arrow

सर्बहाराको सरकारलाई गिज्याईरहेको यी दृश्यहरु

logo
मनोज कुमार कँडेल,
प्रकाशित २०७७ भदौ २७ शनिबार
manoj-kumar-kandel.jpg

देशमा झापा आन्दोलनदेखी जनआन्दोलनसम्म गरिब सर्बहाराको नाममा महान आन्दोलन गरेका गौरबमय इतिहास बोकेको पार्टीको दुई तिहाईको सरकार छ । प्रधानमन्त्री तथा सत्तासिन पार्टीका एक अध्यक्ष त्यस्तो हुनुहुन्छ जसले आफ्ना सबै सम्पत्तीहरु आफ्नो सेखपछि हुने गरि दान गर्नुभएको छ । अर्का अध्यक्ष आफ्नो भए जती सबै सम्पत्ती पार्टीलाई दिएर सशस्त्र जनआन्दोलनको कमाण्ड गरेका नेता हुनुहुन्छ ।

महान सर्बहारा नेताहरु, सर्बहाराको नाममा ज्यानलाई जोखिममा राखेर आफुलाई सर्बहाराकरण गरेका अध्यक्षद्धय मात्र होइन सर्बहाराकरण गरेका धेरै कमरेडहरु पार्टीमा हुनुहुन्छ । उहाँहरुको इतिहास पढ्दा, अनि भाषणहरु सुन्दा लाग्छ अब केही बर्षमै नेपाल विकसित देश हुनेछ । युरोप अमेरीकालाई माथ दिनेछ । 

तर जब हामी देशको जनताको अबस्थाको यर्थाथतिर जान्न सपनाबाट व्युझिए जस्तै छाँगाबाट खसेसरी हुनपुग्छौं । हो यहाँ यस्ता केही दृश्यहरु पस्किन चाहन्छु जसले सर्बहाराबर्गको खुट्टीमा उभिएको यो सरकारलाई गिज्याईरहेको छ । 

एउटा दृश्य रत्नपार्क गए देख्न सकिन्छ । सयौं कोरोनाको कहरले काम गुमाएका मजदुरहरु एकछाकको लागि पर्खेर बसीरहेका हुन्छन । सरकार होइन, केही समाजसेवीहरु आफैले खाना बनाएर, प्याकिङ गरेर, ट्याक्सीमा बोकेर उनीहरुको भोक मेटाउन पुग्छन । 

अचम्म त यो छ की समय समयमा त्यहाँ सरकार पनि पुग्छ र ति समाजसेवीहरुलाई एकछाँक खुवाएकोमा रोक्न खोज्छ । ति समाजसेवीहरुसँग झिनाझप्टी हुन्छ, भोकोपेट खाना कुरिरहेकाहरु नारा लगाउँछन र भन्छन हामीलाई खान दिनुहोस सरकार न रोक्नुहोस । रन्नपार्क त एउटा उदाहरण मात्र हो देशको धेरै ठाउँहरुमा सिमित समाजसेवीहरुको आशामा बाच्न बाध्य छन् गरिब, दिन दुखी मजदुरहरु । 

केही व्यक्तिहरुले सानो पहलमा खुवाउन सक्छन भने के २-४ सय मजदुरलाई दुई छाक यो महामारीमा खुवाउन यो सरकारले नसक्ने नै हो त ? अब म कसरी भनु यो सरकार गरिबको लागि हो । 

अर्को दृश्य २-४ माना मलको लागि लाइनमा लखतराण उभिएका ति किसानहरु हुन् । देश कृषिप्रधान, सत्ता सर्बहाराको नामको, झण्डै २६ प्रतिशत राज्यको आर्थिक क्षेत्रमा योगदान गरिरहेका किसानहरुले निशुल्क होइन पैसा तिरेर मल खरिद गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरिरहेका छन् । 

यता मन्त्रीज्यू मल आपूर्ती हुन नसकेकोले ठेकेदारलाई कारबाही गरेकोमा नाक फुलाएर गर्ब गरिरहेका छन् । विचरा ति किसान आउदो बर्ष भोकमरी लाग्ने भयो भनेर सूस्केरा हालिरहेका छन् ।

ति किसानले कर तिरेका छन, भोट दिएका छन्, गाँउमा आउँदा सय सय किलोका माला लगाई दिएका छन्, हात जोडेर सलाम ठोकेका छन्, तिनका छोराहरु जनआन्दोलनको नाममा सहिद भएका थिए । अनि अलिअलि बचाएका अन्न बेचेर पार्टीलाई लेभी पनि तिरेका छन् ।

देशले सेतो हात्ती सरह पालेका क्रान्तीकारी मन्त्री छन्, सचिव छन्, सयौं जनाले भरिभराउ कृषि साम्रग्री संस्थानदेखी अन्य संस्थाहरु छन्, अरबौं बजेट छ, तर मल छैन । कुन नैतिकताको आधारमा मन्त्रीको झण्डा हल्लाउन सकेका हुन यि सर्बहाराका नेताले ? अनि ति सचिव, ति सहसचिव, ति सयौं जनाको भिडले भरिएका संस्थाहरु किन र के लागी ? 

मन्त्री, सचिव र त्यो संयन्त्र के हेरेर बस्छ, के काम गर्छ ? असारमा किसानलाई २-४ बोरा मल दिन नसक्ने हुतिहारा, नैतिकहिन, नीतिहिन सरकार र यिनका सबै संयन्त्रहरु यो देशलाई चाहियो किन ? 

त्यस्तै दृश्य सिमानामा देखिन्छ । ६ महिना पहिले कोरोनाबाट बच्न ज्याला मजदुरी छोडेर लाखौं नेपालीहरु भारतबाट नेपाल फर्के, सरकारले जर्बजस्ती सिमामा छेकेर लुकीछिपी देश छिर्न बाध्य बनायो । अनागरिक सरह हप्तौ सिमामा अलपत्रमात्र भएनन्, मजदुरहरु कयौंले भोकले ज्यान गुमाउन बाध्य भए ।

आज फेरी त्यही भोककै पिरले, भोकबाट मर्नुभन्दा त कोरोनाबाट मर्छु भनेर भारत जान सिमामा लाइनमा उभिएका छन् । विश्वमै झण्डै कोरोना संक्रमणमा एक नम्बरमा पुग्न लागेको भारतमा गएर ज्याला मजदुरी गर्न लाइन बसीरहेका ति जनताको पिडा कसरी यो सरकारले देख्दैन ? सुनिन्छ अरबौं बजेट पनि छ रे बेरोजगारीलाई रोजगार दिन । 

भोकले कोही पनि मर्नु पर्दैन, एक छाक त सुतिसुति खान पाइन्छ, काम नै गर्नु पर्दैन भनेर प्रधानमन्त्रीज्यूले दिएको भाषण अहिले पनि ति मजदुरहरुको कानमा गुन्जिरहेका होला । ति गरिब जो भारतमा मजदुरीको लागि लाइनमा बसेका छन्, सुतिसुति खाना मागेका पनि छैनन मात्र काम मागिरहेकाछन्, चिच्याउँदै भनिरहेका छन् सरकार तपाई कहाँ हुनुहुन्छ हामी सिमाबाटै देश फर्किन चाहन्छौं, देशमै मजदुरी गर्न पाउँ, पसिना बगाउन पाउँ ।

यस्तै दृश्य सेटलाइटदेखी स्वास्थ्य सामग्री खरिदमा मन्त्रीहरुले र्‍याल चुहाएको समाचार पढ्दा देखिन्छ । यस्तो महामारीमा जनताहरु रोक र भोकले छटपटाई रहेको बेला स्वास्थ्य सामाग्री जस्तो सामान खरिद गर्दा कसरी यि सर्वहाराका नेताहरुले भ्रष्टाचार गर्न सकेका होलान ? 

किन आज राजनीति व्यापार हुन पुग्यो ? सम्पत्ती कमाउने त राजनीतिबाट हुनै सक्दैन, व्यापारको बाटो छ, जसबाट विश्वका धनी मानिस हुन कसैले रोक्दैन । यसरी धनी हुनेलाई ति गरिबले पनि आदर गर्छ । भ्रष्ट र नैतिकहराम भन्दैनन पनि । 

राजनीति त एउटा पबित्र समाजसेवा हुनु पर्‍थ्यो, जनताको सेवक हुनु पर्‍थ्यो, जसरी स्वर्गीय नेता कृष्ण प्रसाद भट्टराईले छाता र सुराही भिरेर राजनीति गरेक थिए। तर यहाँ यसरी व्यापार हुन पुग्यो की, चुनाब जितेर सत्तामा पुगेको पहिलो दिनको निर्णय तलब, सुबिधा, गाडी भत्ताको हुन्छ अनि कदम कदमका सबै निर्णयहरु कमिसनको लेखाजोखामा गरिन्छ । 

यहाँसम्मको लाजमर्दो दुश्य देखिन लाग्यो कि अख्तियारलाई समेत सरकारको लाचार छायाँ बनाइदैछ । यस्तै दृश्य बाढी पहिरोबाट छट्पटिएका ति जनतामा अनि कोरोनाको भयमा बाँचेका जनताहरुमा देखिन्छ । कोरोना महामारीको बितेको ६ महिनाको लकडाउनको मुल्याङ्कन गर्दा नत कोरोना संक्रमण नियन्त्रण भयो न उचित व्यवस्थापन नै । 

कोरोना संक्रमणको सुरुवाती दिनहरुमा छिटो परिक्षण गर्न नसकेको, कोरोना संक्रमितहरुको पहिचान गर्न ढिलो भएको, परिक्षणको लागि आबश्यक ल्याब अपुग भएको, आइसोलेसन, क्वारेन्टाइन व्यवस्था गर्न नसकेको, भारतीय सिमानाबाट संक्रमितहरुलाई व्यवस्थित गर्न नसकेको जुन समस्या थियो आज पनि ज्यूँकात्यूँ छन् । 

बाढी र पहिरो पिडितको समस्या त बर्षेनी चाँडपर्व जस्तो छ नेपालमा । सरकार छ, विपत्त व्यवस्थापनको संयन्त्र केन्द्रदेखी स्थानियसम्म छ । बजेट पनि छ । तर कहिल्यै नत बाढी पहिरो क्षेत्रको पहिचान भयो, नत पहिले नै दुर्घटनाबाट बच्ने योजना बने । नत तथ्याङ्कहरु राखियो न कुनै आपतकालीन उद्धार प्रणालीहरुको व्यवस्था गरियो । 

जब बाढी पहिरो जान्छ, जनताहरुको रुवाबासी हुन्छ, जनताहरु मर्दछ अनि भएको बजेट खर्च गर्दै हेलिप्याडमा जनताको रुवाबासी र क्रन्दन सुन्न सरकार पुग्छ । सर्बहारा नामको कम्युनिष्ट सरकार त्यो पनि दुई तिहाईको झण्डै तीन बर्ष भयो तर हिजो देशमा जे अबस्था थियो, जे समस्या थियो आज पनि त्यही छ, केही परिबर्तन भएको छैन ।  

अन्तमा, कम्युनिष्ट पार्टी नामको दुई तिहाईको सरकार छ भनेर सुन्दा पनि मन कुँडिएर आउँछ । माथि उल्लेखित केही दृश्यहरु त केही उदाहरणहरु मात्र हुन् । यहाँ यस्ता धेरै उदाहरणहरु छन् जसले यो सरकारलाई गिज्याईरहेको छ ।

जनताहरुमा ठूलो आशा पनि छैन । मात्र देशमै काम गर्न पाइयोस, एक छाक खाना पुगोस । छोराछोरीले पढन पाउन, रोगलाग्दा उपचार हुन सकोस दुई कोठाको डेरा होस अनि नेताहरु सदाचारी हुन् । 

नैतिकता र इमान्दारीले भरिपुर्ण समाज होस । विकास र संबृद्धी त कसैले ल्याउन पर्दैन । जिम्मेदार राज्य संचालन गर्ने नेतादेखी कर्मचारीहरुको नैतिकता, इमान्दारीता र सदाचारको साथमा आउछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ