- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बलिउड अभिनेता सञ्जय दत्तले आफ्ना बुवाआमा सुनील दत्त र नरगिसलाई सम्झिएका छन् । बुवाआमाको बर्षगाठमा सञ्जयले सम्झिएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'तपाईं दुवैले मलाई प्रेमको वास्तविक अर्थ सिकाउनुभयो। ह्याप्पी एनिभर्सरी मम ड्याड ।'
भारतीय सिनेमाका सबैभन्दा चर्चित र मनपराइएका जोडी नरगिस र सुनिल दत्तका तीन सन्तानमध्ये जेठो सन्तानका रुपमा उनको जन्म भएको थियो। सन् १९८१ मा सिनेमा जगत्मा प्रवेश गरेयता उनले १०० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन्।
बुवा सुनिल दत्तले फिल्म ‘रेलवे प्लेटफार्म’बाट आफ्नो करियर शुरु गरेका थिए । पाँच दशकभन्दा बढी समयदेखि फिल्ममा सक्रिय सुनिल दत्त थिए । उनले अभिनयसँगै राजनीतिको यात्रा पनि गरे ।
सुनील दत्त र नरगिसको प्रेमको विषयमा कुनै नौलो कुरा होइन । यी दुई कसरी भेटिए र नरगिस कसरी सुनील दत्तको जीन्दगीको हिस्सा बनिन् भन्ने कुरा भने निकै रोचक छ । यो जोडीको प्रेम कहानी फिल्मी शैलीमा शुरु भएको थियो ।
भारतका चर्चित अभिनेता सुनील दत्त पाकिस्तानको झेलम प्रान्तमा जन्मिएका थिए । उनी ५ वर्षको हुँदा उनका पिताको निधन भएको थियो । त्यसपछि उनको पूरा परिवार भारत आएको थियो । सुनील दत्तले जीन्दगीको लामो समय हरियाणामा बिताएका थिए ।
अभिनेता बन्ने सपना बोकेर सुनील दत्त सन् १९५५ मा मुम्बई आएका थिए । तर, त्यहाँको जीवन त्यति सहज भने थिएन । त्यसका लागि उनले कन्डक्टरको पेशा अपनाएका थिए ।
शुरुमा सुनील दत्तले रेडियो सिलोनमा काम शुरु गरेका थिए । त्यहाँ उनको भेट नरगिससँग भएको थियो । यो क्रममा सुनील नरगिसको ठूलो फ्यान बनेका थिए । उनलाई नरगिससँग अन्तर्वार्ता लिनु थियो ।
तर, नरगिसको अगाडि पर्दा त्यतिबेला राज कपूर र नरगिसको प्रेम सम्बन्ध विवाह हुने अवस्थामा पुगेको थियो । राज विवाहित थिए । यस्तोमा उनको दोस्री श्रीमती बन्न पनि उनी तयार भएकी थिइन् । तर, राजले मानेनन् र नरगिस एक्लै भइन् ।
‘मदर इन्डिया’ फिल्ममा नरगिसले राधाको भूमिका निर्वाह गरेकी थिइन् भने सुनील दत्तले उनका छोराको भूमिका निभाएका थिए । यो फिल्ममा अभिनयको क्रममा सनील दत्तको नरगिससँग प्रेम सम्बन्ध बनेको थियो ।
उक्त फिल्म सुटिङको क्रममा सेटमा आगो लागेको थियो र नरगिस त्यहाँ फसेकी थिइन् । यस्तोमा सुनीलले एक हिरोको स्टाइलमा उनलाई आगोबाट बाहिर निकालेका थिए ।
राज कपूरसँग छुट्टिएको दुःखको बीचमा नरगिसलाई सुनील दत्तको व्यवहारले मन छोएको थियो । दवैले फिल्म रिलिज भएको अर्को वर्ष सन् १९५८ मा विवाह गरेका थिए । विवाहपछि फिल्मी क्षेत्रमा सुनौलो युगको शुरुवात भएको थियो ।
संजय दत्तको आमा अभिनेत्री नरगिस पाचन ग्रंथी (पेनक्रियाज) क्यान्सरबाट पिडित थिइन् । उनको सन् १९८१ मा सोहि रोगका कारण मृत्यु भएको थियो । सन् २००५ मा हृदयघातका कारण सुनीलको निधन भयो ।