arrow

मानव मुल्यमा आधारित शिक्षा आजकाे आवश्यकता 

logo
ध्रुवप्रसाद गौतम,
प्रकाशित २०७७ भदौ १२ शुक्रबार
dhurba-prasad-gautam.jpg

कुनै पनि मानिसको जीवन व्यक्तिगत वा निजीमात्र हुँदैन । सामाजिक र चेतनशील प्राणी हुनुको नाताले हरेक व्यक्तिको जीवन समाजसँग गाँसिएको हुन्छ । सामाजिक संस्कार,व्यवहारबाट त्यो प्रत्यक्ष प्रभावित हुन्छ । व्यक्ति व्यक्तिको चेतनाको स्तरले समाजमा प्रभाव पार्छ भने समकालीन समाज विकासको स्तरले व्यक्तिको जीवनका विविध पक्षहरुलाई दिशानिर्देश गरिरहेको हुन्छ । हाम्रो शिक्षा, शिक्षा प्रणाली र शिक्षाको दर्शनले हरेक व्यक्ति र समाजको समग्र चेतनालाई आकार दिने काम गर्छ । हामी स्वयं कस्तो बन्न चाहन्छौं र समाज कस्तो बनाउन चाहन्छौं ? यो प्रश्नको जवाफ हामीले लिने शिक्षाको दर्शन र शिक्षा प्रणाली भित्र नै हुन्छ । जीवन-जगतको सत्यता र त्यसको गतिशीलता भित्रनै शिक्षाको सहि मार्ग र गन्तव्य रहेको हुन्छ । जीवनको सहजमार्गलाई दिशानिर्देश गर्न नसक्ने, सिद्धान्तमा बोलिने सुनिने तर व्यवहार वा कर्ममा नदेखिने शिक्षा खोक्रो आडम्बर मात्र हो । त्यस्तो शिक्षा व्यक्ति स्वयं र समाजको उन्नतिको लागि बाधक मात्र हुन्छ । सिद्धान्त र व्यवहारको सन्तुलित समन्वयबाट बन्ने जिम्मेवार र कर्मठ नागरिक तथा समुन्नत समाजको निर्माण नै शिक्षाको मूल उद्देश्य हो ।

आज समाजमा बढिरहेको अतिभोगवादी प्रवृत्तिले सामुहिक सार्वजनिक हितविपरीत नितान्त निजी स्वार्थलाई मात्र सर्वोपरि महत्व दिइन्छ । सीमाहिन विलासी जीवनशैलीको निरन्तर बढोत्तरीले सबैका साझा र अपरिहार्य वातावरणीय तत्त्वहरूको अन्धदोहन भइरहेको छ जसबाट सामाजिक द्वन्द्व, सांस्कृतिक विचलन, मौसमी विपत्ति र पारिस्थितिक पद्धतिमा गम्भीर असन्तुलन उत्पन्न हुँदैछ । विश्वव्यापी महामारीको प्रकोप फैलनुमा मानवको स्वार्थी प्रवृत्ति बढी जिम्मेवार देखिन्छ । आर्थिक प्रलोभन र विकासको नाममा भईरहेको निरन्तरको वातावरण विनाशले मानव जातिसंगै सबै प्राणी वनस्पतिको अस्तित्व संकटमा पर्दैछ । यो सुन्दर सृष्टि रचनालाई संयमित रुपमा उपयोगगरी आफ्नो जीवन जीउने अधिकार त मानव जातीलाई छ तर सृष्टिका कुनै पनि प्राकृतिक संसाधनलाई तहसनहस गरेर जैविक विविधतालाई नष्ट गर्ने अधिकार चाहिँ छैन । भनिन्छ कि मानिस लगायत सबै प्राणीको जैविक आवश्यकता पुरा गर्ने क्षमता प्रकृतिमा छ तर मानिसको लोभलाई पुरागर्ने क्षमता चाहिँ छैन ।

मानिस आज सामाजिक, आर्थिक मन्दि, वातावरणीय प्रदुषण, सर्ने र नसर्ने रोगहरुको प्रकोप, मानसिक तनाव जस्ता समस्याहरुको दलदलमा भासिँदै गएको छ । विश्वव्यापी असर उत्पन्न गरिरहेका यस्ता विकराल समस्याहरू समाधान गर्दै असल संयम नागरिक तथा सन्तुलित वातावरण सहितको समुन्नत समाज निर्माण गर्न आज मानवीय मूल्यमा आधारित शिक्षा आवश्यक भएको छ । मानवमूल्यमा आधारित शिक्षाले व्यक्तिलाई आफ्नो जीवन सहजरूपमा जिउन आवश्यक ज्ञान,सीप र कौशल मात्र सिकाउँदैन, त्यो संगै यसले सबैप्रति आदरभाव,असल चरित्र निर्माण,वातावरणीय तत्त्वहरूको संयमित उपयोग र सिंगो जीवजगतप्रति नै करुणा,मैत्री,सहअस्तित्व र प्रेमभाव सिकाउँछ ।

जीवन मूल्यमा आधारित शिक्षाले नै एकमात्र जीवयुक्त पृथ्वीमा सबै प्राणी वनस्पतिको दीर्घ जीवन,सन्तुलित पर्यावरण र सम्पूर्ण जगतको कल्याण गर्नेछ । "सर्वे भवन्तु सुखिनः सर्वेसन्तु निरामया।सर्वे भद्राणी पस्यन्तु माकश्चित् दुःख भाग्भवेत्।" यो प्रसिद्ध शास्त्रीय उक्तिले पनि यस्तै गुणस्तरीय शिक्षाको अपेक्षा गर्दछ । हाम्रा पुर्खाहरुले अभ्यास गरेको `सर्वजन हिताय,सर्वजन सुखाय´को मर्म अनुसारको शिक्षा प्रणाली हामीले गर्व र मनन गर्नुपर्ने हाम्रा ऐतिहासिक सम्पत्ति हुन् । यिनको महत्त्व आजपनि कम भएको छैन बरु बढ्दै गएको छ । `उदारचरितानान्तु वसुधैव कुटुम्बकम् !´को विश्वभातृत्व भावना सिक्ने र सिकाउने संस्कारित सनातन ज्ञानको कमीले दुषित बन्दैगएको वर्तमान समाजलाई स्वच्छ र सन्तुलित बनाउन सो ज्ञानलाई नूतन विज्ञानप्रविधिसंग जोड्नु आवश्यक छ ।

हाम्रा पुर्खाहरुले पुस्तौंपुस्ता देखिका अनुभव र जीवन दर्शनका गहन ज्ञानलाई शास्त्र र ग्रन्थमा संरक्षण गरेका हुन् र ती शाष्त्रिय ज्ञान आधुनिक विज्ञानप्रविधिका बाधक र विपरीत होइनन् बरु ती एक अर्काका परिपुरक हुन् । यी दुबैको समन्वयले नै समुन्नत सभ्य समाजको निर्माण हुनसक्छ ।शिक्षा क्षेत्रको फरक फरक भूमिकामा रहेका सबैले सकारात्मक सोचका साथ हामी सबैको वृहत्तर स्वार्थको विषयमा एकमत भएर सहकार्य गर्नु वर्तमानको साझा चासो र अपरिहार्यता पनि हो ।
(गौतम शिवपुरी मा.वि.महाराजगन्जका शिक्षक हुन्।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ