arrow

आईसोलेसनमा पत्रकार: उपचारसँगै समाचार कर्ममा

logo
संजय भट्टराई,
प्रकाशित २०७७ भदौ ९ मंगलबार
ramesh-bastokoti.jpg

नवलपुर । हामी सबैलाई थाहा छ, कोरोना संक्रमित भए पछि मान्छे आईसोलेसनमा हुन्छ। कोरोना संक्रमणबाट मुक्त हुन उसले हरसंभब प्रयास गर्छ, उसको दिमागमा अरु केही हुँदैन, उ आराम सिबाय अरु केही सोच्दैन । तर पुर्वी नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालय अस्थायी कोरोना अस्पतालमा भने फरक दृष्य देख्न सकिन्छ । नेपालकै उत्कृष्ट आईसोलेसनको रुपमा ख्याती पाएको यस ठाउँमा कोरोना संक्रमितहरु बिहान उठेदेखि नै योग ध्यान प्रणायम लगाएतका नित्यकर्ममा व्यस्त देखिन्छन । उनिहरु बिभिन्न ध्यान र प्राणायाममा ब्यस्त हुन्छन् । सन्तुलित भोजन गर्छ्न् र एक आपसमा मनोबल उच्च राख्न प्रेरित गर्छन । 

रजहरको आईसोलेसनमा रहेका संक्रमित मध्य पत्रकार रमेश बस्ताकोटीको भने यो भन्दा फरक दैनिकीमा छन् । उनी आफ्नो नियमित उपचार र अभ्यास गरे पछि भने प्रविधीको प्रयोग गर्दै आफ्नै पेशामा ब्यस्त हुन्छ्न् । उनी साबिक झै दिनहुँ समाचार लेख्छ्न्, लेखहरु लेख्छन् र अन्तर्बार्ताहरु गर्छन् । 

झण्डै १८ बर्ष लामो संचारक्षेत्रको अनुभव संगालेका बस्ताकोटी यतिबेला कोरोना महामारीमाको समयमा अग्रमोर्चामा रहेर आफ्नो समाचार कर्ममा जुटिरहदा आफै कोरोना संक्रमित भए पछि पुर्वी नवलपरासीको रजहरको प्राकृतिक चिकित्सालय अस्थायी कोरोना अस्पतालको आईसोलेसनमा उपचाररत छ्न् । तर उनको दैनिक क्रियाकलाप देख्दा लाग्छ उनिमा कुनै संक्रमणनै छैन । 

बिहान उठेपछि आफ्ना आईसोलेसनको नियमित कर्म सकेपछि कोरोना संक्रमितहरु, संक्रमणको जोखिममा रहेकाहरु, होम आईसोलेसन र क्वारेन्टाइनमा बसेकाहरुको आत्मबल बढाउने समाचारमुलक सामाग्रीहरु सामाजिक संजालमार्फत उत्पादन प्रसारण गर्नु उनको अर्को काम हो । यहि क्रममा उनले आफैलाई उपचार गर्ने डा बिनोद पौडेलको अन्तर्बार्ता लिए, ४ वटा जति कोरोना संक्रमितलाई मनोबल बढाउने लेख लेखें, दैनिक समाचारमा अपडेट हुने र समाचार लेख्ने काम उनले कुनै दिन पनि छाडेका छैनन् । 

"कोरोना संक्रमित भएर आईसोलेसनमा नै रहँदापनी आफ्नो पेशाबाट अलग हुन सकिएन, मनले मानेन । आफ्नो दायित्वबाट विमुख हुन सकिएन । अरु देशभरका संक्रमितहरु, संक्रमणको जोखिममा रहेकाहरु, होम आईसोलेशन र क्वारेन्टाइनमा बसेकाहरुलाई उपयोगी होस् भनेर मैले यो कर्म आईसोलेसनमा बसेर पनि गरेको छु" बस्ताकोटीले बताए । उनले आफुमा मनोबल उच्च रहेको भन्दै आफ्नो नियमित कुनै पनि काम नछाडेको बताए । " काममा हुँदा ब्यस्त भइन्छ, अनेक तर्कना मनमा आउँदैन, समाजको लागि लेखिन्छ पनि, अरुलाई पनि मनोबल बढोस् भनेर मैले आफ्नो काम छाडेको छैन ।" उनले भने । 

आईसोलेसनमै रहेर बस्ताकोटी दैनिकजसो फेसबुक लाईभमा आउछ्न् । कोरोना संक्रमणका विषयमा आफ्ना अनुभव, संक्रमणबाट जोगिने उपाय र संक्रमित व्यक्ति र उसको परिवारलाई समाजले गर्ने व्यवहार उनको विषय रहन्छ । प्रविधिको प्रयोग गर्दै अस्पतालका चिकित्सक र विज्ञसँग अन्तरवार्ता गर्ने र धारणा लिने काम गर्दै जनतालाई सुसूचित गराउने काममा उनी लागिरहेका छन् । 

पछिल्लो समय संक्रमणको दर बढेसँगै संक्रमित व्यक्ति र उनीहरुको परिवार, चिकित्सकहरुलाई गरिएको दुर्ववहार गर्नेहरुप्रति आईसोलेसनबाट नै उनी खबरदारी गर्न र संक्रमित र उनीहरुको परिवारको हौसला बढाउन पनि उनी नियमित रुपमा लागिपरेका छ्न् । " संक्रमित र उनका परिबारलाई गर्ने व्यवहार बडो दुखलाग्दो छ , यो कोरोना भन्दा ठूलो महामारी हुने भो , समाजमा खनिएको यो खाडल पुर्न धेरै समय लाग्छ । " उनी गुनासो गर्छन् । 

बस्ताकोटीले आईसोलेसनमा बसेर संचार माध्यममार्फत कोरोना संक्रमित र संक्रमणको जोखिममा रहेकाहरुको आत्मबल बढाउन गरेको कामले आईसोलेसनका चिकित्सकहरु पनि दङ्ग छन् । 

"कोरोना संक्रमित हुनु आफैमा दुखद पक्ष पनि हो, आफू संक्रमित भएर पनि बस्ताकोटीले एउटा महत्वपूर्ण भुमिका निर्वाह गर्नुभयो, आफुलाई एक्सपोज गरेर म कोरोना संक्रमित भए तर मलाई कुनै लक्षण छैन, कोरोनासँग लडन आत्मबल आवश्यक हुदो रहेछ," यी खालका कुराहरु र प्राकृतिक चिकित्सालयले गरेका प्रयत्नहरुलाई बाहिर ल्याएर कोरोनासँग लड्न र कोरोना संक्रमितलाई समुदायमा भएको नकारात्मक भावना हटाउन बस्ताकोटीले उदाहरणिय कार्य गरेका प्राकृतिक चिकित्सालयका निर्देशक डाक्टर विनोद पौडेलले बताए । उनले भने, " रमेशजीको सक्रियता बडो अचम्मको छ, उहाँमा उच्च मनोबल पनि छ । उहाँबाट धेरै कुरा अरुले पनि सिक्न सक्छ्न् । " पौडेलले भने । 
बस्ताकोटी भदौ २ गते बाट आईसोलेशनमा छन् ।  

नेपाल पत्रकार महसंघ गण्डकी प्रदेशका उपाध्यक्ष नारायण शर्माले बस्ताकोटीले कठिन परिस्थितिमा पनि आफ्नो पेशा नभुल्नु र नियमित त्यसैमा लाग्नु सबैको लागि प्रेरणाको बिषय भएको बताए । उनले बस्ताकोटीले देशभरका अन्य संक्रमित पत्रकारहरुको पनि मनोबल बढाउने काम गरेको बताए । उनले भने," बास्ताकोटीले चिकित्सालयको आईसोलेशन अन्य सन्क्रमितको मनोभावना, त्यहाँका चिकित्सालयको उपचार बिधि र अन्य गतिबिधिका बारेमा सुक्ष्म निगरानी गर्दै सुचना प्रवाह गरेर सुसुचित गराएका छ्न् । सबैको चासो र चिन्ता हटाउन प्रयासरत छ्न् । त्यस्ले अन्यमा सकारात्मक उर्जाको सन्चार गराएको छ । " 

सत्यकलम अनलाईन र साप्ताहिक पत्रिका संचालन गरिरहेका बस्ताकोटीको अनुपस्थितिले कुनै अप्ठ्यारो नभएको सत्यकलमका सम्पादक सालिकराम कोईरालाले बताए । उनले भने " रमेशजी प्रकाशक हो, सम्पादकीय टीममा पनि हुनुहुन्छ , आइसोलेशनबाट नै उहाँले नियमित काम गरिरहनुभएको छ । हामी नियमित सम्पर्कमा रहेर काम गरेका छौ, कुनै काम रोकिएको छैन। " उनले संक्रमित हुँदा पनि उहाँको पेशाप्रतिको सक्रियता लोभलाग्दो भएको बताए । 

रजहरको आईसोलेशनमा पत्रकार बस्ताकोटी सहित पत्रकार सागर पोख्रेल, अर्जुन अबिरल र संचार उद्धमी भरत पोखरेल पनि छन् । पत्रकार पोखरेलले नियमित संक्रमितको डायरी लेखेर जनमानसमा पुराईरहेका छन् । उनको डायरी पनि केही दिन यता धेरै पढिने लेखमा परेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ