arrow

प्रचण्ड-नेपाल फेरि निर्वाचन आयोग जाने

'आयोग कानुनी रूपमा अघि बढ्न पछि हट्दै' 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ फागुन १७ सोमबार
election-commission-nepal.jpg

काठमाडौं। निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवादबाट पन्छिन अनेक प्रयत्न गरिरहेका बेला फेरी प्रचण्ड-नेपाल समूह त्यही मुद्दासहित आयोग जाने तयारी गरेका छन् ।पहिलो र दोस्रो पटक आयोग समक्ष आधिकारिकता माग दाबी गर्दै बुझाएको पत्रलाई आयोगले बेवास्ता गरेपछि नेकपाका प्रचण्ड-नेपाल समूह सोही मुद्दालाई अघि सारेर फेरी निर्वाचन आयोग जाने तयारी गरेका हुन् ।

सो समूहले आयोगमा नेकपाको आधिकारिकता माग दाबी गर्दै पहिलो पटक ७ पुसमा र पछिल्लो पटक २० माघमा बुझाएको पत्रलाई आयोगले बेवास्ता गरेको भनेको छ । सोही विषयलाई लिएर उनीहरू आयोग नेतृत्वसँग रुष्ट रहँदै आइरहेका छन् ।

सो समूहको सोमबार बसेको सचिवालय बैठकले आयोगले आधिकारिकता माग दाबी बारे कुनै निर्णय नगरेको र बेवास्ता गरेको भन्दै पुनः अर्को पत्रसहित आयोग जाने निर्णय गरेको हो ।

नेकपा वरिष्ठ नेता झलनाथ खनालले निर्वाचन आयोगले बहुमत पक्षलाई आधिकारिकता दिन आनाकानी गरेपछि केन्द्रीय सदस्यसहित आयोग जाने तयारी भएको जानकारी दिएका हुन् । सो समूहले बुधवार पार्टीको केन्द्रीय समिति बैठकसमेत बोलाइसकेको छ भने बैठकमा नागरिकता र परिचयपत्र अनिवार्य ल्याउन भनिएको छ ।

‘निर्वाचन आयोगले बहुमत सदस्य भएको पक्षलाई आधिकारिकता दिन पटक पटक बेवास्ता गर्दै आयो, अब हामी केन्द्रीय सदस्यसहित अर्को पत्र लिएर आयोग जान्छौं,’ नेकपा वरिष्ठ नेता खनालले भने ।

नेकपा नेतृ शशी श्रेष्ठले नेकपा भित्रको विवाद मिलाउन निर्वाचन आयोग पटक पटक पन्छिंदै आएको बताइन् ।

‘आयोग कानुनी रूपमा अघि बढ्न पनि किन पछि हट्दै छ, बुझ्नै सकिएको छैन, अब हामी फेरी अर्को पत्र लिएर जान्छौं,’ नेतृ श्रेष्ठले भनिन् ।

आयोगले भने नेकपाको कुनै एक पक्षलाई खुसी बनाउने भन्दा सकभर विवादबाट पन्छिने नै रणनीति लिँदै आइरहेको छ ।

खास गरी संसद् विघटन भएको मिति ५ पुसपछि सत्तारुढ दल नेकपाको विवाद विघटनको नजिक नजिकबाट अघि बढ्दै आइरहेको  सन्दर्भमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपाल समूहका आआफ्नै गुटगत बैठक र एक अर्कामाथिका कारबाहीहरू धमाधम छरपस्ट नै भए । दुवै पक्षले निर्वाचन आयोगमा विवादका छिटाहरू पुर्‍याए । र एकले अर्कामाथिको कारबाही अद्यावधिक गरिदिन र आफ्ना पक्षलाई आधिकारिकता दिन भन्दै आयोगसँग हारगुहार नै गरे ।

तर निर्वाचन आयोगले दुवै पक्षको पत्रलाई पटक पटक हात थापेर निर्णयबाट भने पन्छँदै आयो । जुन उपाय आयोगले अहिले पनि अख्तियार गर्दै अघि बढेको देखिन्छ ।

आयोगले गत ११ माघमा दुवै पक्षको विवरण गलत रहेको र एक अर्कामाथिको कारबाहीलाई आयोगले नचिन्ने भन्दै निर्णय गर्‍यो । आयोगले सो निर्णयको जवाफ दुवै पक्षलाई १२ माघमा फर्कायो । र दुवै पक्षलाई वैधानिकता पुर्‍याएर मात्र आधिकारिकता दाबी गर्न भन्यो ।

त्यसको केही दिनपछि २० माघमा नै प्रचण्ड-नेपाल समूह फेरी पार्टी केन्द्रीय समितिको निर्णय लिएर आयोग गए । उनीहरूले पार्टीको आधिकारिकता दाबी गर्दै पत्र दर्ता गराए । तर निर्वाचन आयोगले अहिलेसम्म नेकपा विवादबारे कुनै प्रक्रिया अघि बढाएको छैन ।

संसद् पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको ११ फागुनको निर्णयपछि आयोगलाई तत्कालका लागि  विवाद मिलाउनु पर्ने सकसबाट केही हाइसन्चो भयो । फेरी अहिले आएर निर्वाचन आयोगलाई नेकपा विवादबारे निर्णय लिनै पर्ने दबाब बढिरहेको छ ।

संसद् पुनर्स्थापनापछि प्रधानमन्त्रीले राजीनामा नदिएको अवस्थामा आयोगले आधिकारिकता निर्णय गर्दा राजनीतिक सङ्कट केही कम हुने अपेक्षा राजनीतिक वृत्तमा छ । तर आयोग नेकपाको विवादमा अल्झिन चाहिरहेको छैन ।

‘आयोगले त दललाई एक होऊ भन्ने हो, मिलाउने हो, विभाजन गर्ने होइन, एक पक्षले फुटाइदेऊ भन्ने अर्कोले रोक भन्ने, अब जे हुन्छ संसद्बाटै होस् भन्नेमा हामी छौँ,’ निर्वाचन आयोगका एक पदाधिकारीले भने । ‘आयोगले हेर्ने भनेको कानुनी पाटो हो, विधान हेर्ने हो, आयोगले निर्णय गर्दा एक पक्ष खुसी र अर्को बेखुसी हुने अवस्था बन्छ,’ ती पदाधिकारी भन्छन् ।

अब फेरी सो समूहबाट तेस्रो पत्र आइहाले के गर्ने भन्नेमा आयोग अलमलमा छ । यस्तो अवस्थामा भने आयोगको साख जोगाउन पनि निर्णय गर्नै पर्ने दबाब आयोगमाथि बढ्ने आयोगका अधिकारीको भनाइ छ ।

राजनीतिक दल सम्बन्धी ऐनको दफा ४४ मा दलको नाम, छाप, झन्डा वा चिन्ह सम्बन्धी विवाद टुङ्गो लगाउन त्यस्तो आधिकारिकता दाबी गर्ने दलको केन्द्रीय समितिको ४० प्रतिशत सदस्यले विवाद प्रारम्भ भएको ३० दिनभित्र आयोग समक्ष आधार तथा प्रमाण सहित दाबी पेस गर्नुपर्ने व्यवस्था छ । तर यो मिति कुन दिनलाई मान्ने भन्नेमा आयोग अन्योलमा छ ।

नेकपा भित्रको विवाद भने ५ पुसमा सरकाले प्रतिनिधि सभा विघटन गरेपछि सतहमा आएको थियो । त्यसयता नेकपा भित्रका दुवै समूहले आआफ्नो भेला र कार्यक्रम गरी एक पक्षले अर्को पक्षलाई कारबाही गर्दै आइरहेका छन् ।

आयोगले औपचारिक रूपमा भने दलीय विवादका बारेमा आएका पत्रलाई विभिन्न शाखा महाशाखामार्फत प्रारम्भिक अध्ययन गर्ने काम भइरहेको, ती विभिन्न निकायले प्रारम्भिक अध्ययन पश्चात् सम्बन्धित जिम्मेवारी पाएका आयुक्तलाई राय पेस गर्ने र जिम्मेवारी पाएका आयुक्तेसमेत अध्ययन गरेपछि आयोगको बैठकमा सो बारे छलफल हुने बताइरहेको छ ।

आयोगले दलीय विवाद निरूपण गर्ने जिम्मेवारी आयुक्त रामप्रसाद भण्डारीलाई दिएको छ । उनलाई राजनीतिक दल, दल दर्ता, राजनीतिक दलको नियमन तथा विवाद निरूपणको जिम्मेवारी छ । दफा ४४ अनुसार एउटा पक्षबाट आधिकारिकताको दाबी पेस भएमा निर्वाचन आयोगले अर्को पक्षलाई दाबीबारे लिखित जवाफ पेस गर्न १५ दिनको सूचना दिनु दिनुपर्छ ।

१५ दिनभित्र जवाफ पेस गर्न नसकेमा सम्बन्धित पक्षको अनुरोधमा लिखित जवाफ पेस गर्न आयोगले पुनः १० दिन समय थप गर्न सक्नेछ ।

त्यसपछि आयोगले विवादका सम्बन्धित पक्षहरूलाई आपसी सहमति बमोजिम विवाद निरूपण गर्ने प्रयोजनको लागि आयोगमा उपस्थित हुन अवधि तोकी सूचना दिनेछ भने आवश्यक परे पेस गरिएका सदस्यहरूको नामावलीमा सनाखतको प्रक्रिया समेत हुनेछ । यी विभिन्न चरण पार गर्दा आयोगलाई ९० दिन सम्म लाग्न सक्ने आयोगका पदाधिकारीहरू बताउँछन् ।

यो पनि :

निर्वाचन आयोगलाई हाइसन्चो : नेकपा विवादमा फस्नै चाहँदैन आयोग



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ