arrow

अजम्बरीहरुले गरेको छिछि र दुरदुर

logo
अनिलभक्त खरेल,
प्रकाशित २०७७ भदौ १० बुधबार
anil-bhakta-kharel.gif

संयुक्त राज्य अमेरिकामा फेब्रुअरी २९ तारिख शनिवार वासिंगटन राज्यकी ५० वर्षिया महिलाको मृत्युसंगै कोरोनाबाट मर्नेहरुको संख्याको गणना गरिएको हो । अमेरिकाको जनसंख्या करीब ३३ करोड १३ लाख मध्ये झण्डै ७ करोड ६९ लाख मानिसमा कोरोना जाँच गरेकोमा हालसम्म ५९ लाख ११ हजार संक्रमति र तथा १ लाख ८१ हजारले ज्यान गुमाइसकेका छन् । विश्वभरि गरि २ करोड ३८ लाख संक्रमित भएकोमा ८ लाख १६ हजारले ज्यान गुमाइसकेका छन् । पछिल्लो अवस्थामा दैनिक २ लाखको हाराहारिमा संक्रमितको संख्या थपिदो छ । पछिल्लो समयमा अमेरिकाको अलावा भारत, ब्राजिल, मेक्सिको, रसिया लगायत एसियाली देशहरुमा बढी असर पारिरहेको छ ।

१ अरब ३८ करोड २० लाख जनसंख्या रहेको भारतमा दैनिक ७० हजारको हाराहारिमा संक्रमित देखिनु र झण्डै १ हजारको हाराहारिमा मानिसको मृत्यु हुनुले भारतका छिमेकी राष्टहरु नेपाल, बंगलादेश, पाकिस्तान, भुटानका जनतालाई आतंकित बनाएको छ । बाक्लो जनघनत्व भएको भारतमा मात्र ३ करोड मानिसमा कोरोना जाँच गर्दा नै ३१ लाख संक्रमित देखिनुले भारतभरी कति कोरोना संक्रमित छन् यसै भन्न सकिन्न ।  आगामी दिनमा नेपाललाई कोरोनाले सरी गँज्ने हो यसै भन्न सकिन्न ।

अमेरिका, इटली, बेलायत, स्पेन लगायतका देशहरुमा कोरोनाले महाआतंक मच्चाइरहेको बेलामा धर्म निरपेक्ष २ तिहाइ सरकार र उनका हनुमानहरु श्रीपशुपतिनाले रक्षा गर्ने र नेपाललाई यो रोगले नछुने, नेपाल कोरोनामुक्त, नेपाल ग्रीन जोनमा भनेर पोष्ट गर्दै आत्मरतिमा बसे । झण्डै ४ महिनाको लकडाउनको अबधिमा सांसद अपहरण, ओली सरकार ढाल्ने र बचाउने, ७० करोड काण्डलाई ओझेलमा पार्दै रमाइ रहे । कोरोना नेपालका नेता र पहुँचवालालाई २०७२ सालको भुँइचालोको बेलामा जस्तै भ्रष्टाचार गर्ने सुनौलो अबसर मिल्यो । कोरोनारुपी महामारी २ तिहाई सरकारलाई महादशैं बन्यो । जनतालाई ४ महिनासम्म घरमै नजरबन्द गरेर कारोनाको नाममा १० अर्ब रुपैया भ्रष्टाचार गर्यो । तैपनि हनुमानहरु तै चुप मै चुप । यो ४ महिनाको अवधिमा कोरोनाको लागि केही पनि तयारी गरिएको देखिएन ।

कोरोनाले हाल नेपालमा झण्डै १६० जनाले ज्यान गुमाइसकेका छने भने झण्डै ३३ हजारको हाराहारिमा संक्रमित भेटिएका छन् । ५-६ महिनाको हाराहारीमा २ तिहाईरुपी सरकारले जनताको पक्षमा केही गरेको देखिएन । बरु कोरोना पीडितहरुले दुर्व्यवहार भोग्नुपरेको छ । कोरोना लागेकाहरुलाई सामाजिक बहिष्कार, अछुतको व्यवहार गर्ने, हतोत्साही गर्ने, जस्ता कार्य हुँदा त्यस्तामाथि कुनै कार्वाही भएका छैनन्। रोग हो जस्लाई पनि लाग्न सक्छ । रोग लाग्ने बित्तिकै मर्ने हैन नि । रोग लागेको मानिसलाई केही हुन्न भनेर उच्च मनोबल राख्न हौसला दिने हो कि छिछी र दुरदुर गर्ने हो । के यही यो गणतन्त्र र २ तिहाइरुपी सरकारले दिएको नैतिक शिक्षा ? खै अमेरिकामा दैनिक ६० हजार संक्रमति हुन्छन् तैपनि श्रीमतीको रिपोर्ट श्रीमानलाई र श्रीमानको रिपोर्ट श्रीमतीलाई भनिदैन । खै कसैलाई छिछी र दुरदुर गरिएको पाइदैन । नेपालमा त परिवारका सदस्यलाई भन्दा पहिला कोरोनाको रिपोर्ट छिमेकीलाई पुग्छ । मानै ती छिमेकी अर्कै धर्तीबाट आएका हुन् उनीहरु अजम्बरी हुन् । हुँदा हुँदा अब त डाक्टर र नर्सहरुलाई पनि टोल निषेध गर्न थाले । त्यस्ता अजम्बरी डरपोकहरु अस्पताल नभएका, भीडभाड नभएको दुर्गम भेगमा गएर बसे भैगोनि अरुलाई सामाजिक बहिष्कार गर्नुभन्दा ।

नेपाल पर्यटन वर्ष २०२० को नारा दिएर अर्बौं भ्रष्टाचार गरिसकेको २ तिहाईरुपी सरकारले २० लाख पर्यटक हैन कि कोरोना र सलह बाहेक केही भित्र्याउन नसकेपछि उस्को गिद्दे नजर विवशताले रोजगारीका निम्ति बाहिरिएका नेपालीमाथि परेको छ । अहिले उ नेपाल आउन चाहने नेपालीबाट लुट्ने योजनामा नै छ । अब नेपाल जान चाहनेले १५ दिनसम्म दैनिक ४ देखि ९ हजार खर्च गर्नुपर्ने नियम बनाएको छ । पछिल्लो समयमा चौतर्फी बिरोध भएपछि कोरोना नलागेको पुष्टि भएमा त्यो खर्च गर्नुनपर्ने भनेर सच्च्याउने प्रयास गरिदै छ । तर त्यत्रो हावाइजहाजमा कसैलाई पछि कोरोना लागेको पुष्टि भएमा के गर्ने सरकार मौन छ । यो ५ महिनामा सरकारले के उपलब्धी गर्यो कसैले बताइदिए म अभारी हुने थिए । त्यसैले भन्न मन लाग्यो “लट्न सके लुट २ तिहाइको सरकार लुट्न सके लुट, नेपाल जस्तो संसारमा कही छैन छुट ।”

यति लेखियो अब हनुमान र अरिंगालहरुले विदेशमा बसेर के लेख्छस् लेख्ने भए नेपाल आइजा भन्छन् होला पहिला जस्तै । हनुमान र अरिंगालहरुलाई मेरो एउटै जवाफ छ कालोलाई कालो र सेतोलाई सेतो देख्नुपर्छ, त्यस्तै हरिद्वारलाई हरिद्वार र मलद्वारलाई मलद्वार नै भन्न सक्नुपर्छ विश्वको जुनसुकै कुना काप्चामा किन नहोस् । तिनीहरुमा चेतना रहोस जसरी आमा, बाबुमा आफुसंग रहेका भन्दा आफुदेखि टाढिएका सन्तानको चिन्ता र माया बढी भएजस्तै देशभित्र रहेका लुटेरा भन्दा देश बाहिर टाढा धेरै टाढा भएका म जस्तै जन्मजात नेपालीहरुलाई नै देशको माया बढी छ र हुन्छ । जसरी सुनिश्चित भविष्यको लागि सहर पस्न बाध्य भएकाहरुलाई आफ्नै जन्म गाउँ प्यारो लाग्छ । नलाग्दो हो त देश भुकम्पबाट ध्वस्त हुँदा विदेसीएकाहरुले आफनो गाँस काटेर देशलाई सहयोग गर्ने थिएनन् । इण्डियाले नाकाबन्दी गरेको बेलामा विदेशीएकाहरुले नै “गो ब्याक इण्डिया” भनेर अन्तर्राष्टियकरण गरे जस्को कारण इण्डिया पछि हटेको जगजाहेर छ । स्वार्थीहरुलाई त आफ्नो मात्र चिन्ता छ कहाँबाट लुट्ने, कर्मचारी, पुलिस, आर्मी, शिक्षक, प्राध्यापकहरुलाई सरुवा र बढुवाको मात्र चिन्ता, व्यापारीहरुलाई कर छलीको चिन्ता, नेतालाई मन्त्री प्रम बन्ने चिन्ता, प्रम तथा मन्त्रीलाई भ्रष्टचार गर्ने चिन्ता, पत्रपत्रिकालाई वर्गीकरणकै चिन्ता, पार्टीका कार्यकर्तालाई नेताको गुनगान गाउने मात्र चिन्ता, गरिव जनतालाई गाँस बासको चिन्ता । 

भनिन्छ नि देशको राजनीतिक दुर्गन्ध र बच्चाको डाइपर्ट बेलैमा बदल्नु जान्नुपर्छ । यदि बच्चाको डाइपर्ट बेलैमा बदल्न जानिएन भने बच्चा दुर्गन्धित हुन्छ, उसलाई घाउ खटिराले धेरै दुख दिन सक्छ । हो त्यस्तै गरि देशको राजनीतिक दुर्गन्धलाई पनि बच्चाको डाइपर्ट जस्तै बेलैमा बदल्न जान्नुपर्छ । यदि बेलैमा बदल्न जानिएन भने टोल, समाज, गाउँ, क्षेत्र हुँदै सिंगो राष्ट नै दुर्गन्धित हुनेछ । त्यसैले देशबाट सर्वप्रथम दुर्गन्धित राजनीतिलाई हटाऔं त्यसपछि आधा समस्या आफै समाधान हुन्छ । कोरोना पीडितलाई छिछी र दुरदुर त्यही राजनीतिक दुर्गन्धको उदाहरण हो । देश हाँक्नेमा नै नैतिकता नभएपछि जनतालाई कस्ले नैतिकता सिकाउने ? चेतना आओस।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ