arrow

काठमाडौं कांग्रेसको जिम्मेवारी

logo
रामचन्द्र घिमिरे, 
प्रकाशित २०७७ मंसिर १५ सोमबार
ramchandra-ghimire.jpg

नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिको नियमित बैठक धुलिखेलमा २०७६ फागुन २ र ३ गते दुई दिन बसेर अर्को महिना पछि कोभिड–१९का कारण कार्यमूलक बैठक बस्न सकेको थिएन । यस बीचमा परेका वीपी जयन्ती, गणेशमान जयन्तीका कार्यक्रमहरु काठमाडौं कांग्रेसले सम्पन्न गरेको छ । यतिखेर १४औं महाधिवेशनका लागि कार्य गर्न काठमाडौं कांग्रेस पुनः आफ्नै कार्यालयमा नियमित बैठकहरु बसिरहेको छ ।

बैठकका एजेण्डा
नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि सदस्यता नविकरण र नयाँ वितरण गर्न केन्द्रीय कार्यसमितिको निर्देशानुसारको पत्रले समय तालिका सहित यसको प्रक्रियाका बारेमा काठमाडौं कांग्रेसको कार्यतालिका बनाउन पर्ने छ । जिल्लाले मंसिर महिनाको मसान्तसम्ममा केन्द्रमा सबै क्रियाशील सदस्यताको नामावलीको सूची बुझाउनु पर्ने स्पष्ट भनेको छ । 

त्यसैगरी यतिखेर काठमाडौं कोभिड–१९को मुख्य केन्द्र जस्तो बनेको छ । जनता र पार्टीका धेरै सदस्यहरु यसबाट प्रभावित हुनु भएको छ । कांग्रेसले जनतामाथि आइपरेको यो विपदको समयमा सहयोगको हात बढाउनु अनिवार्य न्यूनतम कर्तव्य नै हुन आउछ । त्यसैले कांग्रेसले यस विषयमा पनि काम गर्नुपर्ने हुन्छ । सरकार छ छैन जनता र प्रतिपक्षले कतै भेटिदैन । असक्षम सरकारको रवैया जनताको विचमा पु¥याउनु पनि कांग्रेसको दायित्व र जिम्मेवारी दुबै हो ।

जिल्ला कार्यसमितिको दायित्व
नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिको नियमित बैठकहरु १४औं महाधिवेशनका लागि क्रियाशील सदस्यता नविकरण र नयाँ वितरणको महत्वपूर्ण घडिमा छ । यो कामलाई काठमाडौं कांग्रेसले नयाँ स्वरुपमा सम्पन्न गर्नुछ । 

नेपाली कांग्रेसको विधानले नविकरणको सम्पूर्ण जिम्मा जिल्ला कार्यसमितिलाई दिएको छ भने नयाँका विषयमा पनि केन्द्रीय परिपत्र अनुसार जिल्लाले व्यवस्थित किसिमले राख्न भनेको छ । त्यसैले यि सदस्यतालाई वैज्ञानीक, पारदर्शी र सुरक्षित रुपमा राख्नु पर्ने काठमाडौं कांग्रेसको जिम्मेवारी हुन्छ । त्यसका लागि सफ्टवेर निर्माण गरेर वेबसाईटमा राख्न जरुरी हुन्छ । सफ्टवेर निर्माण गरेर सबै साथीहरुको नाम, ठेगाना, सम्पर्क नम्बर र जिम्मेवारीका साथै विभिन्न भूमिकाको जिम्मेवारी पाउनु भएका साथीहरुको जिम्मेवारीसमेत देखिने गरी र काठमाडौंको समुदायगत प्रतिनिधित्व, लिङ्गीय प्रतिनिधित्व र उमेरको प्रतिनिधित्व समेत निकाल्ने गरी सफ्टवेर निर्माण भइरहेको छ । 

यो काम काठमाडौं कांग्रेसले गर्न सक्दा पार्टी सदस्यता स्थायी रुपमा सुरक्षित र पारदर्शी रहने छ । कार्यसमितिका सबै साथीहरु सभापति, पदाधिकारी र सदस्य साथीहरुले यसको महत्व र गम्भीरतालाई बुझेर सोही अनुसार काम भइ रहेको छ । 

कांग्रेस संवाद कार्यक्रम
नेपाली कांग्रेस काठमाडौंको नियमित बैठक बस्न नसकेको समयको सदुपयोग गर्दै काठमाडौं जिल्ला कार्यसमितिका सभापति, पदाधिकारी, सदस्य र अन्य तहका पार्टीका जिम्मेवारी लिएर बस्नु भएका साथीहरुका बिचमा ‘‘कांग्रेस संवाद कार्यक्रम’’ संचालन भएको छं । 

कोभिड—१९को त्रासदीले मुलुक नै अन्योल अवस्थामा रहेका बखत डाक्टरहरुलाई घरघरमा पु¥याउने उद्देश्यले २०७६ चैत महिनामा काठमाडौं जिल्लामा रहेका महानगरपालिका, नगरपालिकाका वडाहरुमा टोलटोलमा गएर कांग्रेसका विभिन्न साथीहरुले जोरो नाप्ने, बाहिरबाट आएको छ÷छैन विवरण लिने, स्वास्थ्य चौकीमा स्वास्थ्य उपकरणहरु उपलब्ध गराउने लगायतका काम गरेका छन् । यसका साथै कांग्रेसका सदस्यहरुले राहत वितरणमा पनि आफ्नो आर्थिक सहयोग प्रसस्त गरेका छन् ।

त्यसैगरी दोस्रो चरणमा २०७७ बैशाख १ गतेदेखि कोभिड—१९ बहस कार्यक्रममा डाक्टर, नर्स र पत्रकारका विचमा बहस संचालन गरेर घरघरमा पु-याएका छन् । यस किसिमको कार्यक्रमको मोडल निकाल्नु हुने साथी टोखा नगरपालिकामा उपमेयरको उम्मेदवार रजनी थापा र अनिश श्रेष्ठलाई धन्यवाद दिन चाहन्छौं । यही मोडललाई लिदै मैले काठमाडौं जिल्लाको राजनीतिमा विभिन्न भूमिकामा भएका साथीहरुसँग संवाद कार्यक्रम संचालन भएको छ । जसले गर्दा काठमाडौं कांग्रेसका सदस्यहरु, वडा सभापतिहरु, वडा अध्यक्षहरु, नगरपालिका मेयर, उपमेयर र पार्टीका विभिन्न निकायमा बसेका सदस्यहरुले गरेको सहयोगको जानकारी हुन सकेको छ ।

सदस्यता सहजीकरण समिति
नेपाली कांग्रेसको १४औं महाधिवेशन सम्पन्न गर्न नविकरण र नयाँ सदस्यतालाई सहजीकरण गर्न जरुरी छ । यि कामहरु पारदर्शी बनाएर काम गर्न जरुरी छ । प्रतिनिधिसभा, प्रदेशसभा, महानगर÷नगरपालिका र वडाहरुसम्म यसलाई सहज किसिमले नविकरण र नयाँ वितरण गर्न सहयोग पुग्ने किसिमबाट काम हुनु पर्दछ । पार्टीको जिम्मेवारीको भूमिकामा लिएर रहनु भएका साथीहरुले गर्ने यो काम पक्कै सहज किसिमले हुने छ ।

प्रतिनिधित्व र संख्याको जानकारी
हाम्रो पार्टीको विधान र नियमावलीमा धेरै परिवर्तन भएको छ । प्रतिनिधित्व र पहुँचलाई सुनिश्चित बनाउन सदस्यता वितरण गर्दा नै धेरै विचार गर्नुपर्ने हुन्छ । जसले गर्दा वडा कार्यसमितिको बनोट र संख्या, महानगर÷नगरपालिका कार्यसमितिको बनोट र संख्या, प्रदेशसभा कार्यसमितिको बनोट र संख्या, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको बनोट र संख्या, जिल्ला कार्यसमितिको बनोट र संख्या सबै क्रियाशील साथीहरुलाई बुझाउनु पर्ने हुन्छ । राष्ट्रिय रुपमा पहिचान र प्रतिनिधित्वलाई सुनिश्चित बनाउने गौरवमय काम हाम्रो पार्टीको विधानले गरेको छ । साथीहरुको विचमा पु¥याएर पार्टीप्रति गौरव गर्न लायक बनाउने जिम्मेवारी काठमाडौं कांग्रेसको पनि हो ।

यसका साथै प्रत्येक वडाबाट प्रत्यक्ष र समानुपातिक गरेर हुने प्रतिनिधित्व र संख्या, त्यसैगरी प्रदेशसभाबाट प्रतिनिधित्व गर्दै प्रदेश अधिवेशनका लागि आउने प्रतिनिधि र संख्याको बारेका साथै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट निर्वाचित भएर केन्द्रीय महाधिवेशनमा आउने प्रतिनिधि र संख्याको बारेमा पनि कांग्रेसका सदस्यहरुले बुझ्नु पर्ने हुन्छ । अहिलेको विधान नेपालको संविधान अनुसार सबै नेपाली अट्ने बनाएको छ ।

सहमति र सहकार्यमा जोड
काठमाडौंमा नेपाली कांग्रेसको संगठन खस्केको महानिर्वाचनमा मात्र देखिएको होइन । स्थानीय तहमा भएको उपनिर्वाचनले पनि हाम्रो अबस्थाको बारेमा हाम्रो हैसियत देखाएको छ । यो विषय कसैलाई दोष लगाएर र जिम्मेवारी थोपरेर मात्रै पानी माथिको ओभानो बन्न सक्दैनौं । यो सभापति, पदाधिकारी लगायत हामी सबैको सामुहिक जिम्मेवारी हो । त्यसैले काठमाडौं कांग्रेसको सदस्यता नविकरण र नयाँ वितरण गर्दा विवाद होइन सहमतिले गर्ने कामलाई पहिलो प्राथमिकतामा राखौं । त्यसकालागि सबै एकजुट भएर काम गरौं । सहमति र सहकार्यका लागि जिल्ला तह सधै खुला र सकारात्मक रहन्छ ।

कोरोनाको आतङ्क र हाम्रो जिम्मेवारी
काठमाडौं कांग्रेसको २०७६ चैत देखि कोभिड—१९का कारण कार्यमूलक बैठक बस्न सकेको छैन । कोभिड—१९ले सबै क्षेत्रमा ठूलो प्रभाव पारेको छ । राजनीति, आर्थिक, सामाजिक रुपलाई नयाँ राजनीतिक नारा र कार्यक्रम दिन जरुरी भएको छ । अहिलेको जस्तै यहि परिस्थितिमा अघि बढीरहने होर हाम्रो दृष्टिकोणहरु पनि यस्तै हुने हो भने हामी असान्दर्भीक हुन सक्ने खतरा पनि उत्तिकै छ ।

यतिखेर काठमाडौं कोरोना भाइरसले आतङ्कीत बनेको छ । काठमाडौं राजधानी हो । कांठमाडौं कांग्रेसको यस विषयमा कार्यक्रम सहित अघि आउन जरुरी छ । जसले स्वास्थ्य क्षेत्र, औद्योगिक, व्यापारि र जनतासँग प्रत्यक्ष  कांग्रेसले संयोजन गर्दै धेरै नआत्तिन र सतर्क रहन जनताको घरसम्म पुग्ने सक्रियताको संरचना निर्माण गर्न आवश्यक छ । 

देशको अवस्था र हाम्रो दायित्व
जतिसुकै बलियो सरकार भने पनि यो पूर्णरुपमा भ्रष्टाचार, अनियमितता, स्वेच्छाचारीता र जनतालाई बेवास्ता गरेर हिडिरहेको छ । हामी प्रतिपक्षि भूमिकामा छौं । हाम्रो भूमिकाको पनि जनता गुनासो गरिरहेका छन् । यतिखेर जनताले नेकपा पार्टी र सरकारको निक्कै आलोचना गरिरहेका छन् । तरपनि हाम्रो प्रसंशा गर्न जनता सकिरहेका छैनन् । जनतालाई आकर्षण गर्न हामी कहिन कहि चुकि रहेका छौं । यो विषयमा हामी गम्भीर हुन जरुरी छ । 

देशको अवस्था दयनिय बनेको छ । नेकपाको निकम्मा सरकार सीमा विवादमा लम्पसार पर्दैछ । त्यसैगरी न्यूनतम कूटनीतिक मर्यादा पनि पालना गर्न सकेको छैन । महङ्गी, भ्रष्टाचार, अनियमितता व्यापक बढेको छ । यसका लागि  हामीले कोभिड–१९को मापदण्ड पुरा गर्दै सडक आन्दोलनमा धर्ना, जुलुस, सत्याग्रह जस्ता कार्यक्रम अघि बढाउन अत्यावश्यक भएको छ ।

अन्त्यमा, 
देश विषम परिस्थितिबाट गुज्रिरहेको छ । नेपाली कांग्रेस प्रतिपक्षको भूमिकामा छ । मुलुक आक्रान्त बनिरहेको बेलामा सरकार छ छैन कतै देखिदैन जनता आत्तिएका छन् । बजारमा खाद्यान्न लगायत औषधिको समेत कालावजारी र नक्कली अभावको सृजना गरेर लुटपाट नै मच्चिने हो कि भने जस्तो पनि समय समयमा देखिँदैछ । त्यसैले नेपाली कांग्रेस पार्टीको सक्रियता अनिवार्य आवश्यकता भएको छ । (घिमिरे कांग्रेस केन्द्रीय प्रचार विभागका सदस्य एवं काठमाडौं जिल्ला कार्यसमितिका सदस्य हुन्, माथिका विचार कांग्रेस काठमाडौंको जिल्ला कार्यसमितिमा व्यक्त गरेका विचारको आधारमा तयार पारिएको हो) 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ