arrow

महासङ्घको सूचना तथा सञ्चार प्रविधि समिति विस्तार

आइसिटीको विकासका लागि प्राथमिकताहरू तय गर्न समितिलाई अध्यक्ष गोल्छाको सुझाव

logo
प्रकाशित २०७७ फागुन १२ बुधबार
fncci-ict-committee.jpg

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समितिका सदस्य मंगेशलाल श्रेष्ठको सभापतित्वमा गठित सूचना तथा सञ्चार प्रविधि विकास समिति विस्तार भएको छ। समितिका सह–सभापतिहरूमा क्यान महासङ्घ नेपालका अध्यक्ष नवराज कुँवर, नेपाल केवल टेलिभिजन महासङ्घका अध्यक्ष सुधीर पराजुली, नेपाल विज्ञापन सङ्घका अध्यक्ष सोम प्रसाद धिताल र नेपाल सरकारका पूर्व सहसचिव वीरेन्द्र मिश्र छन्।

समितिका सदस्यहरूमा नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँका दीपक भण्डारी, लोटस होल्डिङसका प्रमुख कार्यकारी निर्देशक अजित विक्रम शाह, ठमेल डटकमका संस्थापक बालकृष्ण जोशी र नेपाली युवा उद्यमी मञ्चकी सुरक्षा अधिकारी छिन्। त्यसै गरी समितिको सल्लाहकारहरूमा सूचना प्रविधि उच्चस्तरीय आयोगका पूर्व उपाध्यक्ष मनोहर भट्टराई, फयूजमेशिनका प्रमुख कार्यकारी अधिकृत डा. समीर मास्के, वाइज्याक सोलुसनका प्रमुख कार्यकारी अधिकृत प्राध्यापक सुरेश मानन्धर र गोल्छा अर्गनाइजेशनका सञ्जय गोल्छा छन्।

समिति विस्तार कार्यक्रमलाई संशोधन गर्दै महासङ्घका अध्यक्ष शेखर गोल्छाले महासङ्घले तयार गरिरहेको भिजन पेपरमा पनि सूचना तथा प्रविधिलाई उच्च प्राथमिकता दिइएकोले सो दस्ताबेजलाई बढी उपयोगी बनाउन समितिबाट महत्त्वपूर्ण सुझावको अपेक्षा गरेको बताए। अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिन सक्ने यो क्षेत्रको विकासका लागि के गर्नुपर्छ त्यसका प्राथमिकताहरू तय गर्न समितिलाई सुझाव दिए।

सोही प्राथमिकताहरूलाई महासङ्घको भिजन पेपरमा पनि समावेश गरिनेछ, अध्यक्ष गोल्छाले भने, 'समितिले तयार गरेको दस्ताबेज तथ्य र अनुसन्धानमा आधारित र कार्यान्वयन गर्ने खालको होस्।'

अध्यक्ष गोल्छाले जुनसुकै मुलुकको आर्थिक विकासका लागि सूचना तथा प्रविधि क्षेत्रको योगदान निकै महत्त्वपूर्ण हुने बताउँदै यस क्षेत्रमा पर्याप्त रोजगारी सिर्जना गर्न सकिने भएकाले समिति मार्फत मुलुकभित्र सूचना तथा प्रविधि क्षेत्रको विकासमा महासङ्घले महत्त्वपूर्ण योगदान दिन चाहेको स्पष्ट पारे। अध्यक्ष गोल्छाले भने, ' आइसिटीको विकासमा सरकारको पहल सुस्त देखिएको, सूचना प्रविधि पार्कको सही अर्थमा उपयोग हुन नसकेको गुनासो गरे।

कोभिड पश्चात् सूचना प्रविधिको प्रयोग अझ बढ्न गएकाले अर्थतन्त्रसँग जोडिन सक्ने दूर दराजका किसान, आफ्नै पौरखमा रमाइरहेका ससाना उद्यमी व्यवसायीहरू र उनीहरूका उत्पादनलाई सिधै बजारसम्म जोड्ने प्रविधिको प्रयोग बढाउनु पर्ने सुझाव अध्यक्षको थियो। यसो हुन सक्यो भने त्यस्तो वर्ग अर्थतन्त्रको मूल प्रवाहमा समाहित हुन सक्छ,  'सूचना प्रविधिको विकासकै कारण कोभिड महामारीमा पनि आपूर्तिमा कुनै समस्या भएन, घर घरमा सामान पुग्ने वातावरण बन्यो,' गोल्छाले भने।

तत्पश्चात् समितिका सभापति श्रेष्ठको अध्यक्षतामा बसेको पहिलो बैठकले इ—कमर्सको विस्तारको साथै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रूपमा आइसिटीका सम्भावनाहरूको पहिचान गरी सुझाव तयार गर्ने र आइसिटी विकास एवं विस्तार सम्बन्धी नीति, ऐन, नियम एवं सरकारी निर्णयको पुनरावलोकन गरी गर्नु पर्ने सुधार सम्बन्धमा राय सुझाव तयार गर्ने निर्णय समेत गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ