arrow

काठमाडौंमा यो वर्षकै जाडो, बाहिर पनि घट्यो तापक्रम, यस्तो छ अवस्था

logo
प्रकाशित २०७७ पुष १६ बिहिबार
weather-final.jpg

काठमाडौं । काठमाडौं उपत्यकामा यो वर्षकै जाडो भएको छ । मौसम पूर्वानुमान महाशाखाले यो वर्ष अहिलेसम्म बिहीबार बिहान सबैभन्दा कम तापक्रम काठमाडौंमा मापन गरिएको जनाएको छ । महाशाखाका अनुसार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ०.८ डिग्री सेल्सियस रहेको थियो । यसअघि १ डिग्री रहेको थियो । 

यो तापक्रम अझै घट्ने मौसमविद्हरुले बताएका छन् । बिहीबार अन्य क्षेत्रमा पनि तापक्रम घटेको छ । जुम्लाको तापक्रम माइनस ८.५, दिपायलको ०.४, डडेलधुराको ३.३, धनगढीको ४ तथा वीरेन्द्रनगरको तापक्रम १.९ डिग्री सेल्सियस रह्यो । 

नेपालगञ्जमा ४, घोराहीमा ४.७, पोखरामा ४.४, भैरहवामा ६.४, सिमरामा ६.५, ओखलढुंगामा ५.६, ताप्लेजुङमा २.७, धनकुटामा ७.४, विराटनगरमा ८.२ तथा जनकपुरमा ६.८ डिग्री सेल्सियस तापक्रम रह्यो । बुधबार अधिकतम तापक्रम सबैभन्दा बढी जनकपुरमा २६.२ तथा काठमाडौंमा १६.६ डिग्री सेल्सियस रहेको थियो । 

मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया सफा रहेको छ।

दिउँसो  प्रदेश १ मा आंशिक बदली, लुम्बिनी, सुदुरपश्चिम र कर्णाली  प्रदेशमा आंशिकदेखि सामान्य  बदली रही बाँकी भूभागमा  मौसम सामान्यतया सफा रहनेछ। राति प्रदेश १ मा आंशिक बदली, सुदुरपश्चिम, कर्णाली  र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

 तापक्रम चिसो रहिरहने हुनाले चिसोबाट बच्न तथा तराई– पहाडी भूभागका केही स्थानमा बिहानीपख हुस्सु–कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन सबैमा महाशाखाले अनुरोध गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ