राजाका कान


प्रकाशित

रामेश्वरप्रसाद बराल

राजा त्रिभुवनलाई एकजनाले बिन्ती चढाएछ, ‘सरकार फलानोले कति दिन भयो खान पाएनछ, भोकभोकै मर्ने भयो ’ यो सुनेर राजाले बिन्ती बिसाउनेलाई सोधेछन्, ‘दूधभात पनि खान पाएन छ त ?’ प्रश्नमा निर्दोष थिए राजा, कारण राजामा न गरीब कस्ता हुन्छन् भन्ने ज्ञान थियो, न झुपडीको । उनका आँखाले यी साक्षात् देख्न पाएका थिएनन् । राणा र भारदारहरूले छोपिएका थिए । अनि भनाइ छ — राजाका आँखा हुँदैनन्, कान हुुन्छन् । कानले मगजमा जे पुर्‍याउँछन्, राजानिम्ति तिनै सन्देश बनेर मनमा जम्छन् । दौडाहाले यिनै सन्देशलाई राजाका कानमा सोझो भन्दिए सोझो हुन्छ अथवा सोझो न भनी चाटुकार भएर बङ्ग्याइ दिए त्यसैले राजाका मनमा घर गर्छ ।

यसै प्रसंगमा म एउटा बादशाहको कथा सम्झन्छु । ती बादशाहलाई हिउँदको जाडोमा देशदर्शन र क्षेत्रिय भ्रमणको इच्छा जागेछ । भित्रिया र चाटुकारले भने, ‘बादशाह सबै रैती खुशहाल छन् , पाउकष्ट किन ?’ तथापि बादशाहको इच्छा टार्न सकेनन् । अनि सुरक्षा पहरासहित शहरबाट धेरै पर उनी एउटा गाउँ पुगेछन् । गाउँ बाहिर अलि परै एउटा उद्यानमा उनले आफ्नो मुकाम क्याम्प लाए, र वरिपरि सुरक्षा क्याम्पले घेरिए ।

घाम अस्ताए, झमक्क अध्यारो हुनुअघि क्याम्पवरिपरिबाट श्यालहरू हुइँ हुइँ हुइँ गर्दै कराउन थाले । मधेशमा श्यालको हुइँकोलाई ‘हुआ हुआ’ भनिन्छ । बादशाहनिम्ति यो स्वर नौलो थियो, सोधे, ‘के हो हँ ? को डाको हाल्दैछ यसरी ? भन त ’ तुरुन्त चाटुकारले सुुुनाए, ‘बादशाह कठ्याङ्ग्रिदो जाडो छ, उसैले रैती जाडो सहन नसकेर चिच्च्याइ रहेका छन् । डाको हालेर ‘हुआ हुआ ’, मर्नु जाडो ‘हुआ ’ भनेर च्याँठिदै छन् ।’

बादशाहले सोधे, ‘अनि हामीले के गर्नु पर्‍यो त?’ अनि जाडोको औषधिमा सबै रैतीलाई एकएकवटा कम्बल बाँडी दिने सल्लाह पाए । बादशाह मनकारी थिए, हात फुक्का गर्दै उर्दी दिए, ‘ल त, भोलि वरिपरि सबै रैतीलाई एकएकवटा कम्बल बाड्दिनू ’ ‘हस्, जहाँपनाह ’ भोलिपल्ट साँझ पर्नुअघि बादशाहले सोधे, ‘बाँडी दियौ त ?’ बादशाहले ढुकुटीबाट खर्च ओइर्‍याएका थिए । यसैगरी खान पल्केका चाटुकार थिए, केको कम्बल, न सम्बल मिलीजुली आफै त्यो निकासा घिच्न भ्याए ।

अब त्यो दिनको पनि साँझ पर्‍यो । झमक्क के भएको थियो, उस्तै डाको सुनिन थाल्यो र श्यालहरू उसैगरी च्याँठिएर हुइँकिन थाले । अनि बादशाहले आसेपासेलाई सोधे, ‘खोइ त ? प्रजाको डाको त छुुटेन नि ’ यो प्रश्नमा चाटुकारको बनीबनाऊ जबाफ थियो, ‘हो गरीपरवर, हिजो जाडोले कठ्याङ्ग्रिएर डाको हालेका थिए । आज तिनैले कम्बल पाएको हर्कमा ‘हुआ हुआ ’ भन्दै बादशाहको जयजयकार गाइरहेका छन् । त्यसैको स्वर घन्केको हो ।’ राजा त्रिभुवनका आ“खाले काम गरेनन्, कानले काम गरेको भनेको त्यही थियो ।   

ऐलेका कालमा यो उखान समयमिल्दो छैन । कारण, राजाका ठाउँमा जनप्रतिनिधिले गद्दी ओगटेको छ । जनप्रतिनिधि सत्ताधारीमा आँखा, कान दुवै टाठा हुुन्छन् । अर्कातिर ऊ आफै पनि त्यस्तै परिवार वा आर्थिक स्तरको प्रतिनिधित्व गर्छ । तथापि सत्तामा पुुगेपछि दुर्भाग्यवश उसलेसमेत दौडाहा वा सन्देशवाहकका भर पर्नुपर्छ । स्वाभाविक छ, उसका आँखा छोपिएका हुन्छन् र कानलेमात्र काम गर्छन् । त्यसैले होला जाबो श्याल रैती हिजो पनि कराउँथे, आज पनि कराउँछन् । जनअपेक्षा कतै सुम्सुम्याइएको पाइन्न । जनप्रतिनिधि भने पाँचतारे सुविधा भोग्दै कुखुराका साप्रा कुक्कुरदाँतले लुछ्तै बैठक र निर्णयमा स्वाँस्वाँ र फ्वाँफ्वाँ गरी राखेका हुन्छन् ।

बेलायती उपन्यासकार जर्ज अर्वेलले ‘एनिमल फार्म’ शीर्षक उपन्यासमा जनप्रतिनिधि शासकविरुद्ध यस्तै मीठो व्यङ्ग्य गरेका छन् । उपन्यास कथानकमा बाहिर जनता चर्को स्वरमा विरोध गर्दै छन्, भित्र शासक ऐशले कुखुराका साँप्रा लतार्दै व्यस्त देखिन्छन् । अर्वेलका शब्दमा प्रारम्भमा जनप्रतिनिधिले भन्छन् ‘औल् एनिमल्स आर् इक्वल’ तर पछिपछि सत्ताभोगमा परेर भन्छन् ‘औल् एनिमल्स आर् इक्वल, बट् सम् एनिमल्स आर् मोर् द्यान इक्वल’ । शासक जति दुईखुट्टे,र बाँकी शासित चारखुट्टे भएजत्तिकै । 


प्रतिक्रिया :

नयाँ