- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालको उच्च आर्थिक बृद्धी र समग्र राष्ट्रिय समृद्धीको प्रमुख सम्भावित आधार यहाँको अपार जलसम्पदा र त्यहाँबाट उत्पादन हुने जलविद्युत नै हो । वि.सं. १९६८ मा फर्पिङ जलविद्युत आयोजनामार्फत जलऊर्जामा नेपालले पहिलो खाता खोल्दा एशियाली मुलुकहरु टुकीबत्तीमा निर्भर थिए । तर विविध कारणले गर्दा यसको अपेक्षाकृत विकास हुन नसक्दा यो सय वर्ष भन्दा बढी अवधिमा कूल सम्भावित उत्पादनको करिब १ प्रतिशत मात्र जलविद्युत उत्पादन गर्न सक्षम भएका छौं । अझ धेरै नेपालीहरुको घर घरमा विद्युत पुर्याउन सकिएको छैन भने विद्युतको पहुँचमा पुगेको जनसंख्या पनि यस अवधिमा १६ घण्टा लामो लोडसेडिङ्ग व्यहोर्न वाध्य भए । जलविद्युत उत्पादनबाट श्वेत डलर कमाउने सरकारी सपनाले उचित प्राथमिकता नपाउँदा यस क्षेत्रमा ठुलो लगानीका लागि विदेशीको मुख ताकेर बस्न हामी वाध्य भइरह्यौँ । स्वदेशी श्रम, सीप र पूँजीबाट पनि जलविद्युत उत्पादन सम्भव छ भन्ने सपना देखेका हाइड्रो मोडेल डा. डम्बर बहादुर नेपाली र उनको टीमले चिलिमे जलविद्युत केन्द्रको निर्माण मार्फत सार्थक सन्देश दिन सफल रहे । नेपाली प्राबिधिकबाट नै प्रारम्भिक देखि बिस्तृत अध्ययन र डिजाइनको काम भएको २० मेगावाटको चिलिमेको उदाहरणले आज ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जस्तो राष्ट्रिय गौरवको वृहत आयोजना पनि नेपाली सीप र लगानीबाट निर्माणको अन्तिम चरणमा पुगेको छ ।
मेरो लेख जलविद्युत बिकाशमा भौगर्भिक अध्ययनको लागि अति आवश्यक कार्य ड्रिलिङको सम्बन्धमा आफ्ना २३ वर्षका अनुभव प्रस्तुत गर्नुमा केन्द्रीत हुनेछ । यो विषयको अध्ययन अध्यापन तथा तालिम समेत नेपालमा छैन । भौगर्भिक अध्ययनका लागि विगतमा यूरोप, अमेरिका, जापान, चीन तथा भारतका प्राविधिकहरु झिकाउने गरिएकोमा नेपाल विद्युत प्राधिकरणकै एक निकाय माटो, ढुङ्गा तथा कंक्रीट प्रयोगशालाले हाल गर्दै आएको योगदान अमूल्य छ । नेपाल विद्युत प्राधिकरणका पुर्व निर्देशक गोविन्द शर्माको भनाईलाई आधिकारिक मान्दा नेपालको जलविद्युत बिकासमा सन् १९५५/५६ तिर कोशी क्षेत्र र १९६४ तिर कर्णालीबाट ड्रिलिङ सुरु भएको बुझिन्छ । यो कार्यको शुरुवात कुन् व्यक्ति वा संस्थाबाट भएको हो किटान गर्ने तथ्य प्रमाण पाइन्न । बिदेशी परामर्शदाताले नेपाली श्रमिकलाई सहयोगी बनाइ कुलेखानी लगायतका केही आयोजनामा काममा लगाएको पाइन्छ । स्थानीय कामदारको रुपमा प्रवेश गरेका मेरा गुरुद्वय स्वर्गिय बिष्णु बहादुर के.सी. र शिवराज तिमिल्सिनाले बिदेशीहरुबाट ड्रिलिङ्ग कार्यमा भएको कमजोरी पत्ता लगाई माटो ढुङ्गा तथा कंक्रीट प्रयोगशाला मार्फत ड्रिलिङ्ग गराउन गरेको प्रयास नै प्राधिकरणका लागि पहिलो खुट्किलो मानिन्छ । शिवराज तिमिल्सिना प्राधिकरणका लागि अत्यन्त परिचित नाम हो जो चारपटकसम्म प्राधिकरणमा उत्कृष्ट कर्मचारीको उपाधी हात पार्न सफल भएका थिए ।
सामान्य भाषामा ड्रिलिंग भन्नाले उपकरणको मद्दतले सो उपकरणमा जडित ड्रिल बिटलाई घुमाइ अन्य कुनै ठोस पदार्थ माथि राखी दबाब मार्फत गोलाकार क्रस-सेक्शनको प्वाल बनाउने प्रक्रिया हो । फरक फरक उद्येश्यका लागि फरक किसिमको ड्रिलिंग प्रक्रिया अपनाइन्छ, जसमध्ये जलविद्युत आयोजनाका लागि गरिने भू-प्राविधिक अनुसन्धानमा कोर ड्रिलिंग प्रविधि प्रयोग गर्ने गरिन्छ । यसमा बिशेष किसिमको ड्रिल बिट मार्फत जमिनमा गोलाकार प्वाल बनाइ सिलिन्डर आकारका चट्टानका टुक्राहरू (जसलाई प्राविधिक भाषामा कोर भन्ने गरिछ) निकाल्ने गरिन्छ । यो प्रविधिको प्रयोग चट्टान युक्त जमिनको लागि उचित मानिन्छ । ईसापूर्व ३००० ताका सबैभन्दा पहिले यो प्रविधिको प्रयोग प्राचीन इजिप्सियनहरूले गरेका थिए भन्ने मान्यता छ भने आधुनिक युगमा रोडोल्फ लेस्कटलाई सन् १८६३ तिर कोर ड्रिलिंगमा प्रयोग हुने ड्रिल बिट, जसलाई कोर बिट पनि भन्ने गरिन्छ, को आविष्कारकको रुपमा मान्ने गरिन्छ । यो प्रविधिको विकास हुनु पुर्व भौगर्भिक अध्ययन प्राकृतिक रुपले सतहमा देखिएको र खाल्डो खनी देखिएको चट्टान तथा माटोलाई आधार मानेर गर्ने गरिन्थ्यो । शुरुमा यो प्रविधि अधिकांशत: खानी तथा खनिज पदार्थको अनुसन्धान तथा उत्खननका लागि प्रयोग हुने गर्दथ्यो भने हाल आइ भौगर्भिक दृष्टिकोणबाट संवेदनसिल पूर्वाधार विकास योजनाको सम्भाव्यता अध्ययनमा प्रयोग भइरहेको देखिन्छ । तुलनात्मक रुपमा यो प्रविधि महँगो भएता पनि दिगो संरचनाहरुको डिजाइन तथा निर्माणमा यसले दिने भूमिगत माटो तथा चट्टानको जानकारी निकै विश्वसनीय, महत्त्वपूर्ण र संवेदनसिल हुने हुँदा यो प्रविधिलाई सबै क्षेत्रले अध्ययनको चरणमा ब्यापक प्रयोग गरेको पाइएको छ । सोहि कारणले गर्दा हाल नेपाल सरकार उर्जा, जलश्रोत तथा सिचाई मन्त्रालय, विद्युत विकास विभागले जारी गरेको जलविद्युत परियोजना अध्ययन निर्देशिकमा सबै क्षमताका जलविद्युतहरुको विभिन्न चरणमा अध्ययन गर्दा कडा चट्टान देखिएको स्थानहरुमा बाहेक अन्यमा कोर ड्रिलिंग गर्नुपर्ने प्रावधान समावेश गरेको छ । फलस्वरूप अधिकांश जलविद्युतको सम्भाव्यता तथा विस्तृत अध्ययनको चरणमा यस प्रविधिको प्रयोग बढ्दै गइरहेको छ । आयोजनाको सम्भाव्यता तथा लागत अनुमानका लागि यो अध्ययन महत्वपूर्ण शर्त हो ।
विभिन्न जलविद्युत आयोजनामा माटो परीक्षण गर्ने ल्याब प्राविधिकको रुपमा २०५४ साल बैसाख ४ गते देखि एक कलिलो मस्तिष्कको ठिटो तत्कालीन प्रयोगशाला प्रमुख गोबिन्द शर्मा पोख्रेलको चेलोको रुपमा प्राधिकरणमा प्रवेश गरी आज ७३ जिल्लामा घुम्दै देशैभरका विभिन्न आयोजनाको जियोटेक्निकल इन्भेस्टिगेसन अन्तर्गत ड्रिलिङ गर्ने गराउने जिम्मेवारी निर्वाह गरिरहेको छु । मेरा तितामिठा अनुभवले प्राधिकरणले ड्रिलिङ्ग कार्यका लागि दक्ष प्राविधिक उत्पादन गर्नुपर्छ भन्ने देखाउँछ । तत्कालिन समयको संकटकालका वाबजुद रिरेगुलेटिङ ड्याम अफ पन्चेस्वर इन्भेस्टिगेसन पुर्णागिरीको छ महिनामा विभिन्न नापका ड्रिलिङ होल समेत गरि जम्मा ९३८ मिटर ड्रिलिङ सम्पन्न गर्न, सप्तकोसी उच्च बाँध, माथिल्लो तामाकोसी तथा भेरी बबई सिंचाइ आयोजना लगायतका समेत आफ्नो प्राबिधिक ज्ञानको उपयोग गर्ने अवसर पाएको छु । कालिगण्डकी सुदृढीकरण आयोजनामा नेपालीहरुवाट पहिलोपटक इन्क्लिनोमिटर इन्स्टलेसन गर्ने सौभाग्य पाएको छु । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा गरिएको प्राबिधिक छानवीन टोलि सदस्य समेत भै आफ्नो भुमिका निर्वाह गरिरहँदा पुराना र अनुभवी ड्रिलर अवकाश भैरहनु तर प्राधिकरणमा नयाँ पुस्ताका ड्रिलरहरुले प्रवेश नपाउँदा प्राधिकरणबाट निर्माण भइरहेका आयोजनाहरुमा गुणस्तरयुक्त इन्भेस्टिगेसन हुन सकेको छैन । प्राबिधिकको अभाव हुँदा राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माण अवधि लम्बिँदै गएको छ भने उत्तरगङ्गा जस्तो बहुचर्चित आयोजनाको ड्रीलिङ कार्य तीन बर्षदेखि ठप्प छ । ठुला ठुला सिँचाइ आयोजना, पुल, जलविद्युत आयोजनाहरु, अन्य बहुउद्देश्यीय आयोजना निर्माण हुनु अघि गरिने भौगर्भिक अध्ययनका लागि ड्रिलिङ्गको अत्यन्तै महत्व रहेको छ । निर्माण सम्पन्न हुने वित्तिकै संरचनाहरु भत्किनु, भासिनु भौगर्भिक अध्ययनको कमी नै हो । ड्रिलिङ्ग गरी जमिनको विभिन्न गहिराइमा रहेको चट्टानको अध्ययनबाट त्यहाँको भुबनौट र संरचना निर्माणको उपयुक्तता जाँच जुनसुकै आयोजनाका लागि अनिवार्य र अत्यन्तै संवेदनशील कार्य हो । चमेलिया जलविद्युत केन्द्रको सुरुङ्ग भासिँदा तथा माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ड्यामको फाउन्डेसन भासिँदा आइपरेको थप आर्थिक भार, कार्यबोझ, तनाव, निर्माण अवधिमा बढोत्तरी जस्ता हाम्रै अनुभवले ड्रिलिङ्ग र भुबनौट अध्ययनको महत्वलाई थप पुष्टि गर्दछ ।
यो क्षेत्रमा काम गर्ने निजी संस्थाहरु नै नभएका भने होइनन् तर ती संस्थाहरुमा पनि दक्ष ड्रिलरको अभाव हुँदै गएको छ । दक्ष ड्रिलरको उत्पादनका लागि प्राधिकरणले नै कम्मर कस्ने बेला भएको छ । माटो, ढुङ्गा, कंक्रिट प्रयोगशाला, तालिम केन्द्र, सहायक कम्पनीहरु एनइए ईञ्जिनियरिङ्ग कम्पनी तथा चिलिमे जलविद्युत कम्पनीको चेस्को समेतको समन्वयमा आवश्यक तालिम उपलब्ध गराइ बेरोजगार नेपालीहरुका लागि रोजगारी सिर्जना गर्न र निकट भविष्यमै शुन्य हुन लागेको ड्रिलिङ्ग क्षेत्रको जनशक्तिलाई पुनर्उत्थान गर्न अब ढीला गरिनु हुन्न । नेपालको सार्वजनिक तथा निजी क्षेत्रमा मात्र हैन यस्ता प्राविधिकहरुको अभाव अन्तराष्ट्रिय रुपमा रहेकोले दक्ष जनशक्ति उत्पादन गर्न सके विदेशमा समेत शीपयुक्त जनशक्ति आपुर्ति गर्न सकिने अवस्था रहेको छ । माटो ढुङ्गा कंक्रिट प्रयोगशालालाई अन्तराष्ट्रिय प्रयोगशालाको रुपमा अभिवृद्धि गर्नु जरुरी छ ।
(दिनेश शिवाकोटी चिन्तक नेपाल विद्युत प्राधिकरण सर्भे महाशाखाका सहायक इन्जिनियर हुन्। )