गैर आवासीय नेपाली र नेपालसँगको सम्बन्ध


प्रकाशित

प्रियरंजन दाहल

महात्मा गान्धीले सार्वजनिक रुपमा आफु हिन्दूस्तानमा जन्मेको तर साउथ अफ्रिकामा बनेको भनेका छन्। गान्धी १८ बर्षको कलिलो उमेरमा लण्डन पुगे । अध्ययन सकिएपछी २१ बर्ष साउथ अफ्रिकामा बिताए । त्यो बेला मान्छेको औसत उमेर ४५ देखी ५० थियो । उनी ४५ को उमेरमा भारत फर्किए । तत्कालिन समयको औसत उमेरलाई आधार मान्ने हो भन्ने उनी जीवनको उत्तरार्धमा हिन्दूस्तान फर्किएका हुन् । आज गान्धीलाई एउटा दर्शनको रुपमा लिने गरिन्छ । गान्धीको दर्शनबाट केवल भारत मात्रै हैन सम्पूर्ण विश्व प्रभावित छ । २१ बर्ष साउथ अफ्रिका बसेका गान्धीसँग त्यहाका तीता मीठा सम्झनाहरु हुने नै भए । तर पनि उनले साउथ अफ्रिकालाई आफ्नो कर्मभुमी र आफुलाई गान्धीका रुपमा चिनाएको ठाउँका रुपमा लिन्छन् ।

अनुभवले मान्छेको सोच बिस्तारित हुने हो । आफु जन्मिएको हुर्किएको ठाउँं भन्दा पर अन्जान ठाउँमा पुग्दा गर्नुपर्ने संघर्षले जीवन र जगतलाई बुझ्ने ,जान्ने दृष्‍टिकोण फरक हुन्छ । बुद्ध हुन वा गान्धी सबैले आफ्नो जन्मघर, समाज छोडेर गएपछी आफुलाई उचाइमा पुर्याएका हुन् । पहिचानबिहिन एउटा मान्छेले नौलो ठाउँंमा अलग भाषा, भेष, रङ रुपसँग जुधेर आफ्नो फरक चिनारी  बनाउँछ । आफुलाई मात्रै चिनाउदैन, आफु जन्मिएको ठाउँ, गाउँ, देशले गर्ब गर्न पाउँछ । आफ्नो जीवनको महत्वपूर्ण समय बिदेशमा खर्च गरेको आरोप लगाएर गान्धीको देशप्रेममाथी शंका गरिदैन । लण्डनबाट भारत गएका उनले भनेजस्तो काम नपाए पछी साउथ अफ्रिका गएका थिए । संसारमा यस्ता धेरै उदाहरणहरु छन् जसले सिमाले मान्छेलाई बाध्न सक्दैन र बाध्न हुँदैन भन्ने संदेश दिन्छ ।

गत बर्ष म परिवार सहित दसैं मनाउन नेपाल गएका थियौ । नेपालसंगको सम्बन्ध टुट्ला, सन्तानको नेपालसँगको सानिध्य कम नहोस् भनेर स्कुल छुटाएर, भएको आफ्नो जागिर छोडेर मेरी श्रीमती बालबच्चा, बुवा आमा सहित ३ महिना नेपालमा बसे । म स्वयं पनि ३ हप्ता नेपाल बस्दा काठमाडौं मात्रै हैन मुस्ताङ, पोखरा, बाँके बर्दिया कैलाली कंचनपुरसम्म पुगे । दोधारा चाँदनीको झोलुङे पुलमा हिंडेको मिठो सम्झनाको रुपमा छोरीहरु कुरा गर्छन । काठमाडौंमा भन्दा बाँके र बर्दियाका गाउँमा माटो, हिलोसंग खेलेर रमाए ।

नेपाल जानु अघी जेठी छोरीले एउटा प्रश्न गरिन, कुनै मान्छे कुन देशको भनेर कसरि चिन्ने ? मैले उसलाई सोझो उत्तर दिए ।त्यो मान्छेले के खान्छ ? कुन भाषा बोल्छ, कुन संस्कार, रितिरिवाजलाइ पछ्याउँछ, कस्तो लुगा लगाउछ ? तेस्ले उ कुन देशको भनेर चिनाउन मद्दत गर्छ । उनले फेरी अर्को प्रश्न गरिन तेसो भए म नेपाली हो हैन त ? मैले भने तिमि नेपाली मूलको अमेरिकन । मैले भने यहाँको नागरिकले नेपालमा बस्न भिसा लिनुपर्छ तिमिले पनि नेपालमा बस्न भिसा लिनुपर्छ । भिसा के हो भन्ने बारेमा उसलाई मैले सामान्य जानकारी दिए । उनले कती बुझिन कति बुझिनन् तर आँखाभरि आँसु गर्दै म नेपाली हैन रैछ भन्दै आफ्नो कोठातिर लागिन ।

मसँग उ को हो भनेर प्रष्ट पार्ने कुनै तेस्तो ठ्याकै उत्तर छैन । मेरा छोराछोरी घरमा सधै नेपाली बोल्छन् । कमसेकम एक छाक भात, दाल तरकारी खान्छन् । दशैँ, तिहार मनाउँछन् । नेपाली चाडपर्व बिवाह ब्रतबन्धमा छोरीहरु सारी, लेहेंगा लगाउँछन् । साना छोराहरुलाइ दौरा सुरुवाल लगाइदिन्छौ । हाम्रो सामान्य रिती गुन्यु चोलो गर्न पनि छोरीहरुलाई नेपाल लगिन्छ । एउटा नेपालीको नेपालमा बस्दाको उसको घरभित्र नेपालीपन चिनाउने दैनिकीसंग हाम्रो घरभित्रको दैनिकी कुनै ढंगले पनि फरक छैन । नेपाली कार्यक्रम हुन्छ " सयौं थुङ्गा फूलका हामी " भन्दै नेपाली झण्डा समात्न लगाउँछौ तर उसलाई तिमि नेपाली हैन नेपाली मुलको अमेरिकन हौ भन्छौ । पहिचानको यो अन्तर्द्वन्दमा छोरा छोरी मात्रै हैन म आफैपनि अल्मलिन्छु । मौका आउँदा उसलाई नेपालको झण्डा बोक्न प्रेरित गर्छु तर उसलाई तिमि नेपाली होइनौ भन्छु । उसंग असम्बन्धित नेपालको नयाँ संबिधान आउँदा दिप प्रज्वलन गर्न लगाउँछु तर उसलाई त्यो तिम्रो संबिधान हैन भन्छु। उसको मात्रै हैन म कहिले काहीं आफ्नै बारेमा सोच्छु । प्रवासी नेपालीहरु बिदेशिएर पनि नेपालीमुलको मात्रै हैन आफुलाई नेपालीनै भन्न रुचाउँछन । राज्यका आफ्नै समस्या र बाध्यताहरु होलान उ बिदेशिएका नेपालीलाई गैर आवासिय नेपाली भन्न रुचाउँछ । विदेशको नागरिकता लिएर बसेका बहुसंख्यक नेपाली बिदेशमा त्यहि अनुसारको सुबिधा त लिन्छन तर उसलाई नेपाली भैरहन मन छ गैर आवासिय नेपाली हैन ।

हुनत सबै शक्तिकै कुरा हुने रहेछ । सिद्धार्थ गौतम नेपालमा जन्मिए हिन्दुस्तानमा बुद्धत्व प्राप्त गरे । उनलाई डंका पिटेर बुद्ध हाम्रो हो भनिन्छ । उनी गैर आवासिय मानिदैनन कसैले भनिदिए त्यो तारो बन्छ । जनकपुरमा जन्मिएकी सीता बिवाह गरेर अयोध्या पुगिन तिनलाई गैर आवासिय नेपाली भनिदैन । बुद्ध सधै नेपाली छोरा, जानकी सधै नेपाली छोरी । नेपालमा जन्मिएपनि १८-१९ बर्षमै इंडिया बसोबास थालेका प्रथम हिमाल आरोही तेन्जिंग शेर्पा सधै नेपाली हुन्छन् ।

बास्तवमा सरकार पनि घाटा र नाफाको ब्यापार गर्छ । एउटा लगानीकर्ता पैसा लिएर आयो भने उसलाई मानार्थ नागरिक बनाउँछ । राजनीतिक सहमतिका नाममा गैर नेपालीलाइ नागरिकता बाड्छ । बुद्ध, सीता र तेन्जिंगको नाममा ब्यापार गर्न पाइन्छ र सरकार उनलाई नेपालको सन्तान भन्छ, एकपटकको नेपाली सधैको नेपाली मान्छ । हो म कुनै बाध्यताले बिदेशिएको नेपाली हैन तर जो घर, परिवारको लालनपालनको लागि आफ्नो पौरखलाइ विदेशमा बेच्न बाध्य छन्, जसको हातमा परिवारको आर्थिक हेरचाहको लागि विदेशीले बोक्न अर्‍हाएको हतियार बोकेर उसले शत्रु मानेको तेस्रो कुनै राष्ट्रसंग लड्न तयार हुनुपर्ने बाध्यता छ । राज्य आफ्ना कमजोरीहरुलाई लुकाएर युवाशक्तिलाइ विदेश जान प्रेरित मात्र गर्दैंन रोजगारीका अवसरहरुको कमीका कारण बिदेशिन बाध्य बनाउँछ । त्यो राज्य दक्ष जनशक्तिलाइ नेपाल फिर्ता ल्याउने भन्दा उसलाई विदेश बस्न प्रेरित गर्छ । बिदेशमा कामदार पठाउने बिषयलाई ठूलो उपलब्धी मानेर सम्झौता पत्रलाई सार्वजनिक गर्छ ।

आफ्नो जन्मभुमि भएका कारण विदेशमा स्थाई रुपमा बसोबास गरेपनि पहिलो पुस्ताका नेपालीलाई नेपालप्रति बिशेष मोह छ,चासो छ । तर विदेशमै जन्मिएका दोस्रो पुस्ताका तिनका सन्तानले  "एकपटकको नेपाली सधैको नेपाली "भन्ने नारालाई कति गम्भीरतापूर्वक लिन्छन हेर्न बाँकी छ । बिदेशमा नेपालीमूलको भएर आफुलाई स्थापित गराउनु शायद तिनका लागि बढी महत्वपुर्ण हुनसक्छ । साहित्य, संगीत, संस्कृतिलाई अन्तराष्ट्रियकरण गर्न सके त्यसले नेपाल र नेपालको चिनारी पनि दिन्थ्यो होला, त्यसले नेपाली मुलका नया पुस्तालाई नेपालसंग जोडी राख्न मद्दत गर्ने थियो होला । अहिलेको ग्लोबलाइजेसन युग भौगोलिक सिमाले बाधिने युग हैन । शताब्दीयौं अघिदेखि  पशुपतिमा दक्षिण भारतका पुजारी ल्याएको र आएको इतिहास हाम्रो अगाडि छ । आफ्नो दक्षता अनुसारको कामका लागि भूगोल फेरिरहनुलाई अन्यथा मानिनु हुन्न ।

बास्तवमा राष्ट्र र राज्य व्यवस्था भनेको सबैलाई समेट्ने खालको हुनुपर्छ । आज नेपाल जुन ढंगबाट चलेको छ त्यहाँ स्थायी रुपले बसेकाहरुलाई राज्यले आफुहरुलाई नागरिकको व्यवहार गरेन भनेर गुनासो गर्दैछन । कोहि आन्दोलनमा छन् कोही देशनै छुट्याउनु पर्छ भन्ने सम्मको आवाज निकाल्दैछन् । नागरिकले आफ्नो ढंगबाट बाच्न पाउनुपर्छ । यो वा त्यो बहानामा नागरिकको विभेद हुनु हुन्न । पार्टी, व्यक्ति आफुलाई घोर राष्ट्रवादी देखाउने प्रयत्न गर्छन र जात, बर्ण, बसोबास, धर्मका आधारमा अरुलाई राष्ट्रबिरोधी देख्छन । जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी -यो वाक्यांश प्राय सबैले प्रयोग गर्छन् । यसको सरल अर्थ भनेको "आमा र मातृभूमि स्वर्गभन्दा प्यारो हुन्छ" । जन्मभूमिप्रतिको त्यो प्रेम कानुनले बन्देज लगाएर रोकिदैन ।प्रेमलाइ कुनै संबिधानले भौगोलिक सिमाले रोक्न सक्दैन । एउटा पहाडेलाइ आफु जन्मिएको ठाउँ नेपाल जति प्यारो हुन्छ अर्को मधेसमा जन्मिएको मधेसीलाई पनि नेपाल त्यति नै प्यारो हुनुपर्छ । बिदेशिएको एउटा नागरिकलाई पनि त्यस्तै हुनुपर्छ ।मैले चै मेरी आमालाइ माया गर्छु तर तैले आमालाइ घृणा गर्छस भन्ने अधिकार कसैले राख्दैन । व्यक्ति अनुसार उसले माया गर्ने शैली फरक हुन सक्छ तर उही आमालाई आफुले मात्रै माया गर्छु भनेर दावी गर्नु उचित होइन ।

आफ्नो इमान्दारिता र देशप्रेमप्रति सधै शंका गरिने र आफ्नो उपस्थितिलाइ सधै हेयको दृष्टिले हेरिदा ठूलो पंक्ति आज आन्दोलित छ । राज्यसंग लेनदेन र सत्ताको ब्यापार गर्ने तप्का र यथार्थमा आफु माथि अनागरिकको रुपमा गरिएको व्यवहारको पिडा सहने दुइ भिन्न समुह हुन् । सत्तामा अधिकारको नाममा भागबन्डा गर्नेको पहुँच सदन र राज्यसम्म छ तर त्यो भन्दा धेरै टाढा भएकाहरु हरेक दिन आफुलाई अनागरिक मानिएकोमा दुख सहन्छन् । यो पिडा तराइ वा हिमालको भन्ने हैन । भाषाको विविधताको कारण काठमाडौं भित्र पनि दुख सहनु पर्ने बाध्यता छ । नेवारी भाषा नजान्ने एउटा कर्मचारी ज्यापु टोलमा जान्छ नेपाली पटक्कै नजान्ने एउटी ज्यापुनी आफ्नो सन्तानको जन्म दर्ता गर्न पुग्छे अन्दाजको भरमा सन्तान नाम राखेर जन्मदर्ता हुन्छ । मेरा एक मित्र भन्दै हुनुहुन्थ्यो "पिताको नाममा मेरो बुवाको सट्टा मेरो मामाको नाम राखिदिएछ पछि मेरो नागरिकता बनाउने बेलामा मिलाउन सारै गाह्रो पर्यो "। सिंहदरबारबाट १० किमीको सेरोफेरोमा यस्तो अवस्था छ भने हिमाल वा तराइसम्म पुग्दा के अवस्था होला ? राज्यसंग नजोडिएपछि सरकारसंग तिनको आत्मियता रहने भएन तर त्यसको अर्थ तिनिसंग अनागरिक वा तल्लो दर्जाको नागरिकको रुपमा व्यवहार गरिने भन्ने हैन ।

नेपालमा रहेका नागरिक त आफ्नो अधिकारको लागि लड्नु  परेको छ भने बिदेशिएका नेपालीको अधिकारको स्थान के होला भन्ने पनि लाग्न सक्छ । शासकहरुलाई लाग्छ बिदेशिएका नेपालीलाई अधिकार दिने भनेको राज्यले दया गर्ने हो ।राज्यले त्यो मानसिकतालाई छोड्नु पर्छ । अहिले संसारमा लाखौं नेपाली छरिएर बसेका छन् । बिदेशिएका नेपालीले नेपालमा गर्ने लगानी मात्रै हैन राज्यले नेपाल चिनाउन गर्ने ठूलो लगानीभन्दा बिदेशिएका नेपालीले आआफ्नो हैसियत अनुसार दैनिक रुपमा नजानिदो ढंगबाट प्रचार गरिरहेका छन् । 

राज्यले दया गर्ने बिषय भन्दा सामुहिक लगानीकर्ताहरुको समुह जसले नेपालमा आर्थिक कारोबारमा लगानी गरेर सहयोग गर्न सक्छन, जो बिदेशका बिभिन्न स्थानमा बसेर नेपालको संस्कृती परम्परा चिनाउँछन, जो अबैतनिक राजदुतको  रुपमा  बिभिन्न माध्यमले नेपाललाई चनाइरहेका हुन्छन् । जो केवल धार्मिक आस्थाले हैन नेपालको सम्झनाले पशुपतीलाई आफ्नो घरमा सजाउँछन् । सगरमाथाको तश्विर आफ्नो भितामा झुन्ड्याउँछन् तिनलाई सम्झेर दोहोरो नागरिकता दिनुपर्छ । राज्यले यस्लाई दीर्घकालिन लगानीका रुपमा बुझ्नुपर्छ जसले पुस्तौपुस्तासम्म प्रतिफल दिइरहने छ ।

संसारका कयौं देशहरुले खानालाई देश चिनाउने माध्यमको रुपमा लिएका छन् । "Culnary Diplomacy " को नाममा देशहरुले लाखौं डलर खर्च गरेर स्वदेश र बिदेशमा रेस्टोरेन्ट खोल्न प्रोत्साहित गरेका छन् । नेपालीद्वारा स्थापित प्राय सबै रेस्टोरेन्टदेखी अन्य ब्यवसायिक स्थानमा नेपाल चिनाउने केही न केही राखिएको हुन्छ । बिदेशिएका नेपालीलाई दोहोरो नागरिकता दिंदा त्यसले प्रोत्साहनको काम गर्न सक्छ । संसारका कैयौं देशले दोहोरो नागरिकता दिएका छन् । सायद आफ्ना नागरिकलाई अनागरिक बनाउनु भन्दा आफ्नै नागरिक बनाइराख्नुलाई उपलब्धी ठान्छ । कुनै हिसाबले बरु करको दायरा बढाउनु उचित हुन सक्छ । तर आफ्ना नागरिकले नागरिकता त्याग्दा ति गैर नागरिक हुन भन्नुभन्दा, राज्यले आफ्ना पनि केहि कमजोरीका कारण नागरिकहरु बिदेशतिर आकर्षित भएको यथार्थलाई स्विकार गर्नुपर्छ र नागरिकलाई गैर नागरिक हुनबाट रोक्नुपर्छ ।


प्रतिक्रिया :

नयाँ