arrow

टेलिकमको च्याटबोट सेवामार्फत हरेक जिज्ञासाको समाधान 

logo
प्रकाशित २०७७ फागुन ४ मंगलबार
nepal-telecom.png

काठमाडौं । नेपाल टेलिकमले विभिन्न सेवाहरु तथा सेवा प्रदान गर्ने विधिहरुको बारेमा कम्पनीको वेबसाइटबाटै च्याटमार्फत स्वचालित रुपमा जानकारी प्राप्त गर्न सकिने गरी एनटी च्याटबोट सेवा शुभारम्भ गरेको छ ।  

कम्पनीको वेबसाइट (www.ntc.net.np) खोल्नासाथ शुरु पेजमा एनटी च्याटबोटको सानो स्क्रिन स्वचालित रुपमा देखा पर्ने र त्यहीँबाटै सेवा दिइने टेलिकमले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ । 

त्यहाँ निड हेल्प ? वेलकम टु एनटी च्याटबोट भनेर लेखिएको छ । यसमा कम्पनीका विभिन्न सेवाहरुको बारेमा जानकारी लिनका लागि उपलब्ध विकल्पको छनौट गर्न तथा नेपाली–अंग्रेजी भाषा छनौट गरी प्रश्न लेखेर जिज्ञासा राख्न सकिने छ  । 

कम्पनीका विभिन्न सेवाहरु फोरजी, एफटीटीएच, जीएसएम प्रिपेड, जीएसएम पोस्टपेड, ल्यान्डलाइन, एनटी एप, अनलाइन रिचार्ज, अफर, प्याकेज आदिका बारेमा जानकारी प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ । त्यसैगरी विभिन्न सेवाहरुका बारेमा फिडब्याक दिन र सिकायत–गुनासो समेत गर्न सकिन्छ । सिकायत वा गुनासोको सम्बोधन च्याटबोटमार्फत स्वचालित रुपमा हुन नसकेमा कम्पनीको सम्बन्धित विभाग–पदाधिकारीले अध्ययन गरी गुनासो व्यवस्थापन गरिने जनाइएको छ । 

एनटी च्याटबोट सेवाले वेबसाइटमा राखिएका विवरणका आधारमा स्वचालित रुपमा जानकारी उपलब्ध गराउने बताइएको छ । कम्पनीका सेवाग्राहीले कुनै सेवाका बारेमा थप जानकारी लिनुपरेमा एनटी च्याटबोट बाहेक कम्पनीका सामाजिक सञ्जालहरु फेसबुक, ट्वीटर कम्युनिटी र इन्स्टाग्राम प्रयोग गर्न सकिने पनि टेलिकमले जनाएको छ । ग्राहकहरुले कम्पनीको ‘नेपाल टेलिकम एप’ बाट पनि सेवा तथा सुविधाहरुका बारेमा विभिन्न जानकारी प्राप्त गर्न सक्नेछन् । 

गत माघ २२ गते कम्पनीको १७औं वार्षिकोत्सवको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले एनटी च्याटबोट सेवाको शुभारम्भ गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ