arrow

गणतन्त्रलाई १७ हजारका प्रेतात्माहरुले तर्साउँदै 

logo
अनिलभक्त खरेल, 
प्रकाशित २०७७ मंसिर १९ शुक्रबार
anil-bhakta-kharel.gif

नेपालबाट विधिवत रुपमा राजा र हिन्दू धर्म फालिएको पनि १२ वर्ष पूरा भैसकेको छ । राजा र हिन्दूुराष्ट फाल्दा चुपचाप बसेका बसेकाहरु पछिल्लो समयमा अहिले ‘राजा आउ देश बचाउ’ भनेर जताततै चिच्याहट गरिरहेका छन् । अहिले राष्ट्रिय झण्डासहित सकडमा देखिएका मोटरसाइकल र जनताको ताँतीले सत्ताधारीहरुको मुटुमा ढ्यांग्रो बजिरहेको छ । त्यसैले उनीहरु भूतप्रेत सल्बलाए भन्दैछन् । 

घरमा चोखो मीठो पाक्यो भने सबैभन्दा पहिला पितृ, देव र भूत–पिसाचलाई छुट्याउनु पर्छ । भूतप्रेतहरुको चित्त राम्ररी बुझाइएन भने कुनै कार्य पनि सफल हुन दिँदैनन् दुःख दिइरहन्छन् । अहिले जनयुद्धकालमा मारिएका १७ हजारका प्रेतात्माहरु भूतप्रेत भएर आएका हुन सक्छन् ।   

भूतप्रेतहरुले दुख दिएपछि कतिपयको घरबास उठीबास भएका हामीले सुन्दै आएका छौं । भूतप्रेतले तर्साउने ठाउँमा कोही पनि नबस्ने भएको हुँदा कतै अहिलेको व्यवस्था र सरकार भूतप्रेतबाट डराएर त भाग्दैछैन ? मैले आफू सानो छँदा भूतप्रेतको कथा धेरै सुनेको थिएँ । त्यही भएर एक्लै कोठामा सुत्न जान पनि डराउँथे । सिरक उल्टो ओढ्दासमेत सिरकले खान्छ भनेर सिरक आढ्न डराउँथे । 

भूतको छायाँ पर्यो भने पनि त्यो मानिस ३ दिनमा रगत छादेर मर्छ भन्ने पनि बुढापाकाबाट सुनेको थिए । त्यसैले सानोमा जुनेली रातमा होस् कि अपरान्हमा होस् आफ्नो छायाँसंग आफै डराउँथे । आफु हिँडे हिड्ने, आफु रोकिए रोकिने, आफु दौडिए दौडिने त्यो छायाँ भूत हो कि भनेर तर्सन्थे र सुनसान बाटोआएपछि बेतोडले भाग्थेँ । 

किनकि मेरा मामा पर्ने एकजना भूतसंग लडेकै कारण बितेका घटना मैले सानैमा सुनेको थिए । अहिले सरकार पक्षका केही व्यक्तिहरु भूतप्रेतहरुसंग लड्ने भन्दैछन् त्यसैले मलाई ती मेरा बालमस्तिष्कको सम्झना आयो । यदि मैले बाल्यकालमा सुनेको त्यो घटना सत्य हो भने यो सरकार र गणतन्त्रको आयु सकिँदैछ हैन त्यो घटना बच्चा तर्साउन रचिएको काल्पनिक घटना हो भने म जस्तै सरकार आफ्नोछायाँसंग आफै तर्सिरहेको छ । 

हुन त कतिपय धामीझाक्रीहरु भूत, पिसाच मात्र है वीर र छौडा नचाएर बस्छन् । तिनीहरुले मागेको कुरा दिइरहन्छन् । यदि त्यो दिन छोडेको खण्डमा ती भूतप्रेतहरुले त्यही धामीलाई सिध्याइदिनेछ । जान्ने धामीले सबै भूतप्रेत चिनेको हुन्छ र उनीहरुलाई त्यही अनुसारको मान्को, थान्को लगाएर राखेको हुन्छ । आआफ्नो थान्को मान्को लगाइएनभने भूतप्रेतहरु सल्बलाउँछन् । 

कतै अहिलेको व्यवस्था र सरकारले भूतप्रेतहरुको थान्को मान्को नलगाएको भएर नै सल्बलाएका त हैनन् ? यी सल्बलाएका भूतप्रेतहरुको थान्को मान्को नलगाउने हो भने यी प्रेतात्माहरुले क कस्लाई लाने हो समयले बताउला ।

विश्वलाई अहिले कोरोनाले आक्रान्त पारिरहेको छ । त्यसबाट नेपाल पनि अछुतो छैन । पछिल्लो समयमा कोरोनाले नेपाल नराम्ररी सताइरहेको छ । सुरुवातीको अमेरिकाको स्थितिमा नेपाल पुगिसकेको छ । तर नेपालका सत्ताधारीहरुलाई चाहे भुकम्प आवस् चाहे कोरोनारुपी महामारी आवस् दुवै उनीहरुका लागि महादशैं भैरहेको छ । भ्रष्टाचार अब हजार, लाख र करोडमा हैन कि अर्बौंमा हुँदैछ । यस्तो महामारीको बेलामा दुई तिहाई सरकार पदको भागवण्डाको लागि गाँड कोराकोर गरेर बसिरहेका छन् । 

उनीहरुको कुनैपनि बैठकमा कोराना महामारी नियन्त्रणको विषयबारे छलफल समेत भएका छैनन् । जुन बिडम्बना खेदजनक छ । खाली पदको बाँडफाँडका विषयलाई लिएर महिनौंदेखि हिसाबकिताब भैरहेको छ । कहाँबाट कमिसन आउँछ त्यसैमा नै उनीहरुको ध्यान केन्द्रित भैरहेको छ । यही कमाउधन्दाको कारण दुई तिहाई सरकारको पार्टीभित्रको लडाई कसले बढस् भ्रष्टाचार गर्यो भनेर आरोप प्रत्यारोपमा पुगिसकेको छ । 

पुष्पकमलको १९ पेजको आरोप केपी ओलीले ३८ पेजमा दिएपछि सर्वत्र खैलाबैला भएको छ । जसका कारण नेपाली राजनीतिमा शक्तिराष्ट्रहरुको चलखेल हावी हुँदै गैरहेको छ । चिनियाँ र भारतीय प्रतिनिधिहरुको दौडधुप बाक्लिदै गैरहेको छ । उनीहरुकै निर्देशनमा खिचडी पकाउन समयावधि पनि थपिँदै छ जुन देश र जनतमाथिको धोका तथा गद्दारी हो । 

केपी ओली र पुष्पकमल दाहाल उर्फ प्रचण्डले एक अर्काप्रति पार्टीको सचिवालय बैठकमा लगाइएका आरोप प्रत्यारोपले दुवैै पक्षले आफ्नालाई देव र अर्कोलाई राक्षसीको संज्ञा दिइरहेका छन् । अब यहाँ एकले अर्कोलाई सिद्धाएर अगाडि बढ्नुको विकल्प छैन । दुबै नराम्रामध्ये कुन नराम्रोलाई पहिला सिद्धाउने भन्ने कुराले बढी महत्व राख्छ । अब पनि चर्केको काँचको गिलासलाई सुपरग्लु लगाएर जोडजाड गरेर चलाउनुको सट्टा त्यसलाई ढुंगामा बजारी चकनाचुर पारी पार्टी र देशलाई नेकपाको बन्धनबाट मुक्ति दिलाउनु नै सबैभन्दा उपयुक्त र उत्तम हुनेछ । 

यी दुबैले लगाएका आरोपहरु रिसको आवेगमा बोलिएको मात्रै हुन सक्दैन । “सर्पको खुट्टा सर्पले मात्र देख्छ” भने झैं एक भ्रष्टको कर्तुत अर्को भ्रष्टले नदेख्ने भन्ने हुन सक्दैन । यो आरोप जनयुद्धकालमा लगाइने लाल गद्दार मात्र हुन सक्दैन । एमाले फुटाउँदा मालेका वामदेव योगेशहरुले एमालेमाथि लगाएको २६ राष्ट्रघातमा मात्र सिमित छैनन् । यसमा आम जनताका आवाजहरु प्रतिबिम्ब छन् । 

पार्टीको सचिवालय बैठकले दुबैमाथि कार्वाहीको आँट गर्न सक्छ कि सक्दैन समयले बताउँछ । हुन त “जता मल्कु उतै ढल्कु” किसिमका सचिवालय सदस्य हुँदासम्म नेकपाले त्यस्तो कुनै न्यायिक निसाफ गर्न सक्दैन । एकता माधवकुमार नेपाल पार्टी महासचिव हुँदा “नेकपा एमाले, न पोथी न भाले” भन्ने आरोप लगाइएको कुरा कसैले नभुलुन् ।

अहिले केपी शर्मा ओलीलाई नाकाबन्दीपछि अर्कोपटक महान हुने अवसर आउँदैछ । केपी ओलीकै कारण जनताले नेकपालाई स्पष्ट बहुमत दिएका हुन् । “जस्को लागि गोठ बनायो त्यस्को पुच्छर बाहिर” भनेजस्तै जस्को कारण जनताले सरकार बनाउन दिए उसैलाई फाल्नको लागि मात्र गरिएको प्रपञ्चलाई पर्दाफास नगर्ने हो भने २ तिहाईको सरकार र अल्पमतको सरकारमा के फरक रह्यो र ? 

केपी शर्मा ओलीले हिम्मत गर्ने हो भने उनको नाम नेपालको इतिहासमा सुनौलो अक्षरले लेखिनेछ । अहिले ओलीले पुष्पकमल दाहाल उर्फ प्रचण्डमाथि जे जस्तो आरोप लगाएका छन् ती आरोप सम्बन्धित निकायबाट पुष्टि गरेर उनीमाथि कार्वाही गरेमा प्रचण्डका मलद्धारेबाहेक सबै नेपालीले जयजयकार गर्नेछन् । 

१७ हजारका प्रेतात्माले पनि शान्ति पाउने छ ।  केपीले यस्तो गर्न लागेको चाल पाएर नै कांग्रसलाई बिच्क्याउन रामचन्द्र पौडेललाई तनहुँमा राज्यसत्ताले अभद्र व्यवहार गरेको हुनुपर्छ । सबैसंग एकैपटक आक्रमण गर्नु ओलीको लागि खतरा छ ।  ओलीको बेलैमा चेत खुलोस् । (लेखक अमेरिका भर्जिनियामा छन्) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ