arrow

माधवनारायणका व्रतालु शेषनारायणमा

logo
प्रकाशित २०७७ माघ ३० शुक्रबार
madhavnarayan.jpg

काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि एक महिने माधवनारायण व्रत गरिरहेका व्रतालुले शुक्रबार बिहान दक्षिणकालीस्थित शेषनारायण मन्दिरमा पूजा आराधनासहित दर्शन गरेका छन् । सो अवसरमा माधवनारायणलाई शेषनारायणमुनिको सूर्यकुण्डमा स्नान गराइएको थियो ।

माधवनारायणलाई स्नान गराइसकेपछि सूर्यकुण्डबाट शेषनारायणसम्म व्रतालुले जल चढाउने प्राचीनकालदेखिको विधि रहेको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन माधवनारायणका व्रतालुले शेषनारायणमा पूजा आराधना गर्ने प्रचलन रहेको छ । शेषनारायणमा पूजा आराधनाका लागि माघकृष्ण औँसीकै बेलुकी बिहीबार व्रतालु त्यहाँ पुगेका थिए ।

माघशुक्ल प्रतिपदाका दिन शेषनारायण मन्दिरमा माधवनारायणलाई राखेर पूजा आराधना गरिन्छ । पूजा आराधना सकेर पैदल आई व्रतालुले दिउँसोको भोजन शङ्खमूल क्षेत्रमा गर्छन् । व्रतालु पैदल आए पनि सामान बोक्न भने २० वर्षदेखि यातायातको व्यवस्था हुन थालेको छ । माघशुक्ल प्रतिपदाको राति शङ्खमूलबाट पैदलयात्रा गरी साँखु गएर पूर्ववत् व्रत विधि गर्ने परम्परा छ ।

तीर्थयात्राका लागि व्रतालु माघकृष्ण चतुर्दशीका दिन शालीनदीबाट हिँडेका थिए । त्यस पशुपतिमा बास बसे । माधवनारायण व्रतालुलाई राख्न पशुपति क्षेत्रमा प्राचीनकालदेखि नै भवनको व्यवस्था गरिएको छ । त्यो भवनमा पराल ओछ्याएर व्रतालु सुत्छन् । दोस्रो शेषनारायणमा बास बसेपछि तेस्रो रात बास बस्न शालीनदी पुग्ने परम्परा छ ।

माघकृष्ण औँसीका दिन बिहान पशुपतिस्थित आर्यघाटमा स्नान, पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवं जयबागेश्वरीसम्म जल चढाउने विधि पूरा गरेपछि बिहीबार दिउँसोको भोजन व्रतालुले सानो गौचरणमा गरेको पत्रकार पवनलाल श्रेष्ठले बताउनुभयो ।  

नारायणहिटीमा माधवनारायणलाई राजतन्त्र रहुञ्जेल राजाले दर्शन गर्ने गरेकामा हाल माधवनारायणको कलश राष्ट्रपतिलाई दर्शन गराइन्छ । पशुपतिमा माधवनारायण व्रतालु आउने भएकाले माघकृष्ण चतुर्दशीको दिउँसोदेखि नै आर्यातीर्थसमेत भनिने आर्यघाटमा शव नजलाउने गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए । बिहीबार व्रतालुले पशुपति नछोडेसम्म आर्यघाटमा शव नजलाउने व्यवस्था मिलाइएको थियो ।

विगत वर्षमा करीब ४०० ले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण ४९ जनालाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षितसाथ राखिएको छ । यसपटक महिला ३५ र पुरुष १४ गरी ४९ जना व्रतमा सहभागी भई परम्परादेखि गरिँदै आएको माधवनारायण व्रतको संस्कृति संरक्षण गरिरहेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले बताए ।  

कोरोना महामारी भए पनि शालीनदीमा विगत वर्षमा जस्तै दर्शनार्थीको भीड लाग्ने गरेको छ । कोरोनापछि सबै क्षेत्र खुला भइसकेकाले दर्शनार्थी बिनाहिच्किचाहट शालीनदीमा आइरहेका छन् । शङ्खरापुर नगरपालिकाले माधवनारायण मेला नचलाउने भने पनि देशका विभिन्न भागबाट स्वतःस्फूर्तरुपमा भक्तजन शाली नदीमा आएको समितिले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ