arrow

उद्यमशीलताको विकास र विस्तारको वातावरण निर्माण गर्न राज्य–निजी क्षेत्रबिच साझेदारी आवश्यक छ : वरिष्ठ उपाध्यक्ष ढकाल

logo
प्रकाशित २०७७ माघ २८ बुधबार
fncci-mechi-chandra-dhakal.jpg

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकभित्र उद्यमशीलताको विकास र विस्तारको वातावरण निर्माण गर्न राज्य तथा निजी क्षेत्रबिच सहकार्य र साझेदारीको आवश्यकता रहेको बताएका छन्।

मङ्गलवार मेची उद्योग वाणिज्य सङ्घको १७औँ वार्षिक साधारण सभालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यदि राज्यले व्यावसायिक सहजीकरण गर्ने, लगानीको वातावरण बनाइदिने हो भने र निजी क्षेत्रलाई बिना लगानीको पार्टनरको रूपमा स्वीकार गर्ने हो भने मुलुकको विकास तथा सम्मृद्धिको सपनालाई साकार पार्न धेरै समय नलाग्ने बताएका छन्।

मलेसियामा भएको द्रुत आर्थिक विकासको उदाहरण प्रस्तुत गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले राज्य र निजी क्षेत्रबिच सहकार्य हुन सकेमा नेपालमा पनि हामीले चाहेको आर्थिक विकास र सम्मृद्धिको सम्भावना रहेको बताए।

“केही वर्ष अगाडि मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मद नेपाल आएका थिए। त्यस बेला मैले उनलाई काठमाडौँका केही स्थानहरू घुमाउने अवसर पाएको थिए। त्यस बेला मैले उनलाई सोधेको थिए, 'प्रधानमन्त्रीज्यू, यति छिटो समयभित्र मलेसियाले गरेको विकासको रहस्य के हो भनेर। उहाँले भनेको मैले अहिले पनि निकै सम्झिइरहेको छु। उहाँले भन्नुभएको थियो राज्यले निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण मात्र गर्दियो भने विकास गर्न समय लाग्दैन,” उनले भने।

वास्तवमै यदि राज्यले निजी क्षेत्रलाई सहजीकरण गरेर लगानीको वातावरण बनाउन सक्यो भने राज्यले त्यहाँबाट हुने रोजगारी सृजना, कर तथा राजश्व सङ्कलन तथा अन्य भौतिक पूर्वाधारको निर्माणबाट पर्याप्त फाइदा लिन सक्छ, उनले भने।

अहिले नेपालमा पनि धेरै स्थानीय तहमा लगानीको लागि एक प्रकारको प्रतिस्पर्धा हुने गरेको बताउँदै उनले रोजगारी सृजना गर्न, राजश्व सङ्कलन गर्न तथा भौतिक पूर्वाधार निर्माणमा राज्य–निजी क्षेत्र साझेदारी गरेर अगाडि बढ्दा धेरै कुराहरू गर्न सकिने बताए।

निजी क्षेत्रलाई राज्य तथा यसका निकायहरूबाट हेर्ने परम्परागत दृष्टिकोणले समस्या पारेको बताउँदै उनले निजी क्षेत्र व्यवसायिकमात्र हुन्, नाफाका लागि मात्र काम गर्छन्, सामाजिक उत्तरदायित्व लिँदैनन् भन्ने परम्परागत धारणालाई परिवर्तन गर्नुपर्ने बताएका छन्।

उनले महासङ्घको सशक्तता र सुधार, जिल्ला नगर उद्योग वाणिज्य सङ्घहरूलाई सक्षम र सबलीकरण गर्ने, नेपालमा उद्योगमैत्री वातावरणको निर्माण, व्यवसायीहरूका हकहितका विषयवस्तुहरू, नीति निर्माणमा गरिने पैरवी, हालको कोभिड महामारीका कारण नेपालको उद्योग व्यवसाय क्षेत्रले भाग्नुपरेका समस्या र त्यसको समाधान, तथा नेपालमा वैदेशिक लगानी भित्र्याउने वातावरणको निर्माण जस्ता विषयमा आफू निरन्तर क्रियाशील रहने बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ