रानीको भ्रष्टाचार र छाप्रोको मूल्य


प्रकाशित

रामेश्वरप्रसाद बराल

धेरै अगाडिको कुरा होइन । एउटा राजा थिए । आफ्नी पटरानीसँग औधि मायाप्रीति थियो । उनी राजकाजमा दक्ष र नीतिवान मानिन्थे । मन्त्री, भारदार, सल्लाहकार र गाउँले रैतीसँग परामर्श र भेटघाटपछि राजा सरासर खोपीमा पुग्थे र रानीसँग रमाइला क्षण बिताउँथे । रानीले राजालाई कैल्यै टोकसिनन्, र कैल्यै कोपभवन गैनन् । उनले भित्रबाट बुझेकी थिइन् राजाले जे गर्छन् सर्वहितमा गर्छन् । रानीका निजी रौस थिए र संगतमा सुसारेहरू रहन्थे । दरबारियाहरूले राजा रानीको अगाध मायाप्रीति बुझेका थिए ।

एकपटक रानीलाई सुसारेले बिन्ती चढाए, ‘महारानी सरकार ! भोलि बिहान नदीस्नान गर्न जाऔ‌ं ’ हिउँदको माघ महिना, गंगाजीको महात्म्य थियो । रानीको चित्त बुझ्यो र भोलिपल्ट सबेरै दुईचारवटी सुसारेसाथ गंगाजी पुगिन् । एकसरो वस्त्रमा जलमा पसेर उच्चारण गर्न थालिन्, ‘गंगा ! गंगा ! भनी जसले बारम्बार पुकार्दछ  ......।’ आदि । जलक्रीडाको इच्छा राखेकी थिइन्, तर वरिपरि साह्रै खुला र उघारो थियो । एकातिर मुटु छेड्ने सिरेटो र अर्कातिर चौरमा सेताम्मे तुषारो थियो । उनीेहरू धेरै बेर जलमा अडिन सकेनन्, ‘टिक्न सकिंदैन, फुत्कौ“, लुगा फेरौ“ र महल फर्कौं ’ अनि थर्थरी काम्दै बाहिर निस्के । बाहिर झन् कक्रिएर कुकुलढुक् भए । जलभित्र बरु बतास थिएन, न्यानो थियो । हातगोडाका औंला बाउँडिए । हतार गर्न सकेनन् । लुगा फेर्नु त कता हो कता, ठिहिरोमा कठ्याङ्ग्रिएर झन् झन् लुग्लुग भए । डेगै चल्न कठिन । चिसोले जिउसमेत नीलाम्मे । घोडेबग्गी खडा थियो, तर चढ्नेसम्म ह्याउ भएन । अनि मनमा आयो, ‘आगो ताप्ने ’ संजोग, आँखा परे एउटा ड्वाङड्वाङती, खुला, होचो पराले छाप्रोमा । भित्र छ्याङ्, केही थिएन । यसका खाँबाखुट्टा र बलिन्मा बाँस र बाँसका भाटा थिए । मनले थेग्न सकेन ।

तत्कालै रानीले भनिन्, ‘लौ, तापौं यै जाबो छाप्रो सल्काएर । अर्को बनाइ दिउँला नि आँखा झिम्कन नपाउँदै ।’ आगो झोसियो । फु फु गर्नै परेन । खग्रङ सुकेको उखुबारी झैं सल्कियो, च्वार्च्वारी, दन्दनी । आगोका लप्का तँछाड् मछाड् गर्दै उरालिए । जिउ रनक्क ताते । छाप्रो जलेर स्वाहा, खरानीको ढिकुरो बन्यो । गंगाजीको पुण्य र आगो ताप्ने लहड जुर्‍यो । सबै दंग पर्दै महल फर्किए । 

रानीका पछिपछि महलमा उत्तिनैखेर देख्तैको एकजना सुधो मानिस गुहार माग्दै आयो । उसकै छाप्रो रानीले खरानी पारी दिईछन् । ‘महाराज, मेरो सर्वस्व भयो ।’ र उसका स्वरमा वेदना र त्रास झल्किन्थे । खबर आगो झैं फिजियो । लगत्तै दरबार बस्यो । दरबारिया, सल्लाहकार, मन्त्री सबैले आआफ्नो सुझबुझ देखाए । एकजनाले भने, ‘देख्नको पो सुधो, त्यो त चोर हो ’ अर्काले भने, ‘त्यो राजद्रोही हो । दण्ड दिनु पर्छ ।’ अझ अर्काले थपे, ‘अस्ति राजाविरुद्ध आन्दोलनमा नारा लाउने र अर्काको घरमा ढुंगामुडा गर्ने त्यै हो । हाम्रा राजसेवकको झ्यालका ऐना चकनाचुर पार्ने त्यै । र लहैलहैमा हिजो बिजुली र टेलिफोन टावर जलाउने पनि त्यै हो ।’ तथापि एकजनाको राय थियो, ‘सरकारले उसलाई उस्तै एउटा नयाँ छाप्रो बनाइ दिओस् ।’

राजालाई कसैका पनि परामर्शले चित्त बुझेन र एकछिन घोरिए । आखिर नीतिवान थिए, अनि भने, ‘नीतिले भन्छ -स्थानभ्रष्टा न शोभन्ते दन्ताः केशाः नखाः नराः, इति विज्ञाय मतिमान् स्वस्थानं न परित्यजेत् (आफ्नो स्थानबाट भ्रष्ट भएका छन् भने दाँत, केश, नङ र मानिस कोही पनि शोभनीय बन्दैनन्, आदि) ।’ अधिकार प्रयोगमा अधिकारीले समष्टिमा तीन आधार लिन्छन्ः स्थान, मान र मति । मान र मति भएका मनमा अधिकारी आफ्नो स्थानमा मतिमान हुन्छ, मैमत्त होइन । स्वाभाविक आचरण यै हो, नत्र उपयोग होइन, दुरुपयोग ठहर्छ । विनाश भएका टेलिफोन र बिजुुलीका टावर र त्यो छाप्रोसमेत सबै हाम्रा राष्ट्रिय सम्पत्ति हुन् । सबै बनाउनै पर्छन् । रानी मेरी अर्द्धाङ्गिनी भएर मतिभ्रष्ट भै छन् । उनले अख्तियारी मिचिन्, र सर्वसाधारणका नजरमा पनि उनी भ्रष्टाचारी हुन् ।’ यसो भन्दै दण्डाधिकारीका हैसियतमा सिंहासनबाट उनले न्याय फर्मान दिएः ‘म रानीलाई पदच्यूत गर्छु र राजमहलबाट निकाला गर्छु । आजै ।ऐले नै यहाँबाट एकसरो वस्त्रमा निकाल्छु । उनले साथमा पेवा, गरगहना, पैसा, सुसारे केही पनि लान पाउने छैनन् । बाहिर बसेर आफ्नो कमाइ गर्ने छिन् र कमाइबाट जुन दिन त्यो निर्धनको छाप्रो खडा गरी दिने छिन्, सोही दिन फेरि उनी महलमा मेरी पटरानी हुनेछिन् ।’ 

उपरान्त रानी सर्वहारा श्रमिकमा दर्ता भइन् र कैले कसको, कैले कसको गोठ र पिढीमा रात बिताउन थालिन् रे । हातमुख जोर्न बनीबुतो गर्दै हिंडिन्, अनि नजुरेको साँझ भोकै लम्पट । एकसरो जगेडा लुगासमेत उनलाई अपहत्ते थियो । उता हातमुख जोरेर, र लाज छोपेर पुगेन । उनको मूल काम बाँकी थियो, छाप्रो खडा गराउने । वर्ष बितेर गए ।


प्रतिक्रिया :

नयाँ