arrow

गुरुकुलमा जातीय विभेद हैन सबैको अधिकार सुनिश्चित गरौं

logo
चन्द्रकान्त पौडेल,
प्रकाशित २०७७ भदौ ७ आइतबार
chandrakanta-poudel.jpg

गुरुकुलको जातीय विभेदले राष्ट्रियता माथी प्रहार गरेको छ समाजवाद उपर हमला गरेको छ किनकी लोकतन्त्रमा वा गणतन्त्रमा कुनै किसिमको जातीय, वर्गीय, लैंगिक, भौगोलिक, साम्प्रदायिक, धार्मिक, राजनैतिक वा कुनै पनि भेदभाव गर्नु उचित हुँदैन । श्रीमद्भागवत महापुराणमा लोकतन्त्रको वर्णन छ ।१२ औं स्कन्धको ११ औं अध्यायको २९ औं श्लोकले भन्छ ।

अनाद्यविद्यया विष्णोरात्मनस् सर्वदेहिनाम्,
निर्मितो लोकतन्त्रो४यं लोकेषु परिवर्तते ।

सारमा लोकलाई चलाउन लोकतन्त्रको निर्माण गरियो । त्यसैगरि त्यसै अध्यायको ३२ औं श्लोकले पनि लोकतन्त्रको वकालत गर्छ .

मध्वादिषु द्वादशसु भगवान्कालरूपधृक्।
लोकतन्त्राय चरति पृथग्द्वादशभिर्गणैस् ।

भगवान पनि लोकतन्त्रको रक्षार्थ जन्मिन्छन् । साम्यवाद भनेको पनि लोकतन्त्रकै अर्को पर्यायवाची शब्द हो भन्दा अतिशयोक्ति हुँदैन ।

भगत सर्वजीत विश्वकर्मा, जगमान गुरुङ, काले राई भनिने डा स्वामी प्रपन्नाचार्य, सुन्दास दिदि बहिनी, क्षेत्रीय कुलका योगी नरहरिनाथ फेरि नजन्माउने ? आज विश्वभरी हरेक धर्मावलम्बीले वेद पुराण संस्कृत गुरुकुल खोलेर पढेका छन् । हामीले के सधैं भेदभावलाई प्रश्रय दिने ? यसको नीतिगत र व्यवहारिक उत्तर खोज्न जरुरी छ । आज विदेशमा कउ चिल्ली खानेले वेद घन्काउन थाले हामीले आफ्नै नेपाली दाजुभाइ दिदीबहिनीलाई यो पढ्नबाट रोक लगाउने ? लौ जुठो चोखोकै लडाइँ लड्ने हो भने पनि खैरे चोखा हाम्रा नेपाली दाजुभाई दिदीबहिनी जुठा ? यो त सृष्टिको उद्गमस्थल र प्राचीन सभ्यताको धरोहर हो । परिवर्तनको यात्रा कठिन छ क्रान्तिकारीहरु पनि मिसगाइड हुँदा रहेछन्, यो नेपालका लागि चिन्ताको विषय हो । यहाँको परिवर्तनलाई पूरा नेपाल एवं विश्वले सलाम गर्नेछ । यो यौटा गुरुपीठ हो यसले हरेक ४० वर्षको अन्तरालमा यस्ता यस्ता ठुला कदम उठाउने छ । 

बाग्लुङ नगरपालिका वार्ड नं ४ मा अवस्थित श्रीमुक्तिनाथ वेद विद्याश्रम संस्कृत पाठशाला वि सं २०३९ तिर मेरा कान्छा हजुरबुवा श्रीधराचार्य पौडेलज्यूलाई यहाँ जति गाह्रो गुरुकुल खोल्ने बेला भएको थियो उस्तै पीडा आज परिवर्तन चाहने हाम्रो पनि छ । तर हजारौं माइलको यात्रा पनि पहिलो पाइलाबाट प्रारम्भ हुन्छ । नेपालको सन्दर्भमा यसले सबैको विचारलाई परिवर्तन गर्न नेतृत्व गर्नेछ । तर गुरुकुलमा ब्राह्मण ईतरलाई पढ्न बाधा अड्चन दिने अरु कोइ नभएर श्री श्री १००८ लेख्नेवालाहरू हुन् । कथित स्वामी भनिनेहरू हुन् । यिनका अन्य गतिविधिसंग हामीलाई केही चासो पनि भएन तर शिक्षामा समानतामा उनिहरू बाधक बन्छन् भने कानूनी उपचारको बाटोमा जानुको विकल्प रहँदैन । पौडेलले श्राद्ध गर्नुपर्ने रे परियारले गर्नु पर्दैन ? शिवाकोटीले शिवपूजा गरिरहँदा सेवानले रुद्रीपाठ किन नगर्ने ? भेदभाव वेद पुराणमा छैन भगवानले भेदभाव गरेका छैनन् भने हामी को हौं भेदभाव मच्चाउने ? आज यदि सबै नेपाली विद्यार्थीलाई सानै देखि गुरुकुलमा संस्कृत वेद पुराण सहित अंग्रेजी, विज्ञान गणित पढाइदिए दावीका साथ भन्न सकिन्छ कि नेपाली भविष्यमा विश्वबजारमा श्रमजीवी भएर जाने थोरै हुनेछन्, बुद्धिजीवी भएर नाम दाम कमाउने छन् त्यसको प्रत्यक्ष फाइदा नेपालको विकासमा पर्नेछ । आज नेपालको संगीत, साहित्य, राजनीति वा हरेक क्षेत्रमा अग्रपंक्तिमा हुने संस्कृत गुरुकुलकै उत्पादन हुन् । हामीले अब यो गुणात्मकता वृद्धी गर्न किन कन्जुस्याइँ गर्ने ?

सबैका लागि शिक्षा भन्ने उदघोषका साथ राज्यले नेपालको संविधानको  मौलिक हकमा सम्मानपूर्वक बाँच्नपाउने हक ‍स्वतन्त्रताको हक समानताको हक छुवाछूत विरुद्धको हक धार्मिक स्वतन्त्रताको हक लगायतका हकहरुको व्यवस्था गरेको छ ।  यसका साथै संविधानको धारा ३१ मा शिक्षा सम्बन्धी हकको व्यवस्था गरेको छ र उक्त धाराको उपधारा २ मा नेपालमा बसोबास गर्ने प्रत्येक नागरिकलाई राज्यद्वारा आधारभूत शिक्षा अनिवार्य र निशुल्क तथा माध्यामिक तहसम्मको शिक्षा निशुल्क पाउने हक हुनेछ । उक्त धाराको उपधारा २ मा नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा सस्कृति सभ्यता र सम्पदाको संरक्षण गर्ने हक हुनेछ भन्ने व्यवस्था गरेको छ ।

तर पनि नेपालमा अझैपनि समाजमा सदियौदेखि नेपाली समाजले सृजना गरेको विभेदकारी व्यवस्थाले विस १९१० सालको मुलुकी ऐन बमोजिम राज्यको संरक्षणमा जात, जाती, लिंग, व्यवसाय र शारीरिक सम्बन्धका आधारमा चल्दै आएको जातीय भेदभाव र छुवाछूत जस्तो कुप्रथा  अझैपनि राज्यका हरेक संरचनामा बर्चस्व कायम गर्न सक्षम भइराखेको छ । 

नेपालमा करीब २० प्रतिशत दलित ३७ प्रतिशत आदिबासी जनजाति र १३ प्रतिशत क्षेत्रीहरु समेत धर्म उपभोग गर्न पाउने अन्तर्राष्ट्रिय  मानव अधिकारको दस्तावेजमा लेखिए बमोजिमका अधिकार उपभोग गर्नबाट बञ्चित छन् । नेपालका संविधान नागरिक ऐन कानून र दस्तावेजहरुले  जातिय छुवाछुत विभेदलाइ कानूनी रुपमै प्रतिबन्ध लगाएपनि राज्यमा कानुनको अभाव र दण्डहिनताका कारण दलितहरुले अमानवीय जीवनयापन गरिराखेका छन् । हिन्दु धर्म संस्कृति एवं परम्पराको संरक्षणमा रहेका विभिन्न सम्प्रदाय र परम्पराका आडमा वेद र पुराणको नीति विरुद्ध संस्कृत गुरुकुलमा हुने जातीय विभेद विरुद्ध अभियान प्रारम्भ गर्नु अत्यावश्यक भएको छ । नेपालभरिका गुरुकुलमा विना जातीय भेदभाव सबैले संस्कृत वेद पुराण पढ्न पाउनुपर्छ भन्ने एकसूत्रीय माग हुनुपर्छ । सरकारले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने हुन्छ । गुरुकुलमा पढाउने बेला धेरै जीवनोपयोगी समाजोपयोगी कुरा पढाइन्छन् । 

कण्टकं कण्टकेनैव शठे शाठ्यं समाचरेत् ।

काँडो बिझे काँडैले काँडो झिक्नु, दुर्जनहरूलाई सज्जनताले छुँदैन त्यसैले दुर्जनका लागी दुर्जन र सज्जनका लागि सज्जन बनिदिनु । आजको सज्जन भोलीको दुर्जन भोलीको दुर्जन आजको सज्जन हुन सक्छन् सधैं चनाखो हुनु । आजका साथी भोलीका शत्रु भोलीका साथी आजका शत्रु हुनसक्छन् । कसैले साथ दिए भनेर खुशी हुने र घात दिए भने दुखी नहुनु । प्रशंसा हुँदा नमात्तिनु आलोचना हुँदा नआत्तिनु । तिमी खेलाडी हौ खेल्दै जाउ हुटिंग गर्ने समर्थन विरोध गर्ने काम त दर्शकको हो तिम्रो होइन । अरुको कुभलो नसोच्नु । देवी देउताको पूजा गर्नु । नाता गोतामा न अल्झिनु यद्यपि प्रेम सबैसंग राख्नु द्वेष राख्दै नराख्नु । गाई जोगाउनु, ज्ञानी जोगाउनु, सच्चा साधुहरु लफंगा भएर बौलाहा जस्ता भएर हिंडेका हुन्छन् तिनलाई चिन्नु, जोगाउनु, माया गर्नु । आडम्बरी ढोंगीहरूलाई सच्चाउनु तिमी भित्र यो देश समाज र विश्व हाँक्ने शक्ति छ । कुनै नीति निर्माण गर्दा गम्भीर हुनु किन कि तिमिले बनाएको नीतिमा कसैलाई अन्याय हुनुहुँदैन आदि आदि । मन्त्र बनाउने ऋषिहरूको नाम अतृ, वशिष्ठ जस्तो सानो नाम छ अहिले श्री श्री १००८ रे । वेद र पुराणको रस नबुझेका खीरको भाँडामा बसेको डाडुले जसरी खीरको स्वाद पाउँदैन त्यस्तै अहिलेका अधिकांश धर्मगुरुलाई वेद र पुराणले दिएको सन्देश थाहा छैन त्यसैले त भेदभाव छ ।

श्रीकृष्ण उवाच भनिएको छ श्री अर्जुन उवाच भनिएको छैन । आफैंले आफैंलाई स्वामी भन्नू वा अरुले स्वामी भनेको स्वीकार्नु यो शास्त्रविरुद्धको कर्म हो । स्वामी भनेको त भगवान् मात्र हुनुहुन्छ । अर्का विवाह गरेका श्रीमान् । फेरि यो स्वामी भन्ने सम्बोधन पनि विचित्र लाग्छ । भन्ने नै भए योगीजी आचार्यजी भन्दा हुन्छ । यो शास्त्र विधान अनुरूपको सम्बोधन पनि हो । मान्न त हाम्रा समाजका पण्डित गुरु स्वामीज्यू भनिनेहरू सर्वसाधारण जनता भनिनेहरूले सती प्रथालाई पनि स्वीकार गरेका थिए । राणा कालमै सती प्रथा हट्यो । अब आशा गरौं  गुरुकुलमा हुने जातीय विभेद पनि हट्ने छ ।

जब नेपाली समाज पूर्वीय दर्शनको सच्चा पहरेदार बन्नेछ बल्ल लोकतन्त्र रमाउने छ । वेद पुराणले कुनै पनि जातीय, वर्गीय, भौगोलिक, लैंगिक, धार्मिक, राजनैतिक, साम्प्रदायिक वा कुनै पनि भेदभावलाई स्वीकार गर्दैनन् । तसर्थ वेदलाई आफ्नो धर्मग्रन्थ मान्ने हिन्दुहरूले यस किसिमका विकृति विसंगतिलाई प्रश्रय गर्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु हो । गुरुकुलमा सबै जात जातिले निर्बाध रूपमा पढ्न पाउनुपर्ने कुरामा दुई मत छैन । पौराणिक मान्यता अनुसार ऋषिहरुका गुरुकुलमा कुनै जातीय विभेद थिएन । उदाहरणस्वरूप क्षत्रीय कुलका राम वशिष्ठको गुरुकुलमा पढ्थे, यादववंशी कृष्ण, बलराम महर्षी सान्दीपनिको गुरुकुलमा पढ्थे । दासी पुत्र विदुर वैदिक वाङ्म्यका प्रखर वक्ता थिए । उनको विदूर नीति प्रसिद्ध छ । यस्ता अनेकौं उदाहरणले नेपालमा भैरहेको गुरुकुलको जातीय विभेद अशास्त्रीय, अमानवीय र अव्यवहारिक  एवं अवैदिक कर्म हो । तसर्थ सरकारले यस विषयमा गम्भीरतापूर्वक विचार गर्नुपर्ने देखिन्छ ।

गुरुकुलमा पहिले पहिले जैसी बाहुनलाई पढाउदैनथे तर परमानन्द सरस्वती, ज्ञानानन्द सरस्वती आदिको उदय भए पछि सो भेदभाव हट्यो । आज गुरुकुलहरूमा जैसी बाहुन् भनिनेहरू ढुक्क पढिरहेका छन् अनि स्टेप बाइ स्टेप परिवर्तनको जिम्मेवारी पनि त वहन गर्नुपर्यो नि होइन र ? गुरुकुलमा दलित जनजाती वा पढ्न चाहने जो सुकैले विद्यालयको गोपनीयता आदि के के हुन् हुन् तथानाम कुरा गर्छन्  । विद्यालयमा पढ्न पढाउन कुन गोपनीयताको कुरा गर्दै हुनुहुन्छ ? पुराण हेर्नुहोस् क्षेत्री कुलका रामको शिक्षास्थल वशिष्ठको गुरुकुल हेर्नुहोस् । ब्राह्मणेतर परिवारमा जन्मेर सान्दीपनीसंग कृष्णले वेद उपनिषद् पढेको हेर्नुहोस् । महाभारत अनि गीता रचेका मझिनिका छोरा व्यासलाई हेर्नुहोस् । अनि खुल्ला हुनुहोस् ढुक्क हुनुहोस्  यो एजेन्डालाई स्थापना गरेर छोड्नै पर्नेछ । यो एजेन्डालाई नेपाल विद्यार्थी संघले पनि साथ दिएको छ किन कि यो शैक्षिक एजेन्डा हो । हामी जे गर्छौं बुझेर सोचेर भन्ने कुरामा स्पष्ट छौं । 

चातुर्वर्ण्यं मया सृष्टं गुणकर्मविभागशस्।
गीतामा भगवान् श्रीकृष्ण अनुसार वर्णको व्यवस्थापन कर्मका आधारमा गरिएको छ न कि जन्मका आधारमा ।
समानता धर्म हो भेदभाव पाप हो।
जयतु संस्कृतम् जय नेपाल ।।

(पौडेल नेविसंघका नेता हुन्)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ