arrow

कांग्रेसमा नवप्रवेशीको स्वागत र पुरानालाई कारवाहीको डंडाको अर्थ 

logo
प्रियरंजन दाहाल,
प्रकाशित २०७७ साउन ३० शुक्रबार
priyaranjan-dahal.jpeg

राप्रपाको एउटा समुहसहित सुनिल थापा नेपाली कांग्रेसमा प्रवेश गरे। उनको प्रवेशले नेपाली राजनीतिलाई कसरी प्रभावित गर्छ त हेर्न बांकी छ तर महाधिवेशनको मुखमा उनको प्रवेशले कांग्रेस भित्र राम्रै तरङ्ग ल्याएको छ। आउँदो महाधिवेशनलाई शेर बहादुर देउवा र इतर पक्ष दुबैले प्रतिष्ठाको बिषय बनाएको बेला उनको आगमनले स्वाभाविक रुपमा अर्थ राख्ने नै भयो। सर्सर्ती हेर्दा राप्रपामा आफ्नो पहिचान र अस्तित्वको लडाइमा कमजोर हुँदै जांदा उनले कांग्रेसमा प्रवेश गर्ने निर्णय लिएको जस्तो देखिएपनि उनको निर्णय त्यती सतही रुपमा गरिएको मान्न सकिन्न । आफ्नै राजनीतिक इतिहास भन्दा पनि बुवा सुर्य बहादुर थापाको राजनितिक उचाई र त्यसकै भर्याङ्ग चढेर राजनितिमा स्थापित सुनिलको कांग्रेसमा प्रवेशले छुट्टै अर्थ पनि राखेको हुनुपर्छ ।

प्रत्यक्ष रुपमा नेपाली राजनितिमा उनको सकृयता लामो नभए पनि परोक्ष रुपमा आफ्नै पिताको सहायक भएर राजनितिलाई नजिकबाट हेरेका छन् । राजाको प्रत्यक्ष शासन होस वा प्रजातन्त्रको पुनर्बाहाली पश्चात होस सूर्य बहादुर थापाको प्रभाव निरन्तर रही नै रह्यो ।  भनिन्छ पञ्चायतमा भारतलाई खुशी बनाउनु पर्दा सूर्य बहादुर थापा प्रधानमन्त्री बनाइन्थे र चीनलाई खुशी बनाउनु पर्दा किर्तिनिधी बिष्ट प्रधानमन्त्री बनाइन्थे ।  नेपाली राजनितिमा उनको प्रभाव र शक्ती जीवन रहेसम्म अविछिन्न रह्यो ।

राजनितिका चतुर खेलाडी सुर्य बहादुर थापा २०३६ सालको जनमत संग्रह होस वा बीपीलाई फाँसी  दिनुपर्छ भन्ने अभिब्यक्ती होस सबैका कारण चर्चामा रही रहे । यती हुँदाहुँदै पनि कोईराला परिवार र बिशेष गरी गिरिजा प्रसाद कोईरालासंगको सम्बन्धलाई पनि उनले सधै सन्तुलित राखेका थिए भनिन्छ । २०४६ सालपछिका कतिपय घटनाक्रमहरुले पनि त्यो पुष्टी गर्छ । राजनीतिक जीवनको शुरुवातमा कांग्रेसमा सकृय बनाउनेदेखी धनकुटा कांग्रेसको सभापति बनाउने र उनलाई स्थापित गराउने श्रेय पनि गिरिजाप्रसादलाई जान्छ भनिन्छ । समय क्रमसँगै उनी पञ्चायतको खम्बा भएर निस्किए तर कोइराला परिवारसँगको उनको ब्यक्तिगत सम्बन्ध सधै राम्रो नै रह्यो ।

नेपालमा अहिले दुईतिहाईको कम्युनिष्ट सरकार छ ।  कुनै समय हिन्दूस्तानसंग नजिक भनेर चिनिएका ब्यक्ती प्रधानमन्त्री छन् । तर अहिले उनि भारत बिरोधिका रुपमा चिनिन्छन् । नेकपामा चिनियाँ कम्युनिष्ट पार्टीको प्रभाव देखिने गरी बढेको छ । राजदुतको सकृयताको समाचार दैनिक रुपमा आउँछन ।  पहिले आन्तरिक र गोप्य रुपमा आफ्नो सकृयता देखाउने चीनको नेपालमा सकृयता ह्वात्तै बढेको छ ।  नेकपाको आन्तरिक राजनीतिमा होस अथवा समग्र नेपाली राजनितिमा होस उ प्रभावशाली हस्तक्षेपकर्ताको रुपमा देखा परेको छ ।  पार्टी भित्रैबाट असहयोग्, पटक पटकको धम्किका बावजुद प्रधानमन्त्री शक्तिशाली देखिनु र टसमस नगर्नुमा चीनको हस्तक्षेप हो भन्ने पनि छ ।

सदियौंदेखी नेपाली राजनितिलाई आफ्नो नियण्त्रण र प्रभावमा राखेको, निर्देशित गरेको भारतका लागी चीनको प्रभाव विस्तारित भएको पक्कै मन परेको छैन । राजनीतिक जोडघटाउ मात्रै हैन  कर्मचारी सरुवा बढुवासम्म हस्तक्षेप गर्ने हिन्दुस्तान यि सबैबाट अलग रहनु पर्दा, पक्कै पनि अमिलो महशुस गर्दैछ। लिपुलेक कालापानी बिबादमा भारतीय सुरक्षाबिद र कुट्नीतिज्ञहरुको आफ्नै भारतिय सरकारप्रतिको आक्रोशले त्यो प्रष्ट देखिन्छ । पुराना भारतीय संस्थापनले नेपालप्रती गम्भिर नभएको,  कम्युनिष्टहरुलाई अनावश्यक संरक्षण गरेको र त्यसको परीणामस्वरुप नेपालमा चीनको प्रभाव बढेको आरोप अहिलेको भारतीय जनता पार्टी नजिककाहरुले लगाउँदै आएको छन् । भारतीय संचार माध्यमहरुले भने जस्तो नेपाल पुरै चीनको जालमा परेको नभए पनि चिनियाँ सकृयता बढेको भने सत्य हो ।

आफ्नो प्रभाव विस्तारमा भारत निस्चित रुपमा कसरत गर्दै छ ।  आफ्नो शक्ती पुनर्स्थापित गर्नको लागी उ जस्तोसुकै शक्ती प्रयोग गर्न तयार  हुनेछ । नेपालका पार्टी फुटाउने र जुटाउने काम उसका लागी नौलो पनि  होईन । २००७ सालको प्रजातन्त्र प्राप्तीसंगै शक्तिशाली देखिएको नेपाली कांग्रेसमा आफ्नो प्रभाव राखि राख्न मातृका प्रसाद कोइरालालाई सहयोग गरेको, अन्तमा पार्टीबाट बीपी कोइरालाले आफ्नै दाजु मातृका प्रसाद कोइरालालाई निकालेको र मातृका प्रसाद कोईरालाले "राष्ट्रीय प्रजा पार्टी" खोलेको इतिहास पढ्न पाइन्छ ।

पछिल्लो समय गिरिजा प्रसाद कोइरालाले चीनसँग सम्बन्ध विस्तार गरेको समाचारसंगै कांग्रेसलाई बिभिन्न दलका रुपमा बिभाजित गरेको पनि देखियो ।  कांग्रेसको भोट ब्याङ्कका रुपमा रहेको तराइलाई कमजोर बनाउन कांग्रेसमा प्रभाव र जिम्मेवारी पाएका नेताहरुलाई समेत प्रयोग गरेर नयाँ पार्टी निर्माण गराइयो । कांग्रेस ईतिहासकै कमजोर पार्टी बन्न पुग्यो ।

माथी उल्लेखित घटनाक्रमहरु हेर्दा भारत अब आक्रामक रुपमा दुई काम गर्न लाग्छ नेकपा भित्रका भारतप्रती रुझान भएकालाई स्थापित गराउने वा नेकपा फुटाउने र अर्को बिपक्षीहरुलाई संगठित बनाउने ।

नेपालको राजनितिमा आउने दिनहरुमा अप्रत्यासित राजनीतिक समिकरणहरु बन्नेछन । हरेक पार्टिभित्र आन्तरिक संघर्ष उत्कर्षमा पुग्ने निस्चित छ । राप्रपाको एउटा शक्तिशाली समुहको कांग्रेसमा प्रवेश सैध्दान्तिक कारण हुँदै होईन ।  कांग्रेसभित्र भारतीय प्रभावलाइ विस्तार गर्ने प्रयत्नको एउटा प्रयास हो भनेर बुझ्नेहरु पनि छन् । महाधिवेसनको मुखमा कांग्रेस प्रवेशले त्यस अर्थमा राष्ट्रीय राजनीतिमा महत्व राख्छ । 

पंचायतले ब्यक्तिकेन्द्रीत राजनीति सिकाएको छ । दरबारलाई खुशी बनाउने र तीनको निगाहबाट सत्ता प्राप्त गर्ने,  सत्ता नै केन्द्रमा हुन्छ । पंचायत त गयो तर प्रजातन्त्रमा पनि त्यो संस्कारले निरन्तरता पायो ।  सबै पार्टी त्यही संस्कारलाई पछ्याउन पुगे । २०४६ सालको जनआन्दोलन पछी  सत्तामा रहेका शेर बहादुर सत्ताको जोड घटाउका प्रमुख पात्र बनेर आए । सत्ताका लागी जस्तोसुकै गठबन्धन उनको लागी स्वाभाविक बन्न सक्छ । सुनिल थापाको कांग्रेसमा प्रवेशले पक्कै पनि कांग्रेसको आन्तरिक समिकरणलाई प्रभावित बनाउने छ । उनको आगमन मात्रैले उनि राजनीतिक रुपले सुरक्षित छन भन्ने भने पक्कै हैन ।  नेपाली कांग्रेसमा उनको प्रवेशलाई शेर बहादुरले लालमोहर लगाए पनि भविश्यमा उनको स्थान र भूमिका बिभिन्न कुराले निर्देशित गर्ने छ । ब्यक्ती केन्द्रीत राजनीति हेरेर हुर्केका सुनिलका लागी पद र जिम्मेवारी स्वाभाविक रुपमा केन्द्रमा रहनेछ ।

एकथरी कांग्रेस कार्यकर्ताका लागी उनि स्व सुर्य बहादुरका छोरा हुन् जसले बीपीलाई फांसी दिनुपर्छ भने, जसको प्रधानमन्त्रीत्वमा कैयौं कांग्रेस कार्यकर्ताहरु मारिए र उनले पनि त्यही लिगेसीलाई निरन्तरता दिएका हुन् । बीपीलाई फाँसी दिनुपर्छ भन्ने स्व सुर्य बहादुर थापाको अभिव्यक्तिमा माफी माग्नुपर्छ भन्नेहरु पनि छन् । अर्काथरिका लागी पंचायत अब इतिहास हो कम्युनिष्ट भन्दा पुर्व पंचहरु राष्ट्रवादी हुन् । कम्युनिष्टलाई पराजित गर्न कम्युनिष्ट इतर सबैलाई गोलबद्ध गर्नुपर्छ ।

नेपाली कांग्रेसमा लामो समयदेखी कम्युनिश्टलाई हेर्ने दृष्‍टिकोणमा कार्यकर्ता र नेतृत्व पंक्तिमा मतभेद देखिन्छ । २०४६को जन आन्दोलनदेखी  कम्युनिष्टसँगको सहकार्य गलत हो भन्ने एउटा तप्का कांग्रेस भित्र छ, जो बीपीले जुन राष्ट्रियताको बिषयलाई लिएर कम्युनिष्टसँग कहिल्यै सम्झौता गर्नु भएन बीपीको उत्तराधिकारीहरुले बीपीकै नाममा कम्युनिष्टलाई बोकेर हिंडे र आज नेपाल प्रजातान्त्रिक रुपले पनि कमजोर र राष्ट्रियताको दृष्‍टिमा पनि कमजोर देखियो भन्छन् । 

राष्ट्रियताको लागि मृत्‍युदण्डका मुद्दाको बेवास्ता गरेर नेपाल फर्केका बीपी बरु प्रजातन्त्रको लागि जेल बस्न तयार भए तर कम्युनिष्टसँग सहकार्य गर्न तयार भएनन् । त्यसपछीको पुस्ताले प्रजातन्त्रको हतारोमा न वास्तविक प्रजातन्त्र उपभोग गर्न पायो न राष्ट्रियता बलियो बनाउन सक्यो । आज आमजनतामा सबै ब्यवस्था उस्तै त रहेछ नि भन्ने घोर निरासा पैदा भएको छ ।

कुरा जे भए पनि लगभग ५० बर्ष सत्ता केन्द्रीत राजनितिमा अभ्यस्त पुर्व पंचहरुको समुह आत्मसमर्पण गरेर कांग्रेसमा प्रवेश गरेको हैन । उनिहरुका लागि लागि बीपी, सुर्य प्रसाद, सुबर्ण, गणेशमान भन्दा पहिले सुर्य बहादुर आदर्श हुन् । कांग्रेसमा प्रवेश संगै बीपीलाई आदर्श मान्न सुनिल थापा लगायतलाई जती सहज छ कांग्रेसीका लागि सूर्य बहादुरलाई स्विकार गर्न त्यो भन्दा कठिन छ । कांग्रेस महाधिवेशनको मुखमा उनको प्रवेशले तत्काल महत्व बढेको हुन सक्छ ।

कार्य समितिमा उनले राम्रै स्थान पनि पाइसकेको चर्चा छ तर महाधिवेशनको परीणामसँगै उनको हैसियत उस्तै रहनेछ वा छैन हेर्नुपर्ने हुन्छ । नेपाली कांग्रेसको लोकप्रियता ह्वात्तै बढेर वा कांग्रेस पार्टीलाई फराकिलो र ठुलो बनाउने प्रयासस्वरुप उनको स्वागत भएको देखिदैन । बहालवाला सभापति शेर बहादुर देउवाले आफ्नो जीतलाई सुनिश्चित गर्न तुलनात्मक रुपले कमजोर पुर्वी नेपालमा आफ्नो शक्ती बिस्तारमा ध्यान दिएको मात्रै जस्तो देखिन्छ । उनको कांग्रेस प्रवेश र केही पुराना कांग्रेसी नेताहरु माथिको कार्वाहीको डंण्डा संगसंगै हुनपुग्दा देउवा इतरसमुह स्वागतमा भन्दा कार्वाहीको बिरोधमा केन्द्रीत हुन पुग्यो जसले नवप्रवेशीहरुको आगमनले कांग्रेसीमा खासै उत्साह थप्न सकेन । बरु एकथरी कांग्रेसमा त्रास बढाउने काम गर्‍यो ।

बर्षौ देउवासंग रहेर पनि केही नपाएका पुराना कांग्रेसीमा पनि सुनिल थापाको प्रवेशले उत्साह भन्दा संशय बढाएको हुनुपर्छ । कांग्रेसभित्र पद पनि नपाउने र सम्मान पनि नपाउने हो भने त्यो समुहका लागि कांग्रेसमा प्रवेश शेर बहादुरको सहयोगिका रुपमा मात्रै सिमित हुनेछ। त्यतिबेला सुनिल थापा समुहका लागि कांग्रेसमा टिकीरहन गाह्रो हुनेछ र कांग्रेस नेतृत्वका लागी सुनिल थापा समुहलाई प्रवेश गराउनु भन्दा टिकाइ राख्न गाह्रो हुनेछ ।



नयाँ