arrow

वाङ्मय शताब्दी पुरुषको तस्वीराङ्कित हुलाक टिकट १० लाख थान छापियो

logo
प्रकाशित २०७७ माघ २० मंगलबार
satyamohan-joshi.jpg

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीराङ्कित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेकी छन् । फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयद्वारा मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपतिले जोशीको तस्वीराङ्कित हुलाक टिकटमा टाँचा प्रदान गरेकी हुन् । जोशीको तस्वीराङ्कित रु १० को हुलाक टिकट १० लाख थान छापिएको हुलाक टिकट व्यवस्थापन कार्यालयले जनाएको छ ।

गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शताब्दी पुरुष  जोशीको तस्वीराङ्कित छपाइ भइआएको हुलाक टिकट प्रकाशन गर्न स्वीकृत दिने निर्णय गरेको थियो । गत चैत ९ गतेको मन्त्रिपरिषद् बैठकले सन् २०२० को फिलाटेलिक कार्यक्रम स्वीकृत गर्दै हुलाक टिकट प्रकाशन गर्ने निर्णय गरेको थियो ।

जोशीको जन्म १९७७ वैशाख ३० गते ललितपुरको इखुम्बहालमा भएको थियो । कला, संस्कृति र साहित्यका धनी  जोशीले २०७४ वैशाख २१ गते वाङ्मय शताब्दी पुरुषको उपमा पाएका थिए । उनले मदन पुरस्कार, सुप्रबल गोर्खा दक्षिणबाहु, त्रिशक्तिपट्ट, आदिकवि भानुभक्त पुरस्कार, उज्ज्वल कीर्तिमान राष्ट्रदीपलगायत  पदक र पुरस्कार प्राप्त गरेका छन् । जोशीलाई काठमाडौँ विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ । उनको सम्मानमा नेपाल राष्ट्र बैङ्क, मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाबाट उनको तस्वीराङ्कित चाँदीको सिक्का निष्काशन गरिएको छ । दुई हजार पाँच सयका २५ हजार थान, एक हजारका २५ हजार थान र एक सयको १० हजार थान दरको सिक्का निष्काशन गरिएका छन् ।

सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हुलाक टिकट प्रकाशनको इतिहासमा आफ्नो जीवनकालमै हुलाक टिकट प्रकाशन हुने सामाजिक व्यक्तित्वका रुपमा पहिलो व्यक्ति जोशी रहेको बताए । “वाङ्मय शताब्दी पुरुष जोशीको मंगलबारदेखि जीवनको नयाँ इतिहास शुरु भएको छ, यो इतिहासको दस्तावेजका रुपमा रहेको छ”, नेपाल सरकारका प्रवक्ता गुरुङले भने, “एक जुगमा एक दिन एक पटक आउँछ भने जस्तै शताब्दी पुरुषको जीवनकालमा एक दिन आएको छ, त्यही एक हो जुन दिन राज्यले सम्मान प्रकट गरेको छ ।”

कला, संस्कृति र साहित्यको ज्ञाता जोशीलाई राज्यले बुझेको जनाउँदै मन्त्री गुरुङले उन यस शताब्दीका हरेक दिनको साक्षीका रुपमा रहनुभएको बताए । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलगायतको उपस्थिति थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ