arrow

निजगढ युवा क्लव ‘ए’ले जित्यो तेस्रो निजगढ मेयर कपको उपाधि

logo
नवराज चौलागाईं
प्रकाशित २०७७ फागुन १६ आइतबार
mayercupp.jpg

निजगढ । तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगिताको उपाधि निजगढ युवा क्लव ‘ए’ले जितेको छ ।

आइतबार सम्पन्न फाइनलमा योङ्गस्टार युवा क्लवलाई टाईब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै निजगढ युवा क्लवले तेस्रो संस्करणको निजगढ मेयर कप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएकोहो ।

निर्धारित समयमा दुवै टिमका खेलाडीबाट गोलकालागि थुप्रै प्रयास भएपनि गोल हुन नसकेपछि खेल टाईब्रेक्ररमा धकेलिएको थियो। उपाधि बिजेता निजगढ युवा क्लव ए ले ट्रफी सहित एक लाख रुपैंया प्राप्त गरेको छ ।

उपविजेता योङ्गस्टार युवा क्लवले ४५ हजार रुपैंया प्राप्त गरेको छ । खेलको म्यान अफ द म्याच निजगढ युवा क्लव ए का गोलरक्षक रोशन धामी भए ।

विधागत रुपमा प्रतियोगिताको उत्कृष्ट डिफेन्स योङ्गस्टार युवा क्लवका सुनिल लामा भए भने उत्कृष्ट गोलरक्षक निजगढ युवा क्लव ए का रोशन धामी भए ।

त्यसैगरी निजगढ युवा क्लव ए का कप्तान राजकिशोर धामी प्रतियोगिताका उत्कृष्ट मिडफिल्डर भए भने प्रतियोगिताका उत्कृष्ट खेलाडी योङ्गस्टार युवा क्लवका अरुण लामा भए ।

प्रतियोगिताको फियर प्ले अवार्ड रतनपुर युनाईटेड युथ क्लवले हात पार्यो भने सर्वाधिक गोलकर्ता निजगढ युवा क्लव ए का समिर तामाङ (९ गोल) भए । विधागत रुपमा उत्कृष्ट खेलाडीहरुले ट्रफी हात पारे ।

निजगढ युवा क्लवद्वारा आयोजित प्रतियोगितामा निजगढ नगरपालिकाका १६ वटा क्लवहरुले प्रतिस्पर्धा गरेका थिए । यसअघि कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्नुहुँदै निजगढका मेयर सुरेश कुमार खनालले निजगढमा फुटबल खेलको बिकास गर्दै खेलाडी उत्पादन गर्न नगरपालिकाले ग्रास रुट फुटबललाई प्राथमिकता दिने बताए ।

मेयर खनालले मेयर कप फुटबल खेलाडी उत्पादन र पहिचान गर्ने महत्वपूर्ण माध्यम भएको जनाए । स्थानीय खेलाडीहरुलाई नियमित प्रशिक्षणको व्यवस्थाका लागी नगरपालिकाले आवश्यक प्रक्रिया अघि बढाइरहेको मेयर खनालले जनाए ।

समापन समारोहलाई राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव युवराज लामा,नेपाल तेक्वान्दो संघ प्रदेश २ का अध्यक्ष पेमासिद्धि लामा,अखिल नेपाल फुटबल संघ एन्फा प्रदेश २ का अध्यक्ष नेपाल कार्कीले सम्बोधन गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ