arrow

१० महिनापछि स्टेजमा कलाकार: मिलन, नविन र राजनराजको सांगीतिक धमाका 

logo
प्रकाशित २०७७ माघ १७ शनिबार
concert.jpg

काठमाडौंं । कोरोना महामारीका कारण अस्तव्यस्त रहेको सांगीतिक क्षेत्र विस्तारै बामे सर्न थालेको छ । कलाकारहरु स्टेज देखिन थालेका छन् । सांगीतिक कार्यक्रमहरु आयोजना हुनेक्रम बढेको छ ।

शुक्रबार चर्चित गायक गायिका मिलन नेवार, नविन पौडेल र राजनराज शिवाकोटीले स्टेजमै उत्रिएर दर्शक स्रोतालाई नचाए ।

शुक्रबार साँझ काठमाडौंको टोखास्थित लड प्यालेस ब्याङ्केट उद्घाटनमा आयोजित बिषेश संगीतिक कार्यक्रममा उनीहरुले गीतसंगीतको प्रस्तुति मार्फत दर्शक नचाएका हुन् । करिब १० महिनापछि कलाकारको सांगीतिक प्रस्तुतीमा नाच्न पाउँदा दर्शक निकै खुसी देखिन्थे ।

लोकगायक नविन पौडेलबाट सुरु भएको संगीतिक प्रस्तुती गायिका मिलन नेवार, राजनराज शिवाकोटीलगायत कलाकारमा पुगेर टुङ्गिएको थियो । कार्यक्रममा गायक पौडेलले ‘लेउखुकुरी लेउ’, ‘बुलाकी लाउने, झुम्का लाउने’ बोलको गीतबाट दर्शक नचाएका थिए ।

करिव तीन घन्टा चलेको सांगीतिक कार्यक्रममा गायिका मिलन नेवारले ‘जहिले सम्म’, ‘सिरिमा सिरि हावा’ लगायत करिब आधा दर्जन चर्चित गीतसंगीत प्रस्तुत गरेकी थिइन् ।

धेरैपछि दर्शकको अगाडि उभिएर कार्यक्रम गर्न पाउँदा निकै खुसी लागेको मिलनले बताइन् । कार्यक्रमको अवसर दिएकोमा लड प्यालेसका संचालकलाई उनले धन्यवाद दिइन् ।

कार्यक्रममा गायक तथा संगीतकार राजनराज शिवाकोटीले फिल्म तथा आधुनिकका चलेका चेप्टे चेप्टे पेरुङ्गा, सुर्के थैली, कुटुमा कुटु, टाकन टुकुन टाक्क, गोजीमा दाम छैन लगायत आधा दर्जन बढी गीतसंगीत पस्केका थिए । उनले कुटुमा कुटु गीत प्रस्तुत गर्दा दर्शक स्टेजमै चढेर समेत नाचेका थिए ।

कलाकार सुवास खड्काले संचालनमा ल्याएको लड प्यालेस ब्याङ्केट शुक्रबार नै उद्घाटन भएको थियो । टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले रिवन काटेर प्यालेसको उद्घाटन गरेका थिए ।

दुईवटा पार्टी भेन्यु, सांगीतिक कार्यक्रमका लागि आकर्षक स्टेज, पार्किङ लगायत बिभिन्न सुबिधा, आकर्षक डिजाइन सहित करोडौको लगानीमा तयार प्यालेस विवाह, बर्तमन, पास्नी, ब्यावसायिक उत्पादन लन्च लगायतका थुप्रै कार्यक्रमलाई लक्षित गरेर तयार पारिएको प्यालेसका संचालक समितिका अध्यक्ष समेत रहेका कलाकार सुवास खड्काले बताए । उनले फोटो तथा भिडियो,  म्युजिक सिस्टम, ब्युटिसियन, ब्यावसायिक इभेन्ट म्यानेजमेन्टका लगायत थुप्रै सुबिधा प्यालेसमा रहेको जानकारी दिए ।

धेरैवटा म्युजिक भिडियो तथा चलचित्रमा समेत अभिनय गरेका सुवासले ब्यवसायमा पनि आफुलाई सक्रिय राख्दै आएका छन् । कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, कलाकार कृष्ण मल्ल, मदनदाश श्रेष्ठ, अभिनेत्री रेजिना उप्रेती, हाँस्यकलाकार गोपाल ढकाल ‘छन्दे’, लोक तथा दोहोरी गायक चन्द्र शर्मालगायत थुप्रै कलाकर्मीको समेत सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ