arrow

मन्त्री भट्टको प्रश्न-'जनता माझ जान्छु भन्दा अरुको टाउको दुखाइ किन ?'

logo
प्रकाशित २०७७ माघ २६ सोमबार
lekhraj_bhatta.jpeg

धनगढी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार भएको बताएका छन्।  

प्रेस सङ्गठन नेपाल, सुदूरपश्चिम प्रदेशले सोमबार आयोजना गरेको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश इञ्चार्ज भट्टले नेपालको संविधानमा प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने भनी उल्लेख भएका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको सिफारिश गरेको बताए ।

 उनले प्रश्न गर्दै भने, “संविधानमा प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने स्पष्ट लेखिएको छ, सरकारले काम गर्न नसक्ने स्थिति आएपछि र देशमा समस्या आइपरेमा ताजा जनादेशका लागि जनता माझ जान्छु भन्दा अरुको टाउको दुखाइ किन ?” उनले प्रधानमन्त्रीको कुर्सी नपाउँदा केही नेतालाई निद्रा लाग्न छोडेको टिप्पणी गरे ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले पद नपाएर केही नेता नेकपाबाट चोइटिएर गए पनि देशभर पुनःगठन गरेर पार्टीमा नयाँ गति दिन सकिने बताए ।

नेकपाका प्रदेश अध्यक्ष कर्ण थापाले नेकपाको मूल पार्टी प्रधानमन्त्री ओलीले नेतृत्व गरेको पार्टी नै रहेकाले कार्यकर्तालाई कुनै भ्रम नराख्न आग्रह गरे । नेकपाका केन्द्रीय सदस्य एवं प्रेस संगठनका इञ्चार्ज राजेन्द्र गौतमले नयाँ राजनीतिक परिस्थितिलाई मनन गरेर ताजा जनादेशका पक्षमा जनपक्षीय पत्रकारिता गर्न आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ