never Dies) भन्ने हुन्छ ।

यदि होइन (No) भन्ने उत्तरको रुपमा पायौं भने, होइन (No) भनेको अर्को अवसर (Next Opportunity) हो । त्यसैले यि सबै भनाइबाट ज्ञान लिएर हामी हरहालतमा असल कर्मप्रति सकारात्मक हुनै पर्दछ । असफलतालाई सफलतामा बदल्न लागि पर्नु पर्दछ । हामीले यसरी बुझ्नु पर्दछ की असफलता चुनौती हो । चुनौति भित्र अवसर हुन्छ । चुनौतीको सामना गर्न सक्यौं भने साहसी बनिन्छ । असफलताको पाठ सिक्ने हो भने अब्राह्म लिङ्कनलाई लिन सकिन्छ । उनले असफलता झेले, सहे अनि अगाडि बढीनै रहे । त्यो मानिसले कुनै असफलता भोग्दैन, जसले केही गर्ने आँट नै गर्दैन । यहाँ हिड्ने मानिस नै लड्छ । त्यसैले आई.बी.एम का संस्थापक टम वाटसन् भन्छन् यदि तिमी सफल बन्न चाहन्छौं भने आफ्नो असफलताको दर छिटो दोब्बर गर ।

संगतले पनि सफलता प्राप्तिमा भूमिका खेलेको हुन्छ । हरेक सफलता पछाडि कसै न कसैको हात हुन्छ । तसर्थ यस्तो मित्र बनाउन आवश्यक छ । जसले कठिन परिस्थितिमा पनि साथ दिएर अघि बढ्न सहयोग गरोस् । नेपालीमा एउटा उखान छ— ‘संगत गुणाको फलहो वास्वतमा हामी जस्तो कुराको संगत गर्छौ हामी पनि त्यस्तै हुन्छौं ।

मानिस स्वभावले नै उत्सुक प्राणी मानिन्छ । उ नयाँ नयाँ आविष्कारदेखि लिएर हरेक कुरामा भ्याएसम्म जानकारी राख्न चाहन्छ । यहि विशेषताले गर्दा नै मानिस अरु प्राणी भन्दा भिन्न भएको छ । हो, बाच्नु भनेको कुनै कर्म गर्नु हो । कर्म गर्नु भनेको पनि बाँच्ने प्रयास नै हो । मानिसले बाच्नका लागि विभिन्न कर्म गरिरहेको हुन्छ । र हरेक काममा आशा सँगै सफलताको उत्सुकता पनि रहेको हुन्छ । मानविय उत्सुकताले नै जीवनन्तता दिन्छ । यसले अमर बनाउँछ । इतिहास कोट्याएर हेर्दा मानिस ज्ञानले मात्र नभएर तिव्र भावना, इच्छा शक्ति या उत्सुकताले सफल बनेको छ । उत्सुकताले नै मानिसलाई चन्द्रमा लगायत अन्य ग्रहसम्म डोर्‍याएको छ । सफलताको खुड्कीलो भनेको नै उत्सुकता हो । हामीलाई भोक लाग्ने, भोक मेट्न गर्ने जोश, जागर, उड्ने सपना, सपना पुर्‍याउने अठोट सबै हामी भित्र हुन्छ । हामीलाई सफलता यिनै हामी भित्र भएका तत्वहरुले पुर्‍याउछ । यिनिहरुको उचित सदुपयोगले भित्रि सुन्दरता नआई बाहिरी सुन्दरता त्यसै राम्रो बन्दैन । उत्सुकता सफलताको पर्यावाची हो ।

मानिसलाई बलियो बनाउन शिक्षाको उत्तिकै भूमिका हुन्छ । त्यसैले त एक बालक २ वर्ष पुगेपछि शिक्षा हासिल गर्न विद्यालय पुग्छ, एक नयाँ उत्सुकता बोकेर । पढेर राम्रो अंक ल्याउने सबैको चाहना हुन्छ । अंक ल्याउनु मात्रै सफलता होइन । त्यो व्यक्ति सफल तब हुन्छ, जब उत्सुकता र सृजनशीलता भरिएर आउछ । सृजनशीलता नै हो जसले नयाँ कुराको आविश्कार गर्न सिकाउछ । त्यहि नयाँ कुराले इतिहासको नयाँ पाना कोर्छ । स्टिभ जब्स न त हार्डवर्डका पि.एच.डी थिए, न त अक्सफोर्डका । उनको काम प्रतिको लगावले आज प्रविधिमा ठूलो तरङ्ग ल्याएको छ । हामीले चलाउने आइफोन, आइप्याड लगायतका साधनहरुको जन्म र विकासलाई के को देन मान्ने ? विद्वता या सृजनशीलता ! तसर्थ सफलता के रहेछ आफै बुझौं ।

शिक्षा, काम, समय र पैसाको महत्व जसले बुझेको हुन्छ, उसले प्रायः जीवनको मूल उद्देश्यको पहिचान गरिसकेको हुन्छ । यिनिहरुको तालमेल मिल्नु नै सफलतातिर लम्किनु पनि हो । पूर्वीय दर्शनको जुनै शास्त्रको ज्ञान लिए पनि अर्थको बाटो धर्म देखाइएको छ । धर्म भनेको सदाचार, सद्व्यवहार हो । भनिन्छ, सेवा नै धर्म हो । त्यो व्यापारीको व्यापार बढी हुन्छ जसले ग्राहकसँग मिठो बोल्छ, सद्व्यवहार गर्छ । त्यो उद्यमीको उद्यम फस्टाउछ जसले कामदारदेखि ग्राहकसम्म सद्व्यवहार गर्छ । तसर्थ निश्वार्थ सेवा पनि सफलता प्राप्त गर्नु हो ।

सुख प्राप्ति नै सपलता हो जस्तो लाग्छ । व्यक्तिगत सुख भन्नु आत्मसन्तुष्टि हो । सुख लिनुमा भन्दा बढी दिनुमा छ । सुख अरुसँग नदाज्नुमा छ । जिम्मेवार र अनुशाशित मानिस सुखी र स्वतन्त्र दुबै हुन्छ । आनन्द वा सुख भित्रको चिज हो । यो अनुभव गर्ने कुरा हो । मानिस आफुले आफैलाई दुःखी बनाएको हुन्छ । उसले जीवनमा गरेका गल्तीकुरा संझेर ति सबै नराम्रा काम गरेको प्रति पश्चाताप गर्न थाल्छ । जीवनमा राम्रा काम नगरेकोमा चिन्ता लिन्छ । उसले बेलैमा आफ्ना रुचि, खुबी र आफुलाई चिन्न नसकेर, जीवनको लक्ष्य बेलैमा बुझ्न नसकेर आफुलाई दुःखी बनाउछ । बाचिसकेको जीवनप्रति कम पश्चाताप भई त्यसबाट पाठ सिक्नु नै सुखी हुनु हो । त्यसैले स्वतन्त्रता र सुख पाउन आफुलाई समयमा चिन्न सक्नु पर्दछ । यसले नै मानिसलाई सफलता तर्फ डोर्‍याउछ ।

अन्ततः सुख भित्रि युद्धको जीतबाट मिल्छ पैसा बाहिरी युद्धबाट । सुख र पैसा दुबै मानिसको गुण र सीप पछ्याउदै आउने दुई अचम्मका चिज हुन् । यि दुबै युद्ध जित्नसक्नु सफल हुनु हो । बेलैमा आफ्नो खुवी चिन्न सके वा विकास गर्न सके त्यही खुबी पेशा हुन्छ, शक्ति हुन्छ, नाम हुन्छ, पैसा हुन्छ, सेवा हुन्छ र धर्म हुन्छ । कोभिड१९ले हाम्रो विचमा चुनौती ल्याएको छ । यो चुनौतलाई अवसरकार रुपमा बदल्न हामीले माथि भनिएका सोच तर्फ आफुलाई अग्रसर बनाउनै पर्छ । यसरी आफुलाई अग्रसर बनाएर सकारात्मक सोचका साथ यो कठिन परिस्थितिलाई सृजनात्मक बनाएर नयाँ सुन्दर संसार निर्माण गर्न जुटौं ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ