कोरोनाका पीडाले चहर्‍याएका घाउ


प्रकाशित

सरला सिलवाल

कोभिड १९ का कारण बिश्व अर्थतन्त्र नै प्रभावित भएको छ । यसको असर राज्यका विकास निर्माणमा मात्र होइन, व्यक्तिको जीवनयापनसम्म आइपुगेको छ । कोभिडका कारण व्यवसायीहरु कहिल्यै नउठ्ने अवस्थामा पुगेका छन् । हरेक घरका चुलाचौकाहरु कोभिडबाट प्रभावित छन् । कोभिड प्रभावबाट सिर्जित अभावले पारिवारिक कलह बढाएको छ । कति नागरिक यसको कहालीबाट आत्तिएर आफ्नो इहलीला समाप्त गर्न वाध्य भएका छन् । मानिस उपायहीन अवस्थाबाट निराश भएका छन् । 

सन् २०१९ को अन्त्यसँगै देखा परेको कोरोनाले सन् २०२०भर विश्वलाई नै चपेटामा लियो । यो वर्षका नौ महिना मानिसहरु कोरोनाको चर्चामा छन् अझ यो चर्चा अझ बढ्ने देखिन्छ । यो चर्चा चिन्तामा परिणत भएको छ । आजसम्म यही कारणबाट बिश्वभरका दश लाख नागरिक चितामा पुगिसकेका छन् । यसको अन्त्य कहिले र कसरी भन्ने जवाफ कसैसँग छैन । नेपाल पनि यो समस्याबाट विगत सात महिनादेखि प्रत्यक्ष प्रभावित छ । लाखौं मानिसका रोजीरोटी खोसिएका छन् । मानिसको अनुहारको खुशी खोसिएको छ । मानिसबीचको जमघट, चाड पर्वका भेला र रमाइलो खोसिएको छ । समग्रमा आम मानिसमा भयले वास गरेको छ, कतै कोभिड १९ को अकालमा शिकार हुनु पर्ने त होइन ।

यहाँ चर्चा गर्न खोजिएको प्रसंगचाहिँ कोभिड १९ का कारण बढेको पारिवारिक तनाव र हिंसाको हो । प्रारम्भिक दिनमा यसले बिछोडिएको परिवारलाई मिलाउँदै थियो । रोजगारीका लागि परदेशिएकाहरु धमाधम घर फर्कदै थिए । भारतबाट मात्रै सात लाखभन्दा  बढी नागरिक घर सम्झेर फर्केका थिए । खाडी मुलुकमा रहेका नेपाली धेरैलाई घरको सम्झना रहे पनि फर्कने अवस्था रहेन । सरकारले पनि उनीहरुलाई फर्काउन सकेन । तर जब कोभिड १९ लम्बिदै गयो, पारिवारिक तनावहरु बढ्न थाले । घरभित्रै हिंसा र हत्याका घटना देखा पर्न थाले । 

पारिवारिक कलहले आत्महत्या

गत भदौको अन्तिम साता भक्तपुरको मध्यपुर नगरपालिका ३६ वर्षीय युवक सुदीप अधिकारीले आफ्नो सम्पूर्ण परिवार नै उजाडे । उनले आफ्नी ३४ वर्षीय पत्नी र १५ वर्षे नवयुवक छोराको हत्या गरे र आफूले आत्महत्या गरे । उनले घरमा पालेको कुकुरलाई पनि बाँच्न दिएनन् । यो घटनाको मूल कारण पतिको कमाइसँग पत्नीको असहमति थियो । ससुरालीबाट ऋण लिएर व्यवसाय गर्न खोजेका सुदीपले किन अचानक हत्या र आत्महत्याको बाटो रोजे ? सपरिवार जीवनलीला समाप्त पार्नेका लागि घरको के अर्थ रह्यो ? एउटा सुन्दर परिवार थियो । पति पत्नीको चखेवा जोडी थियो । के खाउँ, के लाउँ उमेरमा हुर्कदै गरेको १५ वर्षे किशोर छोरा थियो । घरमा रमाउन पालिएको कुकुर थियो । त्यो घर अब रहेन । त्यो परिवार नै रहेन । परिवारका कोही पनि कोभिडको संक्रमणमा थिएनन् । तर अप्रत्यक्ष रुपमा कोभिड त्यो घरमा भित्रियो । संक्रमण विना नै केही बाँकी नराखी लिएर गयो । यसरी एउटा परिवारको इहलीला समाप्त भयो । 

आर्थिक स्वार्थका कारण हत्या 

०७६ साल जेठ ५ गते काठमाडौं कागेश्वरी मनहरा नगरपालिका ९ गोठाटारस्थित एक टहरोमा सिन्धुपाल्चोक घर भई जोरपाटी बस्ने ३६ वर्षीय पम्फा श्रेष्ठको हत्या गरियो । उनलाई सिन्धुपाल्चोककै ईन्द्रावती गाउँपालिका ११ बडेगाउँका ३५ वर्षे विनय श्रेष्ठ भन्ने विनय माझीले बन्धक बनाएका थिए । उनीबाट आर्थिक लाभ लिने उद्देश्यले बन्धक बनाइएको थियो वा बलात्कार गर्ने नियत ? भर्खरै पक्राउ परेका माझीले यसलाई कुन रुपमा व्याख्या गर्लान् । कारण जे बताए पनि बेरोजगारीले दिलाएको फुर्सद वा आर्थिक अभाव नै यसको कारण हो भनेर अनुमान गर्न कठीन छैन । 

परिवारकै सदस्यबाट बलात्कार

पछिल्लो समय बझाङकी एक युवती आफ्नै पति, ससुरा र नन्दको श्रीमानबाट बलात्कृत भइन् । उनको कुनै दोष थियो भने बिवाहको दुई वर्ष हुँदा पनि गर्भ नरहनु थियो । नेपालबाट रोजगारीका लागि भारत पुगेका उनका परिवारले सामूहिक बलात्कार शुरु गर्‍यो र यसबीचमा उनको गर्भ रह्यो । तर पछि गर्भपतन गराइयो । अहिले उनी भागेर गाउँ आएकी छिन् र विक्षिप्त अवस्थामा उपचार गराइरहेकी छिन् । सामूहिक बलात्कार पछि गर्भ रहनुको दोष उनको नभएर पतिको हो भन्ने पुष्टि गर्छ । यद्यपि गर्भ कसको थियो, दिनहुँ सामूहिक बलात्कार भोग्ने युवतीलाई थाहा हुने कुरा भएन । कोरोनाले गुमाएको रोजगारी पछि फेरि भारत पसेको यो परिवारले एउटी २१ वर्षे युवतीको जीवनमा आँधीबेहेरी ल्याएको छ ।

यी प्रतिनिधि घटना मात्र हुन् । आर्थिक बोझ धान्ने अवस्था देखेर आत्महत्या गर्नेको संख्या झण्डै दुई हजारको हाराहारीमा पुगेको छ । कोभिड १९ का कारण मरेका भनिएकहरुको संख्या ६०० पुग्दै गर्दा यसको प्रभावबाट आत्महत्या गर्नेको संख्या तेब्बर बढी भएको छ । कोरोनाका कारण मनोवैज्ञानिक समस्या भोग्नेको संख्या अनुमान भन्दा बाहिर हुन सक्छ । यस्तो समस्या आउनेमा आर्थिक कारोवारमा फसेकाहरु मात्र पर्दैनन्, परीक्षा दिन नपाएर अन्योल भविष्य देख्ने विद्यार्थी पनि होलान् । दैनिक रुपमा जीवन निर्वाह गर्नेदेखि ठूला कारोवारी समेत हुन सक्छन् । मनोविदहरुको क्लिनिकमा देखिने यो भीडलाई राज्यले खोजी गरेको छैन । अनुसन्धान वा खोजी पत्रकारिता गर्नेले पनि रुची दिएका छैनन् । 

यस्ता घटनाले समाज र परिवारमा विश्रृंखलता पैदा गर्छ । नदीमा बाँधिएको बाँध जस्तै कोरोना बिश्व आर्थिक गतिविधिमा बाँधको रुपमा उभिएको छ । बाँधपछि नदीको प्रवाहले गति लिन नपाए जस्तै सामान्य नागरिकदेखि राज्यसम्मका आर्थिक विकासका गतिविधि रोकिएका छन् । कोभिड १९ कुन रुपमा कहिलेसम्म चल्ने हो, यो कसैको अनुमानभन्दा बाहिरको विषय बनेको छ । अहिलेको चुनौती कोभिड १९ बाट कसरी जीवनलाई बचाउने भन्ने त छँदैछ, तर समाजमा बढ्दै गएको हत्या, आत्महत्या र हिंसाबाट कसरी जोगाउने भन्ने चुनौती पनि थपिएको छ । कोभिड १९को प्रकोपबाट जोगिन राज्यको खोजी गरिरहँदा समाज र परिवारमा बढ्दो अपराधबाट जोगिन समाज आफैं जाग्ने बेला भएको छ । अपराध गर्नेसँग मिलापत्र होइन, दण्ड दिलाउने र निराश भएको मानिसमा नयाँ आशा जगाउने उपाय खोज्न नागरिकहरु जुट्नुपर्ने बेला भएको छ । कोरोनाले चिथोरेका घाउमा अब मल्हम पट्टी गर्ने काममा सरकारको खोजी गर्न छाडेर नागरिक चेतना जगाउन ढिलो हुन थालेको छ । 


प्रतिक्रिया :

नयाँ