कांग्रेसको सवलिकरणका लागि नीतिगत कार्यभार  


प्रकाशित

नन्द प्रसाद न्यौपाने

विख्यात मानवशास्त्री टिम इनगोल्डको विचारमा कुनै पनि विषय वा पक्षलाई जीवन्त राख्न त्यस विषय वा पक्ष भित्रको प्रकृयाहरूको निरन्तरता र कर्ताहरूको सक्रिय संलग्नता अनिवार्य शर्त हो । यही भनाईलाई आधार मान्ने हो भने कांग्रेसको सक्रिय जीवनको सन्दर्भमा पनि पार्टीभित्रको प्रकृयाहरूलाई निरन्तरता दिनु अहिलेको प्रधान आवश्यकता हो । राष्ट्रियता, प्रजातन्त्र (लोकतन्त्र) र समाजवादको मूलमन्त्र लिदै निर्माण, विकास र सञ्चालन हुँदै आएको पुरानो दल नेपाली कांग्रेस अहिले औपचारिक र प्राविधिक पक्षबाट मात्र अस्तित्वमा छ, नकि प्रक्रियाहरूको निरन्तरता र कर्ताहरूको संलग्नताको दृष्टिकोणबाट । यस्तो अवस्थामा गुज्रिएको कांग्रेसको सवलीकरणका लागि निम्न अनुसारका नीतिगत कार्यभार नेपाली कांग्रेसले पुरा गर्नुपर्ने देखिन्छ । 

नविनतम विचारको निर्माण

प्रत्येक समाज र समाजभित्रका घटकहरूको विशिष्ट संगठन, प्रवृत्ति र चरित्रहरू हुन्छन् । समाज संचालनको प्राकृतिक एवं स्वभाविक नियम अनुसार सामाजिक संगठन र घटकहरूमा समयानुकूल परिवर्तन हुन सक्ने गतिशिलता सदैव र सर्वथा रहन्छ जसका कारण समाजको चरित्र र प्रवृत्तिहरू पनि रुपान्तरित हुन पुग्छन् । समयको यसै विन्दुमा आउँदा समाजमा स्वभाविक रुपमा असमञ्जस्यता पैदा हुन सक्दछ । यो नियम समाजको सन्दर्भमा मात्र नभएर कांग्रेसको संगठन र संगठन भित्रका घटकहरूको हकमा पनि लागु हुन्छ । समाज र संगठन भित्र उत्पन्न हुने असमञ्जस्यताको अन्त्य गर्दै सामाजिक/सांगठनिक रुपान्तरणको माध्यमबाट दल र समाज दुवैको सवलिकरणका लागि समय परिवेश र पुस्ता मैंत्री/अनुकुल विचार निर्माण र संप्रेषण गर्नु कांग्रेसको लागि अहिलेको मुख्य कार्यभार हो । वहस र छलफल गर्ने साझा चौतारीका रुपमा रहेका प्राय जसो सवैदलहरू नविन विचार निर्माण र संप्रेषणको अहंम भूमिकाबाट विमुख भएको वर्तमान (तितो) अवस्थामा कांग्रेसले ऐतिहासिक अवसरको रुपमा यो कार्यभार पुरा गर्दा कांग्रेसको जीवनमा रक्तसञ्चार हुने र नयाँ उर्जा थपिने प्रचुर सम्भावना छ । त्यसो त नेतृत्वको राजनैतिक वैधानिकता ‘विचार’ बाट नै निसृत हुन्छ र संगठन संचालन र नियन्त्रणको ‘स्टेरि’ पनि विचारमा नै हुन्छ । अतः प्राविधिक दृष्टिकोणबाट जो कोहि व्यक्ति संगठनको विविध तह र तप्कामा रहे पनि वर्तमान राजनैतिक युगमा ‘नविन विचार’ को जन्म र संप्रेषण गर्न नसक्दा न त संगठन जीवन्त रहन्छ न त नयाँ उर्जाको साथ आम जनताहरूको दलभित्र आगमन नै हुन्छ । 

सार्वजनिक नीतिमा स्पष्टता

“समाज रुपान्तरणको संवाहक” का रुपमा परिचित नेपाली कांग्रेसको पहिचानलाई अक्षुण्ण राख्न र हालको रुग्ण सांगठनिक जीवनलाई सञ्जिवनी प्रदान गर्न सिंगो कांग्रेस वृत्त परिस्थिति मैत्री सार्वजनिक नीतिको स्पष्टता र प्राथमिकताको अभियानमा सक्रिय सहभागि हुनुको विकल्प छैन । कांग्रेसको आफ्नै स्पष्ट सार्वजनिक नीति र नीतिहरूमा प्राथमिकिकरणको आवश्यकता छ । यसको अर्थ यो होइन की कांग्रेस नीतिहरूको स्पष्टता र प्राथमिककिरणमा चुकेको छ । पक्कै पनि छैन होला तर के हालसम्म कांग्रेसले अख्तियार गरेको सर्वजनिक नीति प्राथमिकताको आधारमा व्यवहारमा लागु भयो ? के यो नीतिहरूले राष्ट्रिय नीतिलाई सकारात्मक प्रभाव पार्‍यो ? यि र यस्तै सवालवारे वहस गर्नु जरुरी भैसकेको छ । यस्तै सवालहरूको कसिमा रहेर ढिला नगरी कांग्रेसले “सार्वजनिक नीतिमा प्राथमिकिकरण” को राजनैतिक संस्कार अनुसरण गर्दै अगाडी बढ्नुको विकल्प छैन् । “हरेक मान्छे (संगठनमा पनि) सँग उत्तम संभावना र खराव सम्भावना दुवै हुन्छन्” भनि विद्वान Bertrand Russell ले आफ्नो कृति Political Ideals (पोलिटिकल आइडियल्स) मा उल्लेख गरेका छन् । यसै मतलाई अंगिकार गर्ने हो भने पनि परिवेश अनुकुल अव्वल सम्भावनाको कुशल प्रयोग गर्न नेपाली कांग्रेसले यो कार्यभार पुरा गर्नु पर्दछ । 

साधारण राजनैतिक मुल्यहरूको निर्माण, विकास र अनुसरण

प्रत्येक राजनैतिक दल/संगठनको जीवन्त अस्तित्व उक्त दलले अंगिकार गरेको राजनैतिक मुल्यहरूबाट प्रभावित हुन्छ । वृहत राजनैतिक सिद्धान्तका आधारमा कांग्रेस सञ्चालन भइरहेको भएपनि उक्त सिद्धान्त (लोकतान्त्रिक) अनुकुलको “राजनैतिक मुल्यहरू” को ‘अनुपस्थिति’ र ‘दुरुपयोग’ दुवैले दलिय संगठन र यसका अवयवहरूलाई विखण्डन तर्फ लैजान्छ भन्ने कुरा ईतिहासको कालखण्डहरूमा प्रमाणित भइसकेको छ । प्राविधिक दृष्टिले संगठन रहेपनि प्रकार्यात्मक हिसावले कांग्रेस निष्प्रभावी छ भनि लेख्नु वा भन्नु पर्ने आवश्कता छैन । तथापी स्पष्ट चाहि के हो भने नेपाली कांग्रेस आफ्नै पुरानो ‘राजनैतिक मुल्यहरू’ बाट स्खलनको मार्गमा अगाडी वढेको छ, एकातर्फ भने अर्कोतर्फ विख्यात अंग्रेजी दार्शनिक जोन लकले जोड दिए जस्तो ‘शक्ति सन्तुलन’ को व्यवहारिक ‘राजनैतिक मुल्य’ लाई तिलाञ्जली दिए जस्तो भान भइरहेको छ । जनताको अभिमतबाट नेतृत्व छनोट गर्ने अवसर प्राप्त भइसकेको गणतान्त्रिक मुलक नेपालमा समावेशी र सहभागिता मुलक लोकतन्त्रको अभ्यास भइसकेको छ । अर्को तर्फ विश्वव्यापी विचार र घटनाक्रमहरूको निर्वाध, सघन र तिव्र प्रवाह र प्रसारले नया“ नेपाली पुस्तालाई पूर्णरुपमा गाँजी सकेको नयाँ परिवेश पनि जन्म भइसकेको छ । यस्तो चुनौतिपूर्ण समय र सन्दर्भमा कांग्रेसले आफ्नै श्रोत, साधन र सामर्थ्यलाई एकिकृत गर्दै सवलिकरणको मार्गमा लाग्नु पर्छ । 

सार्वजनिक विचार र स्वार्थको प्रवर्द्धन

दलिय घेरा वा कुनै औपचारिक संगठित संगठनभन्दा बाहिरबाट पनि विचारको जन्म, संप्रेषण र प्रवाह यो उत्तर आधुनिक समाजको नियमित र शास्वत प्रकृया हो तर यस सत्यलाई नेपाली कांग्रेस जस्तो मुल दलले त स्विकार गरेको देखिदैन भने अन्य दलहरूका सन्दर्भमा त सोचनीय विषय पनि हुन सक्दैन् । यसको ज्वलन्त उदाहरण हो कांग्रेस लगायत कुनै पनि दल विशेषको अनौपचारिक/औपचारिक भेला, सभा, वैठक र छलफलहरूमा सार्वजनिक रुपमा व्यक्त भए गरिएका विचार र मतले स्थान नपाउनु । शास्त्रिय राजनैतिक मान्यता र अभ्यास अनुसार औपचारिक र स्वभाविक तर संकिर्ण र अवैज्ञानिक यस्तो अभ्यास र परम्पराले नेपाली कांग्रेसलाई सशक्त र सुदृढ वनाउन सक्दैन । विचार–दृष्टिकोण सहितका उर्जाशील कार्यकर्ताहरू नेपाली कांग्रेसका लागि अपरिहार्य श्रोत/शक्तिहरू हुन् । यस सन्दर्भमा कांग्रेसले निसर्त रुपमा व्यक्त भएका सार्वजनिक विचारहरूलाई ‘राजनैतिक विकल्प’ का रुपमा अंगिकार गर्दा र नागरिकहरूको ‘स्वार्थ’ लाई प्रवद्धन गर्दा सांगठनिक र वैचारिक हिसावले लाभ प्राप्त गर्न सक्दछ । यो मान्यता स्वच्छ राजनीतिको विश्वव्यापी अभ्यासको हिसावले पनि र विख्यात इटालियन कुटनितिज्ञ एवं दार्शनिक निकोलो मकायवेलीद्वारा स्थापित राजनैतिक एवं कुटनैतिक मान्यताको दृष्टिले पनि अव्वल ठहरिन्छ । 

आमसञ्चारमा पहुँच

कांग्रेसलाई वैचारिक र व्यवहारिक पक्षबाट सवल र सुदृढ पार्न आमसञ्चारसम्म पहुँच पुर्‍याउनु पर्ने देखिन्छ । दल विशेषको अवस्था र भूमिकावारे चेतनशिल वर्गका विचमा गहन छलफल हुने गरेको विषय ‘मिडिया प्रयोग र पहुँचको’ अवस्थाबाट प्रभावित हुन्छ । स्पष्ट रुपमा भन्ने हो भने ‘मिडिया’ ले ‘विशिष्ट परिस्थिति’ (जुन वास्तविकताभन्दा पर हुन सक्दछ) निर्माण गरेको धेरै उदाहरणहरू पाउन सकिन्छ । वर्तमान समयमा मिडियाले अवलम्वन गरेको ‘भाष्य’ र ‘विचार सम्प्रेषणको कला’ दल वा नेता विशेषको ‘सार्वजनिक छवि निर्माण’ मा ज्यादैनै अर्थपूर्ण र निर्णायक समेत हुने गरेको छ । यस अर्थमा ‘मिडिया’ को प्रयोग र उपयोगमा सिंगो कांग्रेस र यसका नेता, कार्यकर्ता सजग सचेत र चनाखो रहनु पर्दछ । कांग्रेस नेता/कार्यकर्ता कै सवालमा हेर्ने हो भने ‘मिडिया’लाई आफ्नो पहुँचमा राख्ने/लिनेभन्दा पनि ‘मिडिया’ को पहुँचमा आफु रहने गरेको देखिन्छ । सार्वजनिक रुपमा आफु प्रस्तुत हुन क्षणिक सहज र सुगम भएपनि यस्तो प्रवृत्तिले सिंगो दल र स्वयं व्यक्तिलाई घाटा हुन्छ । ‘संगठनको सुदृढिकरण’ र ‘विचारको शुद्धिकरण’ लाई आत्मसाथ गर्ने हो भने मिडियालाई आफ्नो पहुँचमा राख्दै दल, दलका नेता, तथा शुभेच्छुक थिङ्क ट्याङ्कहरूको योजना, दर्शन, विचार र अभिलाषा एवं उपलब्धिलाई वृहत्तर रुपमा संप्रेषित गर्नु अहिलेको सर्वाधिक आवश्यकता हो । यस खालको थालनीले नेता, कार्यकर्ता र आमनागरिक समेतको मनोविज्ञानमा तात्विक र सकारात्मक परिवर्तन ल्याई नयाँ जोश, जांगर र उर्जाको आपूर्ति गराउँदछ एकातर्फ भने अर्कोतर्फ कथित विभाजन र विग्रह देखाउने खालका अनावश्यक व्यक्तिगत विचारको प्रवाहलाई निस्तेज पारी आशा भरोषापूर्ण सोचको संगठित अनुशासित सम्प्रेषणलाई सार्थक तुल्याउँदछ । 

अन्त्यमा, विद्वान जे. यस मिग्डलले भने जस्तो प्रजातन्त्र वा लोकतन्त्रको सवलिकरणमा स्वतन्त्र नागरिक समाज निर्माण गर्नु, राजनैतिक समाजलाई सवल वनाउँदै लैजानु, संस्थागत आर्थिक समाजको स्थापना गर्नु, प्रजातान्त्रिक मूल्य अनुसारको भ्रष्टाचारमुक्त नोकरशाही (कर्मचारीतन्त्रीय) व्यवस्था निर्माण गर्नु पनि अपरिहार्य भैसकेको छ । 
(लेखक न्यौपाने नेपाली कांग्रेस, जिल्ला कार्यसमिति गोरखाका सचिव हुन्।) 


प्रतिक्रिया :

नयाँ