arrow

कांग्रेसमा आन्तरिक लोकतन्त्र

logo
डा. राजकुमार राई,
प्रकाशित २०७७ भदौ २३ मंगलबार
rajkumar-rai1.jpg

नेपाली कांग्रेस लोकतन्त्रको पहरेदार पार्टी हो । यसले लोकतन्त्र प्राप्तिका लागि पटक पटक गरेको संघर्षहरूमा सफल नेतृत्वदायी भूमिका निभाएको छ, जसले गर्दा नेपाली जनमानसमा नेपाली कांग्रेस र लोकतन्त्रलाई एक अर्काका पर्यायको रूपमा पनि बुझ्ने गरिन्छ । यसरी लोकतन्त्रका लागि सार्वजनिक छवि बनाएको नेपाली कांग्रेस आफैंभित्र लोकतान्त्रिक अभ्यास हुन नसकिरहेको भन्ने गुनासाहरू सुनिन्छन् । बिशेष गरेर पार्टी सभापतिको भूमिकालाई लिएर यस्ता गुनासाहरू आउने गरेको पाइन्छ ।  

नेपाली कांग्रेस सुरुदेखि नै सभापति-प्रणाली अनुसार चल्दै आएको पार्टी हो । २००७ सालतिर जुन वेलामा पार्टीले क्रान्ति गरिरहेको थियो, त्यो बेलामा कुनै समस्या वा सवालको वारेमा तुरुन्त पार्टीभित्र बृहत छलफल गर्नसक्ने अवस्था नभएकाले सभापतिलाई विश्वास गरेर पार्टीको सम्पूर्ण निर्णय गर्ने अधिकार दिइएको थियो । तर पछिल्लो सामान्य परिस्थितिमा पनि सभापतिहरूको मनोवृत्तिमा फरकपन देखिएन । उनीहरूले पार्टीलाई लोकतान्त्रिक मूल्य मान्यता विपरित स्वेच्छाचारी ढंगले चलाएको भन्ने धेरैको बुझाइ छ । 

नेतृत्वलाई आफू कसरी पार्टी सत्तामा टिकिरहन सकिन्छ र राज्य सत्तामा पनि कसरी आफ्नो अहम भूमिका राख्न सकिन्छ भन्ने विषयमा बढी केन्द्रीत भएको देखिन्छ । यस्तो प्रवृत्तिको सुरुवाती नेपाली कांग्रेसका पहिलो सभापति मात्रिका प्रसाद कोइरालाबाटै भएको देखिन्छ । पार्टीका बहुसंख्यक नेता कार्यकर्ताहरूको मनोभावना विपरित तथा पार्टीको स्पिरिटभन्दा बाहिर गई तत्कालिन राजा त्रिभुवनसित सम्झौता गरी सत्तामा टिकिरहने चालबाजी गरेकाले वीपी कोइरालाको आफ्नै नेतृत्वमा बहालवाला प्रधानमन्त्री सहोदर दाजु मात्रिका प्रसाद कोइरालालाई पार्टीबाट निस्कासित गरिएको थियो । त्यसपछि वीपी बाँचुन्जेल यो मामलामा उनी ज्यादै सचेत थिए र उनले आफ्नो जीवनको अन्तिम अवस्थामा संस्थापक तीन नेताहरू गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, र गिरिजा प्रसाद कोइरालालाई संगै राखेर तपाइँहरू तीन जनाको आपसी सरसल्लाहबाट पार्टी चलाउनु होला भन्ने सुझाव दिनुभएको थियो ।  

तर विडम्बना भन्नुपर्छ । जब २०४६ सालको जनआन्दोलन सफल भएर नेपाली कांग्रेस सत्तामा पुग्यो, त्रय शिर्षस्थ नेताहरू मिलेरे पार्टी चलाउने भन्दा पनि पार्टीभित्र चरम गुटबन्दी सृजना भयो । एकातिर पार्टी सभापतिको पक्ष र अर्कोतिर पार्टी सभापतिको विरोधी पक्ष, जसलाई संस्थापन पक्ष र संस्थापन इतर पक्ष भन्ने खुलेआम दुइटा धार बन्यो र एकले अर्कालाई निषेधको राजनीति अख्तियारी गर्न थाल्यो ।

यो किसिमको श्रृंखला वर्तमान नेतृत्वमा आइपुग्दा पार्टीमा झन् नयाँ नयाँ विकृति र विसंगतिहरू भित्रिएको देखिन्छ । पार्टी नेतृत्वलाई विभिन्न किसिमका आरोपहरू छन् । जस्तै: सिंगो पार्टी चलाउने भन्दा पनि गुटको खेति गर्ने र गुट चलाउने प्रवृत्ति हावी भएको छ । नेतृत्वलाई आफन्त र चाकरीवाजहरूले पूरा घेरिराखेका हुन्छन्, जसले गर्दा उनलाई त्यो घेरा भन्दा बाहिर जान्ने वुझ्ने अवस्थै हुँदैन । आफू अनुकुल निर्णय गर्न गराउन पार्टीको विधि विधान र पद्दति उल्लङ्घन गरिएको छ ।   

त्यस्तै पार्टी सत्तामा टिकी राख्न आफ्नो पदलाई दुरुपयोग गरी शक्ति संचय गरेको आरोप पनि लागिरहेको छ। उदाहरणका लागि महाअधिवेशन सकिएको २ महिनाभित्र गठन गर्नु पर्ने बिभागहरू ४ वर्षे कार्यकाल सकिएर अर्को महाधिवेशनको तिथि-मिति तोकिसकेको अवस्थामा धमाधम गरिंदैछ। यो भनेको संगठन निर्माण भन्दा पनि अर्को महाधिवेशनमा मतदाता बटुल्ने मेसो हो भन्ने धेरैको बुझाइ छ । त्यस्तै राष्ट्रिय निर्वाचनका लागि टिकट वितरण र राज्यका विभिन्न निकायहरूमा हुने नियुक्ति र सरुवा बढुवाहरूमा आर्थिक चलखेल हुने गरेको आरोपहरू समाचारका हेडलाइन बनेको र केन्द्रीय कमिटिको बैठकमा पनि उठ्ने गरेको देखिन्छ सुनिन्छ । आर्थिक चलखेल हावी भएपछि पार्टीको लागि जीवनभर त्याग गरेका, संघर्ष गरेका नेता-कार्यकर्ताहरूलाई अवसरबाट वन्चित गरेर पाखा लगाइएको आरोप छ । 

कांग्रेस पार्टी अहिले लोकतान्त्रिक मूल्य मान्यताको आधारमा चलेको छ छैन ? भन्ने सवाल माथिका आरोपहरूबाट पनि बुझ्न सकिन्छ । लोकतन्त्रमा छलफल संवाद हुन्छ र त्यो छलफल र सम्वादबाट आएका निचोडका अनुसार पार्टीका क्रियाकलापहरू संचालन गरिन्छ । पार्टीमा गरिने हरेक निर्णय विधान सम्मत गरिन्छ वा निर्णय प्रक्रियालाई सिमित व्यक्तिहरूको इच्छा मुताविक नभएर सवैको संलग्नतामा वृहत छलफल मार्फत पारदर्शी ढंगले टुंगोमा पुर्याइन्छ । 

विधानको धारा २५ (१४) र २१ (१२) मा सभापतिले प्रत्येक दुई महिनामा कम्तिमा एक पटक केन्द्रीय कार्यसमितिको बैठक बोलाउने र धारा २५ (१४) र २३ (५) बमोजिम प्रत्येक महिनामा कम्तिमा एक पटक केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउने भनिएको छ । हाल केन्द्रीय कार्य सम्पादन समिति त छँदैछैन, भएको केन्द्रीय कार्य समितिको बैठक पनि नियमित नभएर सभापतिको तजविजीमा हुने गरेको छ। 
केन्द्रीय कार्य सम्पादन समितिको ठाउँमा पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठक बस्ने गरेको छ । ती बैठकहरू कांग्रेसको नीति कार्यक्रमको बारेमा छलफल गर्नेभन्दा पार्टीभित्रको किचलोमा केन्द्रित रही नेताहरूको भागबण्डामा टुंगिने गरेको देखिन्छ। जुन कार्य विल्कुलै अलोकतान्त्रिक छ । त्यस्तै सभापतिको तजविजीमा कहिलेकाहीं बोलाइने केन्द्रीय कार्यसमितिको बैठकमा वैचारिक छलफल गर्ने भन्दा नेताहरूको तिक्तता पोख्ने र नेतृत्वले गरेका निर्णयहरूमा ल्याप्चे ठोक्ने वा नोट अफ डिसेन्ट लेख्ने प्राविधिक कार्यमै टुंगिन्छ । 

नेपाली कांग्रेसले साँच्चै नै आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन चाहन्छ भने पार्टीभित्र घनिभूत छलफल र बहस गर्ने संस्कारको विकास गर्न जरूरी छ । पार्टी व्यक्तिको लहडबाजीले भन्दा विधि विधान तथा पद्दतिअनुसार चल्नु पर्छ । माउ पार्टीलगाएत भ्रातृ संघहरूको अधिवेशन विधान बमोजिम अनिवार्य रूपमा तोकिएको समयमा गरिनुपर्छ । केन्द्रीय नेतृत्वको छनौट फराकिलो दायराबाट हुनुपर्छ । सके क्रियाशील सदस्यहरूबाट हुनुपर्छ । त्यो सकिन्न भने कम्तिमा क्षेत्रीय प्रतिनिधिहरूबाट हुनुपर्छ । विधानमा तोकिएबमोजिम केन्द्रीय कार्यसमिति र महासमितिहरूको बैठक नियमित हुनुपर्छ । राज्यका निकायहरूका लागि हुने निर्वाचनमा सम्बन्धित भूगोलका क्रियाशील सदस्यहरूको निर्वाचक मण्डलले छानेको व्यक्तिलाई उम्मेदवार बनाउनु पर्छ । अथवा छनौट गर्ने मापदण्ड सार्वजनिक हुनुपर्छ ताकी छनौट भएको व्यक्ति सर्वस्वीकार्य बनोस् । 

पार्टीले सरकार बनाउने अवस्था आउँदा कम्तिमा पनि महाधिवेशन प्रतिनिधिहरूको निर्वाचक मण्डलले छानेको व्यक्तिलाई प्रधानमन्त्रीको उम्मेदवार बनाइनु पर्छ । यसो गर्दा सवैभन्दा लोकप्रिय व्यक्ति प्रधानमन्त्री बन्ने सम्भावना हुन्छ। पार्टीको आन्तरिक लोकतन्त्रका लागि पार्टी सभापति बढी जिम्मेवार हुने भएकाले सभापति बन्ने व्यक्ति कसैलाई काख कसैलाई पाखा नगरी सवै नेता कार्यकर्ताहरूलाई समान व्यवहार गर्न सक्ने संवेदनशीलता भएको, परेको बेलामा कठोर निर्णय लिन सक्ने क्षमता भएको, वैचारिक क्षमता भएको र पावर र पैसाको लोभबाट मुक्त भएको लोकतन्त्रको मूल्य-मान्यतामा अडिग नैतिकवान व्यक्तिको छनोट हुन जरुरी छ । 

आशा गर्न सकिन्छ कि नयाँ विधानअनुसार हुन गइरहेको १४ औं महाधिवेशनबाट चुनिएर आउने सभापतिलगाएत अन्य पदाधिकारीहरू केही न केही खारिएका, फरक प्रवृत्ति र जोश जाँगर भएका व्यक्तिहरू हुनेछन् किनकि नयाँ विधानअनुसार सवै पदाधिकारीहरू निर्वाचनबाट आउनुपर्ने हुन्छ र ती सबैले मतदाताहरूबाट पाएको मतको जिम्मेवारीवोध गर्दै उनीहरूप्रति जवाफदेही बन्न उद्वेलित हुनेछन् । त्यसकारण पनि उनीहरूले आन्तरिक लोकतन्त्रलाई मजवुत बनाउने भूमिका खेल्नेछन् ।  
drrkrai9@gmail.com



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ