arrow

यस्तो नेविसंघ बनाउन तयार छ कांग्रेस ?

संगिनी सुई लगाएर किन प्रजातान्त्रिक विचार वंशलाई फैलन नदिएको ?

logo
चन्द्रकान्त पौडेल,
प्रकाशित २०७७ भदौ १३ शनिबार
chandrakanta-poudel.jpg

आफैमा अत्यन्त गौरवान्वित शब्द हो विद्यार्थी । विद्यार्थी नभए गुरुको पनि महत्व संसारमा बढ्ने थिएन । तर विद्यार्थीले विद्यार्थी हुनुको धर्म निर्वाह गरेनन् भने त्यतिबेला विद्यार्थी उपर प्रश्न उठ्न सक्छ । नेपाली कांग्रेसको आसन्न महाधिवेशनको घोषणासंगै प्रायः नेतृत्व एक अर्का उपर हिलो छ्यापाछापमा व्यस्त छन् । को कांग्रेसको सभापति बन्ने रस्साकस्सी छ । को महामन्त्री बन्ने आदि शीर्षकमा समाचार छ्यापछ्याप्ती छापिइरहेका छन् तर नेपाली कांग्रेस जन्माउने नर्सरी नेविसंघ अहिले पनि उजाड बनेको छ । 

राजनैतिक तलो थप्छु भनेर स्वप्नशैयामा रमाइरहेका नेपाली कांग्रेसका केन्द्रीय युवा नेताहरूलाई सायद यो थाहा छैन कि थाहा पाएर पनि नपाए जस्तो गरेको हो । तर बर्षौं भयो विधिवत अधिवेशन भएको नेविसंघको कुनै जिल्ला समिति छैन, प्रायः क्याम्पसमा नेविसंघ समिति छैन, प्रदेश समिति नगरपालिका समिति, गाउँपालिका समिति, वार्ड समिति कहिं पनि नेविसंघ क्रियाशील छैन । कम्युनिस्ट पार्टीको अखिल देशभर जहाँ तहाँ सक्रिय भएर नेकपाको भोट बढाउन तल्लीन छ तर नेविसंघ केन्द्रीय समिति समेत पूरा भएको छैन । के यहि हो लोकतान्त्रिक पद्धति ? यस्तो अवस्थामा के नेपाली कांग्रेस बलियो हुन सक्छ ?  

सबै संरचनामा नेविसंघ नि:स्तेज हुँदा देशभर लाखौं भोटको क्षति नेपाली कांग्रेसलाई भइरहेको छ के यसको क्याल्कुलेसन कुनै युवा नेताले गर्नुभएको छ ? पार्टीको सभापति, महामन्त्री, पदाधिकारी, केन्द्रीय सदस्य जो जो बने पनि के नेविसंघको यो दुरावस्था हुँदा, कांग्रेस बन्ने पाठशाला बन्द जस्तै हुँदा के नेपाली कांग्रेसले आगामी आम निर्वाचनमा आफ्नो साख जोगाउन सक्ला ? नेपाली कांग्रेसले गम्भीरतापूर्वक नेविसंघका बारे सोच्नुपर्ने मात्र होइन सबल नेविसंघ निर्माण गर्नुपर्ने बेला आएको छ । 

नेपाली कांग्रेसको ज्येष्ठ पुस्ता त धेरै दुख संघर्ष त्याग र बलिदानपूर्ण इतिहास बोकेर आएको इतिहास साक्षी छ तर प्रश्न उठाउन कांग्रेसको युवा नेतृत्व माथी नै पर्छ किनकी कांग्रेसलाई कसरी बलियो बनाउने यसको मुख्य जिम्मेवारी नेपाली कांग्रेसको युवा पुस्ताको बलियो काँधको हो । राजनीति पद मात्र होइन एक्सन हो भिजन पनि भन्ने कुरा कता कता युवा कांग्रेसको पुस्ताले बिर्सेको पो हो कि भन्ने शंसय फैलिएको छ । 

काठमाडौमा गल्ली गल्लीमा बसेर गूटबन्दीमा रमाइरहनुभएका केन्द्रीय युवा नेतृत्वहरू जो हिजो नेविसंघको भर्याङ् चढेर कांग्रेस पार्टीको केन्द्रमा पुग्नुभयो तर किन नेविसंघ अस्तव्यस्त हुँदा यसलाई सम्हाल्ने सुधार्ने मार्गदर्शन गर्ने जिम्मेवारी तपाईंहरूको होइन ? तपाईंहरू गाउँ जानुहोस् अनि जन्मघर नेविसंघको छानो चुहिएको छ, आंगन भत्किएको छ त्यसलाई सुधार्नुहोस् । तपाईंहरू केन्द्रमा यो गूट त्यो गूट भनेर छताछुल्ल भैरहँदा गाउँगाउँमा लोकतन्त्रमा आस्था राख्ने लाखौं कार्यकर्ताले तपाईंहरूबाट के सिक्ने ? 

परिवारका सदस्यले फरक फरक कार्यालयमा काम गरे पनि आखिर उद्देश्य त परिवारलाई सुखी खुशी राख्नु हुन्छ नि त्यस्तै राजनीतिमा मन मिल्नेहरूको कुरा स्वभाव मिल्नेहरूको समूहलाई गूट भनेता पनि के गूट पार्टीलाई कमजोर बनाउनलाई बनाइन्छ र ?  यदि आगामी आम निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने हो भने जिल्ला जिल्ला गाउँगाउँमा नेविसंघको लहर ल्याउनुपर्छ । नेविसंघ केन्द्रमा त्यस्ता क्षमतावान् प्रतिभावान् व्यक्ति नेतृत्वमा हुनुपर्छ जसलाई देखेर युवा पुस्ता नेविसंघतर्फ आकर्षित बनोस् । केन्द्रीय नेतृत्वले पनि झोला बोक्ने विद्यार्थी नेतालाई भन्दा विचार बोक्ने विद्यार्थी नेताको पहिचान गरि प्राथमिकतामा राख्न जरूरी छ । दाइ ! हजुरले जे भन्नुहुन्छ त्यही गर्छु भन्दा पनि दाइ! यसो गर्दा ठिक हुन्छ भनेर भन्न सक्ने आफ्नो मत र तर्क पेश गर्ने  साहसी युवालाई नेविसंघको नेतृत्वमा ल्याउनुपर्छ । 

रामायणमा श्रीराम नेता थिए उनले आफ्ना कार्यकर्ता हनुमानलाई यस्तो चुस्त बनाएका थिए उनले कहिले पनि अनावश्यक हस्तक्षेप गर्दैनथे त्यसैले त सीताको खबर मात्र लिएर आउनु भनेर पठाइएका हनुमानले रावणको छोरा मारेर पूरै लंकामा आगो पनि लगाउन भ्याए । क्षमतावान् नेतृत्व यदि स्वतन्त्र भयो भने त्यसले कति प्रभावकारी काम गर्न सक्छ भन्ने यो यौटा नमूना प्रसङ्ग पनि हो । यौटा असल नेता कहिले पनि धेरै कार्यकर्ता बनाउनतर्फ लाग्दैन असल नेतृत्व त्यो हो जसले असल नेतृत्व जन्माइरहन्छ ।

नेविसंघलाई संगिनी सुई लगाएर किन प्रजातान्त्रिक विचार वंशलाई फैलन नदिएको ? निश्चित उमेर तोकेर नेविसंघ बनाइनुपर्छ । विद्यार्थी त ७० वर्षको मान्छे पनि हुन्छ नि उमेरमा कुतर्क नगरौं । नेपाल विद्यार्थी संघको नेतृत्व ३२ वर्ष भन्दा माथिको बनाउनु हुँदैन । यसपाली बनिसकेको छ यसलाई स्वीकार्नु पनि पर्छ तर फेरि यहि प्रवृत्ति दोहोरिनु भएन । ३२ वर्ष पछी अनिवार्य रूपमा तरुण दलमा त्यो विद्यार्थी पुग्नुपर्छ महिला संघ, दलित संघ, किसान संघ, सांस्कृतिक संघ लगायत पार्टीका तमाम अन्य भ्रातृसंगठन पनि अद्यावधिक भएर मजबुत नभएसम्म के नेपाली कांग्रेस बलियो बन्छ ? जुन विद्यार्थीले नेविसंघमा आफ्नो समय बिताएको छ त्यो युवाले ३०-३२ वर्षको उमेरमा नेपाली कांग्रेस पार्टीको महाधिवेशन प्रतिनिधि हुँदा किन केन्द्रीय नेतृत्वमा दावी गर्न नमिल्ने ? किन डराएको हो कांग्रेस युवा पुस्तासंग ? होइन भने किन नेपाली कांग्रेसको केन्द्रीय समितिमा चुनाव लड्नका लागि कांग्रेसको क्रियाशील सदस्य भएको वर्षको बार लगाउने ? के नेविसंघ कांग्रेस होइन र ? के नेविसंघ बिना पनि कांग्रेस छ र ? बर्षौं सम्म नेविसंघको छत्रछायामा हुर्किएको जो कोहि यदि नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बन्छ भने सो युवाले सभापतिदेखि केन्द्रीय सदस्य पदको चुनाव लड्न पाउने व्यवस्था गरियोस् छैन भने पार्टीले एक दिन छलफल गरेर यसलाई अनुमोदन गरोस् बल्ल  कांग्रेस पार्टी लोकतान्त्रिक पार्टी हो भन्न सुहाउँछ । 

नेविसंघमा छात्राणामध्ययनमेव तप: यानी कि केही न केही सिक्नु नै विद्यार्थीको तपस्या एवं कर्तव्य हो भन्ने भावना भएकाहरू नेविसंघको  नेतृत्वमा हुनुपर्छ । कला, संगीत, पेन्टिङ, मनोरञ्जन, विज्ञान, इंजिनियरिङ, मेडिकल, न्याय, पत्रकारिता, दर्शन, कराँते, तेक्वान्डो, अर्थशास्त्र, नीतिशास्त्र कुनै प्राविधिक वा केही न केही विषयमा मेहनत गरेको जेहन्दार विद्यार्थी नेविसंघको केन्द्रीय नेतृत्वमा जानुपर्छ । कसले कति नारा लगायो?  कसले कति जुलुस गर्यो ?कसले केन्द्रको कांग्रेस नेतालाई चिन्छ ? यस्तो नयाँ  मापदण्ड नभत्काए सम्म नेपाली कांग्रेस र नेविसंघको गौरवमय इतिहासको संरक्षण हुन गाह्रो छ ।

काठमाडौंमा जय नेपाल भन्दै बिहानै दैलोमा पुग्ने मात्र होइन गाउँ गाउँमा जिल्ला जिल्लामा बसेर दुख गरिरहेका युवा विद्यार्थीहरू जो केन्द्रको नेतालाई पनि व्यक्तिगत रूपमा चिन्दैनन् त्यस्ता युवाहरूलाई नेविसंघ केन्द्रमा ल्याउनुपर्छ । केन्द्रीय समितिमा पुगे पछि काठमाडौमा चन्दा आतंक गरेर बस्ने पार्टीलाई संगठनलाई बदनाम गर्ने नेता नेताका दैला चहार्नेहरूलाई प्राथमिकतामा राख्नाले आज  नेविसंघ कमजोर भएको छ, कांग्रेस कमजोर  भएको छ । आज यो गुटको निर्देशनमा चल्ने मान्छे भोलि अर्को गुटको निर्देशनमा चल्न सक्छ तसर्थ आफ्नो विवेकको निर्देशनमा हिंडेर नेविसंघ र कांग्रेसको जनमत बढाउन सक्ने स्वतन्त्र चेतनशील नेविसंघको आम कार्यकर्तालाई केन्द्रको जिम्मेवारी दिनुपर्ने हुन्छ । आफैं काम गरेर पेट र परिवार पाल्ने साहस नगर्नेहरुलाई नेविसंघको नेता बनाएर काम छैन । असल युवा त केन्द्रीय जिम्मेवारी पायो भने गाउँ जानुपर्छ निर्वाचन क्षेत्रमा गएर राम्रो काम गरेर संगठनको शिर उच्च बनाउने किसिमको हुनुपर्छ । आम चुनावका बेला मंचमा उभिएर भाषण गरेर जनमतलाई तल माथी पार्न सक्ने अद्भुत क्षमता भएका युवा नेविसंघमा नभएसम्म कांग्रेस पनि कमजोर हुनेछ । के यस्तो नेविसंघ बनाउन कांग्रेस तयार छ?
(पौडेल नेविसंघका नेता हुन्।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ