arrow

अपराजित रहँदै एपीएफ महिला लिग फुटबल च्याम्पियन

logo
प्रकाशित २०७७ फागुन ७ शुक्रबार
apf-national-league.JPG

काठमाडौं। विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले अपराजित रहँदै राष्ट्रिय महिला लिग फुटबलको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा एपीएफ आज नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा एपीएफका लागि सरु लिम्बुले दुई तथा अनिता केसीले एक गोल गरिन् । खेलको ४५औं मिनेटमा लिम्बुले गोल गर्दै एपीएफलाई अग्रता दिलाइन् । यस्तै खेलको ८६औँ मिनेटमा केसीले गोल गर्दै एपीएफलाई २–० गोलको अग्रता दिलाइन् । खेलको इन्जुरी समयमा लिम्बुले नै व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३–० गोल अन्तरले उपाधि जिताइन् । 

एपीएफले लगातार तेस्रो पटक लिगको उपाधि जितेको हो । एपीएफले १२ खेलमा ३६ अङ्क जोड्यो । आर्मीले १२ खेलमा २६ अङ्क जोड्यो । उपाधिसँगै एपीएफले रु १५ लाख तथा उपविजेता बनेको आर्मीले रु आठ लाख पुरस्कार प्राप्त गरेको छ । 

लिगमा तेस्रो भएको नेपाल पुलिस क्लबले रु पाँच लाख तथा चौथो भएको स्याङ्जाको वालिङ नगरपालिकाले रु तीन लाख पुरस्कार प्राप्त गरेको छ । यस्तै प्रतियोगिताको रु एक लाख ५० हजारसहित फेयर प्ले टिमबाट चन्द्रपुर नगरपालिका पुरस्कृत भयो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपीएफकी सरु लिम्बु घोषित भइन् । उनले पुरस्कारस्वरुप एक थान स्कुटर प्राप्त गरिन्। 

यस्तै प्रतियोगिताको उत्कृष्ट फरवार्डको उपाधि एपीएफकै सावित्रा भण्डारी, उत्कृष्ट गोलकिपर नेपाल पुलिस क्लबकी उषा नाथ, उत्कृष्ट डिफेन्डर पुलिसकै अम्रिता जैशी, उत्कृष्ट मिडफिल्डर आर्मी फुटबल क्लबकी बिमला चौधरी तथा उत्कृष्ट प्रशिक्षक एपीएफकी भगवती थापा घोषित भए । उनीहरुलाई जनही रु ५० हजार पुरस्कार प्रदान गरिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ