मन्त्री असफल, प्रधानमन्त्री सफल !

मनोज कुमार कँडेल, प्रकाशित मिति : २०७७ असोज १० शनिबार
केपी ओली

फेरी बजारमा हल्ला चलेको छ केपी ओलीका मन्त्रीहरुले काम गर्न सकेनन, उनीहरु असफल भए । अघिल्लो पटक पनि यस्तै हल्ला गरिएसँगै लालबाबु, गोकर्ण लगाएतलाई पनि नै हटाईएको थियो । असफल मन्त्रीहरु हटे अब पक्कै सरकार सफल भएको घोषणा हुनेछ यहि पर्खाइमा थिए नेपाली जनताहरु । तर त्यस्तो हुन सक्ने कुरै थिएन । लालबाबु र गोकर्णहरु असफल हुने र बिना, ईश्वरहरु सफल कसरी हुन्थे र ? हुन पनि त्यही सावित भयो र फेरी प्रश्न उठ्यो हालका मन्त्रीहरुले प्रमलाई असफल बनाए रे ! 

फेरी पनि आम जनतामा विश्वास छैन अब आउने नयाँ मन्त्रीहरुले केपी ओलीलाई यो देशको सफल प्रधानमन्त्री बनाउनेछन । विश्वास गरुन पनि कसरी ? जब राजनीति अनैतिक हुन्छ राजनीतिज्ञले वापोगण्डा अगाडि सार्छ । जब राजनीति गैरजिम्मेवार बन्छ राजनितिज्ञले दोष अर्कोलाई थुपार्छ अनि जब राजनीति भ्रष्ट हुन्छ उसले भ्रष्ट आचरणहरुको ढाकछोप गर्न थाल्छ । आज नेपालको सत्ताधारीको होस वा प्रतिपक्ष यसरीनै लट्पटिएका छन् । 

यिनै ३ आधारमा केपीले सत्ताधारण गरिरहेका छन् । उनको यो सत्ताको राजनीतिमा कही पनि इमान्दारीता भेटिदैन । इमान्दारीता विनाको सबै कार्यहरु अनैतिक हुन्छन् । अनैतिकतालाई लुकाउन फेरी अर्को झुटको प्रोपोगण्डाको रचना गरिन्छ । जब प्रोपोगण्डाहरु चलाइन्छ अनि व्यक्तिका सबै व्यवहार, बोली, कार्यहरु गैरजिम्मेदार हुन पुग्छन । जब जिम्मेदार ठाँउमा बोझिलो जिम्मेदारी लिएका व्यक्तिनै गैरजिम्मेदार हुन्छ त्यहाँ झुटको खेति शुरु हुन्छ अनि विरालाले आफुले गरेको फोहोर समेत लुकाए जस्तै आफु बँच्नको लागि ढाकछोपको राजनीति शुरु हुन्छ । 

यो अबस्था भनेको अपराधीका नाइकेको जस्तो हो । जब एक अपराधीले आफु समातिने, बदनाम हुने वा व्यापार घाटामा हुने अबस्था देखेमा जस्तोसुकै हितैषी साथी किन नहोस, आफ्नैलागि लडिरहेका समूह नै किन नहोस छोड्दैन, सबैलाई सफाया गर्दछ र आफु बच्ने प्रयास गर्दछ । राजनीतिको सबैभन्दा कुरुप अबस्था भनेको यही हो । जुन राजनीति चारित्रिक, जिम्मेवार र इमान्दार हुदैन, हो यही कुरुप अबस्था सिर्जना हुन्छ । यहि कुरुपताले देश जनताहरु शोषित र शासित भएर बाच्नु पर्ने अबस्था सिर्जना हुन्छ । हामीले विश्वको गरिब मुलुकहरुलाई ध्यान दिएर विश्लेषण गर्ने हो भने राजनीतिको यही कुरुपताको चक्रले पिसिएको पाउछौं ।

प्रधानमन्त्री राम्रो तर सबै मन्त्रीहरु नराम्रो कसरी हुन्छ ? कसरी मान्ने ? जबकी नेपालको संविधानले सबै प्रकारले प्रधानमन्त्रीलाई सर्वोपरी, जिम्मेवार बनाएकोछ । प्रधानमन्त्रीले नचाहँदा मन्त्रीपरिषदमा कुनै पनि एजेण्डा प्रबेश समेत पाउदैन । यहाँ सम्मकी यिनै प्रधानमन्त्रीले पार्टी विभाजन गर्न सक्ने अध्यादेश मन्त्रीहरुलाई पूर्ण जानकारी विनानै मन्त्रीपरिषदबाट अगाडि बढाएका थिए । यस्ता थुप्रै निर्णयहरु छन् जो मन्त्रीको जानकारी विना निर्णय भएका र कार्यान्वयनमा आएका । 

नेपालको संविधानले हाम्रो शासन पद्धतीलाई प्रधानमन्त्रीय पद्धतीको रुपमा स्वीकार गरेको छ । अहिलेका प्रधानमन्त्री नेपाल सरकारका सबै निर्णयहरुका एकमात्र जिम्मेवार हुन । मन्त्रीहरु त स्वतः विभागिय हैसियतमा जिम्मेवार रहेका हुन्छन नै । मन्त्रीमात्र होइन कर्मचारीतन्त्रबाट मुख्य सचिबदेखि मन्त्रालयलाई हाँकी रहेका सचिबहरु पनि जिम्मेवार रहन्छन । 

केही उदाहरणहरु हेरौं जसले प्रधानमन्त्रीको गैरजिम्मेवारी र बेइमानीको स्पष्ट संकेत दिन्छ । यि त बाहिर देखिएका र ल्याईएको विषय भए त्यस्ता गुपचुप रहेका र बाहिर आउन नसकेको उदाहरणहरु धेरै होलान । 

पहिलो पटक असफल मन्त्रीको रुपमा हटाइएको लालबाबु पण्डितले चौमासिक कार्य सम्पादन मुल्याङ्कनमा उनको भन्दा कम नम्बर ल्याउनेलाई राखेर उनलाई पूर्बाग्रह राखेर हटाईएको स्पष्ट विचार राखेका थिए । यसबाट के बुझिन्छ भने त्यसबेला मन्त्रीपरिषदको पुर्नगठन गरि मन्त्री हटाउने कार्य राजनीतिक थियो । सत्तासिन भए देखिनै नेकपा भित्रको भागबण्डाको राजनीतिलाई सहज पार्न र ओलीको सत्ता राजनीतीलाई सहज बनाउन पुर्नगठन गरिएको थियो । लालबाबु, गोकर्ण जस्ता मन्त्रीहरु त्यो राजनितीक कोपभजनमा परे र बदनाम गराइए ।

अघिल्लो समय सरकार अलोकप्रिय हुन पुगेका गुठि सम्बन्धी, मानवअधिकार सम्बन्धी, पार्टी विभाजन सम्बन्धी, प्रेसको अधिकारलाई कुण्ठित गर्ने, सामाजिक सञ्जाललाई नियन्त्रण गर्नेदेखी प्रधानमन्त्री कार्यलयको खर्चको विवरण सार्बजनिकरण नगर्ने सम्मका अध्यादेश, विधेयकहरु तथा निर्णयहरु कुनै मन्त्रीलेमात्र गरेका होइनन् अपितु प्रधानमन्त्रीको पूर्ण निर्देशनमा गरिएको थियो । र यसको पहिलो जिम्मेवार प्रधानमन्त्री नै हुनुहुन्छ भने दोश्रोमा मन्त्रीहरु ।

यो सरकार आजसम्म कै भ्रष्ट सरकार कहलिएको छ, यसका थुप्रै उदाहरणहरु छन् । पछिल्लो कहालिलाग्दो पात्रहरु हुन गोकुल बास्कोटा र भानुभक्त ढकाल । यहा सम्मकी देश कोरोनाको महामारीको दलदलमा फसेको संकटपूर्ण अबस्था, जनताहरु भोकभोकै सडकमा मात्र एक छाकको लागी लाइनमा रहेको दर्दनाक अबस्थाबीच स्वास्थ्य मन्त्री ढकाल, रक्षा मन्त्री ईश्वर पोखरेलले कोरोनाको महामारीलाई कमाउने माध्यम बनाउन पुगे । निहित स्वार्थको लागी आर्मीलाई समेत बदनाम गरियो ।

औषधी खरिदमा आफ्नो नातागोताको कम्पनीलाई ठेक्का दिने, नक्कली ओषधी किन्ने, बजार मुल्यभन्दा कैयौं गुणासम्मको बिल भपाई पेश गर्नेदेखी, क्वारेन्टाइनको नाममा, आइसोलेसनको नाममा, कोरोना परिक्षणको नाममा समेत कमाउने भाँडो बनाइयो । यसमा प्रधानमन्त्रीको पूर्ण स्वीकृती र सहमती देखियो । 

यहाँ सम्मकी यस्ता गतिविधीलाई प्रमले ढाकछोप गर्नुभयो र यसको विरोधमा निस्किएको स्वरलाई सरकारले गरेको राम्रो काम देखि नसहने आफुपनि केही नगर्ने अनि किनारामा बसेर विरोध गर्ने जमातको रुपमा आलोचना गर्नुभयो । जब कि उहाँ भ्रष्टाचारको सवालमा शुन्य सहनशिलता भनेर भाषण गरेर सायद थाकी सक्नु भएको अबस्थामा छ । के यही हो प्रमले भने जस्तो शुन्य सहनशिलता ? 

त्यस्तै उहाँले यतिसम्म आम जनतालाई वाक्क बनाई दिनुभयो की उहाँका हरेक भाषणहरु, बक्तव्यहरु एक स्टेजमा प्रस्तुत हुने हास्यव्यङ्ग्यको रुपमा जनताले बुझ्न थाले । देशका प्रमको यस प्रकारको आम जनताको धारणा आफै देशको विकास र जनताको संमृद्धिकोलागी घातक थियो र भयो पनि । यस्ता घटनाहरुले प्रमलाई राजनीति भन्दा पनि हसाउने कलाकारको रुपमा हेर्ने अबस्था आयो । 

ओलीको प्रम कार्यकालको पहिलो १ बर्षलाई हेर्दा उहाँको भाषण बक्तव्यहरुले जनतालाई यतिसम्म उत्साहित गरायो की देशले विकासको फड्को मार्नेछ तर आज त्यही भाषणहरुले उहाँलाई गिज्याई रहेको अबस्था छ । रेल, पानीजहाज, घरघरमा ग्यासको लाईनदेखी जनताहरुले काम नगरी खान आउने दिनसम्म गुड्डी हाक्नुभयो । जसले गर्दा आज मन्त्रीहरु पनि लाजले मुख छोप्नु पर्ने अबस्था रहेकोछ । नेताहरु भनेको झुटको खेती गर्ने खलनायकहरु हुन भन्ने कुरा स्थापित हुनपुग्यो । 

यस अबस्थामा यो सरकारको यो ३ बर्ष मन्त्रीहरुको नालायकीपनसँगै प्रमको बोली, व्यवहार र गैर जिम्मेवारीले थिचिएको छ । सरकारको असफलताको जिम्मेवार यदि कोही छ भने सबभन्दा पहिला प्रम हुनुहुन्छ र उहाँले मन्त्रीहरुलाई दोष लगाएर उम्कनु भनेको जसरी एक अपराधीले आफुचोखो हुन समूहलाई नै सिध्याउन खोजे जस्तो नै हो । 

आफु पानी माथिको उभानो देखिन ति मन्त्रीहरुलाई असफलताको डण्डा तेर्साउनु कुनै पनि नैतिक आधारबाट न्याय संगत देखिदैन । त्यसमा पनि आज मन्त्री परिबर्तनको कुरा मन्त्रालयले काम गर्न नसकेको भन्ने बहानामात्र हुन् । जसरी हिजो लालबाबु र गोकर्ण भागबण्डामा नपर्दा असफल गराईए भोली पनि हुने त्यही हो । यहाँ नम्बरको आधारमा होइन यहाँ भागबण्डाको आधारमा कोही मन्त्रीहरु थामिन्छन् अनि कोही डामिन्छन् । यो भन्दा ठूलो असफलता प्रधानन्त्रीको लागि के हुन सक्छ ? 

नयाँ