- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा लियोनल मेस्सी निराश हुँदा केलियन एम्बाप्पे भने दङ्ग परेका छन् । मेस्सीको कप्तानीमा रहेको स्पेनिश क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएसँगै मेस्सीलाई निराशा हात लागेको हो ।
च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत एम्बाप्पे रहेको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग समग्रमा ५–२ गोलले पराजित हुँदै बार्सिलोना बाहिरिएको हो ।
बार्सिलोनाले बुधबार राति भएको दोस्रो लेगमा पीएसजीसँग १–१ गोलको बराबरी खेलेको थियो । तर पहिलो लेगमा व्यहोरेको ४–१ गोलको हारको कारण बार्सिलोनाको यात्रा अन्तिम १६ मै टुंगिएको हो । पीएसजी भने च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
घरेलु मैदानमा भएको दोस्रो लेगमा पीएसजीलाई एम्बाप्पेले पेनाल्टीमार्फत गोल गर्दै अग्र्रता दिलाएका थिए । उनले खेलको ३१ औं मिनेटमा गोल गरेका थिए ।
त्यसको ६ मिनेटपछि नै मेस्सीले गोल गर्दै बार्सिलोनालाई १–१ को बराबरीमा ल्याएका थिए । तर फराकिलो जित जरुरी रहेका बेला मेस्सी भने अताल्लिएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा मेस्सीले पेनाल्टीमा गोल गर्न सकेनन् । मेस्सी सन् २०१५ पछि पहिलो पटक च्याम्पियन्स लिगमा पेनाल्टीमा गोल गर्न चुके ।
योसँगै बार्सिलोना सन् २००६–७ को सिजनपछि पहिलो पटक क्वार्टरफाइनलमा पुग्न असफल भएको छ ।
लिभरपुल क्वार्टरफाइनलमा
इङ्गलिश प्रिमियर लिगमा राम्रो खेल्न नसकेको डिफेन्डिङ्ग च्याम्पियन लिभरपुल भने च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो लेगमा आरबी लेप्जिगलाई २–० गोल अन्तरले पराजित गर्दै समग्रमा ४–० को जितसहित लिभरपुल अन्तिम आठमा पुगेको हो ।
लिभरपुलले जर्मन क्लबलाई पहिलो लेगमा २–० गोल अन्तरले नै हराएको थियो । दोस्रो लेगमा लिभरपुलका लागि मोहमद सलाह र साडियो मानेले एक एक गोल गरे ।