arrow

'वन फँडानी गर्ने वनमन्त्री, खप्तडका चालीस घोडा खाने मुख्यमन्त्री'

logo
प्रकाशित २०७७ माघ ४ आइतबार
pradeep-deuba.jpg

डोटी । नेपाली कांग्रेस डोटीका सभापति प्रदीपकुमार देउवाले देश अपराधी र भ्रष्टहरूको हातमा पुगेको बताएका छन् । नेपाली कांग्रेसले शनिबार देशका सबै स्थानीय तहमा गरेको विरोध सभा अन्तर्गत डोटीको केआईसिंह गाउँपालिकाको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

‘सरकारको नेतृत्वमा पुगेका व्यक्तिहरूको अनुहार हेरे थाहा हुन्छ ! देशको हबिगत के होला?,’ उनले भने,‘वन फँडानी गर्ने वनमन्त्री !, व्यक्ति हत्याको अभियोगमा मुद्दा झेलिरहेका सभामुख !, प्रधानमन्त्री स्वयम् व्यक्ति हत्याको आरोप झेलेका व्यक्ति । अनि देश कसरी बन्छ ?’

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट पनि भ्रष्ट पृष्ठभूमिका रहेको उनले दाबी गरे । ‘खप्तडमा ४० घोडा रातारात बाघले खायो भन्नेहरू हाम्रा मुख्यमन्त्री भएका छन्,’ सभापति देउवाले भने,‘खप्तडका पाटनहरूमा नेपालगञ्जका खच्चडका खुर छरेर घोडा खाएको सबैलाई थाहा छ ।’ मुख्यमन्त्री कार्यालयबाट योजना किनबेच पनि भईरहेको उनले दावी गरे । ‘वरिपरी योजनाको बार्गेनिङ गर्ने विचौलियाहरू राखिएका छन । जो योजना बेच्छन, र कमिशन रकम मुख्यमन्त्रीसम्म पुर्‍याउछन । यसरी प्रदेशलाई लुटिरहेका छन,’ उनले थपे ।

प्रतिनिधी सभा दुर्घटनामा पर्नुको कारण पनि कम्युनिष्ट नामका स्वार्थीहरूको झुण्ड रहेको बताए । उनले भने, ‘नेकपा भन्ने शक्ति कहिल्यै जनताको हितका लागि नै थिएन् । यो सत्ता र शक्ती हत्याउन् स्वार्थमा बनेको एक झुण्ड हो । जहाँ भागबण्डा नमिलेपछि अहिले यो अवस्था आयो ।’ कम्युनिष्टहरुको स्वार्थको लडाईले देशको भविष्यमाथि नै प्रहार भएको सभापति देउवाले बताए । ‘कम्युनिष्टहरुले देशलाई कठिन मोडमा पुर्‍याएर अलपत्र पारे,’ उनले भने,‘अब यसको निकासका लागि कांग्रेस जस्तोसुकै परिस्थितीका लागि तयार छ ।’

नेपाली कांग्रेसका महासमिति सदस्य एबं केआइसिँह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले कम्युनिष्ट प्रबृत्ती स्थानीय तहदेखी केन्द्रसम्म उस्तै रहेको बताए । ‘जहीँतही प्रबृत्ती उस्तै हो । प्रदेश र संघबाट योजना किनेर ल्याउने यता कामै नगरी खाने प्रबृत्ती देखिएको छ,’उनले भने,‘उल्टो कांग्रेसले जितेका स्थानीय तहका कामहरु देख्न नसक्नेहरु छापामार शैलीमा रोक्ने प्रयासमा जुट्छन् ।’ कम्युनिष्टको सर्वहारा बर्ग तथा विकास र समृद्धिका नाराहरु गाउँस्तरमा अलप भएको बताए ।

महासमिति सदस्य एबं केआईसिँह गाउँपालिकाका उपाध्यक्ष मीना बिष्टले कम्युनिष्टले महिला, दलित, उत्पिडित वर्ग समुदायका नाममा गरेको राजनीति उनीहरुले दुईतिहाई ल्याएर सत्ता सञ्चालन गर्दा देखिएको बताईन् । उनले भनिन्,‘भ्रम छरेर सीमान्तकृत समुदायको भोट लिएर आज उनीहरुकै खुनपसिना चुसिरहेका छन् ।’

कार्यक्रममा नेपाली कांग्रेस डोटीका पुर्व सचिव पदम रावत, जिल्ला कार्यसमिति सदस्य रामचन्द्र राणा लगायतका वक्ताहरुले मन्तव्य राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ