arrow

नेता र नेतृत्वको शैलीकै कारण लोकतन्त्र खतरामा

logo
जय सापकोटा,
प्रकाशित २०७७ मंसिर ४ बिहिबार
jay-sapkota.jpg

हामी र हाम्रो सोच साह्रै गरिब भएको कारण अझै पनि नेपाल र नेपालीको राजनीतिक भविष्य अन्धकारमा रूमलिएको छ । यहाँ यो कुरा किन भनिरहेको छु भन्ने कुराको लागि केहि पछाडी फर्केर हेर्नुपर्ने हुन्छ ।वास्तविक प्रजातन्त्र र त्यसको नीतिगत बिचार अनि सिद्वान्त अंगिकार गर्नेले बिगतलाई पनि फर्केर हेनुपर्ने हुन्छ । ०४७/०४८ पछि नेपालको राजनीतिक आन्दोलन र त्यसबाट प्राप्त जतिपनि उपलब्धीहरू छन् ति वास्तवमै देशको संमृद्धी र जनता सुखी बनाउने कोशेढुंगा साबित हुनुपर्ने थियो । तर यहाँ परिवर्तन ल्याउन सक्ने तर जोगाउनका निम्ति राम्रो ब्यवस्थापन र कुसल नेतृत्व हुनै नसक्ने अवस्था देखापर्‍यो । 

नीति अनुकूल परिवर्तन, जनताका मताधिकारको अधिकार अनुकुलताको आवधिक चुनाबी प्रणाली, कार्यकारी अधिकार सम्पन्न राष्ट्रपतीय शासन ब्यवस्था, प्राप्त परिवर्तनलाई योजनागत ढंगबाट ब्यवस्थापन गर्न चाहिने कुशल, सक्षम नेतृत्व जरूरी हो । यदि त्यस्तो नहुँदासम्म गरीब मुलुकमा जति नै स्वच्छ राजनीतिक वातावरण भए पनि परदेशीने रहरले मन मस्तिष्कमा बास गरिरहन्छ ।

राजनीतिक बातावरण सङ्ल्याउने र त्यसलाई देशको समृद्धी र जनताका सरोकारका सुखी सपना अनुकुलतामा काम गर्ने स्वस्थ नेता र नेतृत्व नहुदासम्म देशले लोकतन्त्र, गणतन्त्र, संघियता वा राजा सहितको बलियो लोकतान्त्रिक ब्यवस्था जे जस्तो अवस्था पाए पनि त्यो क्षणीक जनता अलमल्याउने खेल मात्र हुनेछ । सक्षम हुन वा असक्षम, स्वास्थ्य राम्रो होस वा सिथिल पदमा रहिरहनु पर्ने ब्यवस्था जबसम्म परिवर्तन गर्न सकिदैन देशको समृद्धी र जनता सुखी भनेर जति जपेपनि नेपाली जनता सदैव हजारौं हजार बिदेशी ऋणको भारमा डुब्दै जान वाध्य हुन्छन् । 

राज्यमा उठेको करबाट केहि नेताहरू र तिनका शाखा सन्तानहरूले बिलासिताको जीवन बिताउने यहि हो हामीले खोजेको लोकतन्त्र ? यस्तै दासत्वताको बोध हुने, हत्या हिंसा र बलात्कार, चरम महंगी, अब्यवस्थित बजारीकरण र भ्रष्टाचारयुक्त कर्मचारीतन्त्रको राज्य ब्यवस्थाको कल्पना ? के नेता हुनका लागि बिगत २५/३० बर्षदेखि उनै चाहुरिएका अनुहारहरू बाहेक अरू लायक भएनन् हाम्रो देशमा ? यो कस्तो राजनीतिक संस्कार बिकास हुदैछ ? के यसले जनता सुखी हुने सपना सहित देश समृद्धी र आत्मनिर्भर हुनसक्छ ? सक्छ भने कसरी ?

जनतालाई दासत्व बोध भैसकेको छ । राजनितिक पार्टी र तिनका बिगत २५/३० बर्षदेखिका एउटै छलकपटपूर्ण कुराहरूले । सत्ता र शक्तिकेन्द्रमा पुग्नका लागि सुनौला सपनाहरू देखाएर लोभ्याउने पदमा पुगेपछि अस्वस्थकर जीवनयापनलाई राज्यको सम्पती बिभिन्न उपचारका नाममा खर्च गर्नुपर्ने ? सरकारमा राष्ट्र प्रमुख, सरकारप्रमुख, सेनापति, न्यायधिश, मन्त्री, प्रहरी प्रमुख, मन्त्रीहरू, परराष्ट्र बिज्ञ र बिद्वतहरू सबैलाई बिलासिताको सेवा सुबिधा पुर्‍याउन संघीय गणतान्त्रिक नेपालको जनताले भने पसिना चुहाइरहनु पर्ने?

एउटा गरिब किसानको छोरा जसले हरुवा चरूवा बसेर तिनै उच्च पदासीनहरूको जग्गा कोतरेर जीवन जिउन दिनरात पसिना चुहाउँछ । एउटी अति सिमान्तकृत बर्गसमुदायकी महिला बम्बैमा चरम दुर्ब्यबहारपूर्ण अवस्था सहेर परिवारमा नुनको सोझो गर्नु परेको छ । सिटामोल र जीवनजलकै निमित्त शारिरिक सम्बन्धमा रात काट्नु परेको छ । ओठमा राष्ट्रको संमृद्वी र बिकासको सुनौलो सपना सिंगारिएको मिठो कर्णप्रिय राष्ट्रिय धुन गुनगुनाउने हजारौं युवा युवतीहरू आज जीवनलाई धिक्कार्दै अरब र मलेसियाका जटिल ठाउँहरूमा आफ्नो यौवनावस्था बिताउनु परेको छ। के ति र तिनका परिवारलागि यो राज्य उत्तरदायी हुनुपर्दैन ?

समग्रमा यस्ता प्रतिनिधीमुलक घटनाहरूले कहि कतै कसैलाई छुदैन? के यो सरकार उनका ति कारूणिक रोदनहरूलाई कम गर्नेतर्फ जिम्मेवार हुनुपर्दैन ? मलाई त लाग्दछ अलिकति पनि लाजलाग्दो हो त राजनीतिक पार्टीको नेतृत्व र नेताहरू गम्भिर हुनुपर्ने हो ताकि त्यहि चुनौतीपूर्ण कामहरूबाट तिनै नागरिकहरूले पठाएको रेमिटेन्समा महँगा र बिलासितापुर्ण जीवन जीउन पाएका छन् । 

देशमा गणतान्त्रिक सरकार बनेपछि नेता र तिनले उपयोग गर्ने साधन स्रोतहरू को फेहरिस्त हेर्ने हो भने कहाली लाग्दछ । स्वास्थ्यकै बिषयमा अर्बौ खर्च, घरबाट कार्यालयमा पुग्न र पाहुन सत्कार र किनमेलका निमित्त करोडौंको गाडीको प्रयोग । के यही हो हामीले देखेको संमृद्धीको सपनाको संकेत ? दुनियाँमा धनाढ्यायहरू नेतृत्वमा रहेर पनि जनता सरह जीवन चलाइएको पनि देखिएको छ । देश संमृद्ध भएपछि ठिकै होला तर कर्मचारीलाई तलव खुवाउन बिदेशीको ऋण गुहार्नुपर्ने मेरो देशका नेताहरूको जीवनशैली किन विलाशी छ ? के यहि हो लोकतन्त्रमा जनताले महशुस गर्ने देख्ने भनिएको परिवर्तनको अनुभूति ?

त्यसैले सच्चा राजनेता हुन नेतृत्व सक्षम मात्र होइन स्वस्थ हुनु पनि राज्य संचालनमा महत्वपूर्ण बिषय भइसकेको छ । बिगतको लामो राजनितिक इतिहास र नेतृत्वको ब्यवहारले पनि देखाइसक्यो कि स्वास्थ्य, शिक्षा र कार्यकुशलता राम्रो नहुनु नै ब्याप्त भ्रष्टचार, शक्तिको दुरूपयोग, दैनिक प्रशासनिक कामहरूमा बेथिति, कर्मचारीतन्त्रमा हालीमुहाली, कालो बजारी, गुण्डागर्दी र ठेकेदारीहरूको बिगबिगी यस्तै सबै थुप्रै कुराहरूमा अराजकता हुनु हो । यसको सम्पुर्ण जिम्मेवार नेता र नेतृत्वको नै हो । नेतामुखी नीतिले देश चलाउने बिधी जबसम्म परिवर्तन हुँदैन तबसम्म देश संमृद्धी र जनता सुखी भएको सपना देख्न पाइने छैन !

( गण्डकी प्रदेश नवलपुरका सापकोटा हाल पोर्चुगल कार्यरत छन्)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ