arrow

प्रवीण मृत्यु प्रकरण : सरकारी वकिलको कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङ घेराउ

logo
विवेक मिश्र,
प्रकाशित २०७७ फागुन ११ मंगलबार
prabin-bastola-hatya1.jpg

मोरङ । मोरङको उर्लाबारीका प्रवीण बास्तोलाको शङ्कास्पद मृत्यु प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै आफन्त र स्थानीयवासीले जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङ घेराउ गरेका छन् ।

आइतबार र सोमबार इलाका प्रहरी कार्यालय उर्लाबारीमा प्रदर्शन गरेका आफन्त र स्थानीयले मङ्गलवार विराटनगर आएर जिल्ला सरकारी वकिलको कार्यालयमा दबाब दिएका हुन् ।

प्रहरीले हत्यारामा संलग्नलाई उन्मुक्ति दिन मिसिलमा मृतकको फोटो परिवर्तन गरेको आफन्तहरूको आरोप छ । गत पुस ५ गते मृत फेला परेका उर्लाबारी-५ का ३१ वर्षीय बास्तोलाको हत्या भएको दाबी आफन्तको छ ।

प्रहरीका अनुसार अघिल्लो रात साथीभाइसँग होटेलमा खानपिन गरेर उर्लाबारी-६ का रमेश गिरीको घरमा बसेका उनको भोलिपल्ट बिहान मृत शव भेटिएको थियो । ओछ्यानमै बेहास अवस्थामा भेटिएको भन्दै उनका साथीले उपचारका लागि गोदावरी अस्पताल लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनाको अनुसन्धानपछि प्रहरीले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउँदा प्रमाण नपुग्ने भन्दै सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको थियो । मिसिल बुझाउँदा मृतकको तीन वटा फोटो राखेकोमा एउटा फोटो अरू नै व्यक्तिको रहेको खुलेको छ ।

फोटो परिवर्तन गरेर अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएका कारण वकिलको कार्यालयले मुद्दा नचलाएको आफन्तको आरोप छ । घटनाको अनुसन्धानका लागि प्रहरीले मृतककै साथी उर्लाबारी-६ का ३१ वर्षीय राजेश रणपहेली, दीपेश पौडेल र शिवा भनिने मेहरमान दर्जीमाथि अनुसन्धान गरेको थियो ।

माघ २ गते मुद्दा चलाउन प्रमण नपुग्ने भन्दै सरकारी वकिलको कार्यालयको निर्देशनपछि पक्राउ परेका रणपहेली हाजिरी जमानीमा छुटेका थिए । मृतककी बहिनी सदीक्षाले इलाका प्रहरी कार्यालय उर्लाबारी पुगेर मिसिल हेर्दा मृतकको फोटो नै परिवर्तन भएको भेटेपछि आफन्त र स्थानीय प्रहरीको भूमिकाप्रति आक्रोशित हुँदै आन्दोलनमा छन् ।

प्रहरीले भुलवश फोटो परिवर्तन भएको बताएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी लोक दर्शन थापाले मिस्कटेकले एउटा गलत फोटो परेको बताए ।

आफन्तले अनुसन्धानमा चित्त नबुझाएपछि जिल्ला प्रहरी कार्यालय मोरङले छानविन समिति गठन गरेको जनाएको छ। प्रहरी नायब उपरीक्षक मानबहादुर राईको नेतृत्वमा प्रहरीले अनुसन्धानबारे छानबिन गर्न समिति गठन गरेको हो। छानबिन समितिलाई ७ दिनको समय दिइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ