arrow

रोनाल्डो स्तव्ध, युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरियो

logo
प्रकाशित २०७७ फागुन २६ बुधबार
ronaldo68.jpg

काठमाडौं । पोर्चुगिच खेलाडी क्रिष्टियानो रोनाल्डो सम्मिलित इटालियन क्लब युभेन्टस च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ । युभेन्टस लगातार दोस्रो सिजन अवे गोलको आधारमा च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएको हो ।

मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगको खेलमा रोनाल्डोकै देश पोर्चुगिज क्लब एफसी पोर्टोलाई ३–२ गोल अन्तरले पराजित गरे पनि समग्रमा नतिजा उल्टिएको हो । 

अतिरिक्त समयसम्म लम्बिएको खेलमा युभेन्टसले १० खेलाडीमा सिमित पोर्टोलाई हराएको थियो । तर, समग्रमा नतिजा ४–४ गोलको बराबरी हुँदा पोर्टो अवे गोलको आधारमा अन्तिम आठमा पुगेको हो । पहिलो लेगको खेलमा पोर्टोले युभेन्टसलाई २–१ गोल अन्तरले हराएको थियो ।

युभेन्टसको मैदानमा मंगलबार राति भएको खेलको १९ औं मिनेटमा सर्जियो अलिभिएराले पेनाल्टीमा गोल गर्दै पोर्टोलाई अग्रता दिलाएका थिए ‌। 

४९ औं मिनेटमा फेडेरिको किएजाले गोल गर्दै युभेन्टसलाई १–१ को बराबरीमा ल्याए ‌।

५४ औं मिनेटमा पोर्टो १० खेलाडीमा समेटियो । मेहेदि टेरेमी दुई पहेलो कार्ड पाएपछि मैदानबाट बाहिरिएका थिए ।

६३ औं मिनेटमा किएजाले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई २–१ को अग्रता दिलाए । 

निर्धारित ९० मिनेटसम्मको खेलमा समग्रमा ३–३ को बराबरीमा पुग्यो  र खेल अतिरिक्त समयमा गयो ।

१ सय १५ औं मिनेटमा सर्जियोले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्टोलाई २–२ को बराबरीमा ल्याए । 

त्यसको दुई मिनेटमै एड्रिएन राबिअटले गोल गर्दै युभेन्टसलाई ३–२ को जित दिलाए । 

तर समग्रमा ४–४ को बराबरी भए पनि अवे गोलमा पोर्टो क्वार्टरफाइनलमा पुग्यो । 

डर्टमण्ड पनि क्वार्टरफाइनलमा 
जर्मन क्लब बोरुसिया डर्टमण्ड पनि क्वार्टरफाइनलमा पुगेको छ । मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिश क्लब सेभियासँग २–२ गोलको बराबरीमा रोकिए पनि समग्रमा ५–४ को जित निकाल्दै डर्टमण्ड अन्तिम आठमा पुगेको हो ।

पहिलो लेगमा डर्टमण्डले सेभियालाई ३–२ गोल अन्तरले पराजित गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ