- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । विश्वभर बढ्दै गएको कोरोना भाइरसको संक्रमण पछिल्ला महिनायता नेपालमा पनि बढ्दै गएको छ । यसको गति तीव्र भइरहँदा समुदायमै फैलिइसकेको आशंकासमेत हुन थालेको छ ।
काठमाडौं उपत्यकामा पछिल्ला केही दिनदेखि भएको संक्रमितको वृद्धि र मृतकको संख्यामा देखिएको बढोत्तरीले यो आँकडाका आधारहरु खडा हुन थालेका छन् ।
यसबीच कोरोना भाइरस सम्बन्धी विभिन्न किसिमका अध्ययन एवं अनुसन्धान र खोप विकासमा लागेको अक्सफोर्ड विश्वविद्यालयले नेपालमा कोरोना भाइरसको संक्रमणका सन्दर्भमा अध्ययन गरेको छ ।
अक्सफोर्ड विश्वविद्यालयले नेपालको सन्दर्भमा कोरोना भाइरसको संक्रमण कति धेरै हुनसक्छ र त्यसबाट कति मानिसको मृत्यु हुनसक्छ भनेर प्रक्षेपण गरेको छ ।
उक्त प्रक्षेपण अनुसार आउँदो पुस मध्य (सन् २०२० को अन्त्य) सम्ममा नेपालमा कोरोना भाइरसको संक्रमणबाट करिब ५० हजार मानिसको मृत्यु हुनसक्ने आंकलन विश्वविद्यालयले गरेको छ ।
बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभागले उक्त प्रक्षेपण अनुसन्धानकर्ताहरुले अघि सारेको खोजपत्रको आधारमा गरेको हो ।
विश्वविद्यालयकाअनुसन्धानकर्ता प्रोफेसर लिसा ह्वाइट, डा निकोलस लेक्फोर्ड, डा सुनिल पोखरेल, डा दिप्ती लता र डा राशिद जमानले गरेको उक्त अनुसन्धान प्रतिवेदन बेलायतको सरकारी बेवसाइटमा प्रकाशित भएको छ ।
अनुसन्धान प्रतिवेदनले आउँदा केहि महिनामा बढ्ने कोरोना भाइरसको संक्रमणको वृद्धि दरलाई तीन फरक–फरक सुरक्षात्मक एवं नियन्त्रणात्मक ढंगमा विभाजन गरेर अध्ययन सार्वजनिक गरेका हुन् ।
सबैभन्दा बढी संक्रमण र मृत्यु, मध्यम संक्रमण र मृत्यु र कम संक्रमण र मृत्युका अनुसार सार्वजनिक गरेको अध्ययनले यदि सबैभन्दा बढी संक्रमण र नियन्त्रण कम भएको अवस्थामा सन् २०२० को अन्त्यसम्म अर्थात् पुसमहिनासम्ममा नेपालमा ४९ हजार २ सयको मृत्यु हुने प्रक्षेपण अनुसन्धानकर्ताहरुको छ ।
यदि नेपालमा न्युन नियन्त्रणको अवस्था रह्यो भने अनुसन्धानकर्ताहरुले २०२० को अन्त्यसम्म कूल जनसंख्याको ८१ प्रतिशत संक्रमित हुने, ४९ हजार २ सयको मृत्यु हुने प्रक्षेपण गरेका हुन् ।
निकै कम सुरक्षात्मक र नियन्त्रणको अवस्थामा सन् २०२० को जुलाइको सुरुदेखि सेप्टेम्बरको सुरुसम्म संक्रमणको ‘पीक समय’ हुने अर्थात् सबैभन्दा धेरै संक्रमण हुने र यतिबेला दैनिक ८ लाख ८६ हजार नयाँ केस थपिने तर सरकारी निकाय अर्थात् अस्पतालहरु एवं स्वास्थ्य मन्त्रालयमा यसको १० प्रतिशतभन्दा कम अर्थात् ७५ हजार केस मात्र दर्ता हुने प्रक्षेपण गरिएको छ ।
त्यस्तै दोस्रो प्रक्षेपण आंकलन अर्थात् मध्यम सुरक्षा र नियन्त्रण उपायँ अपनाइएको अवस्थामा २०२० को अन्त्यसम्म कूल जनसंख्याको ७३.१ प्रतिशत कोरोना भाइरसबाट संक्रमित हुने, दैनिक संक्रमणको केस ५ लाख ४८ हजारसम्म पुग्ने तर सरकारसँग यसको १० प्रतिशत अर्थात ५० हजार केस मात्रै दार्त हुने र ४४ हजार २ सयको मृत्यु हुने प्रक्षेपण अनुसन्धान प्रतिवेदनमा रहेको छ ।
मध्यम किसिमको सुरक्षा रणनीति अपनाइएको अवस्थामा सबैभन्दा कम सुरक्षा रणनीति अपनाइएको अवस्थामा भन्दा दैनिक संक्रमण दर १८ प्रतिशतले घट्नेछ भने देशको स्वास्थ्य प्रणालीमा दर्ता हुने नयाँ केस दैनिक २५ हजारले घट्नेछ । यो रणनीतिले मृत्युदर ५ हजारले घटाउनेछ ।
र, सबैभन्दा उच्च अर्थात निकै बढी सुरक्षा रणनीति र यिनयन्त्रणका उपायँ अपनाइएको अवस्थामा कुल जनसंख्याको ६४.८ प्रतिशत संक्रमित हुने, दैनिक संक्रमणको केस ५ लाख ३१ हजारसम्म पुग्नेछ जसको १० प्रतिशत अर्थात् ४६ हजार ८ सय दैनिक केस मात्रै सरकारी तथ्यांकमा देखिने र ३२ हजार ९ सयको मृत्यु हुने प्रतिवेदनको प्रक्षेपण छ ।
अनुसन्धानकर्ताहरुले न्युन, मध्यम र उच्च सुरक्षाका उपायँहरु भन्नाले लकडाउन, निषेधाज्ञा, आन्तरिक र बाह्य उडानमा कडाइ लगायतका कुराहरुलाई आधार बनाएका छन् ।
नेपालमा पछिल्लो समय लकडाउन र निषेधाज्ञा जारी नै छ । यसो हुँदा ८० प्रतिशत जनसंख्या नै संक्रमित होला भनेर चाहि भन्न सकिँदैन । जेहोस कोरोना भाइरसको नियन्त्रण र संक्रमण फैलिन नदिन सरकार र नागरिक आफै निकै सचेत हुन जरुरी छ ।