arrow

एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुस् सुविधा

logo
प्रकाशित २०७७ माघ २८ बुधबार
telecome.JPG

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको आवश्यकताअनुसार एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनका लागि सुविधालाई अझ फराकिलो बनाएको बताएको छ । 

टेलिकमले विभिन्न संघ–संस्था, कार्यालय वा संगठित संस्थाहरु तथा व्यक्तिले एकै पटक धेरै मोबाइल नम्बरमा एउटै सन्देश (एसएमएस) पठाउनु पर्ने आवश्यकता हुनसक्ने भन्दै यसलाई सम्बोधन गर्न एसएमएसमा आधारित सेवा उपलब्ध गराइरहेको बताएको छ । 

टेलिकमले ग्राहकहरुको आवश्यकता अनुसार एसएमएस अलर्ट, एसएमएस सर्टकोड र वेब–बेस्ड बल्क एसएमएस गरी तीन प्रकारका एसएमएसमा आधारित सेवाहरु उपलब्ध गराइरहेको जानकारी दिएको छ । 

 ती यसप्रकार छन्–
१, एसएमएस अलर्टः
विभिन्न मोबाइल नम्बरमा कुनै विषयवस्तुका बारेमा जानकारी दिनुपर्ने र अर्कोतिरबाट कुनै उत्तरको अपेक्षा नहुने (वन वे) अवस्थामा एसएमएस अलर्टको प्रयोग गर्न सकिन्छ । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको आर्थिक कारोबारको बारेमा जानकारी दिन, पेमेन्ट पक्का भएको जानकारी दिन, आफ्नो व्यवसायको जानकारी दिन र व्यापार प्रवद्र्धन गर्न उपयुक्त हुने सन्देश पठाउनका लागि समेत एसएमएस अलर्टको प्रयोग गर्न सकिन्छ । 

कुनै सेवाप्रदायकले यो सेवा लिनुभन्दा पहिले यसको प्राविधिक परीक्षण गर्नुपर्छ । सम्बन्धित सेवा प्रदायकलाई यसका लागि ‘अलर्ट नेम’ प्रदान गरिन्छ । त्यही ‘अलर्ट नेम’बाटै संघ–संस्थाहरुले मोबाइलमा एसएमएस पठाउन सक्दछन् । 

२, एसएमएस सर्टकोडः

एसएमएस सर्टकोड प्रयोग गरी दोहोरो अन्तरक्रिया गर्न सकिन्छ । कुनै मोबाइलमा सर्टकोडमार्फत केही एसएमएस आयो भने एसएमएस पाउने ग्राहकले पनि सो जानकारीमूलक सामग्रीको बारेमा प्रतिक्रिया पठाउन वा थप जानकारीका लागि अनुरोध गर्न सक्छन् । विभिन्न परीक्षाका नतिजा थाहा पाउन, विभिन्न विषयवस्तु बारेमा पोलिङ गर्न, भोटिङ गर्न, क्विज सर्भिस सञ्चालन गर्न र आफ्नो व्यवसायको बजारीकरण वा प्रवद्र्धन गर्न समेत यो सेवा उपयोगी हुन्छ । 

यो सेवा सञ्चालन पूर्व प्राविधिक परीक्षण गर्नुपर्छ र ५ अंकको सर्टकोडका लागि नेपाल दूरसञ्चार प्राधिकरणको पनि स्वीकृति लिनुपर्छ । यो सेवा सञ्चालन गर्ने ग्राहक वा सेवा प्रदायकलाई न्युमेरिक सर्टकोड अर्थात अंकमा आधारित सर्टकोड प्रदान गरिन्छ । अन्य व्यक्तिको मोबाइलमा एसएमएस जाँदा त्यही नम्बरबाटै गएको देखिन्छ । 

३, वेब–बेस्ड बल्क एसएमएस

वेबमा आधारित बल्क एसएमएस एक प्रकारको ब्रोडकास्ट सर्भिस हो । यसबाट उही सन्देश एकैपटक धेरै मोबाइल नम्बरमा पठाउन सकिन्छ । विद्यालय, कलेज, व्यापारिक प्रतिष्ठान, साना व्यवसायी वा अन्य कुनैपनि संस्थाले यसको प्रयोग गर्न सक्छन् । थोरै समयमा सहज तरिकाले सस्तो दरमा धेरै व्यक्तिलाई एकैपटकमा एसएमएस पठाउन पाउनु नै यसको मुख्य विशेषता हो । 

अतिरिक्त परीक्षण बिना छोटो समयमै यो सेवा उपलब्ध गराउन सकिन्छ । यसका लागि सेवा प्रदायकलाई संस्थाको मिल्दोजुल्दो नाम ११ क्यारेक्टरमा नबढाई प्रदान गरिन्छ र त्यही नामबाटै धेरै नम्बरमा एसएमएस पठाउन सकिन्छ । 

सुविधा लिने प्रक्रियाबारेमा टेलिकमले विज्ञप्ति जारी गरी एसएमएस अलर्ट र सर्टकोड सुविधा उपयोग गर्न चाहने संस्थाको आफ्नै एसएमएस एप्लिकेसन वा सिस्टम हुनु आवश्यक भएको बताउँदै वेब–बेस्ड बल्क एसएमएस पठाउन चाहने संस्थाका लागि टेलिकमले नै आवश्यक व्यवस्था मिलाइदिने हुनाले कुनै थप एप्लिकेसन वा सिस्टमको आवश्यकता नपर्ने बताएको छ ।  

एसएमएस अलर्ट, सर्टकोड सेवा र वेब–बेस्ड बल्क एसएमएस सेवा उपयोग गर्नका लागि औपचारिक रुपमा अनुरोध गरिएको एउटा पत्र तयार गरी सो पत्रका साथमा कम्पनी प्रोफाइल, प्राविधिक प्रोफाइल, सेवाको उद्देश्य, सम्भावित ग्राहक र ग्राहक आधार संलग्न गर्नुपर्ने पनि टेलिकमले जनाएको छ । 

त्यसैगरी कम्पनी दर्ता र कर कार्यालयमा दर्ता भएको कागजातको प्रतिलिपी समावेश गरी vas@ntc.net.np मा इमेलमार्फत पठाउन सकिने वा कम्पनीको नजिकको कार्यालयमा दर्ता गराउन सकिने जनाएको छ ।  

वेब–बेस्ड बल्क एसएमएस सेवाका हकमा नेपाल टेलिकमबाट स्वीकृति प्रदान भए पश्चात एसएमएस भोल्युम कोटाको आधारमा तोकिएको रकम बैंक खातामा बुझाएपछि टेलिकमले ग्राहकको युजर एकाउन्ट बनाएर ग्राहकलाई उपलब्ध गराउने र यसैको आधारमा ग्राहकले एसएमएस सेवा प्रदान गर्न सक्ने प्रवक्ता राजेश जोशीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यी सेवाहरुका बारेमा विस्तृत जानकारी नेपाल टेलिकमको वेबसाइट https://ntc.net.np/post/sms-based-vas-services मा उपलब्ध गरिएको जनाइएको छ । 



नयाँ