कोभिड १९ संक्रमणको कथा व्यथा


प्रकाशित

रश्मि कडरीया बिष्टको परिवार

मेरो श्रीमान पेशाले पत्रकार, आज यति संक्रमित थपिए यति संक्रमण मुक्त भए, यति जनाको संक्रमणको कारण ज्यान गुम्यो भन्ने समाचार संकलन र सम्प्रेषण गर्दागर्दै संक्रमितको संख्यामा हामी चार जना पनि थपियौ । उहाँ, म र दुई छोरी, उहाँले आफ्नो फेसबुक स्टोरीमा सदाझै कोभिड १९को अपडेटसंगै म लगायत श्रीमती र दुइछोरीहरुमा कोभिड १९ को संक्रमण पुष्टी भनेर अपडेट राख्नु भयो ।

अपडेट राखेसंगै एकजना आफन्तले अल्ली झोक्किदै कोरोना संक्रमित भनेर फेसबुकमा किन राख्नु परेको ? सामाजिक सञ्जाल हो, सबैले थाहा पाउँछन्, सहरदेखी गाउँघरसम्म कुरा काट्ने बाटो हुन्छ, फलानो र फलानोको परिवारलाई कोरोना लागेको छ भन्ने हल्लीखल्ली हुन्छ । भोलि समाजले हेर्ने दृष्टिकोण नै फरक हुन्छ । हेला गर्छन, छिछी र दुरदुर गर्छन् । किन फेसबुकमा हालेको, हटाउनु भन्नु भएछ मेरो श्रीमानलाई । उहाँलाई त हामी संक्रमित भएको भन्दा पनि समाजले कुन दृष्टिकोणले हेर्छ भन्ने पो डर लागेको रहेछ । कोरोना महामारी भित्रिएको सात-आठ महिना भइसक्दा पनि हाम्रो अझै दृष्टिकोण बदलिएको रहेनछ ।

कोरोना या कुनै पनि रोग आफुले चाहेर लाग्ने रोग होइन । झन यो कोरोना त विश्वव्यापी महामारी हो र विश्वनै यति वेला कोरोना महामारीसंग लडिरहेको छ । शक्तिशाली राष्ट्रलाई समेत चूनौति बनेको यो महामारी आजसम्म न कुनै औषधी पत्ता लागेको छ न त भ्याक्सिन नै, यो महामारीले सबै राष्ट्रलाई आक्रान्त पारेको छ । जीवन तहस नहस बनाएको छ । तत्कालको लागि जीवन त, दीर्घकालसम्मको लागि विश्वव्यापी अर्थतन्त्र समेत डामाडोल पार्ने देखिन्छ । आतंकित र सशंकित बनाएको छ । महामारी हो आज मलाई, भोली अरु कसैलाई लाग्न सक्छ । रोग लुकाउनु त झन अपराध अनि पाप हो । संक्रमण लुकाउँदा फैलने, आफु मात्र नभइ समाज र देश सबैलाई जोखिमको झन डर हुन्छ । अरु सतर्क र सुरक्षित हुन भन्ने हेतुले राखेको हुँ । संक्रमण भएको थाहा पाएर मसंग घुलमिल भएका साथी तथा आफन्तहरु समयमानै थाहा पाएर सुरक्षित होउन र संक्रमण अन्त्र नफैलियोस भन्नको लागि राखेको हुँ कुनै प्रचारवाजीको लागि होइन, भन्नेले जे सुकै भनुन् । म सहन र हेपिन तयार छु । अरु संक्रमण भएको कुरा म आफैले समाचार बनाउने तर आफै संक्रमित हुँदा यसलाई भन्न किन हिचकिचाउने ? के म रोग लुकाएर जथाभावि चोक चोकमा, वजारवजार घरघरमा डुलेको ठिक हुने थियो र ? उहाँ अल्लि रिसाउदै फोनमा कुरा  गर्नु भयो, म पल्लो कोठाबाट सुनिरहेको थिए यी सबैकुरा । 

'देशदेखी विदेशसम्मका उच्च ओहोदामा बस्नेदेखी सर्वसाधारणसम्म यो महामारीको चपेटामा परेका छन् । कोरोना महामारीको पञ्जाबाट कोही उम्कन सकेका छैनन्, के डाक्टर, के नर्स, के सुरक्षाकर्मी, के पत्रकार, के नेता, के कलाकार सबै संक्रमणको चपेटमा परेका छन् । भगवानका रुपमा मानिने चिकित्सक, नर्सहरुलाई संक्रमण कसरी हुन्छ र कसरी सुरक्षित हुन सकिन्छ भन्ने थाहा थिएन होला र ? तर आफ्नो पेशा र कर्तव्य निर्वाह गर्दै गर्दा आफै संक्रमित बनेका छन् त कतिले ज्यान नै गुमाएका छन् । म पनि त्यहि अहोरात्र खटिने अग्रपंति रहने, देशको चौथो अंङ्ग, एक कर्मनिष्ठ पत्रकार हुँ । आफ्नो जिम्मेवारी वहन गर्ने क्रममा कतिखेर र कहाँ संक्रमित भए पत्तै भएन । मलाइ आफ्नो ज्यान र परिवारको माया नभएको पनि होइन । भन्नेले त माक्स लगाएन, सुरक्षित भएन पनि भन्छन् । तर सुरक्षाको उपाय सबै अपनाउँदा पनि कहाँबाट र कसरी संक्रमित भइयो थाहै भएन । यसरी थाहा नपाउने म एक्लो छैन यहाँ त विरामीको सेवामा चौविस घण्टा खट्ने र सुरक्षा उपाय वताउने चिकित्सक र नर्सहरु पनि ठुलो संख्यामा संक्रमित भएको तथ्याङ्क छ । अरुले के भन्ला, कसो भन्ला भनेर सोच्ने होइन सक्नुहुन्छ भने आत्मबल बढाउन मद्द्धत गर्नुस् होइन भने हतोत्साही बनाउने कुरा नगर्दा नै वेस,' यति भनेर उहाँले फोन राख्नुभयो । उहाँका यी सबै कुरा मैले सुनेको थिए । आखिर संक्रमण लुकाउनु ठिक कुरा पक्कै होइन भन्नेमा म पनि सहमत थिए । 

आफु नमरी स्वर्ग देखिन्न भने जस्तै हामी पनि संक्रमित भए पछि यो रोगलाई नजिकबाट साक्षात्कार गर्ने अवसर पायौ । भाग्यमानी भनौं वा अभागी यो महामारीबाट अछुतो रहन हामी पनि सकेनौ । बोलीसम्म राम्ररी नफुटेकी सानी छोरी सावुन पानीले मिचिमिची हात धोए कोरोना लाग्दैन भन्ने भनाइ कण्ठ गरेकी छन् र बारम्वार रमाइलो मानेर नै सहि त्यही बाक्य घरीघरी दोहोर्याउछिन । अनि मुडामाथि चढेर सकीनसकी पटक पटक हात धोइ रहन्छिन तर उनलाई थाहा छैन उनि त संक्रमित भैसकेकी छन् । असोज १३ गते मलाई टाउको दुख्यो छिटो घर आउन भन्दै फोन गरे उहाँ आएर सिटामोल दिनु भयो । रातभर सुत्न सकिन जाडो भइरह्यो विहान ४ बजेतिर ज्वरो नाप्दा १ सय २ डिग्री फरेनाइट ज्वरो देखियो र म छुट्टै कोठामा आइसोलेट भए । विहान दुई छोरी र श्रीमानलाई पनि रुघा लाग्यो अनि चारै जनामा लक्षण देखिए पछि शंका लागेर उहाँ स्वाब परिक्षण गर्न जानुभयो । झन्डै तीन दिन अगाडी उहाँलाई ज्वरांश भयो भनेर एकमात्रा सिटामोल खानु भएको थियो । त्यसकारण पनि शंका बलियो भयो । स्वाब दिएर आएको दिन लखतरान मात्रै हुनु भएन हल्का ज्वरो पनि आयो । झन्डै ४ घण्टा चर्को घाममा लाइन बसेकाले थकित भएको महशुस गरे पनि यथार्थ त्यस्तो रहेनछ । बेलुकासम्म दुवै छोरीहरुलाई १ सय ३ ज्वरो पुग्यो । कोभिडका सुने जतिका सबै लक्षणहरु डायरीया बाहेकको सबै देखियो । जीउ दुख्ने, स्वाद हराउने, बान्ता, ज्वरो, रुघा, खोकी सबै सबै । 

१७ गते बेलुका ६ वजेर २२ मिनेटमा मोवाइलमा उहाँको रिपोर्ट आयो डिटेक्टेड । त्यस लगतै मनमा चिसो पस्यो र उहाँ आइसोलेट हुनुभयो । सबैमा लक्षण देखिएकाले भोलि पल्टै स्वाब परिक्षण गर्न गयौ । ३ दिन पछि रिपोर्ट आयो पोजेटिभ । आखिर चारै जना संक्रमित भयौं । ज्वरो आउँदा बच्चाहरुलाई निको र हामीले सिटामोल खायौ । श्रीमानलाइ खोकि धेरै लागेर छाती समेत दुखे पछि डाक्टरलाई सोधेर खोकिको सिरफ र एजिथ्रोमाइसीन खानुभयो । हामीले भने तातो पानी, सिधे नुन, विरेनुन, वेसार, ज्वानो, तुलसी पत्र, गुर्जो, जेष्ठी मधु, लगायतको पानी पकाएर खायौ । अनि विस्तारै केहि कम भयो । केटाकेटी ४ दिन जतिमा ठिक जस्तै भए । एक हप्ता पछि हराएको स्वाद फर्कियो । हामी निको हुने क्रममै थियौ । 

हाम्रो घर अगाडीको दाईले सामान्य रुघा र ज्वरो आयो भन्नु भएको थियो । पीसीआर गर्न जाने कुरा गर्यौ, सिटामोलले ज्वरो कम भएकाले फ्लु होला यतिवेला सबैलाइ कोरोना देखाउछ, आखिर घरमा नै बस्ने हो भन्नुभयो । हो पनि, हामी पनि त पोजेटिभ भएर घर मै त थियौ । तेस्रो दिन सोमवार साँझमा, मंगलबार परिक्षण जाने भनेर निर्णय गर्नुभयो । वेलुका १२ वजे स्वासप्रस्वासमा समस्या आयो भनेर दिदीले खवर गर्नुभयो । हतार हतार गाडी, एम्वुलेन्सलाई खवर गर्यौ । हामी संक्रमित भएकाले झ्यालबाटै आवश्यक व्यवस्थापनमा जुट्यौ । जसोतसो अस्पताल पुर्याइयो । अस्पतालले मृत घोषणा गर्यो । उहाँको परिक्षण भएन तर भोलिपल्ट भएको परिक्षणमा सपरिवारमा संक्रमण देखियो । कोरोनाकै कारण दाइको मृत्य भएको भन्नेमा दुविधा रहेन किन कि दाईमा कुनै रोग थिएन । आफु संक्रमित रहेकै वेला कोरोनाले नै छिमेकीदाईको मृत्य देख्दा कस्तो हुन्छ ? म कसरी व्यक्त गर्न सकुला र ?  

आज हामीमा संक्रमण पुष्टी भएको २४ औ दिन भइसकेको छ । २१ औ दिन पछि पनि श्रीमानको रिपोर्ट पोजेटिभ आएको छ । हामी अझै संक्रमण मुक्त भइसक्यौ भन्ने अवस्थामा छैनौ । तथापी सरकार र विश्व स्वास्थ्य संगठनले पनि १४ दिनपछि भाइरस निष्कृय हुने र संक्रमण फैलाउन नसक्ने भन्दै सामान्य जीवनमा  फर्कन सक्ने उल्लेख गरेको छ । समाजमा अझै पनि रिपोर्ट नेगेटिभ आयो भनेर सोध्छन उनिहरुलाई कसरी बुझाउने तसर्थ अझै पनि घरमानै बसेका छौ । हामीलाई शुभेच्क्षा प्रकट गर्नुहुने र जडीबुटी औषधी र अक्सीमिटर खोजेर घरसम्म ल्याइदिने कुमारजी पाण्डे, भरतमणी ज्ञवाली र नारायण खनालको गुन कदापी भुल्न सकिन्न । कतिपय टाढाबाट कुरा गर्न समेत डराएको अवस्थामा घरमा नै आवश्यक चिज बोकेर आउनु चानेचुने कुरा हुदै होइन । परिवारका सदस्यहरु, आफन्त साथीभाई,  इष्टमित्र सबैलाई हार्दिक आभार प्रकट गर्दै विजया दशमी २०७७को हार्दिक शुभकामना अर्पण गर्दछौ ।


प्रतिक्रिया :

नयाँ