arrow

सत्तासँग जोडिएका हनुमान र धुपौरेहरुको कथा

logo
शान्ता वजगाँई,
प्रकाशित २०७७ असोज १० शनिबार
Santa-Bajagain1.jpg

भगवान रामका गुण तथा बैगुण दुवै थिए । देवत्व देख्नेहरुले उनको राम्रो पक्षमात्र उजागर गरे । विजयपछि बाँदरहरुको कुप्रशासनलाई कही पनि व्याख्या गरिएन । उनको विजयमा हनुमान र उनको रामप्रतिको भक्ति नै मुख्य अस्त्र रह्यो ।

केपी शर्मा ओलीले पनि हनुमानहरु जन्माउन सकेकैले उनी अहिलेसम्मै सत्तामा रहेको तथ्यलाई नकार्न सकिदैन । सरकारबाट भए गरेका कमी कमजोरीको अपजस केपी ओलीलाई दिन तयार छैनन् उनका कार्यकर्ता तथा भरौटेहरु । ओलीभन्दा पनि उनका सल्लाहकार, मन्त्रीहरुलाई दोष दिएर ओलीलाई विशुद्ध दुधले नुहाएको राख्ने प्रयासमा हुन्छन् उनका हनुमानहरु । यती सम्म गर्न तथा गराउन सक्नु ओलीको क्षमता हो ।

ओलीको विशेष क्षमताहरु छन् । भित्र जे भए पनि बाहिर भ्रम छर्न सक्नु उनको विशेष क्षमता हो । धेरै कुरा सञ्चार माध्याममा छताछुल्ल नहुन्जेल यिनले थाहा नपाएको नाटक पनि मञ्चन गर्न सक्छन् । अख्तियार आयुक्त राजनायारण पाठकको घटना एक ज्वलन्त उदाहरण थियो । महिनौं अगाडि बालुवाटारमा सबुत प्रमाणहरु सुनिसकेको घटना मिडियामा सार्वजनिक नहुन्जेत यिनले थाहा नपाएको नाटक गरे ।

ओलीमा सच्चाइ र निष्ठा होला, त्यसमा शंका नगरौं । तर महिनौंसम्म पाठकको केस गुपचुप राख्नुको पछाडीका नियतमा धेरै प्रश्नहरु उठ्छन् । यो त सञ्चार माध्यमबाट बाहिर आएको एक प्रतिनिधि घटना मात्र हो, यस्ता अरु कति घटनाहरु होलान्, जसलाई ओलीले थाहा नपाएको नाटक गर्नु परेको छ। विष्णु पौडेललाई बालुवाटार जग्गा प्रकरणबाट अछुतो राख्न पनि ओलीलाई ठूलै बलमिचाइ गर्नु परेकै हो । ओम्नीसँगको औषधि खरिद प्रकरण पनि थाहा नपाएको भन्नु पर्दा यिनलाई कम्ती सकस थिएन । ७० करोड घुस मागेका गोकुल बास्कोटावाला अडियो टेप सार्वजनिक केसलाई ढाकछोप गर्न पनि कति हम्मे हम्मे परेको थियो । यातायातको सिन्डिकेट होस् या गैरसरकारी संस्थाको सञ्चालकहरुको सम्पत्ति विवरण सार्वजनिक होस् अधिकांश निर्णयहरुबाट पछि हट्दा ओलीलाई कति गाह्रो भएको थियो होला । 

कम्युनिष्ट पार्टीको तर्फबाट बलियो र स्थायी सरकारको नेतृत्व गरिरहेका ओलीलाई अनसनरत डा.गोविन्द केसी र प्रमुख प्रतिपक्षीले समेत २०७१ सालमा सडकबाट स्वास्थ्य र शिक्षालाई सरकारीकरण गर भनेर माग गर्दा समेत त्यसतर्फ कदम चाल्न नसक्नु विवशता भनेर बुझ्न सकिन्थ्यो । समाजवाद उन्मुख पार्टीलाई हाल पनि शिक्षा तथा स्वास्थ्य संस्थालाई सरकारीकरणतर्फ अगाडि बढ्ने अवसर छ तर आफ्नै हनुमान र भरौटेहरुको लगानीको संरक्षण पनि त गर्नु भएपछि यो कसरी सम्भव हुन्थ्यो? खोक्रो राष्ट्रवाद देखाएका ओलीका भक्तहरु अझै पनि भाजपा स्थापना दिवसमा मोदीले आह्वान गरेको दीप प्रज्वलनमा अग्रपङतीमा देखिएकै हुन् । 

अर्को प्रसंगका चर्चित पात्र हुन् सूर्य थापा अर्थात प्रधानमन्त्रीका प्रेस सल्लाहकार, सत्तासिन नेकपाका सह प्रवक्ता । सत्तामा भएपछि धेरथोर सत्ताको मात त लाग्ने नै भयो । तर सूर्य थापामा बढी नै उन्माद देखिदै आएको छ । कुलमान पुनः नियुक्तिको विषयलाई लिएर सञ्चार माध्यममा छाइरहेका उनका अभिव्यक्तिले उनलाई एक पछि अर्को विवादमा मुछिन थप मद्दत गरेको छ । 

आफूभन्दा बाहेक अरु कोही कुलमानहरुको चर्चा वा फेम बढ्दा असह्य पीडा महसुस गरिरहने प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउमा छन् सूर्य थापा । देशमा म बाहेक अरुको जय–जयकार हुनै सक्दैन भन्ने प्रबृतीका प्रधानमन्त्रीलाई भरथेग गर्दैछन् सूर्य थापा । अरुको जय–जयकार, सरकारको गलत काम कारवाही माथि औंला उठाउनेलाई अराष्ट्रवादीको संज्ञा दिने समेत पछि नपर्ने केपी शर्मा ओलीका सारथी मध्येका एक हुन् सूर्य थापा । त्यति मात्र होइन, अब त कुलमानले गरेका उज्यालो नेपालको जस पनि खोस्ने प्रयत्नमा छन् भलै अरु कसैले रत्तिभर विश्वास नगरुन् । केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट राजिनामा गराउन पार्टी भित्रैबाट दवाव बढ्दा सडकमा ओलीको पक्षमा जुलुस गर्ने सहि हुने अनि कुलमानको पक्षमा सडकमा आउने आम नागरिकलाई गलत सावित गर्नु पनि सूर्य थापाको जिम्मेवारीमा परेको छ । 

फेरी चर्चा उही पाखे वा एक पाखे । थापा काजीले एक पाखे नै भनेका थिए भने पनि उनका विगतका उत्तेजक, तुच्छ, गैरजिम्मेवारी अभिव्यक्तिले गर्दा एक पाखेलाई पनि पाखे भनेको भनेर पत्याउने अवस्था हुन्छ । उनका विगतका अभिव्यक्तिहरुलाई पुन केलाएर हेर्ने हो भने यसो नभन्लान भन्ने सम्भावना छैन । केही पार्टी पंक्तिका, प्रत्यक्ष–परोक्ष रुपमा लाभ हासिल गरेकाहरुले उनको बचाउमा खर्च गर्नुलाई अन्यथा लिन सकिन्न । जसले जुन व्यक्ति, पार्टी वा सरकारबाट लाभ हासिल गरेका छन् उनीहरु सरकारले वा सूर्य थापाहरुले गरेका गल्ति कमजोरीलाई हत्केलाले सूर्य छोपिरहेका छन् र त्यसमै दंग पनि । कस्तो पदमा आसिन भए भने आफ्नै अन्तरआत्माले भनेको कुरालाई पनि होइन भनेर ढाकछोप गर्नु परेको छ यिनलाई ।

र अन्त्यमा, पेसाले धुपौरे भएपछि धुप बाल्नै पर्छ । पूजा आरती गर्नै पर्छ । कि त जिम्मेवारी लिनु हुँदैन, लिए पछि पुरा गर्नै पर्छ । धुप बाल्ने मामलामा सूर्य थापालाई मान्नै पर्छ । सल्लाहकार हुनु अगाडिका उनका अभिव्यक्तिहरु विर्सिएर धुप बाल्ने तलब खाएपछि सूर्य थापा जस्तो हुनुपर्छ । तलब लिने मात्र होइन, तलबलाई न्याय गर्न सक्नु पर्छ थापाले जस्तै । आफ्नै पार्टी भित्रबाट समेत चरम आलोचना सहनु परेका थापाले यति धेरै धुप बालेर पूजा आरती गरेछु भनेर उनी आफैलाई पनि सायद विश्वास छैन होला । सत्ताको मातमा रहेका यिनले सत्ताबाट बाहिरीए पछि आफूलाई कसरी सम्हाल्छन् होला । यिनले कहिलेकाही त धुप यति धेरै बाल्छन् कि आफ्नै खुट्टा पोलेको पनि होस् हुन्न । म कहाँ छु र मेरो कुन हैसियत हो भन्ने सामान्य हेक्का समेत राख्न नसकेका थापा काजीले बेला बेलामा आफ्नो बालापन र बालहठ अलि बढी नै देखाउँदै आएका छन् । यस्तै विशेषता भएका व्यक्तिहरुको चंगुल नै प्रधानमन्त्री केपी शर्मा ओली आवश्यक ठान्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ