arrow

शैक्षिक क्षेत्रको चुनौती र उपाय

logo
शाश्वत घिमिरे,
प्रकाशित २०७७ साउन ३१ शनिबार
Shaswot-ghimire.gif

शिक्षा देशको सामाजिक र आर्थिक विकासको प्रतिक हो । यसले देशको ऐतिहासिक र सांस्कृतिक गतिविधिलाई प्रोत्साहन गर्छ । शिक्षाले कौशल जनशक्तिको उत्पादको साथै नयाँ आविश्कार र खोजमा लाग्न प्रोत्साहन गर्दछ । नेपाली शिक्षाको इतिहास छोटो भएपनि प्रजातन्त्रको आगवन पछि तिव्रगतिमा अगाडि बढेको पाइन्छ । नेपालमा आधुनिक शिक्षा प्रणाली दरवार हाईस्कुल र त्रिचन्द्र कलेजबाट सुरु भयो । त्रिचन्द्र कलेज भारतको पटना विश्वविद्यालयसँग सम्बद्ध थियो । स्कुल तहको परिक्षा उर्तिण गरेको विद्यार्थी उच्च शिक्षाको लागि त्रिचन्द्र कलेजमा आउथे । उनीहरु परिक्षा दिनका लागि भारतको पटना जानु पर्दथ्यो । 

नेपालको प्रथम विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालयको स्थापना पछि भारतका प्राध्यापकहरु ल्याएर पढाई प्रारम्भ गरिएको थियो । यसपछि अगाडि बढेको नेपाली शैक्षिक प्रणालीमा विभिन्न चुनौतीहरु देखा पर्दै आए । भौतिक, सामाजिक, राजनीतिक, आर्थिक जस्ता अभावले प्रचुर मात्रामा प्रभाव पारेको देखिन्छ । अहिलेको अवस्थामा कोभिड—१९ले थप चुनौती थपेको छ । यसको खोजि गरेर समस्याको समाधान छिटै निकाल्न अत्यन्त जरुरी भएको छ । यसका साथै शैक्षिक  चुनौतीका जडहरुको पनि विवेचना गर्न आवश्यक छ । 

कोभिड—१९ को चुनौती र उपाय

आजको समयमा कोभिड—१९को महामारीले देशका साथै वैदेशिक शिक्षा प्रणालीमा समेत ठूलो असर पुर्‍याएको छ । महामारीका करण विद्यालय तथा परिक्षा संचालनमा हुन सकेका छैनन् । शैक्षिक बहसमा विभिन्न उपाय सुझाउदा पनि शिक्षा क्षेत्रमा कुनै कदम चालिएको देखिदैन । यस्तो महामारीको अवस्थामा जोखीमयुक्त परिस्थिति सृजना गरेर परिक्षा लिनु मूर्खता हो भने विद्यार्थीलाई अन्यौलमा राख्नु पनि ठूलो खतरा हो । अब वैकल्पिक नीति अपनाउदै शैक्षिक संचालन, परिक्षा लिने र नतिजा प्रकाशन गर्न अति आवश्यक भएको छ । 

शिक्षा क्षेत्रलाई उपलब्ध गराईएको बजेटको सही सदुपयोग गर्दैै इन्टरनेन उपलब्ध गराई कक्षा संचालनमा ल्याउन सकिन्छ । सबै विद्यार्थीसँग इन्टरनेट प्रयोग गर्ने साधन छ भन्न सकिदैन । विद्यालयमा चाहिने कपडा, जुत्ता, पुस्तकहरु जस्ता साधनहरुको रकमबाट इन्टरनेट प्रयोग गर्ने साधन अभिभावकले उपलब्धता गराउन सक्छन् । यो पढाइले विद्यार्थीलाई स्वयंम निर्भयताका साथै खोज र अनुसन्धानमा निरन्तर लाग्न अग्रसर गराउछ । 

स्थगीत भएको परिक्षा इन्टरनेटको माध्यमबाट प्रश्न उत्तर गरेर लिन सकिन्छ । त्यसैगरी विद्यालयको आन्तरिक परिक्षालाई मूल्याङ्कन गरेर यसैलाई मान्यता दिन सकिन्छ । परिक्षा लामो समयसम्म स्थगित भएका कारण विद्यार्थीहरु आफ्नो इच्छा अनुरुप विभिन्न अनलाईन कक्षाहरुमा सहभागी भएको खबर छ । यस्तो अवस्थामा विद्यार्थीहरुको मनोभावनालाई मध्यनजर गर्दै आन्तरिक मूल्याङ्कनलाई प्राथमिकता दिदा सबै भन्दा राम्रो हुने देखिन्छ ।

शैक्षिक नीति

हाम्रो शैक्षिक नीतिले विषय र निर्देशनका विधिहरुलाई समावेश गर्दछ । शैक्षिक नीतिलाई प्रवेग दिन संचालनको महत्वपूर्ण भूमिका हुन्छ । विद्यार्थीको प्रवेशका लागि मापदण्ड, शैक्षिक पात्रो जस्ता चुनौतीपूर्ण कार्य सामान्य रुपमा लिएको देखिन्छ । शैक्षिक नीति दुरगामी असर पुर्‍याउने नीति हो । गतिशिल राष्ट्रलाई शैक्षिक र सामथ्र्यले सम्पन्न गराउने नीति नै शैक्षिक नीति हो । हाम्रो देशमा शैक्षिक नीतिका लागि गम्भीरता पूर्वक हेरिएको र विश्वमा आइरहेको प्रयोगलाई हेरिएको देखिदैन । शैक्षिक क्षेत्रमा राज्यको लगानी ठूलै छ तर उपलब्धि खासै छैन भन्दा पनि हुन्छ । यसो हुनुमा मुख्य समस्या शैक्षिक नीतिको हो । अहिले विश्वमा धेरै विषयहरु शैक्षिक बनेर आएका छन् । कुनै एक विषयमा दक्ष हुनसक्दा विश्वसामु उसको पहिचान बन्न सक्ने देखिन्छ । तर हाम्रो देशको शैक्षिक नीति यस दिशा तर्फ शून्य प्रायः छ ।

शैक्षिक नीति देशको मेरुदण्ड हो । यसले भौतिक सम्पन्नता, आविश्कारको सम्पन्नता र ज्ञानको सम्पन्नता दिन्छ । नेपाल पूर्वीय दर्शनबाट पनि राम्रो परिचित भएको मुलुक हो । यसको आफ्नै विशेषता छ । यसका विषयमा पश्चिमा राष्ट्रहरुले पनि निक्कै राम्रो अनुसन्धान गरेको र उपलब्धि प्राप्त गरेको हामीले देखेका छौं । तरपनि आधुनिक शिक्षा प्रणालीलाई नै यतिखेर हामीले प्राथमिकता दिनुपर्दछ । यसका लागि विश्वमा चलिरहेको अनुसन्धान र प्राप्त ज्ञानको आधारमा थप अध्ययन गरेर नीति निर्माण गर्नुपर्दछ । यसका लागि योग्य नेतृत्व पहिलो आवश्यकता रहन्छ । त्यसैले शैक्षिक नीति निर्माण गर्दा यि विषयमा मुख्य ध्यान दिन जरुरी हुन्छ ।

मात्रा र गुणस्तर

लोकतन्त्रको पुनःस्थापना पछि शैक्षिक संस्था, कलेज र विश्वविद्यालयमा विद्यार्थीको संख्या तिब्रगतिमा बढेको छ । यसरी मात्रात्मक रुपमा बढेको संख्यालाई विषय केन्द्री र वस्तुपरक बनाउन नसकेको स्पष्ट देखिदै आएको छ । यो परिस्थिति निर्माण भएको पनि लामै समय गुज्रीसकेको छ । तर यसमा काम गर्ने संस्था र व्यक्तिहरु कति गैरजिम्मेवारी पूर्वक काम गरे भन्ने स्पष्ट देखाएको छ । त्यसैले शिक्षाको गुणस्तर कायम गर्न चुनौतीपूर्ण छ । नेपालमा शिक्षाको गुणस्तर कमजोर हुनुमा सम्बन्धित निकायमा सक्षम व्यक्तिको अभाव, कार्ययोजना र दक्षताको अभाव साथै केही गर्छु भन्ने इमान्दार प्रयासको शून्यता यसको जड मान्न सकिन्छ । 

आधुनिक शिक्षा प्रणाली बारे हामीले विश्वको शिक्षा नीति हेर्न सक्छौं । राष्ट्रियता, लोकतन्त्र बलियो बनाउने सक्षम नागरिक निर्माण गर्ने शिक्षाले नै हो । त्रिभुवन विश्वविद्यालय मात्र बनेको समयमा यो कार्य पूरा हुन नसकेपनि अहिले बहुविश्वविद्यालय निर्माण भइसकेका छन् । तिनले पनि दशकको यात्रा पूरा गरिसकेका छन् । तरपनि तिव्रगतिको सुधार हुनसकेको छैन । यि विश्वविद्यालयमा फरक विषय राख्ने, उपयुक्त वातावरण निर्माण गर्ने र यसैमा दत्तचित्त भएर काम गर्न सक्के भिसी, रजिष्टारहरु नियुक्त हुने हो भने यसको गति अबश्य बढ्न सक्छ । नयाँ पुस्ताले यस दिशामा आफ्नो स्पष्ट दृष्टि देखाउन जरुरी छ ।

पूर्वाधारको अभाव

शिक्षामा भौतिक र शैक्षिक अभाव अर्को ठूलो चुनौती हो । यस क्षेत्रमा तलव, आर्थिक पुरस्कार र शिक्षकको सुविधा धेरै कम छ । सुविधा युक्त पुस्तकालय, अफिस कोठा, कक्षा कोठा, शौचालय, प्रयोगशाला विद्यार्थीहरुलाई अनिवार्य आवश्यकता हुने पूर्वाधारहरु हुन् । यो विद्यार्थीको केन्द्रमा पर्ने विषय हाम्रो शैक्षिक प्रणालीमा अत्यन्त दुर्वल देखिएको छ । राज्यले बनाउने नीति अस्पष्ट र फितलो हुनाले कतिपय चर्को शुल्क लिने शिक्षा क्षेत्रहरुमा पनि पूर्वाधार कमजोर देखिन्छ । 

विश्वमा बजेटको २ अंकमा खर्च गरिने परम्पराको देखिदै आएको छ । नेपालको सन्दर्भमा पनि बजेटको विनियोजनमा राम्रै देखाइएको हुन्छ । त्यो खर्च शिक्षा क्षेत्र र पूर्वाधार निर्माणकै लागि भनिएको हुन्छ । तर त्यसले दिनुपर्ने सहि परिणाम विद्यार्थी, अभिभावक, शिक्षक र शिक्षा क्षेत्रलाई दिन नसकेको हामी सबैका अगाडि स्पष्ट छ । यसका लागि राज्यले ठोस र कठा नीति निर्देशन र अनुगम टड्कारो रुपमा गर्नुपर्ने देखिएको छ ।

तालिम र प्रयोगशाला विहिन शिक्षक

हाम्रो शिक्षा प्रणालीको अर्को मुख्य चुनौती तालिन र प्रयोगशालाबाट निखारिएको शिक्षकको अभाव हो । धेरै शिक्षकसँग विषयको बारेमा सीमित ज्ञान छ । शिक्षकसँग व्यवहारीक र अनुसन्धानात्मक कार्यको ज्ञान सीमित छ । धेरै शिक्षकहरुले पाढ्यक्रमहरु पढाउदै छन्, जसमा उनीहरुको आफ्नै विशेषज्ञता छैन । यसो हुनुमा पहिलो त शिक्षक निर्माणका लागि गर्नुपर्ने खर्च, तालिम र प्रयोगशालाको अभाव छ । अर्को विषयगत शिक्षकका लागि बेहोर्नुपर्ने तलव, सुविधानको अभावका कारण कामचलाउ पठनपाठनले योग्य विद्यार्थी उत्पादनमा ठूलो असर पुर्‍याएको छ ।

स्तरिय शिक्षाका लागि तालिम प्राप्त शिक्षक हुनु अनिवार्य आवश्यकता हुन्छ । केही वर्षदेखि हाम्रो शिक्षा नीतिमा पनि अनिवार्य शैक्षिक लाइसेन्सको व्यवस्था गरिएको छ । जसले गर्दा मन्दगतीमा शिक्षाको गुणस्तरमा सुधार आएकै हुनुपर्छ । यसलाई तिव्रगतिमा अगाडि बढाउन नसक्दासम्म शिक्षाको गुणस्तरमा हामीले छिटो फड्को मार्न सक्दैनौं । त्यसैले अनिवार्य लाइसेन्सका सथासाथै प्रयोग शैलीलाई समेत प्रभावकारी बनाउन प्रस्तुतीकरण राम्रो हुनु अनिवार्य आवश्यकता हुन्छ । तालिम र प्रयोगशालाको निरन्तर प्रयोगले मात्र प्रभावकारी शिक्षा दिन सकिन्छ । 

शिक्षक र विद्यार्थीको अनुपात

शिक्षामा शिक्षक र विद्यार्थीको अनुपात मिलाउन नसक्दा हाम्रो शैक्षिकस्तर खस्केको छ । शैक्षिक क्षेत्रका लागि कक्षा कोठा र विषयगत शिक्षक पहिलो आवश्यकता हो । बस्नका लागि बनेका घरमा शैक्षिक कक्षा संचालन गर्दा विद्यार्थीको अनुपात मिलाएर राख्न कठिन हुन्छ । यसले शैक्षिक स्तरलाई एकरुपता र स्तरीयता दिन असर पारिराखेको हुन्छ । अन्तर्राष्ट्रिय मान्यता अनुसार एउटा कक्षा कोठामा २० जना विद्यार्थी राखेर १ जना शिक्षकले पढाउनु पर्ने भनिन्छ । तर नेपालको अभ्यासमा एउटा कक्षा कोठमा ४० देखि ४५ सम्म विद्यार्थी राखेर पढाइने गरिन्छ । यस किसिमको पढाइले विद्यार्थीको बुझ्ने र सिक्ने क्षमताको ह्रास गराउछ ।

नेपालका विद्यार्थीहरुले अन्तर्राष्ट्रिय विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्न सकेको देखिन्छ । यसमा विद्यार्थीहरुको मिहिनेत, परिश्रम धेरै परेको पाईन्छ । राज्यले अन्तर्राष्ट्रि मान्यतालाई सिद्धान्तका रुपमा अबलम्बन गरेर शिक्षक र विद्यार्थीको अनुपात मिलाउन सक्दा नेपालको शैक्षिक स्तर छोटो समयमा नै उच्च स्तरको बन्न सक्छ । यसका लागि विज्ञ र राज्य गम्भीर हुन जरुरी हुन्छ । आधुनिक समय प्रतिस्पर्धाको समय हो । आफ्ना विद्यार्थीलाई उपयुक्त वातावरण दिएर योग्य, सक्षम बनाउन सक्दा सबैले गौरव गर्ने अबसर आउन सक्छ । 

पाठ्यक्रमको छनोट

शिक्षाको लागि पाढ्यक्रम छनोट हलुका देखिदै आएको छ ।  ज्ञानवद्र्धक आधुनिक पढ्यक्रम अति आवश्यक देखिन्छ । यसको प्रभावले विद्यार्थीको जीवनमा र देशको विकासमा ठूलो असर पार्दछ । हजुवाका भरमा पाढ्यक्रम बनाउनु सबै भन्दा ठूलो कमजोरी हो । पाढ्यक्रमको विषय छनोट गर्दा अतिनै ध्यान दिनु पर्दछ । आउने पुस्तालाई कस्तो शिक्षा दिने र कस्तो बनाउने भन्ने विषय पाढ्यक्रम छनोटले निर्धारण गर्दछ । यस्तो महत्वपूर्ण विषयलाई एउटा साधारण अध्ययन गरेको, कुनै विषयमा विशिष्टता नभएको, राज्यको एक तहमा बसेको व्यक्तिहरुबाट छनोट गरिन्छ । देश र नयाँ पुस्तालाई कहाँ पुर्‍याउने कस्तो बनाउने भन्ने सोच भन्दा पनि लहडका भरमा आफुलाई ठिक लागेको छानिन्छ । जसले गर्दा ज्ञानको भोग जगाउने हुनुपर्ने पाढ्यक्रम त्यो बन्न सक्दैन ।

पाठ्यक्रम छनोटका लागि नियमित अनुसन्धानमा रहेको हुनुपर्छ । विश्वविद्यालयले गरेका अनुसन्धानका आधारमा पाढ्यक्रमको निर्माण हुनुपर्दछ । ठूला साना सबै विषयहरु विश्वविद्यालयमा अनुसन्धान भइरहनु पर्दछ । विश्वविद्यालयमा अनुसन्धानका लागि राज्यले राम्रो बजेट विनियोजन गर्नुपर्दछ । इतिहास, भूगोल, संस्कृति, भाषा, विज्ञान, राजनीति जस्ता विषय पाढ्यक्रमले समेट्न र ज्ञान दिन सक्नु पर्दछ ।

राजनीतिक हस्तक्षेप

राजनीति सिद्धान्तमा हुनुपर्छ । यो नीतिहरु मध्येको पनि उच्च नीति हो । सिद्धान्त अनुरुप काम गर्ने भयो भने धेरै ठाउँ बिगार्दैन । यतिखेर मानिस जहाँ उभिन्छन् त्यहाँ राजनीति गर्न खोज्ने प्रवृत्ति देखिएको छ । जसले गर्दा अहिले राजनीति युवा पुस्ताले मन नपराउने र प्रवेश गर्न नचाहने बनेको छ । राजनीतिको प्रभाव सबै क्षेत्रमा हुन्छ । तर अहिलेको युवा पुस्तामा यो फोहोरको थुप्रोको रुपमा परिचित भएको छ । यसरी युवा पुस्ताले हेर्नु राम्रो भविष्य होइन । राजनीतिले हाम्रो शैक्षिक स्थीति, राज्यको स्थिति माथि उठाउन नसकेको देखेर नै युवा पुस्ता यो प्रति आक्रोश व्यक्त गर्ने बनेको हो । 

विश्व राजनीतिक दर्शनका आधारमा अगाडि बढेको र विकास भएको हामी देख्छौं । त्यसका लागि खुला अर्थ नीति, लोकतन्त्र यसको मुख्य आधार हो भन्दै आएको पनि देखिन्छ । तर पछिल्लो समय हाम्रो छीमेकी चीन दर्शनका रुपले साम्यवाद हुदाहुदै पनि विकासमा चुलिएको अवस्था छ । अहिलेका हाम्रो पुस्तालाई दर्शन भन्दा पनि पर राजनीतिलाई के विषयले डोहोर्‍याउन पर्छ भनेर सोच्न पर्ने परिस्थिति बनेको छ । हाम्रो सन्दर्भमा लोकतन्त्र प्राप्ति पछि अघि बढेको शैक्षिक नीति धेरै राम्रोसँग अगाडि आउन सकेको छैन । यसको एउटा कारण राजनीतिक हस्तक्षेप सबैले देखेको विषय हो । सबै विषयमा राजनीतिक हस्तक्षेपले देश कठिन अवस्थामा रहन्छ भन्ने हाम्रै उदाहरण काफि छ । स्वतन्त्रता सबैलाई प्यारो हुन्छ । स्वतन्त्रताले नै सृजना र सम्पन्नता आउछ । यो कुरालाई राजनीतिक शक्तिहरुले बुझ्न जरुरी छ । राजनीति निर्माणका लागि हुन जरुरी छ । योग्य र सक्षमले उपयुक्त जिम्मेवारी पाउने परिस्थितिको निर्माण गर्न सक्दा मात्र रानीतिक हस्तक्षेप कम गरेर शैक्षिक वातावरण निर्माण गर्न सक्दछौं ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ