arrow

माधवनारायणका व्रतालुद्वारा चाँगुनारायणमा पूजा आराधना

logo
प्रकाशित २०७७ फागुन १२ बुधबार
madhavnarayan.jpg

काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका व्रतालुले आज चाँगुनारायण मन्दिरमा स्नानसहित पूजा आराधना गरेका छन् ।माधवनारायणका व्रतालु तेस्रो तीर्थयात्राका लागि मङ्गलबार राति चाँगुनारायण पुगेका थिए । व्रतालुले आज बिहान चाँगुनारायणस्थित सादहमा स्नान गरी चाँगुनारायणको मूल मन्दिरमा माधवनारायणलाई राखी पूजा आराधना गरेका थिए ।

 माघ शुक्ल पूर्णिमासम्म चल्ने एक महिना लामो माधवनारायणको व्रतका क्रममा यो तेस्रो तीर्थयात्रा हो । यसअघि पशुपति र दक्षिणकालीको शेषनारायण एवं काभ्रेपलाञ्चोकको पनौतीमा व्रतालुले तीर्थयात्रा सम्पन्न गरेका थिए । माधवनारायणको चाँगुनारायणमा हुने तीर्थयात्रा माघ शुक्ल एकादशीका दिन राति हुने गरेको छ । जसका लागि व्रतालु मङ्गलबार राति १० बजेपछि चाँगुनारायण पुगेका हुन् ।

माघ शुक्ल द्वादशीका दिन बिहान सादहमा स्नान गरी चाँगुनारायणमा माधवनारायणको रथलाई राखेर पूजा आराधना गरेपछि साँखु गई व्रतालुले आआफ्नै घरघरमा भोजन गरेका छन् । व्रतालु चाँगुनारायणबाट आज साँखु फर्किएर घरघरमा भोजन गरिसकेपछि साँखुमा भीमसेन जात्राको तयारी गरिएको छ । जात्रा साँखु बजार घुमाउने प्रचलन छ ।

विगत वर्षमा करिब ४०० ले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण ४९ लाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षित साथ राखिएको छ । महिला ३५ र पुरुष १४ गरी ४९ जना यसपटक व्रतमा सहभागी भई परम्परादेखि गरिँदै आएको माधवनारायण व्रतको संस्कृति संरक्षण गरिरहेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले बताए ।  

 कोरोना महामारी भए पनि शालीनदीमा विगत वर्षमाजस्तै दर्शनार्थीको भीड लाग्ने गरेको छ । कोरोनापछि सबै क्षेत्र खुला भइसकेकाले दर्शनार्थी बिना हिच्किचाहट शालीनदीमा आइरहेका छन् । शङ्खरापुर नगरपालिकाले माधवनारायण मेला नचलाउने भने पनि देशका विभिन्न भागबाट स्वतःस्फूर्तरुपमा भक्तजन शालीनदीमा आएको समितिले जनाएको छ ।

माधवनारायण मेलामा विगत वर्षको भन्दा पनि बढी भक्तजनको भीड लागेको छ । माधवनारायण मन्दिर छिर्न चाहने भक्तजनलाई निःशुल्क स्यानिटाइजर र मास्क वितरण गरिएको छ । अन्यत्र आउने भक्तजनलाई भने मास्क र स्यानिटाइजर प्रयोग गर्न माइकिङ गरिएको छ । माधवनारायण मेलाले ऐतिहासिक, सांस्कृतिक र धार्मिक शहर साँखुमा चहलपहल बढेको छ ।

साँखु एवं शालीनदी आउने सार्वजनिक यातायातमा भीड छ । भक्तजन बढी आउने भएपछि यातायातमा दूरी कायम हुने अवस्था छैन । यात्रु कोचाकोच गरेर यात्रा गरिरहेका छन् । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुस्थित शालीनदीमा माधवनारायण व्रत हुने गरेको छ । शालीनदी मेला लाग्ने यो समयमा देशका विभिन्न स्थानका साथै विदेशबाट समेत श्रद्धालु भक्तजन साँखु आउने गरेका छन् ।

यस वर्ष माघ शुक्ल पूर्णिमाका दिन फागुन १५ गतेसम्म शालीनदीमा माधवनारायण व्रत हुनेछ । माधवनारायण मेला पनि त्यसै दिनसम्मे चल्ने समितिले जनाएको छ । कोरोना महामारीका बीच पनि उल्लेख्य दर्शनार्थी शालीनदी आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ